२ कार्तिक २०८३ आइतबार
image/svg+xml
अन्य

अनियमितता गर्नेलाई रु एकलाख जरिवाना र छ महिना कैद

भक्तपुर, चैत ७ - विद्यार्थीको 'फलामे ढोका' प्रवेशिका अर्थात् एसएलसी परीक्षा आज बिहान ८ बजेदेखि मुलुकभर एकैसाथ सुरु भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको छ। परीक्षा नियन्त्रक डिल्लीराम रिमालले परीक्षा सहज रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउन सबै पक्षलाई आग्रह गर्नुभएको छ।

एसएलसी परीक्षामा यस वर्ष नियमिततर्फ चार लाख ४५ हजार ९७४ र पूरकतर्फ ८२ हजार २८३ गरी मुलुकभरबाट पाँच लाख २८ हजार २५७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्।

तिनमा पूर्वाञ्चलका १६ जिल्लाबाट एक लाख २३ हजार, मध्यमाञ्चलका १९ जिल्लाबाट एक लाख ६२ हजार ३८२, पश्चिमाञ्चलका १६ जिल्लाबाट एक लाख ३ हजार ४२७, मध्यपश्चिमाञ्चलका १४ जिल्ल्ााबाट ८० हजार १८२ र सूदूरपश्चिमाञ्चलका नौ जिल्लाबाट ५८ हजार ९७९ जना परीक्षार्थी सहभागी भएका छन्।

यस वर्ष मनाङमा सबभन्दा कम १०५ र सबभन्दा बढी काठमाडौँमा ३४ हजार १४ जना परीक्षार्थी सहभागी हुने भएका छन्।

परीक्षाका लागि पूर्वाञ्चलमा ४२२, मध्यमाञ्चलमा ५०९, पश्चिमाञ्चलमा ३७३, मध्यपश्चिमाञ्चलमा २६९ र सूदूरपश्चिमाञ्चलमा १७५ गरी मुलुकभर कूल एक हजार सात सय ४८ वटा परीक्षा केन्द निर्धारण गरिएको परीक्षा नियन्त्रक रिमालले बताउनुभयो।

कार्यालयले परीक्षाका लागि मुलुकभर ५६ हजार जनशक्ति खटाएको छ भने परीक्षामा अनियमितता हुन नदिन र परीक्षाको अनुगमन प्रभावकारी बनाउन यस वर्षदेखि मुलुकको १४ वटै अञ्चलमा एक एकजना सहसचिव खटाएको छ।

यस वर्षदेखि सबै केन्द्र निर्धारण गरिएका विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्त गरिएको र योग्यता नपुगेको अवस्थामा मात्र अन्य व्यक्तिलाई लिएको जनाइएको छ।

यस वर्ष परीक्षामा लापरबाही गर्ने, तथा चिट चोर्न मद्दत एवं अनियमिततता गर्ने शिक्षक, कर्मचारी एवं पदाधिकारीलाई तत्काल पक्राउ गरी रु एक लाख जरिवाना वा ६ महिनासम्म कैद सजाय गराई कारबाही गर्ने भएको छ।

सरकारले ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित परीक्षा बोर्डलाई अनुगमन तथा कारबाही समेतको अधिकार दिएको छ। परीक्षा मर्यादितरूपमा सफल पार्न राजनीतिक दलका निकाय, सङ्घसंस्थाका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, सुरक्षा निकाय लगायतका सम्बद्ध पक्षलाई सहयोग गर्न कार्यालयले आग्रह गरेको छ।

कार्यालयले यस वर्ष एसएलसी परीक्षाका लागि आफू अध्यननरत विद्यालयबाट फाराम नभरी अन्य जिल्लाबाट फाराम भर्ने र दुईवटा जिल्ल्ााका फरक फरक विद्यालयबाट फाराम भर्ने दुई हजार ५ सय विद्यार्थीको एकतर्फी फाराम रद्द गरी सम्बन्धित विद्यालयबाट परीक्षा दिने व्यवस्था गरेकोे छ।

कार्यालयले गत वर्ष चार लाख ९६ हजार २४३ परीक्षार्थीका लागि एक हजार ६७२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा गत वर्षभन्दा यस वर्ष ७६ वटा परीक्षा केन्द्र थप गरिएको छ।

परीक्षा तालिका

चैत ७ गते अङ्ग्रेजी
चैत ८ गते नेपाली
चैत १० गते गणित
चैत १२ गते विज्ञान
चैत १३ गते सामाजिक
चैत १४ गते स्वास्थ्य,जनसङ्ख्या तथा वातावरण
चैत १५ गते ऐच्छिक प्रथम
चैत १६ गते ऐच्छिक द्वितीय

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। -रासस

प्रकाशित: ६ चैत्र २०६८ २१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App