कलाकाष्ठादिरूपेण परिणामप्रदायिनि।
विश्वस्योपरतौ शक्ते नारायणि नमोऽस्तु ते॥
नेपालमा धर्म, संस्कृति र ज्योतिषशास्त्रप्रति जनताको गहिरो आस्था छ। विशेषगरी दसैँजस्तो राष्ट्रिय महत्त्वको पर्वमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गर्ने साइतलाई सर्वसाधारणदेखि राष्ट्रप्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, नेपाली सेना तथा नेपाल प्रहरीसम्मले विशेष महत्त्व दिने गरेका छन्। राज्यको आधिकारिक निकायले घोषणा गरेको समय पर्याप्त शास्त्रीय परीक्षणपछि निर्धारण गरिएको होला भन्ने जनविश्वास स्वाभाविक हो।
तर त्यही साइतमा प्राचीन मुहूर्तशास्त्रीय ग्रन्थहरूले त्याज्य मानेका अनेक दोष एकैसाथ परेको देखिएपछि त्यसको औचित्यमाथि प्रश्न उठाउनु ज्योतिषशास्त्रको विरोध होइन, बरु यसको प्रामाणिकता र मर्यादाको संरक्षण हो।
यस वर्ष अर्थात् २०८३ सालको विजयादशमीका लागि समितिले कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजेलाई टीकाको उत्तम साइत र ८:४९ बजेलाई देवीविसर्जनको समय घोषणा गरेको छ। दिनभर टीका लगाउन सकिने भए पनि विशेष साइत चाहनेका लागि उक्त समय निर्धारण गरिएको बताइएको छ।
जब दिनभर टीका लगाउन सकिन्छ भने विशेष रूपमा ‘उत्तम’ घोषित समय उपलब्ध विकल्पमध्ये शास्त्रीय दृष्टिले तुलनात्मक रूपमा सर्वोत्तम हुनुपर्दैन र?
मुहूर्त निर्धारणमा लग्नशुद्धि र गण्डान्त
भारतवर्षीय ज्योतिषपरम्परामा मुहूर्त निर्धारण गर्दा तिथि, वार, नक्षत्र, योग, करण, लग्न, ग्रहबल, चन्द्रबल, होरा र त्याज्यकालको विचार गरिन्छ। कार्यविशेषअनुसार तिनको प्राथमिकता फरक हुन सक्छ। तथापि लग्नशुद्धिलाई विशेष महत्त्व दिइएको छ।
लग्नेशको बल, शुभग्रहको प्रभाव र नवांशगत स्थिति अनुकूल हुँदैमा गण्डान्त, गुलिक तथा अन्य त्याज्यकाल स्वतः निष्प्रभावी हुन्छन् भन्ने होइन। दोषपरिहारको शास्त्रीय नियम भए त्यसको प्रमाणसमेत प्रस्तुत हुनुपर्छ।
महर्षि पराशरप्रणीत परम्परामा प्राप्तबृहत्पाराशरहोराशास्त्रको अशुभजन्मकथन प्रकरणमा भनिएको छ—
तिथिनक्षत्रलग्नानां गण्डान्तं त्रिविधं मतम्।
जन्मयात्राविवाहादौ भवेत् तन्निधनप्रदम्॥
अर्थात् तिथि, नक्षत्र र लग्नका आधारमा गण्डान्त तीन प्रकारका हुन्छन्। जन्म, यात्रा तथा विवाहादि माङ्गलिक कार्यमा यस्ता सन्धिकाललाई अनिष्टकारक मानिएको छ।
यहाँ उल्लिखित अनिष्टफल परम्परागत ज्योतिषीय मान्यता हो। यसको उद्देश्य भय सिर्जना गर्नु नभई शुभकार्यका लागि समय छनोट गर्दा सन्धिकालको विशेष परीक्षण गर्नुपर्ने शास्त्रीय सिद्धान्त स्पष्ट पार्नु हो।
वशिष्ठ, गर्ग, नारद, शौनकलगायत ऋषिसँग सम्बन्धित मुहूर्तपरम्परामा पनि गण्डान्तको चर्चा पाइन्छ।श्रीरामदैवज्ञ रचित मुहूर्तचिन्तामणितथा त्यसकोपीयूषधाराव्याख्यामा यस्ता दोष र तिनका परिहारसम्बन्धी विवेचन उपलब्ध छन्।
बिहान १०:२६ बजेको साइतमा के–के दोष देखिन्छन्?
