विन्दु अधिकारी ढकाल
विसं ०७६ चैत ११ गतेदेखि शुरू भएको लकडाउन ०७७ जेठ २९ सम्म आइपुग्दा ठ्याक्कै ८० दिन भएछ । जन्मेर तातेताते गर्दै हिँड्न थालेदेखि मलाई यति लामो समय घरको घरै बसेको थाह थिएन । आफ्नो आँगन कटेर न कतै जान हतार थियो न धपेडीमा कुनै काम नै गरियो । पढ्न स्कुल पनि जानु परेन ।
उसो त भारी ब्यागमा आफ्ना कापी– किताबसमेत खाँदेर मेरा केही साथीहरू गाउँ गए । मचाहिँ उपत्यका छोडेर कतै गइन । एक त परिवार हामी सबै यतै छौं । कोरोना महामारीले विश्व नै लकडाउनको बेला धेरै आत्तिएर पनि भएन र कतै सहज पनि थिएन । बरु समयको कसरी सदुपयोग गर्ने होला भनेर सोच्न थालें ।
३१ डिसेम्बर २०१९ का दिन चीनको वुहानबाट शुरू भएको कोरोना भाइरस (कोभिड–१९) एक प्रकारको सरुवा रोग भनेर पत्ता लगाइसकेपछि र यस विषाणुको औषधि अथवा खोप नबनिसकेको हुनाले संक्रमणबाट बच्न एकाएक स्कुल–कलेजहरू बन्द भए । पहिल्यै नेपाल सरकारले फागुन ५ गते भित्रमा देशैभरिका सामुदायिक तथा निजी विद्यालयलाई वार्षिक परीक्षा लिइसक्नु भनेर सूचना जारी गरे ।
कतिले यथासक्य रूपमा गरे, कतिले गर्दै थिए । तर अन्तर्राष्ट्रिय उडानमार्फत यता नेपालमा पनि रोगको संक्रमण फैलिएपछि हवाईउडान लगायत सबै किसिमका कामधन्दा बन्द गरियो । यस्तो अवस्थामा अत्यावश्यक सेवा– दूध, पानी, इन्धन, औषधि र खाद्यान्न ओसारपसारबाहेक कोही कतै हिँड्न पनि भएन ।
कोरोना महामारीको जताततै त्रास फैलिएको थियो । त्यस्तो बेला उद्योगधन्दा कलकारखाना सबै बन्द गरियो । दुई पाइला कतै हिँड्न पनि बन्देज थियो । देशविदेशका विभिन्न संचार माध्यमले कोरोना महामारीबाट बच्न घरमै बन्दी हुनु भरपर्दो उपाय भनेपछि शुरुवाती दिन मजा लाग्यो । किनकि हामी स्कुलेहरूको दिनचर्या सधैं घोक्नु र रट्नु मात्रै थियो । कति पढ्नु ? वाक्कदिक्क थियो मन । कहिलेकाहीं पढ्नु नपरेको दिन कस्तो होला भन्ने लाग्थ्यो । तर, यसरी लामो समय घरैमा बस्दा स्कुल जानु साथीहरूसँग मिलेर पढ्नु, लेख्नु, खेल्नु र खानुको महत्व कस्तो हुने रहेछ भन्ने बुझे ।
त्यति मात्र कहाँ हो र ! चैत ६ गतेबाट हुने एसइईमा धेरै अंक ल्याउन मजैले लेख्छु भन्ने सोच थियो । तर दुर्भाग्य ५ गते साँझको समाचारमा शिक्षा मन्त्रालयको निर्णय तत्काल परीक्षा नहुने भनेर खबर आयो । तैपनि निराश थिइन । पढाइलाई कसरी व्यवस्थित गरेर फुर्तिलो भइरहने कतैबाट सही जवाफ पाउने अवस्था थिएन । उही कुरा सम्झेर बसिरहने अवस्था पनि थिएन । अतः त्यसबेला मामुलाई घरको सरसफाइदेखि खाना पकाउन सघाउन थालें । दाजुबहिनीले युटयुवको सहायतामा मम जस्ता मनपर्ने परिकारहरू बनायौं ।
साथीहरू बाबाममीसँगै सधैं घरमै बसेको देख्थें । मेरो बाबा भिमप्रसाद ढकाल एसएसपी हुनुहुन्छ । उहाँ एक दिन पनि हामीसँग बस्न पाउनुभएको छैन । जतिसुकै कडा लकडाउन होस् अथवा शनिबार छुट्टीको दिन प्रहरी सेवामा आबद्ध उहाँको काँधमा तीनटै उपत्यकाको ट्राफिक भार थियो । उहाँ चौबिसै घण्टा खटाइ भएकाले बसाइ पनि कार्यालयमै हुन्थ्यो ।
यो डायरी लेख्दै गर्दा जेठ २७ गते मन्त्रिपरिषद्को निर्णय कोरोना कहरको अवस्थामा धेरै विद्यालयहरूलाई क्वारेन्टिन बनाइएको र संक्रमण फैलिने क्रम पनि नरोकिएकाले सम्बन्धित विद्यालयहरूले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीको एसइई ग्रेड निर्धारण गर्नु भनेर खबर आयो । यो खबर सुन्दा अप्ठेरो भारी बिसाएझैं भयो ।
बन्दाबन्दीमा साथीहरूसँग फोनमा, भाइबर र इमोबाट कुरा गर्दै अंग्रेजी र नेपालीका केही उपन्यासहरू पढें । समय मिलाएर पेन्टिङ पनि गरें । गीत गाउने रहर थियो । दुईचारवटा गीत पनि राम्ररी नै गाएछु । त्यसमा कम खुशी लागेको छैन । घरमा दादा र मामुसँग बोल्दा ससानो कुरालाई ईख लिएर ‘तिलको पहाड’ बनाउन मलाई कहिल्यै आएन । हामी साथीजस्तै हँस्सीमजाक गर्छौं । उता बाबालाई पनि फोन गरेर समयमा खाना खान र स्व्ँस्थको ख्याल राख्नुस् है भनेर बेलाबेलामा भनिरहन्छु ।
स्कुले भाइबहिनीहरू, तिमीहरूभन्दा म केही ठूली भए पनि ११ पढ्ने तरखर मात्रै त हो । कलेज धाउने समय तिमीहरूको स्कुलजस्तै अन्योल बेलामा आफ्नो अनुभव सुनाउन पाउँदा आज अत्यन्तै खुशी छु । आशा छ, लकडाउनको बेला मैलेझैं तिमीहरूले पनि यस्तै असल काम गरेर दिन बिताउँदै छौ । यसपटकलाई यति भन्दै म ऋषिका पनि बिदा भएँ है त !
प्रकाशित: ३० जेष्ठ २०७७ ०६:३२ शुक्रबार