रोशनी गुरुङ
लुकेको हिरा हो कास्कीको याङ्जाकोट गाउँ। मादी गाउँपालिका–३ मा पर्ने याङ्जाकोट गुरुङ जातिको प्राचीन बस्ती। ऐतिहासिक थलो क्होंलासोंथरबाट गुरुङहरू बसाई सर्दै तल झरेपछि याङ्जाकोटमा बस्ती बसाले। तिनताका १ सय २० घरधुरीको बस्ती बसालिएको थियो। त्यसैले आसपासका गाउँलेहरू याङ्जाकोटलाई ६ बीसका नामबाट चिन्दथे।
याङ्जाकोट (१,४०० मिटर) खेतीपातीका लागि प्रशस्त जमीन भएको रमणीय गाउँ हो। त्यसैले गुरुङ जातिका पुर्खाले यो ठाउँमा बस्ती बसालेका। गुरुङ भाषामा योजक्वै अथवा यौंउजु नासा भन्दै आए पनि खसकरण गरिएपछि गाउँलाई याङ्जाकोट भन्न थालियो।
गाउँबाट अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमालको सुन्दर दृश्य देखिन्छ। गाउँबाट पूर्वमा वार्चोक, भाचोक, नागिधार तथा लमजुङको गिलुङ, टक्सार लगायतका गाउँ देख्न सकिन्छ भने पश्चिममा थाक, मौजा, लामडाँडा, सराङकोट लगायतका ठाउँहरू।
त्यसैगरी दक्षिणतिर पोखरा बजार र बेगनासताल तथा निमार्णाधीन अन्तर्राष्ट्रिय विमानस्थल झलल देख्न सकिन्छ। साँझको समयमा पोखरामा बल्ने झिलिमिली बत्तीले याङ्जाकोटमा बस्नेहरूलाई सधैं दिपावलीको आभास हुन्छ।
याङ्जाकोटको बीच भागमा हिउँद बर्खा पानी जमिरहने एउटा पोखरी छ। यसलाई हामी झ्याली पोखरी भन्छौं। जीर्ण अवस्थामा पुगेको पोखरीलाई गाउँपालिकाले मर्मत सुधार गरि आकर्षक बनाएको छ।
झ्याली पोखरी जस्तै गाउँको कोट मन्दिर पनि प्राचीन हो। सबै गाउँलेले पुज्ने आस्था केन्द्र। त्यहाँ हरेक वर्ष बडादशैं र चैतेदशैमा धूमधामसँग पूजा गरिन्छ।
गाउँका ११ घरमा होमस्टे सुविधा छ। साँझ पाहुनाले होमस्टेमा गुरुङ जातिको मौलिक नृत्य घाँटु, सोरठीका साथमा कृष्ण चरित्रको मजा चाख्न पाउँछन्।
उहिले यो गाउँ दुइटा कुरामा चर्चित थियो। वैशाख पूर्णेको जात्रा र गाउँको उब्जनी।
गुरुङ जाति खासगरी यस गाउँका मानिस शैक्षिक गतिविधिमा धेरैपछि मात्र जोडिएको देखिन्छ। यति हुँदाहुँदै पनि यहाँका पिता पुर्खाहरू मौखिक विद्या आदानप्रदानमा निपुण थिए। श्रीपञ्चमीका दिनमा विधिवत् स्थापना गरिने सती घाँटु वैशाख पूर्णेका दिनमा समापन गरेपछि गाउँलेहरू खेतीपातीका काममा संलग्न हुन्थे।
यसरी महिना दिनसम्म गाइने र नाचिने घाँटुका शास्त्रीय गीत कुनै पुस्तक अध्ययन नगरी कण्ठस्थ गाउँथे। गीतबाटै देवी जगाउने र घाँटुनीलाई कुसुन्ड जगाउने अदभूत कला हेर्न वैशाख पूर्णेमा मान्छेको ओइरो लाग्थ्यो।