समितिले घोषित गरेको समयलाई मैले अध्ययन गरेको पञ्चाङ्गीय गणनासँग तुलना गर्दा निम्न अवस्था देखिन्छ—
| विषय | गणनाअनुसार समय वा अवस्था |
| घोषित टीका साइत | बिहान १०:२६ बजे |
| तिथिगण्डान्त | १०:०३–१२:३९ बजे |
| लग्नगण्डान्त | १०:१९–१०:४३ बजे |
| लग्न | वृश्चिक २८ अंश ४७ कला |
| मङ्गलको होरा | ९:५४–१०:५१ बजे |
| गुलिककाल | १०:२३–११:४८ बजे |
| लग्न नक्षत्र विचार | १०:१९–१०:४३+ अभुक्तमूलको सम्भावित प्रभाव |
यसअनुसार १०:२६ बजे तिथि र लग्न दुवै गण्डान्तमा छन्। वृश्चिक लग्न समाप्त हुन केही मिनेट मात्र बाँकी छ। मङ्गलको होरा र गुलिककालसमेत परेका छन्। अभुक्तमूलको अवस्था पनि नक्षत्रको यथार्थ समयका आधारमा परीक्षण गर्नुपर्ने देखिन्छ।
एउटै साइतमा यति धेरै त्याज्य अवस्था देखिनु सामान्य विषय होइन। प्रत्येक दोषको बल र परिहार अलग–अलग परीक्षण गर्नुपर्ने भए पनि तिनको संयुक्त उपस्थितिलाई बेवास्ता गर्न मिल्दैन।
९:३०–९:४६ बजेको विकल्प किन विचार गरिएन?
मेरो गणनाअनुसार बिहान ९:३० देखि ९:४६ बजेसम्म वृश्चिक लग्न २० अंशभित्र रहेको, उच्च राशिमा भ्रमण गरिरहेका बृहस्पतिको अनुकूल नवांशगत सम्बन्ध तथा गुरुकै होरा प्राप्त हुने देखिन्छ। लग्नेशको नवांशगत स्थितिसमेत विचार गर्दा उक्त अवधि मङ्गलको होरा, तिथिगण्डान्त, लग्नगण्डान्त र गुलिककाल प्रारम्भ हुनुअघिको तुलनात्मक रूपमा अनुकूल विकल्प थियो।
अर्कोतर्फ दिउँसो करिब १०:३१ बजे धनु लग्न सुरुभए पनि लग्नेश बृहस्पति अष्टमभावमा नीचस्थ मङ्गलसँग युतिमा रहेको गणना देखिन्छ। परम्परागत मुहूर्तविचारमा अष्टमभावगत लग्नेशको अवस्थालाई सहजै उत्कृष्ट मान्न सकिँदैन। त्यसैले धनु लग्न प्राप्त हुनु मात्र लग्नशुद्धिको पर्याप्त आधार होइन।
यसरी हेर्दा बिहानको तुलनात्मक रूपमा अनुकूल विकल्पलाई प्राथमिकता दिनुको सट्टा अनेक दोष एकैसाथ पर्ने १०:२६ बजेकै समय किन चयन गरियो? छल्न सकिने दोष नछल्नुको शास्त्रीय कारण के हो?
