७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

एक मापसेको डायरी

राजेश केसी- साँझ सुन्धारा कार्यालयबाट ललितपुर घर फर्कंदा बाग्मती पुलमा प्रायः भइरहने सुरक्षा जाँचमा रोकिएँ। म सधैं गाडीको हेडलाइट निभाएर भित्रको बत्ती बालिदिन्छु, ताकि सुरक्षाकर्मीलाई सजिलो होस्। प्रायः 'जानुस्' भन्थे। त्यस दिन कागजपत्र सोधियो।
एक ट्राफिक प्रहरी नजिकै आएर सोधे, 'ड्रिङ्क गर्नुभा'छ?'
मैले 'छैन' भनेँ।
उनले 'खै, हा गर्नुस् त' भनेर मेरो सास सुँघे।
 
म झस्किएँ- यो तरिका उनको स्वास्थ्यका लागि अतिहानिकारक छ। आजैको मादकपदार्थ सेवन (मापसे) जाँचमा उनले सयौंको सासबाट कति रोगका किटाणु सेवन (रोकिसे) गरे होलान्?
मंसिर १७ देखि ट्राफिक महाशाखाले 'मापसे' गरेर सवारी चलाउनेविरुद्ध कडा अभियान चलाएकोबारे म सूचित र सचेत छु। 'मापसे' कारबाहीमा परेकालाई एकरात प्रहरी चौकीमै बिताउनुपर्ने, भोलिपल्ट ट्राफिक महाशाखामा एकघन्टा कक्षा लिएर एक हजार जरिवाना तिराइने। त्यसैले हल्कै पिउने भए पनि 'मापसे'पछि सवारी हाँक्दिन। हाँक्नैपर्ने भए पिउँदिन। यस अभियानमा मेरो हार्दिक स्वागत र समर्थन छ। नगर्ने बिरलै होलान्। मुलुकमा अनुशासन र विधि सडकबाटै सुरु गरे मात्रै सामाजिक विकास हुन्छ भन्ने मेरो बुझाइ छ। कुनै पनि राष्ट्रको विधि, अनुशासन, विकास र सभ्यता सडकैले देखाउँछ। त्यसैले बेलाबेला म ट्राफिक प्रहरी सीतारामको विद्यार्थीलाई चेतनामूलक अभियानमा सरिक हुन्छु।
'मापसे' चेकजाँच अवैज्ञानिक र त्यसले रोग संक्रमणको खतरा बढेको चौतर्फी कुरा उठ्यो। मिडियामा आए। ट्राफिक महाशाखाले ब्रिदलाइजर (नाप्ने यन्त्र) मगाएको जानकारी दियो। उपत्यकामा ब्रिदलाइजरको प्रयोग हालसम्म नदेखिए पनि बाहिर केही ठाउँमा प्रयोग भएका समाचार र तस्बिर आएका छन्।
फेरि पनि एउटै ब्रिदलाइजर कतिको मुखमा राखिन्छ? मुखमा राखिने टुप्पो डिस्पोजेबल (फेरिने) हो कि होइन?
अहिले उपत्यकामा 'हा गर्नुस त' भन्दै सुँघ्न छाडिएछ। अब त सुरक्षाकर्मी झ्यालबाट भित्रै टाउको छिराएर चालकको मुखै नजिक आएर विभिन्न प्रश्न गर्छन्। तिनको उद्देश्य गन्ध थाहा पाउनु मात्रै हो। यो त झनै हानिकारक छ। पहिले गन्ध (संक्रमण) वानवे थियो, अहिले टुवे भयो। यो वरिष्ठ ट्राफिक अधिकृतका अदूरदर्शी उपाय हुन्, जसले आफ्नो संयोजकत्वको अभियान सफल देखाउने स्वार्थमा यस्तो जोखिमपूर्ण काम अह्राउँछन्।
¬¬पत्रकार साथीहरूमाझ यो विषय उठाएँः हानिकारक गतिलो अभियानको। उनीहरूले आफ्नो अनुभव लेख्न सुझाए। ठिकै लाग्यो। आफ्नो अनुभवमा 'मापसे'पछि कारबाहीमा परेकाहरूको अनुभव पनि जोड्न पाए अभियानको राम्रो पाटो वा कमीकमजोरी वा सुझाव आउँथ्यो कि? तर 'म मापसे कारबाहीमा परेर चौकीमा रात बिताएँ' भन्ने कल्ले?
गत साता एक कार्यक्रममा मैले दुई ग्लास बियर पिएको थिएँ। गाडी चलाएरै जाने निधो गरेँ। म नियम उल्लंघन गर्दैछु। राति त्रिपुरेश्वर र थापाथलीबीच चेकजाँचमा परेँ। महिला प्रहरीले परैबाट सोधिन्, 'कताबाट आउनुभयो?... कता जाने?... ड्रिङ्क गर्नुभा'छ?'
