बसन्त बस्नेत, काठमँडौं, वैशाख ११- 'बुबाका अरु किताबका पाण्डुलिपिहरू पढेर सल्लाह सुझाव दिने गर्थें,' लेखक कृष्ण धरावासीका छोरा तथा लेखक दुर्गा विनयले आइतबार नागरिकसँग भने, 'तर साँच्चैको पाण्डुलिपि पढेर केही पनि भन्न सकिनँ।'
अरु बेला प्रत्येक किताबलाई लेखक र पाठक दुवैको कोणबाट विश्लेषण गरेर पढ्ने आफ्नो बानी सम्झँदै विनयले यो किताब राम्ररी पढ्न नसकेको सम्झे। 'बुबाले इमेल कपी पठाउनु भएको थियो,' उनले भने, 'पढ्दापढ्दै ल्यापटपका किप्याड भिज्न थाल्थे, प्रत्येक पृष्ठमा म मेरी आमा, बुबा, भाइ बहिनी र म आफैंलाई पाउँथे।' पढ्न गाह्रो भएपछि ल्यापटप बन्द गर्ने गरेको उनले सम्झे।
अघिल्लो वर्ष पत्नी 'सीताजी' लाई गुमाएका लेखक कृष्ण धरावासीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत् पत्नीसँगको जीवनयात्रासहितका पारिवारिक र सामाजिक अनुभव समेटेर किताब सार्वजनिक गरेका हुन्। 'बुबासँग डेढ दर्जन किताब लेखिसकेको अनुभव भए पनि यस्तो लेखेको भए हुन्थ्यो, यस्तो गरेको भए कृतिमा परिष्कार आउने थियो भनी सुझाउने गर्थें,' विनय भावुक भए, 'यो पल्ट त खै के भो के भो, मेरो लेखक र पाठक मबाटै गायब भएको थियो।'
धरावासीका २६ वर्षे जेठा छोरा विनयका दुई कथा संग्रह 'अर्केष्ट्रा' र 'घाम नउदाएको देश' यसअघि नै प्रकाशित छन्। 'पाण्डुलिपि' विमोचनका लागि दमकबाट आएका उनी अघिल्लो साल धरावासीझैं पत्नी गुमाएका कलाकार हरिवंश आचार्य, मावली हजुरआमा धनमाया पोखरेल र कवि मिश्र वैजयन्तीका बीचमा बसिरहेका बुबा धरावासीलाई दर्शकदीर्घाबाट हेरिरहेका थिए।
साहित्यका पाठक त छँदैछन्, सामान्य पाठकले किन पढ्नुपर्छ पाण्डुलिपि? 'पति-पत्नी सम्बन्ध, छोराछोरीसँग गरिने व्यवहार, घर चलाउने आफ्नै शैली,' विनयले सहजै फर्काए, 'सुन्दा अति सामान्य लाग्ने कुरा वास्तविक जीवनमा सामान्य छैनन् हिजोआज। तर औपचारिक शिक्षा खासै नलिएकी मेरी आमाको परिपक्वता बुझ्न र बुबामा आएको परिवर्तन बुझ्न यो किताब पढिनुपर्छ।' पाण्डुलिपि सामान्य नेपालीको असामान्य कथा भएको विनयको जिकिर थियो।
किताब लेखेरै मदन पुरस्कार जितेका धरावासीको छोरा हुनु कतै गौरवभन्दा दबाबको विषय हुँदो हो विनयलाई। धरावासीको चर्चा अघिल्तिर उनको चर्चा समुद्रछेउको नहरको जत्रो छ। प्रतिष्पर्धाको भावना आउँछ कि कतै? 'आउँदैन, आउँदैन, बरु केही नयाँ लेखेपछि देखाउँछु, सल्लाह लिन्छु।'
२ सय ६५ रुपैयाँ मूल्यको धरावासीको बीसौं कृति अक्षर क्रियसन्सले बजारमा ल्याएको छ। धरावासीको नामैले पनि किताब सहजै चल्ने अनुभव सुनाउँदै यसअघिका प्रकाशक तथा वितरक पैरवी बुक हाउसका खगेन्द्र भट्टराईले भने, 'बिहानदेखि यही किताबमात्रै बेचिरहेका छौं।' धरावासीले शनिबारै दिवंगत पत्नीका नाममा २ लाख रुपैयाँ मूलधन भएको साहित्यिक पुरस्कारसमेत घोषणा गरेका छन्।
प्रकाशित: ११ वैशाख २०६९ ०४:११ सोमबार