महर्षि पराशरप्रणीतबृहत्पाराशरहोराशास्त्रको प्रकाशग्रहफलाध्याय (अध्याय २६) मा पं. सुरेशचन्द्र मिश्रले धूमादि पाँच अप्रकाश ग्रह तथा गुलिकको फल विचार गरेपछि सूर्यादि प्रकाश ग्रहहरूको फलसँग समन्वय गरी ग्रहहरूको दृष्टि, बलाबल र शुभाशुभ प्रभावका आधारमा अन्तिम निर्णय गर्नुपर्ने स्पष्ट पारेका छन्। अप्रकाश ग्रहबाट अशुभ र प्रकाश ग्रहबाट शुभ फल देखिएमा मध्यम तथा दुवैतर्फबाट शुभ फल देखिएमा अत्यन्त शुभ मान्नुपर्ने उनको व्याख्या छ। यस आधारमा लग्नेशको शुभस्थिति वा नवांशगत अनुकूलतालाई मात्र लग्नशुद्धिको पर्याप्त प्रमाण मानेर लग्नस्थित गुलिकको अशुभ प्रभाव उपेक्षा गर्न मिल्दैन। त्यसमा पनि लग्नगण्डान्त, अभुक्तमूल तथा मङ्गलको होराजस्ता अन्य विचारणीय पक्षसमेत उपस्थित हुँदा १०:२६ बजेको साइतलाई सर्वथा निर्दोष र सर्वोत्तम मान्ने आधार के हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
गुलिक, होरा र बारबेलाको प्रश्न
ज्योतिषपरम्परामा गुलिकलाई शनिसँग सम्बन्धित उपग्रह मानिन्छ।बृहत्पाराशरहोराशास्त्रमा यसको भावगत फल वर्णित छ। मन्त्रेश्वरकृतफलदीपिकामा भनिएको छ—
गुलिकस्य तु संयोगे दोषान्सर्वत्र निर्दिशेत्।
यमकण्टकसंयोगे सर्वत्र कथयेच्छुभम्॥
त्यसैगरी ‘दोषप्रदाने गुलिको बलीयान्’ तथा ‘शनिवद्गुलिके प्रोक्तम्’ जस्ता कथनले परम्परागत फलादेशमा गुलिकलाई प्रतिकूल प्रभावसँग सम्बन्धित मानिएको देखाउँछन्।
यद्यपि जन्मकुण्डलीसम्बन्धी फलादेश र मुहूर्तनिर्णयका नियमलाई यथावत् एउटै मान्न मिल्दैन। त्यसैले घोषित साइतमा गुलिककाल र लग्नगत गुलिकको अवस्थाबारे कुन नियम प्रयोग गरिएको थियो भन्ने स्पष्ट हुनु आवश्यक छ।
अर्को महत्त्वपूर्ण पक्ष हो—होरा र बारबेलाको भिन्नता।
केशव दैवज्ञकृतमुहूर्ततत्त्वम्को त्याज्यप्रकरणमा ‘कुहोरा’ सम्बन्धी चर्चा छ। सूर्य, मङ्गल र शनिका होरालाई कतिपय शुभकार्यका लागि प्रतिकूल मानिएको पाइन्छ। तर होराको शुभाशुभ निर्णय कार्यविशेष र अन्य ग्रहस्थितिसँग पनि सम्बन्धित हुन्छ।
घोषित टीकाको समयमा मङ्गलको होरा परेको देखिन्छ, जबकि बारबेलाका आधारमा उक्त समय शुभ मानिएको छ।
यस विषयमा समितिका एक जिम्मेवार विद्वान्सँग जिज्ञासा राख्दा उहाँले बारबेलालाई मुख्य प्राथमिकता नदिइएको, जनसाधारणले विचार गर्ने भएकाले सम्भव भएसम्म मिलाउन खोजिएको तथा राज्यका आवश्यकतालाई ध्यानमा राखेर लग्नशुद्धि विचार गरिएको आशयको जवाफ दिनुभएको थियो।
उहाँको स्पष्टीकरणलाई सम्मान गर्दै प्रश्न गर्न चाहन्छु—यदि बारबेला मुख्य आधार थिएन भने गण्डान्त, गुलिक र मङ्गलको होराजस्ता दोषको परिहार कुन शास्त्रीय नियमका आधारमा गरियो?
