३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
अन्य

ढुकुटीको जालोले ज्यानै लियो

केपी ढुंगाना, काठमाडौं, चैत ६ - ढुकुटी खेल्दा करोडौं ऋण लागेकी एक महिलाले आइतबार प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी छन्। ढुकुटीमा डुबेको पैसा उठाउन नसकेर ठगी अभियोगमा समातिएकी भवानी तामाङले शौचालयको भेन्टिलेटरमा आफ्नै सारीको पासो लगाएर आत्महत्या गरेकी हुन्। पाँच दिनदेखि कालिमाटी वृत्तको महिला हिरासत कक्षमा रहेकी उनी साढे ११ बजे हिरासत कक्षभित्रैको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

प्रहरी हिरासतमा पर्नुअघि नै उनी सुसाइड नोट छाडेर घरबाट बेपत्ता भएकी थिइन्। त्यही आधारमा 'ढुकुटी खेल्ने गरेको र त्यसैमा पैसा डुबेकाले बेपत्ता भएको' खुलेको हो।

उनले लेखेको चारपन्ने सुसाइड नोटमा '६ लाखको ढुकुटी खेल्ने गरेको र धेरैजना ढुकुटी खाएर भागेपछि किस्ता तिर्न नसकेकाले आत्महत्या गर्न बाध्य भएको' उल्लेख छ। ढुकुटी समूहका सदस्यले व्याज र पैसा नफर्काउँदा ऋणमा डुबेको उनले लेखेकी छन्। 'साथीहरू किस्ता बुझाउँदैनन्। माग्न गयो, पछि दिन्छु भन्छन्,' उनको सुसाइड नोटमा छ, 'व्याज तिर्दातिर्दा हैरान भइसकेँ, अब मर्नुको विकल्प छैन।'

सुसाइट नोट

हलचोकको थकाली होटलमा म सधैं ढुकुटी खेल्न जान्थेँ। त्यहाँ आउने आइमाईहरूको मुख उज्यालो हुन्थेन। कतिलाई 'किन बैनी तिम्रो अनुहार उज्यालो छैन' भनेर सोध्थेँ। उनीहरू 'के गर्नु दिदी ढुकुटी खेलियो, किस्ता बुझाउनैपर्‍यो, पैसा छैन' भनेर पुर्पुरोमा हात राखेर बस्थे।
मेरो हालत पनि उस्तै भएको थियो।
ढुकुटी खानेले किस्ता बुझाएका थिएनन्। न व्याज तिर्छन्, न ढुकुटीको किस्ता बुझाउँछन्। साथीहरूलाई 'मलाई यस्तो गाह्रो हुँदा तिमीहरू दिन्नौं' भन्दा 'पैसा आएको छैन' भन्दै पन्छिए। कसैले भने 'अर्कोले दिएपछि दिन्छु' भने।
म सधैं अरू साथीहरूसँग खोजेर भए पनि व्याज बुझाउँथे। उनीहरू भने आनन्द मानेर बस्थे। मलाई कति छट्पटी हुन्थ्यो।
यो ढुकुटीले मर्नैपर्ने अवस्थामा पुर्‍यायो। मसँग अब मर्नुबाहेक अर्को उपाय के छ र? ढुकुटी खेल्दा सासै त्याग्नुपर्ने भयो।
दिदीबहिनीहरू, तपाईंहरूले ढुकुटी खेल्नुभयो भने तपाईंहरूको हालत पनि मेरोजस्तै हुनेछ।
हे ईश्वर, यो के आइलाग्यो। ढुकुटीले गर्दा मेरो काल निम्तियो।

(भवानी तामाङको कोठाबाट फागुन २२ गते प्रहरीले फेला पारेको सुसाइड नोटको सम्पादित अंश)

उनले ढुकुटीबापत् किस्ता लिनुपर्ने र आफूले दिनुपर्नेहरूको सूची पनि उल्लेख गरेकी छन्।

परिवारका अनुसार भवानी बेपत्ता भएपछि ढुकुटी खेल्नेहरूले छोराछोरीलाई फोन गरेर धम्क्याएका थिए। धेरै धम्की आएपछि १८ वर्षका छोरासमेत बेपत्ता छन्। अनुसन्धानबाट उनले अर्काको सुन बन्धकी राखेर १६ लाख रुपैयाँभन्दा बढी निकालेको र साढे २ करोडभन्दा बढी तिर्न बाँकी देखिएको कालिमाटी वृत्त प्रमुख टेकबहादुर तामाङले जानकारी दिए। ढुकुटीको सबै पैसा जोड्दा करिब सात करोठ नाघ्ने प्रहरीको दाबी छ।

डिएसपी तामाङका अनुसार उनीविरुद्ध करिब ४० जनाले उजुरी दिएका थिए। ढुकुटी खेल्दा पैसा डुबेको भन्ने ती उजुरी प्रहरी लिएको थिएन। ढुकुटीविरुद्ध कारबाही गर्ने अधिकार प्रहरीसँग छैन। त्यही भएर सुन ठगीको अभियोगमा अनुसन्धान सुरु गरिएको तामाङले बताए।

