१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

लकडाउन

लघुकथा

इन्दिरा प्रसाई

‘ए बूढा मान्छे एउटा कुरा सोधौं ?’ घुस्याहामा नाउँ चलेको  सरकारको बहालवाला अति उच्च अधिकारीकी पढेलेखेकी स्वास्नी दिनभरि पप्लुमा थाकेपछि बिछयौनामा आइपुगेको लोग्नेलाई सुम्सुम्याउँदै जिज्ञासु भएकी थिई ।

‘के जान्नु परयो मेरी प्यारीलाई यतिबेला हँ ?’ जाँडको नशाले धुत लोग्नेचाहिँ स्वास्नीको मादकतामा परिसकेको थियो ।

‘अमेरिका जस्तो धनी देशले लकडाउनमा मात्रै सधैं बसे देशको अर्थतन्त्र धराशायी हुन्छ । अब सतर्क रहेर काम गर’ भन्यो । त्यहाँ कतै जनता मर्दै पनि छन् अनि सबैतिर काम पनि गर्दैछन् । हाम्रो मुलुकमा भने लकडाउनले दुई महिना नाघिसक्यो हजुरहरू अझै लकडाउन थप्दै होइसिन्छ । अनि हाम्रो अर्थतन्त्र चैं ...’ स्वास्नीको मुख थुनेर लोग्ने आफ्नो खुसीयाली मनाउन उद्यत थियो ।  

‘पख एकछिन पख, म भनौंला है प्यारी !’ मायालु भएर आफ्नो आवश्यकता पूरा गर्न अग्रसर लोग्ने क्रियाशील थियो । उम्लिएको पोखेपछि लोग्ने शान्त भएको थियो ।

...अनि लकडाउनको कुरा...’ निदाउन लागेको लोग्नेलाई अशान्त स्वास्नीले सोधेकी थिई ।  

‘हे मूर्ख आइमाई ! यति कुरा पनि तैंले बुझ्न सकिनस् । अमेरिका जस्तो महाशक्ति राष्ट्रले संसारका अगाडि भाँडो थापेर मेरा देशका जनता भोकै छन् भन्दै चन्दा माग्न मिल्छ ? अनि, हाम्रो कंगाल सरकारलाई त देशमा जति विपत् परयो त्यति नाफा !’ महाभूकम्पमा आएको आम्दानीले हामीले पनि छोरालाई न्यूजर्सीमा बङ्लो किनिदिएको बिर्सिस् कि क्या हो । ए नाथे ! यसपालिको आम्दानीले छोरीलाई अस्ट्रेलियामा किनिदिने हो । बुझिस् अब ?’ प्रसन्न र लखतरान अर्धनिद्रित लोग्ने स्वास्नीको जिज्ञासा शान्त पार्दा नपार्दै घुर्न थालिसकेको थियो ।

प्रकाशित: १८ जेष्ठ २०७७ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App