२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

हजुरआमा भन्नुहुन्थ्यो

लघुकथा 

   – लक्ष्मण अर्याल

“कतिको दिम् ?”  सानीले कान्छालाई भनी ।

“दिदी, आज नयाँ वर्षको पहिलो दिन । आज जे गरयो बर्सैभर त्यही गरिरनुपर्छ रे । भो, खान्न आज ।” कान्छाले मन बाँधेरै यति बोल्यो ।  

“त्यसो भा तँ किन आको त भट्टी ।” सानीले रिसाएर भनी ।  

“नियाँस्रो लाग्यो ।”

“कसको ?”

“खै ।” ङिच्च हाँस्यो कान्छो ।  

“मनले मागेको छ तेरो । खा । तर आज म उधारो दिन्न । आज उधारो दिए बर्सैभर कारोबार उधारामा चल्छ भन्छन् ।”  सानी भन्छे ।  

कान्छाले घर सम्झियो । आमा बिरामी छिन् । विक्रमेकी आमाले छाडेर गैहाली । ऊ गएको पनि आज दश महिना भयो । फर्केर आउली भन्ने लाग्याथ्यो तर आइन । निठुरी रहिछ । ऊ बारम्बार सम्चार पठाउँथी — रक्सी छोड् अनि आउँला । कान्छाले रक्सी छाड्न के पो गरेन र  — पशुपतिको आर्यघाट पुगेर बोत्तल बगायो, दाइकी जुम्ल्याहा छोरीलाई टीका लाएर कसम खायो तर ...... ।  

सानीले भनी,  “के सोचेको ? खा । सोच्नेले खाँदैन, खानेले सोच्दैन ।”

कान्छाको एक मनले भन्यो,  “विक्रमेकी आमा वचनकी पक्का छ, फर्केर आउँछे, नखा ।”

रक्सीको सुगन्ध कान्छाको नाकैमा बसाएर उड्यो । मन बाँधिराख्न सकेन उसले । यही कमजोरी छ उसको — खायो । आमाले फरियाका टुप्पामा बाँधेर राखेकी सय रुपियाँको पनि सत्यानाश भयो । कान्छाले भन्यो, “दिदी, तिमीले कर गरेर पो । अब बर्सैभर विक्रमेकी आमा आउन्न ।”  

सानीले भनी,  “रक्सी खानै पर्ने कस्तो बानी तेरो । मैले त खाखा भनेर आफ्नै स्वार्थका लागि भनेकी । आज ग्राहक धेरै भए बर्सैभरि कारोबार चल्छ  ।” 

हजुरआमा भन्नुहुन्थ्यो ,  “ तँ त रक्सी खान्छस् अनि जान्छस् । तँ जस्ता ग्राहक बढाउन सके ... । तँ सुधो गाईलाई के था — रक्सी मात्र बेचेर यो घर चलेको छ र ।”  

प्रकाशित: २९ जेष्ठ २०७७ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App