९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

साथीसँग मनका कुरा

छायादत्त न्यौपाने 

ओहो मित्र अनुप खूबै ठाट्टिएर हिँड्यौ त ! कता हो ? हो नि विकेश धेरै भयो बाहिर ननिस्केको । खै कता जाऊ कता ? अन्योल छ । साथीहरू धेरैतिर छन् । त्यो त हो नि अनुप घरमै खुम्चिएको धेरै दिन भो तर हेक्का राख है साथीहरू छन् भनेर जथाभावी हिँड्ने बेला भाछैन नि ! यो बन्दाबन्दी (लकडाउन) हाम्रै लागि हो । भौतिक दूरी त कायम राख्नु नै ठीक लाग्छ । कुरा त तिमी ठीक गर्दै छौ विकेश तर हेर न, खाए खा नखाए घिच भनेझैं  घरभित्र बस्या‘छ मोबाएल चला‘छ ! चलाऊ त मोबाइल, नचलाऊ त मोबाइल । कति चलाउनु ? एकोहोरो भएपछि त गुड पनि तितो हुन्छ भनेझैं भो ।

हो त नि, मोबाइलमा भुलाउन सजिलो मानेर आमाले भाइलाई मोबाइल दिइरहनुभो । उसका आँखा राताराता बनाइदियो मोबाइलले । हुन पनि मोबाइल पाएपछि खानसुत्न बिर्सने नि फुच्चेले । अहिले आँखामा समस्या आयो । अँ, साँच्चि अब त हामीलाई इन्टरनेटबाटै पढाउने हो रे । यसो भयो भने  प्रविधिमैत्री त भइएला तर त्यसैमा भरपर्दा पढाइभन्दा पनि मन बहकिएर अरूतिर जाला कि कुन्नि । यस्तो तरीकाले पढाउँदा त झन् समस्या पो पैदा होलाजस्तो लाग्छ ।

हुन त हो विकेश हामी प्रविधिका पछि लाग्दा त्यसमा मनोरञ्जनका नाममा आउने सस्ता र सामाजिक अनुशासनको पालनाविनै तयार गरी प्रसारण गरिने सामग्रीले हाम्रो कलिलो मस्तिष्कमा किसानले सुई लाएर रातारात विषालु काँक्रो बेचेझैं  हुने हो कि ! डर लाग्छ ।  तिमीले शंका गरेको पनि ठीकै हो तर अनुप हामी  आफैं  सचेत भएर त्यस्ता सामग्रीको वास्तै नगरी आफ्नो प्रयोजनका लागि इन्टरनेटको उपयोग गर्ने हो । 

तरकारी पसलमा सुई नला’को काँक्रो छानेजस्तै इन्टरनेटबाट पनि राम्रा सामग्री छान्ने हो नि । फेरि प्रविधि प्रयोग आवश्यकता पूरा गर्न गर्ने हो जथाभावी गरे त हानि गरिहाल्छ नि । हाम्रो जीवनका लागि पानी हेर त कति आवश्यक छ, त्यस्तै आगो, बिजुली राम्ररी उपयोग गर्दा जीवन सुखी हुन्छ । अलिकति दुरूपयोग भयो कि ज्यान लिन्छन् । इन्टरनेटको पनि सही उपयोग गर्दा कति काम सजिलो हुन्छ । दुरूपयोग गरे आफैं बिग्रिइन्छ । हेर त नेटबाटै पढ्नलेख्न सिकियो भने त स्कुल आउनेजाने समय बच्छ, तयारीको कुरा कति सजिलै सकिन्छन् । यस्तैयस्तै धेरै सजिलो हुन्छ ।

