९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

सरकारी स्कुल निजी जस्तो हुन किन सक्दैनन् ?

इना न्यौपाने  

कक्षा १०,

एसओएस हर्मन माइनर स्कुल, सानोठिमी, भक्तपुर ।

नेपाल एयर लाइन्समा ४ अर्बको घोटाला । सुन तस्करीमा न्यायधिशहरू नै कारबाहीमा  

ठेक्कापट्टामा लागेका पप्पु कन्ट्रक्सनले ७ वर्षसम्म पुल बनाउँदा पनि सर्वसाधारणलाई दुख ।  

पछिल्लो समय केही समाचार माध्यममा बनेका हेडिङ हुन् यी । यी हेडिङले पनि के बताउँछन् भने हाम्रो देशको हालत धमिराको गोलो जस्तै भएको छ । भित्रभित्र खाएको छ भ्रष्टाचाररूपी धमिराले । यस्तो भएपछि देशको विकास कसरी हुन्छ ? हामी साधारण मानिसचाहिँ सरकारको भर पर्छाै । कतिपय कुरामा भर पर्नै पर्ने हुन्छ । सरकार भने अनियमित काममा पनि सक्रिय भइरहेको छ । भ्रष्टाचारमा डुबेको हुन्छ ।  

कोरोनाले देशमा मान्छे खाना नखाएर मर्न लागेका छन् । यस्तो बेलामा सरकार आफ्ना मन्त्रीलाई जिम खाना बनाउने भन्छ । राष्ट्रपति कार्यालयमा गलैंचा फेर्ने भन्छ । यस्तो समाचार सुन्दा मलाई दिक्क लाग्छ । सरकार किन गरीबप्रति संवेदनशील नभएको होला ? यस्तै पारा हो भने त हामी नेपालीले सुख पाएको र देशको विकास भएको त सपनामा मात्रै देख्न पाइएला जस्तो लाग्छ ।  

राष्ट्रपति भन्ने शब्द नै कति सम्मानित छ । यो शब्दले देशकै सबैभन्दा ठूलो व्यक्ति भन्ने जनाउँछ । तर राष्ट्रपति सधैं किन यसरी विवादमा आउनु परेको होला ? कहिले महँगो हेलिकोप्टर किनेका कुरा आउँछन् । कहिले महँगा गाडी किनेका कुरा आउँछन् । कहिले गलैंचाका कुरा आउँछन् । कहिले सार्वजनिक कार्यक्रममा अर्काे पाटीको नेतालाई खिसी गरेर बोलेको समेत बुझिएन भनेको कुरा आउँछ । कोही बेला सडकमा राष्ट्रपति हिँड्दा सडक नै जाम भएको समाचार आउँछ । राष्ट्रपति किन सिम्पल नभएको होला ? मलाई अचम्म लाग्छ । ठूलो मान्छेले त आफू उदाहरण बनेर अरूलाई सिम्पल बन्न सिकाउने पो हो त ।

 अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको भिडियो हेर्छु म । कति सिम्पल भएका हुन् तिनी ? तरकारी किन्न आफैंले लुखुरलुखुर गएको देख्छु । अझ सुपरमार्केटमा जागिर खाएको पो सुन्छु । तर, हाम्रा राष्ट्रपति किन त्यस्तो हुन नसकेका हुन् ? पूर्व राष्ट्रपति रामवरण यादवले समेत आफू बस्ने घर भएन भनेर दुख मानेको समाचार सुनेको थिएँ । आफ्नो पुरानो घरमा गएर बसे भै गो नि ? काठमाडौंमै किन बस्नु ? देशले केही दिएन भनेर किन गुनासो गर्नु ? अचम्म लाग्छ मलाई यस्तो देखेर ।  

हामी बालबालिका हाम्रो देशको समस्या ठूलो मान्छेले गरिदिन्छन् भनेर सोच्छौं । राष्ट्रपतिले हाम्रो सबै समस्या समाधान गरिदिनुहुन्छ भने जस्तो लाग्छ । तर, अहँ हाम्रो समस्या समाधान गर्ने त छाँटै पो देख्दिनँ त म ।  

सरकारले बोल्नचाहिँ धेरै बोलेका हुन्छन् । कहिले रेल ल्याइदिन्छु भन्छन् । कहिले भान्सासम्मै ग्याँस ल्याइदिन्छु भन्छन् । कहिले पाइपबाटै तेल ल्याइदिन्छु भन्छन् । हैन ल्याउनेचाहिँ कहिले होला ? यी सबै सपनामा मात्र हुन् जस्तो लाग्छ मलाई ।

शिक्षा दिने पवित्र ठाउँमा पनि भ्रष्टाचार भएको सुन्छु म । बालबालिका हाम्रो भविष्यका कर्णाधार हुन भनेका हुन्छन् । तर त्यही बालबालिका हेर्ने संस्था नै भ्रष्टाचार गरेर कर्णधारलाई अन्याय गर्छन् । स्कुलमा खाजाको पैसा अनियमितता गरेको समाचार सुन्छु, विद्यार्थीलाई दिइने छात्रवृत्तिमा अनियमितता गरेको सुन्छु । होइन के भएको हो ? कसले रोक्ने हो यसलाई ? मलाई लाग्छ यस्तो बेथिति रोक्न जनता पनि सजग हुनुपर्ने हो । तर जनता पनि कुरा मात्रै गरेर बस्छन् । चिया पसलमा विरोध मात्र गरेर बस्छन् ।  

अहिले सरकारले सरकारी स्कुल निजी स्कुलले हेर्ने भनेको छ । निजी स्कुलले सरकारी स्कुल चलाउने हो भने सरकारी कर्मचारी किन चाहियो ? सरकारी शिक्षक किन चाहियो ? त्यही शिक्षकलाई राम्रो शिक्षा दिन लगाए हुँदैन ? शिक्षकले किन पढाएनन् भनेर अनुगमन गर्न सकिन्छ नि । सरकारी स्कुलमा लोकसेवा आयोगबाट पास भएका शिक्षक हुन्छन् । ती शिक्षकले किन पढाउने सकेनन् ? त्यो पो हेर्नुपर्छ त । पास भएर जाने शिक्षक त सक्षम हुनुपर्ने हो । तर किन भएका छैनन् ? 

मलाई अचम्म लाग्छ । निजीले राम्रो शिक्षा दिएका छन् भनेर सरकारीले झन् दिन सक्नुपर्ने हो । किनभने तिनीहरूमा शिक्षकको व्यवस्था सरकारले गरेको छ । बजेटको व्यवस्था सरकारले गरेको छ । सरकारसँग बजेट छ । त्यो बजेटले सरकारी स्कुललाई विकसित गर्न सक्छ । तर किन भएको छैन ? किनभने त्यहाँ पनि भ्रष्टाचार छ । राम्रो काम नगर्नु पनि भ्रष्टाचारै त हो नि । शिक्षा दिने ठाउँ  नै यसरी भ्रष्टाचार गर्ने थलो हुन्छ भने आशाचाहिँ कहाँ गर्ने होला ? छक्क पर्छु म त । सोचेको सोच्यै पो हुन्छु त । जहाँ पनि भ्रष्टाचारै अघि लाग्छ अनि विकास हुन दिँदैन ।  

प्रकाशित: २१ जेष्ठ २०७७ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App