मैले 'गरेको छु' भनेँ। लाइसेन्स लिएर गाडी साइड लगाउन भनिन्। भर्खरैका एक प्रहरी जवान आए र झ्यालबाट टाउको छिराएर प्रश्न गर्न थाले।
'मैले ड्रिङ्क गरेको छु, तपाईं यति नजिक आउनुपर्दैन' भनेँ। महिला प्रहरीभन्दा उनको बोली नम्र र शिष्ट थियो।
'के गर्ने त, सर, अब?' उनले सोधे।
मैले 'मिल्छ भने कारबाही गर्नुस्' भनेँ।
चिन्ता पनि लाग्यो- कोटको भरमा रातभर जाडो हुने हो कि! धन्न मलाई चौकीमा रात बिताउन परेन। सायद हाँक्न सक्ने स्थितिमा देखेर होला, एउटा चिट थमाएर भोलि ट्राफिक महाशाखामा आउनू भनियो।
अगाडि बढेपछि बाग्मती पुलमा फेरि रोकियो। मैले हेडलाइट निभाएर भित्री बत्ती बालेँ। झ्याल खोल्न नपाउँदै जाने संकेत आयो। सातदोबाटोमा फेरि रोकियो। मैले चिट देखाउँदै 'म मापसे कारबाहीमा परिसकेँ' भनेँ।
'ए, भोलि बग्गीखाना जानुस् बिहान नौ बजे, तपाईंलाई एक घन्टा लेक्चर दिइनेछ र जरिवाना तिराइनेछ।'
म 'हस्, धन्यवाद' भनेर अगाडि बढेँ।
राति ११ बजिसकेको थियो, हरिसिद्धी नपुग्दै फेरि सुरक्षा जाँच। गाडी नरोक्दै जाने संकेत आयो।
बिहान एक परिचितले ढाडस् दिँदै आफैं राजस्व बुझाइदिएर लाइसेन्स ल्याइदिने फोनमा बताए। मैले धन्यवाद भन्दै आफू ट्राफिकको क्लास लिन इच्छुक रहेको बताएँ। नौ बज्न पाँच मिनेटअघि ट्राफिक महाशाखा पुगेँ। करिब ७०/७५ को सहभागिता थियो। प्रायःको आफ्नै गन्थन थियो। कसैले एक ग्लास मात्रै पिएको, कसैले भोजमा सगुन मात्रै खाएको, कसैलाई घर जाऊ भनेर फेरि फर्काएर चौकीमा राखिएको, कसैको ड्राइभरले ब्ल्युबुक बुझाइदिएर सवारीधनी आफैं आउनुपरेको, कसैको दाइ कारबाहीमा पर्दा आफूले क्लास लिन परेको, किनभने दाइले उनको लाइसेन्स बोकेका रहेछन्। कोही वास्नामै थिए। धेरै त नबोल्ने भलाद्मी नै थिए। एकआपसमा खुल्न सकेका थिएनौं।
पहिलो तल्लाको एउटा कोठामा सवा नौ बजे क्लास सुरु भयो। झ्यालका पर्दा लगाइएको थियो। भिडियो देखाउनलाई रहेछ। हाजिरकपीमा नामथर, उमेर र पेसा लेख्न भनियो।
'नमस्कार है तपाईंहरू सबैलाई' भन्दै ट्राफिक असई हरिशरण पौडेलले भिडियो सुरु गरे- केशरमहलमा नियम उल्लंघन गर्दै हुइँकिएको मोटरसाइकललाई बसले ठक्कर दिएको। यो विभत्स क्लिपसँगै उनको लेक्चर सुरु भयो।
'साइत जुरेर हो कि बिग्रिएर हो हाम्रो भेट भयो। वास्तवमा यो काम हैरान हुने खालको छ,' शिष्ट हुँदै उनले भने, 'हाम्रो उद्देश्य राजस्व तिराउने हैन। राजस्व त अहिले यातायात व्यवस्था विभागबाट कर्मचारी आएर उठाउनुहुन्छ। हाम्रो उद्देश्य हो- आमनागरिकको जीवन सुरक्षित गर्ने, सडकमा दुर्घटना न्युनीकरण हुनुपर्‍यो ... हामी शासनका लागि होइनौं, सेवाका लागि हौं। मंसिर १७ गतेबाट सुरु भएको हाम्रो अभियानमा ८ हजारको क्लास लियौं र महिनाको १० मृत्युदरलाई २ मा झारेका छौं। सडक दुर्घटना अधिकांश मदिरा सेवनबाटै भएको छ।'

