७ वैशाख २०७८ मंगलबार
अन्य

कामको सम्मान

बालकथा

कुन्दनकुमार पन्त

सिरे र नरे एउटै गाउँमा बस्थे । उनीहरू एउटै विद्यालयमा एउटै कक्षामा पढ्थे । गरीब परिवारका उनीहरूका बाबुआमाले पढ्न नपाएर दुखकै काम गरेर जीवन धान्नुपरेकोले छोराहरूले दुख नपाउन् र पछि ठूला मान्छे बन्न सकुन् भनेर उनीहरूले छोरालाई राम्रै विद्यालयमा भर्ना गरिदिएका थिए  ।

सिरे कक्षामा गुरुले पढाउँदा निकै ध्यान दिएर सुन्थ्यो र घरमा गएर बाबुआमालाई सुनाउँथ्यो र आवश्यक कुरा सिकाउने पनि गर्दथ्यो । घरका काममा सघाउँथ्यो र आफ्नो गृहकार्य पनि सक्ने गर्दथ्यो । तर, नरेले भने कक्षामा गुरुले पढाउँदा पनि ध्यान दिँदैनथ्यो । गुरुले कक्षामा सिकाएको कुरालाई पनि घरमा गएर बाबुआमालाई केही पनि सुनाउँदैनथ्यो ।

एक दिन गुरुले स्वास्थ्यको महत्व भन्ने पाठ पढाउँदै भन्नुभयो,  ‘स्वास्थ्य हाम्रो अमूल्य धन’ हो । हामी स्वस्थ भएमा  रोगले हामीलाई आक्रमण गर्न सक्तैन । स्वस्थ मान्छे नै निरोगी हुन्छ ।  हामीले स्वस्थ रहन सफा पानी पिउनुपर्छ, सफा भाँडामा खानुपर्छ, सडेगलेको खाना खानु हुँदैन, घर वरिपरि सफा राख्नुपर्छ, फोहोर ठाउँमा खेल्नु हुँदैन, दिसा गरेपछि र खाना खानुअघि साबुनपानीले हात धुनुपर्छ । यति गरयो भने हामीलाई रोग लाग्दैन । यसो गर्दागर्दै पनि  रोग लाग्यो भने अस्पताल वा स्वास्थचौकीमा जँचाएर औषधि खानुपर्छ ।जथाभावी अरूले भनेको भरमा औषधि खानु हुँदैन ।’ 

यत्तिकैमा घन्टी लाग्यो । गुरु कक्षाकोठाबाट निस्कनुभयो ।

सिरेले यो कुरालाई राम्ररी ध्यान दिएर सुनिरहेथ्यो र भ्याएजति कापीमा लेखेर पनि राखेको थियो । सिरेले यो सबै कुरा घरमा गएर बाबुआमालाई पनि सुनाउँदै त्यसै गर्नु भन्यो र आफूले पनि त्यसै गर्दै गयो । तर, नरेले भने यो कुरामा त्यति ध्यान नै दिएको थिएन । त्यसैले उसले गुरुले भनेको कुरा न आमाबाबुलाई नै सिकायो न त आफूले नै गरयो । ऊ त विद्यालयबाट घर जानेबित्तिकै हातै नधोई खाजा खान्थ्यो, खाली खुट्टले बारीको कान्लामा उफ्रने,  हिलोमाटोमा खेल्ने र फोहोर खुट्टा पनि सफासँग धुँदैनथ्यो ।

धेरै दिनदेखि नरे विद्यालयमा हाजिर नभएकाले एक दिन गुरुले कक्षामा नरे किन विद्यालयमा नआएको कसैलाई थाहा छ भनेर सोध्नुभयो । कसैले पनि थाहा नभएको भनेपछि गुरुले उसको घर नजिकै कसको घर छ भनेर सोध्नुभयो । सिरेले आफ्नो घर भएको बताए । त्यसपछि गुरुले नरेको बारेमा बुझेर आउनु भन्नुभयो ।