शुभ बारबेला हुँदैमा प्रतिकूल मानिएको होरा स्वतः शुभ हुने नियम कहाँ छ? यसबारे मूल ग्रन्थ र व्याख्यासहित स्पष्ट पारिनुपर्छ।
बुधबारको अभिजित, कुलिक र दुर्मुहूर्त
मुहूर्तगणनामा दिनमानलाई पन्ध्र भागमा विभाजन गरिन्छ। सामान्यतः मध्यान्हको आठौँ मुहूर्तलाई अभिजितसँग सम्बन्धित गरिन्छ। तर बुधबारको मध्यान्हमा विशेष निषेधको चर्चा पाइन्छ।
मुहूर्तचिन्तामणिलगायत ग्रन्थका आधारमा बुधबारको आठौँ मुहूर्तलाई कुलिक तथा दुर्मुहूर्तका सन्दर्भमा विचार गरिन्छ। त्यसैले अन्य वारमा शुभ मानिने मध्यान्हकाल बुधबार पनि स्वतः शुभ हुन्छ भन्ने मान्यता उपयुक्त हुँदैन।
यहाँ ‘कुलिक मुहूर्त’ र ‘गुलिककाल’ फरक विषय हुन्। तिनको गणनापद्धति र शास्त्रीय प्रयोग एउटै छैन।
यस वर्ष बिहान १०:५१ र १०:५२ बजे निर्धारण गरिएका अन्य धार्मिक कार्यका साइतसमेत कुलिक, तिथिगण्डान्त तथा दुर्मुहूर्तसँग सम्बन्धित छन् कि छैनन् भन्ने छुट्टै परीक्षण आवश्यक छ।
यस्ता निर्णयमा केही अनुकूल पक्ष मात्र हेर्ने कि सम्पूर्ण त्याज्यकालको तुलनात्मक समीक्षा गर्ने? यही प्रश्न मुहूर्तशास्त्रको विश्वसनीयतासँग जोडिएको छ।
देवीविसर्जन र टीका ग्रहण एउटै विषय होइनन्
समितिबाट प्राप्त स्पष्टीकरणमा मुख्य विषय देवीविसर्जनको साइत भएको र देवीको प्रसाद ग्रहण गर्न कडा मुहूर्त आवश्यक नपर्ने आशय व्यक्त गरिएको थियो।
यो विचारको धार्मिक सान्दर्भिकता छ। मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परालाई प्रसाद ग्रहणका रूपमा बुझ्न सकिन्छ। यसका लागि सबै नागरिकले एउटै समयमा टीका लगाउनुपर्ने बाध्यता छैन।
तर विशेष रूपमा ‘उत्तम साइत’ सार्वजनिक गरिसकेपछि त्यसको शास्त्रीय औचित्य पुष्टि गर्ने दायित्व पनि रहन्छ।
अर्कोतर्फ बिहान ८:४९ बजे निर्धारित देवीविसर्जनको समयमा शनिको होरा परेको मेरो गणना छ। त्यसपछि बृहस्पतिको होरा प्रारम्भ हुने अवस्था थियो भने केही समय प्रतीक्षा गरी तुलनात्मक रूपमा अनुकूल होरामा विसर्जन गर्न सकिन्थ्यो कि?
