२७ श्रावण २०७७ मंगलबार
अन्य

परिवारको समय

बालकथा

सजनी नौबागे

सजनी नौबागे

निसुका बाबालाई आज अफिस जान हतारो थिएन । उहाँ टिभीमा समाचार हेरिरहनुभएको थियो ।

ममी भान्सामा खाना पकाउँदै फत्फताइरहनुभएको थियो, ‘लौ के हुन लागेको हो । कहिले के भएको छ, कहिले के भएको छ । शान्तिले कहिले पनि बस्न नपाइने भयो । उहिले भुँइचालोको डर, अहिले कोरोनाको त्रास । संसारमा धेरै मान्छे मरिसके भन्छन् । लौ अब हाम्रो देशमा पनि सबै बन्द भयो । अब घरमै थन्किएर बस्नुपर्ने रे ।’

बाबाले बैठक कोठाबाटै सोध्नुुभयो, ‘तिमी किन एक्लै फतफताइरहेकी हँ ?’

ममीले बैठक कोठामै गएर भन्नुभयो, ‘किन हुनु, यो बन्दले दिक्क लागिराछ । कस्तो भाइरस होला त्यो, मान्छेले मान्छेलाई छुनेबित्तिकै सर्ने । बरु भूँइचालोले घरबाहिर बस्दा सबैलाई नजिक त बनाएको थियो । अब त सबैसँग सँग टाढा हुनुपर्ने रे ।’

बाबाले हाँसेर भन्नुभयो, ‘यो कोरोनाले बन्द गराएको हो त ? कोरोनाबाट बच्न पो बन्द गराएको त । हामी जति घरमै बस्छौँ, त्यति नै रोगबाट बँच्न सक्छौँ । समय जस्तो छ, हामी त्यहीअनुसार चल्नु परेन ?’

एकछिनमा केही सम्झेझैँ बाबाले सोध्नुभयो, ‘अँ साँच्चि निसु खोई त ? मैले अघिदेखि देखेको छैन ।’

ममीले पनि यताउति हेरेर भन्नुभयो, ‘खोई मैले पनि देखेको छैन । धेरैबेर पो भयो त ।’

बाबाले बाहिर गएर बोलाउनुभयो, ‘निसु.. निुसु.. ।’

ममी पनि आत्तिएर बाहिर निस्कदै भन्नुभयो, ‘लौ यस्तो बेलामा कहाँ गइछ ।’

दुवै जनाले खोज्नुभयो तर निसु घरभित्र कतै पनि थिइनँ । बाबाले ममीलाई सम्झाउँदै भन्नुभयो, ‘बाहिर कतै खेल्दैछे कि । म बाहिर हेर्छु है त ?’ ममीले पनि बाबालाई पछ्याउनुभयो ।दुवै जनाले गेटबाटै परबाट आइरहेकी निसुलाई देख्नुभयो ।

निसु नजिक आएपछि बाबाले सोध्नुभयो, ‘एक्लै कहाँ गएर आएकी ? यस्तो बेला त्यसरी हिँड्ने हो ?’

निसुले ठुस्स परेर भनी, ‘मिनुकहाँ गएकी थिएँ ।’

यति भनी निसु भित्र छिर्न खोजी । ममीले भन्नुभयो, ‘निसु, एकछिन यही गेटमै बस है ! ममी भित्र जानुभयो । ममीले किन त्यहीँ बस भन्नुभयो । निसुले केही पत्तो पाइनँ ।

एकछिनमा ममीले साबुनपानी र फेर्ने लुगा लिएर बाहिर आउनुभयो । अनि उसको हातमा साबुन दिँदै भन्नुभयो, ‘ल साबुनपानीले राम्रोसँग हात धोउ अनि यो लुगा फेर ।’

बिचरी निसुले केही बुझिरहेकी थिइनँ । उसले बाबालाई पुलुक्क हेरी। बाबा मुसुक्क मुस्कुराउनुभयो । उसले ममीले भनेजस्तै गरी मिचीमिची साबुनपानीले हात धोई । अनि लुगा फेरेर भित्र गई ।

कोठामा पुगेपछि पनि ऊ अझै ठुस्किरहेकी थिई । बाबाले ऊ नजिकै गएर सोध्नुभयो, ‘आज बाबा अफिस नगई घरमै बसेको छु तर मेरी छोरीचाहिँ किन ठुस्किएर बसेकी होली ।’

निसुले आँखाभरि आँसु पारेर भनी, ‘बाबा, आज मलाई मिनुको ममीले घरभित्र जानै दिनुभएन । अनि मिनुसँग भेट्न पनि दिनुभएन । ‘लकडाउनभरि हाम्रो घरमा नआऊ’ भन्नुभयो । घर आउँदा ममीले पनि साबुनपानीले हात धोएर मात्र भित्र छिर्नदिनुभयो । आज किन त्यसो गर्नुभएको ?’