कामको सम्मान

विद्यालय छुट्टी भएपछि सिरे घर गएर खाजा खायो र गुरुले भन्नुभएको कुरा बाबुआमालाई बतायो र नरेको घरमा गयो । जब ऊ नरेको घरमा पुग्यो । नरेको घर वरिपरि, घरभित्र भान्सामा र कोठामा पनि फोहोर देख्यो । नरे मैलो लुगा लगाएर मैलो डस्नामा सुतिराखेको । उसका बाबुआमा ट्वाल्ल परेर उसलाई हेरेर बसिराखेका थिए । यो देखेर उसले नरेका बाबुआमालाई सोध्यो । उनीहरूले केही दिनदेखि नरे ज्वरो आएर सुतिराखेको बताए । तर, औषधि उपचार केही नगरी बसेको पनि बताए । सिरेले तुरुन्तै स्वास्थ्यचौकी लैजानुपर्ने सल्लाह दियो । तर, नरेको बाबुआमाले स्वास्थ्यचौकी नदेखेको र के कसो गर्नुपर्छ भन्ने थाहा नपाएकोले त्यस काममा सिरेलाई मद्दत गरिदिनु भने । भोलिपल्ट सिरेले बिहान प्रधानाध्यापकलाई जरूरी काम परेर आफू विद्यालय आउन नसकेकोले उक्त दिनको बिदा जनाइदिनु भनी निवेदन लेखेर त्यसै विद्यालयमा पढ्ने साथी हिरेको हातमा पठायो । त्यसपछि ऊ नरेको घरतर्फ लाग्यो । सिरे र नरेको बाबुआमा मिलेर नरेलाई स्वस्थ्थ्यचौकी पुरयाए ।

स्वस्थ्यचौकीमा स्वास्थ्यसेविकाले बिरामीको बारेमा धेरै कुरा सोधिन् । सबै कुरा सुनेपछि बिरामीको सामान्य  चेकजाँच गरिन् । धेरै दिनदेखि ज्वरो आइरहेकोले रगत, दिसापिसाब  जँचाएर प्रतिवेदन आएपछि मात्र रोग थाहा हुने र त्यसैअनुसार उपचार गर्नुपर्ने भन्दै सामान्य ज्वरो कम हुने औषधि दिइन् ।

भोलिपल्ट सिरे विद्यालय गयो । गुरुले विद्यालय नै आउन नसक्ने त्यस्तो के काम परयो भनेर सोध्नुभयो । उसले नरेको बारेमा बतायो र नरेको उपचारको काममा लाग्नुपरेकोले बिदा लिनुपरेको कुरा बतायो । यस्तो कुरा सुनेपछि गुरु दङ्ग पर्नुभयो र यति सानै उमेरदेखि पक्का समाजसेवी काममा लागेकोमा  प्रशंसा गर्दै धन्यवाद पनि दिनुभयो ।

नरेको रगत र दिसापिसाबको रिपोर्ट आयो । उसलाई टाइफाइड भएको रहेछ । स्वास्थ्यसेविकाले उसले केही दिन औषधि खाँदै आराम गर्नुपर्ने सल्लाह दिइन् । नरेले सोहीअनुसार गरयो । यो सबै कुराको रेखदेख सिरेले गरिरहेको हुन्थ्यो र विद्यालयमा गुरुलाई यस कुराको जानकारी गराइरहेका हुन्थ्योे । उसले गरेको कार्यबारे प्रधानाध्यापक लगायत प्रायः सबै शिक्षकशिक्षिकालाई थाहा भइसकेको थियो  ।  प्रायः सबैले उसको कार्यको प्रशंसा त गर्दथे नै साथै उसको यस्तो प्रशंसनीय कार्यलाई प्रोत्साहन गर्नुपर्ने प्रस्ताव पनि राखे ।

विद्यालय वार्षिक उत्सव र अभिभावक दिवसको दिन भव्य कार्यक्रमको तयारी थियो । समाजका प्रतिष्ठित, गन्यमान्य व्यक्ति लगायत धेरै अभिभावकहरूको उपस्थितिमा सम्पन्न भइरहेको उक्त समारोहमा  वर्षभरिमा विद्यालयमा राम्रो काम गर्ने शिक्षकशिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रममा थियो । यसै कार्यक्रममा विद्यालयका विद्यार्थीहरूमध्ये अनुशासित, इमानदार, सेवा भावना भएको विद्यार्थीको रूपमा सिरेलाई प्रशंसा गर्दै पुरस्कार र विशेष सम्मान प्रदान गरियो ।  

प्रकाशित: ८ असार २०७७ १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?