बृहस्पतिको होरा लाग्दैमा अन्य सबै दोष समाप्त हुन्छन् भन्ने होइन। तथापि विकल्प उपलब्ध हुँदाहुँदै प्रतिकूल मानिएको समय चयन गर्नुको कारण स्पष्ट पारिनुपर्छ।
मूल ग्रन्थको अध्ययन र ज्योतिषीको उत्तरदायित्व
मुहूर्तनिर्णयको अध्ययनमुहूर्तचिन्तामणिमा मात्र सीमित हुनु हुँदैन। केशव दैवज्ञकृतमुहूर्ततत्त्वम्लगायत अन्य ग्रन्थको तुलनात्मक अध्ययन आवश्यक छ।
केशव दैवज्ञ प्रसिद्ध गणेश दैवज्ञका पिता हुन्। गणेश दैवज्ञकोग्रहलाघवभारतवर्षीय पञ्चाङ्गगणनाको इतिहासमा महत्त्वपूर्ण ग्रन्थ हो। यति समृद्ध गणितीय र मुहूर्तसम्बन्धी परम्परा उपलब्ध हुँदा आधुनिक निर्णयमा ती सिद्धान्तको प्रयोग कति भएको छ भन्ने प्रश्न स्वाभाविक छ।
वराहमिहिरकृतबृहत्संहिताको दैवज्ञसम्बन्धी विवेचनमा ज्योतिषीको अध्ययन, गणनादक्षता, आचार र निर्णयक्षमताको महत्त्व स्पष्ट गरिएको छ। ज्योतिषी केवल पञ्चाङ्गका अङ्क पढ्ने व्यक्ति नभई गणित, होरा र संहिताको अध्ययन गर्ने, विवेकपूर्ण निर्णय दिन सक्ने विद्वान् हुनुपर्ने शास्त्रीय अपेक्षा देखिन्छ।
आज ज्योतिषसम्बन्धी उपाधि र प्रमाणपत्र प्रदान गर्ने संस्थाहरू बढिरहेका छन्। उपाधि प्राप्त गर्नु दोष होइन, तर मूल ग्रन्थको अध्ययन, गणनाको शुद्धता र व्यावहारिक परीक्षणबिना उपाधि मात्रलाई विद्वत्ताको प्रमाण मान्नु चिन्ताजनक छ।
नेपालको राष्ट्रिय अभिलेखालयमा संस्कृतलगायत विभिन्न भाषामा तथा नेवारी, मैथिलीसम्बद्ध र अन्य लिपिपरम्परामा सुरक्षित प्राचीन ज्योतिष, वास्तु र कर्मकाण्डसम्बन्धी पाण्डुलिपिहरू हाम्रो अमूल्य बौद्धिक सम्पदा हुन्। तिनको खोज, संरक्षण, पाठसम्पादन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ।
यस सन्दर्भमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्षज्यूले राष्ट्रिय अभिलेखालयमा सुरक्षित सयौँ वर्ष पुराना वास्तुशास्त्रसम्बन्धी हस्तलिखित ग्रन्थहरूको खोज, अध्ययन तथा सङ्कलनमा गर्नुभएको प्रयास प्रशंसनीय छ। प्राचीन शास्त्रीय सम्पदाप्रतिको उहाँको योगदानलाई सम्मान गर्दै सार्वजनिक मुहूर्तनिर्णयमा पनि त्यस्तै गहन अध्ययन, प्रमाणिकता र पारदर्शिताको अपेक्षा गर्नु स्वाभाविक हो।
शास्त्रको नाममा निर्णय गर्नु र शास्त्रीय प्रमाणका आधारमा निर्णय गर्नु एउटै कुरा होइन।
गल्ती प्रमाणित भए क्षमायाचना वा प्रायश्चित्त किन नगर्ने?
सार्वजनिक महत्त्वको निर्णयमा गम्भीर त्रुटि प्रमाणित भएपछि जिम्मेवारी स्वीकार गर्दै जनतासँग क्षमायाचना गर्नु वा सम्बन्धित शास्त्रीय परम्पराअनुसार प्रायश्चित्तको विषय विचार गर्नु अनुचित हुन्छ र?
