१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

लकडाउन र भिडियो च्याट

रञ्जुश्री पराजुली

उताबाट नाति प्रकट पराजुली कहिले आउनुहुन्छ ? मैले कथा लेखेको छु । चित्र कोरेको छु भन्दै आफूले लकडाउनको बेला गरेका कामहरू मलाई भिडियोमा देखाउँछन् । उनी आफूले कथा वाचन गरेको भिडियोहरू पठाइरहन्छन् । कति कथा आफै लेखेर पनि पठाउँछन् । उनको कथा लिटिल रेड राडिङहुड मैले युटयुवमा राखिदिएको छु । उनी अमेरिकाको केन्टकी राज्यको लुइभिल भन्ने शहरमा आफ्नो बाबाआमा र दाइसँग बस्दछन् । यो लकडाउनको बेला तीन कक्षामा पढ्ने उनी स्कुल फ्रोमहम भनेर घरैबाट अनलाइन पढ्छन् । त्यो एकदुई घन्टा मात्र हुन्छ । कहिले उनी बाबासँग बारीमा काम गर्दछन् त कहिले आमासँग भान्छामा पकाउन सिक्छन् । उनको दाजु दर्श पराजुली अब आठ कक्षा पढ्ने भएकोले उनी आफ्नै काममा व्यस्त हुन्छन् ।

लकडाउनले म नातिनातिनाहरूदेखि पर रहेकी छु। हवाईजहाजको टिकट किनिसकेको भए पनि यो लकडाउनले गर्दा त्यसलाई क्यान्सिल गरेर अब कहिले खुल्ला र उनीहरूसँग भेट्न पाउँला भन्दै कुरेर बसेकी छु । तर आजकल मिडियाले गर्दा टाढा भए पनि भिडियो च्याट गर्न पाइन्छ । म उनीहरूसँग भिडियोमा रमाएर बस्छु । 

म नानीहरूका  लागि कथा, कविता, उपन्यास र गीत लेख्दछु । केही बालसाहित्यका पुस्तकहरू प्रकाशित भएका छन् । यो बेला मेरा नातिनातिना लगायत तिमीहरू सबैका लागि मैले अनलाइन कथा वाचन गरेकी छु । त्यो सबै तिमीहरूका लागि युटयुवमा राखिदिएकी छु। युटयुवमा रञ्जुश्री पराजुली भनेर खोज्यौ भने मलाई भेट्छौ । अनि केटाकेटी अनलाइनमा त्यही नाम टाइप गरेर खोज्यौ भने तिमीहरूले भेट्छौ। मैले तिमीहरूका लागि वाचन गरेका केही कथाहरू पनि त्यहाँ छन् ।  संसारका विभिन्न ठाउँमा बसेका नेपाली नानीहरूले ती कथाहरू रमाइलो  लागेको सुनाउँदा  म अत्यन्तै खुसी छु  । अरू कथा लेखौ जस्तो लागेको छ ।

केही तीन, चार, पाँच , सात कक्षाका पाठ्यपुस्तकहरूमा पनि मेरा कथाहरू रहेका छन । मितेरी गाउँ, सानीमाको ओखती, तर्ने साउ गुफा आदि त्यस्ता कथा हुन् । तिमीहरूमध्ये कतिले यी कथाहरू कक्षामा पढेका होलाउ हगि  ।  अहिले बन्दाबन्दीको बेला छ । यो तिमीहरूले पनि के सिक्ने बेला हो । कथाकविता लेख्न, घरको काम, बगैंचाको काम आदि सिक। पछि आफैंलाई काम लाग्छ । बोटबिरुवा रोप्यौ बने वातावरण शुद्ध हुन्छ।

मेरा अरू पनि नातिनातिनी छन् । काया अधिकारी नौ र कियान अधिकारी पाँच । काया चार पास गरेर पाँचमा र कियान युकेजीबाट एकमा पुगे। उनीहरूलेअमेरिकाको टेक्सस राज्यको अस्टिन भन्ने शहरमा बाबाआमासँग बस्छन् । लकडाउनको बेला म उनीहरूदेखि टाढा भएकोले मलाई धेरै मिस गरेका छन् । कहिले आउने भनेर सोधिरहन्छन् । लकडाउन खुलेपछि म उनीहरूलाई भेट्न जान्छु । मलाई पनि उनीहरूलाई भेट्न हतार लागेको छ । काया र कियानलाई खेलकुद धेरै मनपर्छ । धेरै गेमहरू जितेर पुरस्कार पनि पाएका छन् । कायाले आफै बिस्कुट बनाएर मलाई देखाउँछिन् । कियानचाहिँ मम बनाउँदा म पनि बनाउन सक्छु भन्दै बनाएर मलाई भिडियोमा देखाउँछन ।

मैले बनाएको मम खान तपाईं कहिले आउने भन्छन् । अमेरिका पनि स्कुलको होमवर्क गर्नुपर्छ । पाठशालाका पाठहरू राम्ररी पढ्नुपर्छ । कमजोर विद्यार्थीका लागि कुमोन भनेर ट्युसन जस्तो गरेर पनि पढ्नुपर्छ । यो बन्दाबन्दीको बेला काया र कियान कहिले घरपछाडि चउरमा, फुटबल र भलिवल खेल्दछन् । कहिले गेम रुममा पाल  टाँगेर ट्रेकिङ गएको जस्तो गरेर खेल्छन् । यो बेला सबै ठाउँका केटाकेटीहरू  आमाबाबालाई कचकच नगरी घरमै नयाँ कुरा सिक्दै, पढ्दै बस है। 

प्रकाशित: ९ असार २०७७ ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App