१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

आजका बालबालिका किन कुनै प्रश्न गर्दैनन्

रविन्द्र ढुङ्गेल

कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएको छ । तर, बालबालिकामा खासै डर पैदा भएको छैन । उनीहरू हाँसखेल गरिरहेका छन् , विद्यालय बन्द हुँदा घोक्नुपर्ने झन्झटबाट पनि धेरै विद्यार्थी भाइबहिनीले मुक्ति पाएका छन् । घोकन्ते विद्याबाट आजित भएका बालबालिकालाई  लकडाउनले राहत महसुस गराएको छ । धेरै विद्यार्थी  बिदा हुँदा रमाइलो अनुभूत गर्छन् । त्यसबाट नै बुझ्न् सकिन्छ कि हाम्रो शिक्षा घोकाउने मात्रै छ,  सिकाउने छैन । सरकारले हरेक वर्ष ठूलो लगानी शिक्षा क्षेत्रमा गरेको भए पनि फलदायी भएको पाइँदैन । शिक्षा क्षेत्रलाई धेरैले  व्यवसायीकरण गरेकोले हाम्रो ज्ञान अंकमा मात्रै सीमित भएको छ ।  

अहिले धेरै बालबालिका आधुनिक प्रविधिसँग नजिक छन् । मोबाइल , कम्प्युटर , ल्यापटप प्रयोग गर्ने विद्यार्थी बालबालिकाहरू धेरै छन्  ।  तर , उनीहरूलाई यति पनि थाहा छैन कि कम्प्युटरले कसरी काम गर्छ , विद्युतमा जडान नगरी किन मोबाइल र कम्प्युटर चल्दैन , उनीहरू कहीँ पनि प्रश्न  गर्दैनन् र कुनै पनि विषयमा खोज्ने र बुझ्ने जाँगर पनि देखाउँदैनन् । आधुनिक प्रविधिले बालबालिकाहरूमा प्रश्न गर्ने बानी हटाइदिएको छ । यो दुनियाँ कसरी बन्यो होला ? यो ब्रह्माण्ड कति ठूलो छ  ? यसको सुरु र अन्त्य कहाँ होला ?  आकाशमा ताराहरू कति होला  जस्ता अनेक किसिमका प्रश्न एवं रहस्यमय विषयप्रतिको झुकाव अभिरुचि  हरेक बालबालिकाको दिमागमा आउनुपर्छ । बालबालिकाहरूलाई  मोबाइल र कम्प्युटर दिएर भुल्याउने र आफू व्यवसाय गर्नाले बालबालिकाहरूले न भाषाको ज्ञान् राम्रो पाउने छन्  छन् न त सभ्यताको नै ।

दुई वर्ष उमेर पुगेपछि बालबालिकामा भाषाको एवं चेतनाको ज्ञान आउन थाल्छ र उनीहरू आफ्ना अभिभावक एवं जोकोहीलाई अनेक प्रश्न गर्न सुरु गर्छन्  । तर , त्यो समयदेखि नै हामी चै मोबाइलमा चलचित्र देखाउने , टेलिभिजनमा कार्टुन देखाउने गर्छौँ र बच्चाले मज्जाले हेर्न थालेपछि थपडी बजाएर बच्चा ज्ञानी भएको सम्झन्छौँ । आधारभूत तहमा अध्ययन गर्ने बेलासम्म बालबालिकालाई निगरानीमा राख्नुपर्छ ता कि गलत संस्कार र व्यवहारसँग उनीहरू असामीप्य होउन् । त्यो समयमा नै बालबालिकालाई हरेक कुराको ज्ञान प्रदान गर्न सम्भव हुन्छ । त्यसैले त्यो समय जीवनलाई उत्पादनमूलक बनाउन बिजारोपण गर्ने उपयुक्त बेला पनि हो ।

बालबालिकाको मानसिक विकासको बाधक तपाईं नै हो ।  तपाईं आफ्नो बच्चालाई एकछिन पनि भोको राख्न चाहनु हुन्न । समस्या भएको देख्न चाहनु हुन्न । यसरी नै उनीहरूको मस्तिष्क बाँझो हुँदै गएको छ , समस्यासँग जुध्न त परको कुरा आफूलाई के समस्या आएको छ भन्नेसम्म पनि विचार गर्न पनि  नसक्ने भएका छन् आजका बालबालिका । 

मोबाइल हेरेपछि मात्रै खाना खाने नत्र रुने भएका छन् , सानै उमेरदेखि नोमोफोबिया मोबाइलबिना बस्न नसक्ने अवस्थाबाट ग्रसित छन् । बालबालिकाहरूले आफ्नोको मानसिक विकासको लागि धेरै प्रश्नहरू सोध्न आवश्यक छ र अभिभावकले झर्को नमानी प्रश्नहरूको उत्तर दिनुपर्छ । बालबालिकाले  जति बढी उत्सुकता राख्छन् त्यति  बढी ज्ञान् आर्जन गर्छन्  । बालबालिकाहरूमा प्रश्न गर्ने बानीले हरेक व्यक्तिलाई आइन्स्टाइन बनाउनेछ , हरेक व्यक्ति बुद्ध पुरुष बन्नेछन् ।

अन्तमा बालबालिकाहरूलाई आधारभूत तहमा नै अध्यात्मिक ज्ञान दिन पनि आवश्यक छ । त्यसबाट उनीहरूको आत्मीक चेतना स्तर उकासिन्छ । प्रविधिले आधुनिक बनाउँदैन , ज्ञान् र चेतनाले आधुनिक र सभ्य मानव बनाउँछ । ब्रह्माण्डका प्रत्येक रहस्यको गहिराइमा पुगेर चिन्तन गर्न सक्ने हेक्का हरेक बालबालिकाले राख्नुपर्छ । 

हाम्रा बालबालिकाहरूले खेल्ने खेलहरू प्राकृतिक  हुनुपर्छ । हाम्रा बालबालिकाहरूको चेतनामा , विवेकमा परिवर्तन ल्याउने जिम्मा शिक्षा क्षेत्रले नलिएसम्म समाजशास्त्र , मानवशास्त्र , भौतिकशास्त्र , रसायनशास्त्र,  चिकित्साशास्त्र जेसुकै अध्ययन गरेपनि देशले र व्यक्तिले कुनै उल्लेख्य प्रगति हासिल गर्नसक्ने देखिदैन ।  हरेक विषयमा  युक्ति मुलक दृष्टिकोण दिनसक्ने खूबी बालबालिकाले लिनुपर्छ अनि मात्रै बालबालिका हरेक मानवको अभिभावक बन्नेछन् । अबको शिक्षाले हाम्रा बालबालिकालाई व्यक्ति बनाउनेछ ।

प्रकाशित: २३ जेष्ठ २०७७ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App