बेलाबेला अंग्रेजी बोल्ने पौडेलले आधा घन्टामा सवारी नियम तथा मदिरा सेवनबारे मात्रै नभई राज्य र नागरिकको कमीकमजोरी पनि औंल्याए।
'सबैखाले सवारीसँगै ब्ल्युबुक हुनु अनिवार्य छ तर त्यसको साइज बोकेर हिँड्न नमिल्ने छ। 'नागरिक सर्वोच्चता'ले होला पैदलयात्रुलाई दण्डजरिवानाको कानुन छैन।' आदि इत्यादि...

अबको लेक्चर दिने पालो इन्स्पेक्टर बिपिन गौतमको। उनले भने, 'नेपालमा साँझ ६ बजेदेखि राति ११ बजेसम्म हुने सवारी दुर्घटनामध्ये ५० प्रतिशत कारण मदिरासेवन देखिएको छ। मदिराको मात्राअनुसार क्षति ठूलोसानो हुन्छ।'

गौतम दाबी गर्छन्, 'विश्वमा सवारी दुर्घटनामा मृत्यु हुने संख्याको अनुपातमा नेपाल चौथो छ।' उनका अनुसार अन्य मुलुकमा चालकलाई मदिरासेवनको मापदण्ड तोकिएको हुन्छ। जस्तै- चाइनामा ०.०२ प्रतिशत, अमेरिकामा ०.०८, सिंगापुरमा ०.०८, भारतमा ०.०३ र नेपालमा ०.००। अर्थात् नेपालमा सवारी चलाउँदा मदिरा बिल्कुलै सेवन गर्न पाइन्न।'
उनैका अनुसार हाल दैनिक १ सय ५० सवारी चालकलाई प्रवचन दिइन्छ। यसमा महिलाको संख्या ज्यादै कम छ। मंसिर १७ देखिकै यो संख्या घटेको छैन तर 'मापसे' दुर्घटना ८० प्रतिशत घटेको छ। हालसम्म यातायात व्यवस्था विभागले ७२ लाख राजस्व 'मापसे' अभियानबाटै उठाएको छ।
यी दुवै अधिकृतले पावर प्वाइन्ट प्रिजेन्टसनमार्फत् सक्दो सूचना दिने र मदिरा सेवनपछिको ड्राइभिङ न्युनीकरणमा प्रोत्साहित गर्ने कोसिस गरे। तर पनि गृहकार्य फितलो र आपसी समन्वयमा कमजोरी देखिन्थ्यो। जस्तै- दुवैले दिने आंकडा फरक छ। पौडेलले चाइनाको मापदण्ड सुन्य प्रतिशत छ भने, गौतमले ०.०२ प्रतिशत भने। गौतमले देखाउने तस्बिर प्रायः विदेशका छन्। मेहनत गरे नेपालकै थुप्रै भेटिन्छन्।
समग्रमा अभियान सफल छ। किनभने ३ महिनामा २५-३० जनाको ज्यान जोगिएको छ। सवारी दुर्घटना पनि घटेको छ।
'हामीलाई उत्साहजनक प्रतिक्रिया आएको छ। अझ विशेषगरी गृहणीबाट। किनभने श्रीमान् ड्रिङक नगरी समयमै घर आउन थाले,' इन्सपेक्टर गौतमले सन्तुष्टि व्यक्त गरे।
क्लास सकेर बाहिरिँदा अर्को त्यत्रै हुल प्रवचन सुन्न तयार थियो।
करिब सवाघन्टा लामो प्रवचनपछि थप दुई घन्टा लाइनमै बित्यो। एक घन्टा राजस्व तिर्न, एक घन्टा लाइसेन्स फिर्ता लिन। दुवै विभागमा १/१ कर्मचारी खटाइएको रहेछ। त्यसमाथि बेलाबेला ट्राफिक जवान आफैं आएर, लाइन नबसी आफन्तको राजस्व तिर्ने र लाइसेन्स बुझिलिने गर्दा रहेछन्।