धादिङ थाक्रे गाविस-७ की भवानीविरुद्ध सुन ठगीको उजुरी पनि थियो। ढुकुटीको किस्ता तिर्न छिमेकीसँग लिएको सुन बन्धकी राखेपछि रिता बिकले ठगीको उजुरी गरेकी थिइन्। तामाङका अनुसार उनले 'आफन्तको पार्टीमा जानुछ' भन्दै छिमेकीसँग गहना माग्ने गरेकी थिइन्।

चैत १ गते प्रहरी सम्पर्कमा आएकी उनलाई २ गते ठगी मुद्दाको अनुसन्धान निम्ति न्यायिक म्याद लिएर हिरासतमा राखिएको थियो।

ढुकुटीले यसरी डुबायो
काठमाडौंको कुलेश्वर लिंकमार्ग बस्ने ४२ वर्षीया भवानी सामान्य परिवारकी हुन्। उनका श्रीमान टाटा भ्यान चलाउँछन्। तीन छोरी र एक छोरा छन्।
आत्महत्याको खबर पाएर प्रहरी कार्यालय आएका परिवारले भवानीले पैसा ब्याजमा लगाउने गरे पनि ढुकुटी खेल्ने बानी थाहा नभएको बतायो। परिवारका अनुसार उनी फागुन १७ गते डेराबाट बेपत्ता भएकी थिइन्। परिवारले सामान्य खोजी गरे पनि प्रहरीकहाँ गएन। २१ गते उनलाई एक परिचितले हेटौंडामा देखेका थिए।
उनी बेपत्ता भएपछि ढुकुटी खेल्नेहरूले कालिमाटी वृत्तमा उजुरी दिने प्रयास गरेका थिए। प्रहरीले 'ढुकुटीबारे अनुसन्धान गर्दैनौं' भन्दै फर्काए।
फागुन २२ गते परिवार भवानी हराएको रिपोर्ट गर्न कालिमाटी वृत्त पुग्यो। प्रहरीले उनको कोठामा गएर खानतलासी गर्दा 'सुसाइड नोट' फेला पर्‍यो। उनले आफ्नो शव स्वयम्भुको जंगलमा खोज्नू भनेकी थिइन्।
डिएसपी तामाङका अनुसार सुसाइड नोट पाएपछि उनको खोजी तीव्र पारे पनि फेला परिनन्। बरु उनले सुन लगेर नदिएको उजुरी आयो। यसैबीच चैत १ गते एकाएक उनी डेरा फर्केपछि परिवारले नै प्रहरीकहाँ बुझाउन ल्याएको थियो।

ढुकुटीको जालो

ढुकुटीमा १० देखि ५० जनाले एकैठाउँ पैसा जम्मा गरेर वित्तीय कारोबार गरिन्छ। यसलाई राज्यको कुनै पनि निकायले नियमन गर्दैन। सहरी क्षेत्रमा ढुकुटी खेल्ने क्रम भित्रभित्रै भुसको आगोसरी फैलिएको छ। आपसी विश्वासमा आधारित यो कारोबारमा व्याजसमेत असुल्ने गरिन्छ। ढुकुटी खेल्ने समूहको कुनै एकजनाले व्याज तिरेन वा पैसा फिर्ता गरेन भने सबै डुब्छन्।
गैरकानुनी भएकाले ढुकुटी खेल्नेहरू साधारणतया प्रहरीकहाँ उजुरी गर्न जाँदैनन्। कोही गए पनि प्रहरीले आफ्नो कार्यक्षेत्रमा पर्दैन भन्दै फर्काइदिन्छ।
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणी ज्ञवालीले 'राष्ट्र बैंक ऐनअनुसार ढुकुटी गैरकानुनी' भएको बताए। समूह मिलेर विश्वासमा कारोबार हुने गरेकाले कोही नठगिएसम्म जानकारी आउँदैन। आए पनि ठगीमा कारबाही गर्न नसकिने प्रहरी बताउँछ। वित्तीय कारोबार नियमन गर्ने राष्ट्र बैंकले पनि यसलाई समेटेको छैन।
'ढुकुटी अवैध वित्तीय कारोबार भए पनि यसको नियन्त्रण र कारबाहीमा राष्ट्र बैंकले केही गर्दैन,' ज्ञवालीले नागरिकसँग भने।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख राजेन्द्र श्रेष्ठ सहरी क्षेत्रमा ढुकुटी फेसनै बनेको बताउँछन्। 'चाँडै धनी हुन बढीजसो महिलाहरू यसमा संलग्न देखिएका छन्,' एसपी श्रेष्ठले भने, 'बेलैमा नियन्त्रण नगरे धेरैको उठिबास हुन्छ।'
ढुकुटीका कारण आत्महत्या गर्ने र बेपत्ता हुनेको संख्या बढेको उनले जानकारी दिए। उनले आफ्नो कार्यकालमा मात्रै १० भन्दा बढीले यही कारण आत्महत्या गरेको बताए। तर, ती केस प्रहरीमा दर्तै भएन। 'बेपत्ताको अनुसन्धान गर्दासमेत ढुकुटी नै कारण देखियो,' उनले भने, 'राजीखुसी खेलिने हुँदा कारबाही अगाडि बढाउन प्रमाण पुग्दैन।'
ढुकुटीको जालो व्यापक फैलिसकेकाले राज्यले 'पूर्ण प्रतिबन्ध' लगाएर सचेतता बढाउनुको विकल्प नभएको श्रेष्ठले बताए।



प्रकाशित: ५ चैत्र २०६८ २१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App