एक सिक्काका दुई पाटा त हुने नै भए राम्रो नराम्रो सँगसँगै । हामी आफैं  बुझक्की बनेर सही र गलत छुट्याउन सके नराम्रा कुरा छाड्न सकिन्छ । राम्रा कुरा राम्रैका लागि हुन्छन् । फेरि हामीले नेटको उपयोग गर्दा कापीकलमको प्रयोग चटक्क छाडिहाल्ने हैन नि ! सँगसँगै हातले पनि लेखपढ गरिरहनु राम्रो हुन्छ । पुस्तक पढ्ने, चित्र कोर्ने, कथा कविता लेख्ने र सुन्नेसुनाउने गरियो भने त झन् राम्रो पो हुन सक्छ । यसबाट हामीले समस्यालाई आफूअनुकूल बनाएर अवसरमा बदल्दै लैजाने हो नि । हाम्रा हजुरबाआमाहरू भन्ने गर्नहुन्छ नि – बुद्धिमान्ले चुनौतीलाई अवसरमा बदल्छन् । हो, यसैगरी यो घरबन्दीको बसिबसाइलाई नयाँनयाँ सिर्जनात्मक काम सिक्नेसिकाउने रमाइलो मौका ठानेर उपयोग गर्नु कति राम्रो हुन्छ । हामी यतातिर लाग्यौं भने ठीक हुन्छ । हामी अभिभावक र शिक्षकहरूको सल्लाहसुझाव मानेर अघि बढे त ठीक ठाउँमा पुगिहाल्छौं । अलमल रहँदैन, हामी आफैंले पुरयाउने हो आफूलाई ठीक ठाउँमा । आफूखुसी मनोमानी गरिएन भने त गल्ती हुन लागे पनि सल्लाहसुझाव लिएर सही बाटो पहिल्याउन सकिन्छ ।

ठीकै छ विकेश, यी कुरा क्रमशः हुँदै जालान् बरु भन न यति लामो बन्दाबन्दी के गरेर बितायौ ? केही त हामीले माथि नै चर्चा गरेजस्तै हो अनुप । सबैका जस्तै मेरा पनि धेरै महत्त्वपूर्ण काम छुटे तर मैले केही बालसाहित्यका पुस्तक पढें । यो बन्दाबन्दी नभएको भए यति राम्रा पुस्तक पढिने थिएनन् । यो एउटा काम राम्रै भयो भन्ने लागेको छ । हो र विकेश, बडो गजब कुरा गरयौ त ! के पायौ र त्यस्तो बालससाहित्यका पुस्तकमा ? निकै खुसी छौं त ! के भन्छौ भने नि अनुप बाले केही पुस्तक ल्याइदिनुभयो । कथा, कविता नाटक, उपन्यास, निबन्ध, संवाद र जीवनी विधाका धेरै पुस्तक पढें । के पायौ त त्यति धेरै पुुस्तक पढेर खास कुरा ? मलाई पनि विश्वास लाग्दैनथ्यो पुुस्तक पढेर रमाउन सकिन्छ, नयाँनयाँ कुरा कल्पना गर्न जानिन्छ, तर्क गर्ने क्षमता बढ्छ, शब्द खेलाउन जानिन्छ र सिर्जनात्मक सीप सिकिन्छ भनेर । यी पुुस्तक पढेपछि आत्मविश्वास बढेको अनुभव गरिहेको छु ।

ओहो तिमीले त धेरै राम्रो कुरा गरयौ त बा ! साहित्यका कथा, उपन्यासमा समावेश गरिएका पात्रको स्वभाव, क्रियाकलाप, बोलीचालीबाट पनि संस्कारसंस्कृतिका कुरा जान्न पाइन्छ भन्छन् नि विकेश । हो, अनुप तिमीले भनेको ठीक हो, तराईको गाउँघर, शहरबजारको जीवन, हिमाल पहाडमा बस्ने परिवारका कुरा थाहा पाइने रहेछ । यस्तै खेतीपाती, विभिन्न थरीका खेल, घरेलु परिकार र व्यापारव्यवसायका विषयमा पनि पुुस्तकले प्रशस्त जानकारी दिने रहेछन् नि । मलाई त पुुस्तकले थुप्रै पशुपन्छी, वनजंगल र वातावरण जोगाउने विषयमा पनि धेरै कुरा बताउने रहेछन् भन्ने लागेको छ । हाम्रै उमेर समूहलाई भनेर तयार पारिने यस्ता पुस्तकमा त मनोरञ्जनसँगै जीवनमा आवश्यक पर्ने व्यवहारका कुरा पनि जान्न पाइने रहेछ ।

तिमीले औधी राम्रो काम गरेछौ विकेश, बन्दाबन्दीमा ठूलो उपलब्धि लिएछौ । मलाई त पछुतो भो तिमीसँग अलिक पहिल्यै किन भेट भएन ? ल म पनि बाआमासँग आजै पसलतिर लागें । ल शुभकामना छ अनुप तिमीलाई !  

प्रकाशित: ८ असार २०७७ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App