सडक व्यवस्थित गर्ने चुस्त संगठनको अड्डा भने अव्यवस्थित देखेँ। कम्पाउन्डभित्र छिर्दा सेना/प्रहरीको कार्यालयजस्तो चिटिक्क छैन। कम्पाउन्ड धुलाम्य छ। ट्वाइलेटको दुर्गन्ध परसम्म छरिएको छ। बगैंचाको रौनक छैन। ट्राफिकका ज्याकेट, पाइन्ट खुइलिएर एकैनासे देखिन्नन्। क्यान्टिनको रेटचार्टमा १५ लेखिएको पानी २० रुपैयाँ पर्दो रहेछ। ट्राफिक प्रमुखको चुस्तता सुनेर, पढेर त्यहाँ पुगेको मलाई खिसि्रक्क हुनुपर्‍यो। मलाई ३/४ वर्ष पुरानो दृश्य याद आयो। रेब्यान चस्मा लगाएका एक ट्राफिक अधिकृत केशरमहलअगाडि अफिस आवरमा (व्यस्त समय) प्रायः सेतो मोटरसाइकलमाथि उपरखुट्टी लगाएर पत्रिका पढिरहन्थे। उनीसँगै ड्युटीमा खटिएका ट्राफिक जवान चाहिँ व्यवस्थापनमा हस्याङफस्याङ रहन्थे।
राज्यकै सबैभन्दा व्यस्त र खटिनुपर्ने संगठनमध्ये पर्छ, ट्राफिक प्रहरी। जनतासँग सोझै सरोकार राख्ने यो संगठनलाई आधुनिक र चुस्त राख्न राज्यले गम्भीरता अपनाउनुपर्छ। सरकारले सडक लेन र जेब्रा क्रसिङ्सबाटै सुरुवात गरे पनि भोलिपल्टै सकारात्मक परिणाम देखिन पाइन्थ्यो। सडकलेनको अभावमै कति हेड-अन कोलिजन (एकआपसमा सोझै ठोक्किने) हुन्छन्। दुर्घटनापछि ट्राफिकलाई फित्ताले नाप्नुपर्छ- कुन गाडीले कति साइड च्याप्यो। जेब्रा क्रसिङ नभएको ठाउँमा कस्ले कस्लाई दोष दिने?
कुनै नयाँ नियम लागू हुनुपूर्व यथेष्ट अनुसन्धान, गृहकार्य र सूचना हुनु जरुरी हुन्छ। राजनीतिक नियुक्तिमा आउने 'प्रमुख' फेरिएपिच्छे नियम फेरिनु, चल्तीको नियम फितलो हुनु हानिकारक हुन्छ। यसले सर्वसाधारण र ट्रफिक दुवैमा अन्योल पैदा गर्छ। जस्तै- मोटरसाइकल पछाडि सवारले हेल्मेट लाएका थिएनन्, जुनबेला लाउनुपर्ने नियम थियो। ट्राफिक प्रहरीले रोके र कार्यालय लगे। २ सय जरिवाना पनि गरे। र, बिनाहेल्मेट मोटरसाइकल चढेरै जान दिए। ती ट्राफिकले 'घुस' लिएका पनि हैनन्, राजस्व नै संकलन गरेका थिए, मेरै अगाडि। हेल्मेट यात्रुकै सुरक्षाको लागि हो। नियम ठिक छ। तर राज्यलाई दुई सय तिर्दैमा लाउनै नपर्ने कस्तो नियम? त्यही नियम पनि अहिले कता गयो?
त्यस्तै, इन्स्पेकटर गौतमका अनुसार, हामीकहाँ अल्कोहलको मापदण्ड सुन्य प्रतिशत 'टलरेन्स' रहेछ। अर्थात् एक थोपा 'मापसे' गरेकाले पनि कुनै हालतमा सवारी चलाउन नपाइने नियम छ। तर लाइसेन्स जफत गरेपछि किन फेरि जाने (सवारी चलाउने) अनुमति दिइन्छ? लाइसेन्स बुझाउनासाथ मदिराले छोड्छ?
नियम पालना गराउने कार्यमा कि एकरुपता हुनुपर्छ, हैन भने वैज्ञानिकीकरण गर्नुपर्छ। अर्थात्, उपकरण बोकेर मापदण्ड अपनाउने। उपकरण (ब्रिदलाइजर) को कुरामा ट्राफिकको गुनासो छ- आर्थिक अभाव। उठेको ७२ लाख राजस्व ट्राफिक वैज्ञानिकीकरणमै खर्चे कमसेकम अभियान त स्वस्थ्य हुने थियो।
लाइसेन्स मात्रै लिनु भनेको त हजार रुपैयाँ राजस्व तिराउन मात्रै हो। के राज्यलाई एक हजार दिएपछि मदिरा सेवन गरेरै सवारी चलाउन पाइने?

प्रकाशित: २१ फाल्गुन २०६८ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App