वैशाख पूर्णेका बेला तीन दिन, तीन रातसम्म अभिछिन्न रूपमा गीत गाएर विभिन्न चरणका नृत्य र कला देखाएपछि घाँटु सेलाइन्थ्यो। टाढाटाढाका युवायुवती र स्थानीयबीच देखभेट हुने, चिनजान हुने र आपसमा मायाप्रेम बसेपछि जात्रा हेर्ने बाहनामा कतिपयको घरजमै हुन्थ्यो। त्यसैले वैशाख पूर्णे सकेपछि बर्खा याम पनि शुरू हुने र भेटघाट नहुने भएकाले भर्खरै बैंसमा टेकेका केटाकेटी नरमाइलो मान्थे।
अर्को पक्ष, यो गाउँ भौगोलिक रूपमा अत्यन्तै मिलेको बस्ती भएको हुनाले यहाँ खेतीपातीका लागि प्रशस्त खेतबारी छ। उहिले मान्छेको अरू पेशा नहुँदा उनीहरूसँग खेतीपातीको विकल्प थिएन। त्यसकारण यहाँका मान्छे खूब खेती गर्थे र छिमेकी गाउँमा धान, कोदो, मकै लगायत अन्नबाली निर्यात गर्दथे। त्यसकारण यो गाउँ अन्न भण्डारका रूपमा परिचित थियो।
अचेल गाउँको स्वरूप र मान्छेको दिनचर्यामा धेरै परिवर्तन आएको छ। जसरी समय र मौसम सधैं एकैनास रहँदैन उसैगरी यहाँका मान्छेको जीवनमा पनि व्यापक परिवर्तन आएको छ।
भौतिक पूर्वाधार विकासमा गाउँ अघि बढ्दैछ। गाउँसम्म कच्ची सडक जोडिएको छ। गाउँमा माध्यमिक विद्यालय र बर्थिङ सेन्टरसहित १५ शइयाको अस्पताल पनि छ। घरघरमा धारा सुविधा छ।
मादी गाउँपालिकाको केन्द्र यही गाउँमा राखिएपछि ओझेलमा परेको याङ्जाकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै छ। त्यसैले सुनौलो भविष्यको खोजीमा बाहिर गएकाहरू अचेल गाउँ फर्कंदैछन्।
बिस्तारै याङ्जाकोट पर्यटन गन्तव्य बन्दैछ । गाउँका ११ घरमा होमस्टे सुविधा छ। साँझ पाहुनाले आँगनमा गुरुङ जातिको मौलिक तथा प्राचीन नृत्य घाँटु, सोरठी र कृष्ण चरित्रको मजा चाख्न पाउँछन्।
गाउँमा दलित समुदायको पनि बसोबास छ। उनीहरू पाहुनाको स्वागतमा होस् वा गाउँमै हुने बिहे लगायत शुभकार्यमा पञ्चेबाजा बजाउँछन्। बाजाको धुन सुन्दा छमछमी नाचौं जस्तो लाग्छ।
पोखराको काहुँखोलाबाट उत्तरपूर्व २१ किमिमा छ–याङ्जाकोट। पोखराको काहुँखोलाबाट बस, जीप र निजी सवारी साधनमा ढाडबेंसी खोला, ठूलोस्वाँरा, भैंसे, तारकाङ, काफल स्वाँरा हुँदै साढे १ घण्टाको कच्ची मोटरबाटो यात्रामा याङ्जाकोट पुग्न सकिन्छ।
पहिलेपहिलेका मान्छे खेतीपाती, घाँस दाउरा गर्ने र वस्तुभाउ पाल्ने मात्र काम हो भन्थे। अहिले होमस्टे, होटल, तरकारी खेती र अतिथि सत्कारबाट राम्रो आम्दानी गर्छन्।
आफैंभित्र यति धेरै क्रान्ति गरेर पनि हामी याङ्जाकोटे आफ्नो गाउँको प्रचार गर्नमा चुकेका छौं। गाउँलेहरू लाजको घुम्टोभित्र पाहुनालाई स्वागत गर्न कुरिरहेका छन्। घुमन्तहरूको मनमुटुमा बसिरहनेछ याङ्जाकोट।
(पर्यटन प्रवद्र्धन मञ्च नेपालले आयोजना गरेको ‘हाम्रो गाउँ, राम्रो गाउँ’ निबन्ध प्रतियोगितामा पुरस्कृत लेख।)
प्रकाशित: २७ असार २०७७ १४:४७ शनिबार