जनताले तिरेको करबाट पारिश्रमिक प्राप्त गर्ने जिम्मेवार सरकारी पदाधिकारीले सार्वजनिक निर्णय गर्दा पर्याप्त सावधानी अपनाउनुपर्छ। देशको धर्म, संस्कृति र परम्परासँग जोडिएका विषयमा बारम्बार विवाद उठ्दा सम्बन्धित निकायले प्रमाणसहित जवाफ दिनु आवश्यक छ।
सामान्य व्यक्तिले अज्ञानतावश गरेको त्रुटि र शास्त्रीय ज्ञानका आधारमा निर्णय दिने जिम्मेवार व्यक्तिको त्रुटिको नैतिक गम्भीरता एउटै हुँदैन। आधिकारिक रूपमा घोषित साइतले लाखौँ नागरिकको विश्वास र व्यवहार प्रभावित गर्न सक्छ।
तर शास्त्रीय आपत्ति उठ्नु र त्रुटि प्रमाणित हुनु फरक विषय हुन्। त्यसैले पहिले स्वतन्त्र गणना, मूल ग्रन्थको परीक्षण र सम्बन्धित पक्षको स्पष्टीकरण आवश्यक छ। त्रुटि प्रमाणित भए सार्वजनिक क्षमायाचना, आवश्यक सुधार र संस्थागत उत्तरदायित्वबाट पन्छिन मिल्दैन।
धार्मिक प्रायश्चित्तको आफ्नै स्थान हुन सक्छ, तर त्यसले सार्वजनिक निर्णयमा भएको गल्ती सुधार्ने संस्थागत दायित्वलाई प्रतिस्थापन गर्न सक्दैन।
सरकार र समितिले जवाफ दिनुपर्ने प्रश्न
यस वर्षको विजयादशमीको साइतसम्बन्धी विवादलाई कुनै व्यक्ति वा विद्वान्को प्रतिष्ठासँग जोडेर सीमित गर्नु हुँदैन। यो सार्वजनिक संस्थाको विश्वसनीयता, निर्णयपद्धति र जवाफदेहिताको प्रश्न हो।
समितिले स्पष्ट पार्नुपर्छ—१०:२६ बजेकै समय किन चयन गरियो? तिथिगण्डान्त, लग्नगण्डान्त, गुलिक, अभुक्तमूल, मङ्गलको होरा तथा अन्य त्याज्यकालमध्ये कुन–कुन परीक्षण गरिए? तिनको परिहार कुन मूल ग्रन्थ, श्लोक र गणनाका आधारमा मानियो? बिहान ९:३०–९:४६ बजेको विकल्प किन स्वीकार गरिएन? यी प्रश्नको जवाफ अनुमान वा औपचारिक विज्ञप्तिले होइन, गणनापद्धति, समयतालिका र शास्त्रीय प्रमाणले दिनुपर्छ।
विगतमा पनि चाडपर्वका साइतसम्बन्धी विवाद उठेका छन्। अब यस्ता विषयमा स्वतन्त्र विद्वान्हरूको सहभागितामा समीक्षा गर्ने, गणनाको आधार सार्वजनिक गर्ने र त्रुटि देखिए सच्याउने संस्थागत व्यवस्था आवश्यक छ।
मुहूर्त हेर्नैपर्ने बाध्यता छैन भने नागरिकले आफ्नो धार्मिक परम्परा र अनुकूलताअनुसार प्रसाद ग्रहण गर्न सक्छन्। तर विशेष ‘उत्तम साइत’ घोषणा गर्ने हो भने उपलब्ध समयमध्ये तुलनात्मक रूपमा अनुकूल अवधि छनोट गरिएको छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ।
ज्योतिषशास्त्रको रक्षा प्रश्न दबाएर होइन, प्रमाण प्रस्तुत गरेर हुन्छ। विद्वत्ताको प्रतिष्ठा गल्ती लुकाएर होइन, त्रुटि स्वीकार गरी सुधार गर्ने साहसबाट बढ्छ।
जनताको आस्था कुनै व्यक्ति वा संस्थाको प्रयोगशाला बन्नु हुँदैन। त्यसैले सम्बन्धित निकायबाट मौनता होइन, शास्त्रीय प्रमाणसहितको स्पष्ट जवाफ अपेक्षित छ।
सिरानमा उल्लिखित दुर्गासप्तशतीको स्तुतिको भावार्थ :हे नारायणी! तपाईं कला, काष्ठा आदि कालका सूक्ष्म विभागका रूपमा रहेर जगत्को परिवर्तन र परिणामलाई नियमन गर्ने शक्तिस्वरूप हुनुहुन्छ। सम्पूर्ण जगत्को लयमा समेत तपाईंको शक्ति विद्यमान छ। तपाईंलाई नमस्कार छ।
समयका सूक्ष्म अंशसम्मको महत्त्व स्मरण गराउने यो स्तुतिले मुहूर्त निर्धारणमा सावधानी, विवेक र शास्त्रीय जिम्मेवारी आवश्यक रहेको सन्देश दिन्छ।
लेखक पोखरेल वास्तु–ज्योतिष अध्येता एवं परामर्शदाता हुन् ।
प्रकाशित: २ कार्तिक २०८३ १७:०१ आइतबार



-600x400.jpg)

