१ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

चित्र प्रकाशनको एक वर्ष

संस्मरण

दीपिका नेपाल

दीपिका नेपाल

कक्षा –९,

वाल्मीकि शिक्षा सदन, भरतपुर–४, चितवन । 

मैले बनाएको चित्रकला पत्रिकामा प्रकाशन भएको ठ्याक्कै एक वर्ष बितेछ । गत साल २०७६ जेठ ३२ गते नागरिक दैनिकमा मैले कोरेको चित्रकला पहिलोपटक प्रकाशन भएको थियो । यो मेरो जीवनको एउटा ठूलो उपलब्धि थियो । हुन त उमेरअनुसार मेरो जीवन भर्खरै सुरु भएको छ । मैले अनेकौं किसिमका यात्राहरू तय गर्नु छ । ‘हरेक लामो यात्राको आरम्भ पहिलो पाइलाबाट हुन्छ’ भन्ने मैले कतै पढेको थिएँ । पत्रिकामा मेरो चित्र प्रकाशन हुनु पनि सम्भवतः पहिलो पाइला हुनसक्छ । 

गत साल जेठ २७ गते बाबा द्वारिका नेपालले आफ्नो फेसबुकमा मैले बनाएको चित्रमध्ये एउटा चित्र पोस्ट गर्नुभएको रहेछ । यो चित्र बाबाको फेसबुक साथी नागरिक दैनिकका श्रीराम राईले देखेर पत्रिकामा छाप्न आग्रह गर्नुभएको रहेछ । बाबाले उहाँलाई पठाउनुभएपछि २०७६ साल जेठ ३२ गतेको नागरिक दैनिकको बालपृष्ठ ‘जूनकीरी’मा पहिलोपटक मेरो चित्र प्रकाशन भयो । मेरो नाम र कला जीवनमै पहिलोपटक यसरी पत्रिकामार्फत सार्वजनिक भएको थियो । यसरी आफ्नो नाम पत्रिकामा देख्दा वर्णन गर्न नसकिने खुसी प्राप्त हुँदो रहेछ । भोलिपल्ट स्कुलमा साथीहरू, मेरा गुरुगुरुआमाहरूले पनि मलाई स्याबासी दिनुभयो । यो स्याबासी र हौसलाले ममा अझै चित्र कोर्न जाँगर चलेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो निबन्धमा कतै भनेका थिए, ‘सफलताजस्तो हौसला अरू केही हुँदैन ।’

चित्रकला मेरो सोखको विषय हो । सानो कक्षामा पढ्दादेखि नै मलाई विभिन्न चित्रहरू बनाउने जाँगर चल्थ्यो । हुन त साना बालबालिकाले लेख्ने सामग्री पाए भने आफ्नै रुचिअनुसारको बांगोटिंगो रेखा कोरिहाल्छन् । म पनि यसै गरी हुर्किएको हुँ । मैले पनि आफूले थाहा नपाउने उमेरदेखि नै यस्ता अनेकौं रेखाहरू कोर्ने गरेको बाबाममीले मसँग कुराकानी गर्ने क्रममा बताउने गर्नुहुन्छ । मैले घरका भित्तामा अनजानमै कोरेका विभिन्न रेखाचित्र अहिले पनि बाँकी नै छन् ।

खासमा मलाई चित्रकलामा रुचि जगाउने काम भने मैले यसअघि पढेको लिटिल फ्लावर स्कुल, नारायणगढले गरेको हो । त्यहाँका शिक्षकशिक्षिकाहरूले सानो कक्षामा पढ्दा नै अलग्गै विषयका रूपमा चित्रकला बनाउन लगाउनुहुन्थ्यो । जति माथिल्लो कक्षामा गएँ, त्यति नै चित्र बनाउने सीप पनि निखारिँदै गयो । कक्षा ६ देखि वाल्मीकि स्कुलमा पढ्न थालेपछि अलग्गै विषयका रूपमा चित्रकला पढ्न पाइएन तर अतिरिक्त क्रियाकलापका रूपमा भने बेलाबेलामा प्रतिस्पर्धा हुने गरेको थियो । यसले मलाई चित्र कोरिरहन प्रेरणा दियो । त्यसैले मैले घरैमा पनि फुर्सद पाएको समयमा चित्र कोर्ने गरेको छु । मैले चित्र बनाएको देखेर अहिले ६ कक्षामा पढ्ने भाइ दिप्सनले पनि गत सालदेखि नै चित्र कोर्ने गरेको छ । उसका चित्रहरू पनि नागरिक जूनकिरी र कान्तिपुर कोपिलामा छापिएका छन् । बाबा र ममी पार्वती नेपालले हामी दिदीभाइले बनाएका चित्र राम्रो छ भन्नुहुन्छ । यसले हामीलाई अझ धेरै चित्र बनाउन हौसला मिलिरहेको छ । बाबाले चित्र कोर्न आवश्यक पर्ने रङ र ब्रसहरू ल्याइदिनुभएको छ ।

चित्र बनाउँदा मैले आफ्नै वरिपरि देखिएका दृश्यहरूलाई समेट्ने प्रयास गर्ने गरेको छु । प्रकृति, धर्म, संस्कृति, घरपरिवार आदि विषय मेरो चित्रमा समेटिएका छन् । चित्रमा आफूले मुखले भन्न नसकेका कुरा पनि व्यक्त गर्न सकिन्छ । तर मैले यस्ता विषय चित्रमा कसरी प्रस्तुत गर्ने भन्ने जानेकी छैन । राम्रो प्रशिक्षण पाएँ भने पक्का पनि आगामी दिनमा यी विषयवस्तु पनि मेरा चित्रमा आउलान् । अहिले भने मैले आफ्नो पढाइलाई नै पहिलो प्राथमिकता दिनुपर्छ । पढाइ सँगसँगै चित्रकलालाई पनि अगाडि बढाउँदै लगेको छु । अहिले पनि मैले बनाएका चित्रहरू घरका भित्तामा टाँसेको छु । यी चित्रहरू हेर्दा आफैँलाई अझै सुधार्न पाए हुन्थ्यो भन्ने लाग्छ । पहिलोपटक नै उत्कृष्ट चित्र बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन । त्यसैले आगामी दिनमा अझै सुधार गर्दै जाने मनमनै अठोट गरेको छु । मेरो चित्रलाई प्रकाशन गरेर हौसला दिने पत्रिका, मेरा बाबाममी, भाइ, मेरो चित्र हेरेर स्याबासी दिने साथीहरू, विद्यालय परिवार सबैलाई धन्यवाद दिन्छु । 

प्रकाशित: ६ असार २०७७ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App