उसको कुरा सुनेर बाबाले हाँसेर भन्नुभयो, ‘मिनुको ममीले ठिकै भन्नुभएछ । यो लकडाउनभरि कसैको घरमा पनि जानु हुँदैन र अरूलाई पनि आफ्नो घरमा आउन दिनु  हुँदैन । अँ साँच्चि, तिमीलाई लकडाउन भनेको के हो थाहा छ ?’

निसुले भनी, ‘अहँ थाहा छैन बाबा ।’

बाबाले उसको हात समाएर भन्नुभयो, ‘ल आऊ मसँग म तिमीलाई बुझाउँछु ।’

बाबाले उसलाई कौसीमा लिएर जानुभयो । कौसीमा गएपछि उसले चारैतिर हेरी । आज बाटो सुनसान थियो । पसल सबै बन्द थिए । एउटा पनि गाडी गुडेको थिएन । बाटो पनि आराम गरेझैँ देखिन्थ्यो ।

निसुले यो देखेर अचम्म मान्दै सोधी, ‘बाबा आज किन सबै बन्द भएको ?’

बाबाले भन्नुभयो, ‘हो यही बुझाउन त तिमीलाई मैले यहाँ ल्याएको नि । कोरोना भाइरसबारे सुनेकी छौ नि ?’

उसले भनी, ‘सुनेकी छु । यसैले गर्दा त हाम्रो परीक्षा पनि छिट्टै भएको नि । बाबाले उसको कुरामा सही थाप्दै भन्नुभयो, ‘हो, त्यही कोरोना भाइरस एक अर्कामा नसरोस् भनेर सबै बन्द गरेर घरमा नै बस्नु भनेको । यस्तो बेला आफूखुसी बाहिर जान पाइँदैन । यसलाई नै लकडाउन भनिन्छ अब बुझ्यौ ।’

उसले भनी, ‘बुझें । अनि हातचाहिँ किन धोइरहनुपर्ने नि ?’

बाबाले फेरि भन्नुभयो, ‘कोराना भाइरस हातमा धेरैबेर बस्ने हुनाले साबुनपानीले राम्ररी हात धुनुपर्छ । हातले धेरै कुरा छुने र हातबाट खाना खाने, नाक कोट्याउने, आँखा मिच्ने जस्ता कार्य हुने भएकाले हात बेलाबेलामा धुनु भनेको हो । त्यही भएर तिम्री ममीले तिमीलाई साबुनपानीले हात धुन लगाएकी ।’

‘त्यसो भए बाबा, कोरोना हामीलाई पनि सर्छ ?’, निसुले अलि डराउँदै सोधी ।

बाबाले भन्नुभयो, ‘हामी बाहिर गएर अरूलाई छोएर आयौं भने कोरोना हामी सँगसँगै हाम्रो घरमा आउँछ । हामी गएनौँ भने त्यसले हाम्रो घर देखेको छैन अनि आउँदै आउँदैन नि । अनि सर्नै पाउँदैन ।’

बाबाको कुरा सुनेर निसुले हँसिलो अनुहार लगाउँदै भनी, ‘ए कुरा त्यस्तो पो हो ? अनि बाबा प्लेन पनि उड्न बन्द भएको हो?’ उसले आकाशतिर हेरी ।

बाबाले पनि माथि हेर्दै भन्नुभयो, ‘हो नि छोरी ।’

निसुले फुरुङ्ङ परेर सोधी, ‘त्यसो भए बाबा, अब चरा आनन्दले उड्न पाउँछन् होला हगि ? आहा कस्तो मजा ।’

बाबा र छोरीको केको गन्थन हो भन्दै ममी पनि कौसीमा आइपुग्नुभयो ।

बाबाले निसुलाई हेरेर भन्नुभयो, ‘हाम्री छोरीलाई लकडाउनबारे बताएको नि ।’

निसुले केही सम्झेझैं भनी, ‘ममी, म यो लकडाउनभरि कहीं पनि जाँदिन । घरमै बस्छु तर बाबा हामी घरमा के गरेर बस्ने अनि कोसँग खेल्ने नि ?’

बाबाले भन्नुभयो, ‘तिमी, ममी र म खेल्ने । कहिले लुँडो खेल्ने, कहिले क्यारमबोर्ड खेल्ने, कहिले नाच्ने अनि कहिले गाउने ।’

ममीले थप्नुभयो, ‘तिमीलाई बाबा घर नबसेकोमा सधैं पीर परथ्यो नि । अब धेरै दिनसम्म बाबा तिमीसँगै बस्नुहुन्छ । तिमीसँगै खेल्नुहुन्छ । कति रमाइलो हगि !’

हो नि । लकडाउन भनेको त रमाइलो समय रहेछ नि । परिवारको समय ।

यसो भनिरहँदा निसुको अनुहार हँसिलो देखियो । बाबाममीको मुहारमा पनि मुस्कान छायो ।

प्रकाशित: २४ असार २०७७ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App