८ वैशाख २०८१ शनिबार
अन्य

पैसाले खुसी किन्न सकिन्न

बिभूषी  तिमिल्सिना  
कक्षा: १०, मदरल्याण्ड मावि, काठमाडौं।    

नेपोलियन हिलले भनेका छन्, ‘पैसा हुनु तर दिमाग नहुनु भनेको सबैभन्दा ठूलो खतरा हो।’

मलाई जीवनमा असल व्यक्ति बनेर, कर्म गरेर धेरै पैसा कमाउने मन छ। अहिले मसँग पैसा भएको भए कोरोना पिडितलाई पनि सहयोग गर्न पाउँथेँ। मेरो सानो सहयोगले अरुको मुहारमा ल्याएको मुस्कान देख्न पाउँदा म कति खुसी हुन्थें होला है !  

आजको समयमा पैसा मानव जीवनको अभिन्न पाटो बनेको छ। पैसा सबैथोक हैन तापनि आजकल सबैथोकका लागि भने पैसा चाहिन्छ। मलाई लाग्छ, हरेक मानिसले पैसा कमाउनुपर्छ भन्ने सोच्छन्। सोच्नु पनि पर्छ किनकी जीवन जीउन पैसा चाहिन्छ। अक्षर चिन्न थालेदेखि बाबुआमाले सपना देखाउनुहुन्छ–धेरै पढ्नु, ठूलो मान्छे बन्नु अनि पैसा कमाउनु र सुखी हुनु। त्यही सुख पाउनलाई मानिसले सारा जिन्दगी दुःख गरेर पैसा कमाउँछ। बिडम्बना, मानिसलाई पैसा भन्ने कुरा जति कमाए पनि कमाइरहने इच्छा हुन्छ अनि कठै बिचरा जिन्दगीभर कमाएको पैसाको आनन्द लिन नपाई शरीरले संसार छाड्छ। आखिर मरी लानु के नै छ र ?  

पैसा कति चाहिन्छ, त्यो मानिसमा भर पर्ने कुरा हो। मानिस कति पैसा कमाउँदा सन्तुष्ट हुन्छ, उति नै पैसा चाहिन्छ। उदाहरणका लागि म विद्यार्थीका लागि मिठो खाना, राम्रो नाना र मेरा आवश्यकता पुरा गर्ने पैसा भयो भने मलाई पुग्ला तर एउटा ठूलो उद्योगपतिलाई करोडौं वा अरबौ रुपैयाँ कमायो भने मात्र सन्तुष्टि मिल्न सक्छ।  

कठै जिन्दगीभर कमाएको पैसाको आनन्द लिन नपाई शरीरले संसार छाड्छ। आखिर मरी लानु के नै छ र ?  

मलाई लाग्छ मानिस असन्तोषी प्राणी हो। पैसाले मानिसलाई खुसीभन्दा बढी तनाव दिने भएकाले आवश्यकता भन्दा बढी पैसा नभएकै बेस, हैन र ? मानिसले आफ्नो परिवारसँग बसेर आफ्ना आधारभूत आवश्यकता परिपूर्ति गरी रमाएर जीवन जिउने पैसा भयो भने मानिसलाई पुग्छ। त्यसैले त महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भनेका थिए ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले।’  

पैसा कमाउनु पर्छ तर रमाउन पनि भुल्नु हुँदैन। रमाउने भन्दैमा नचाइने चिजमा खर्च गर्ने काम कसैले गर्नु हुँदैन। थोरै पैसा कमाए पनि बचत गर्न जान्ने व्यक्ति नै संसारको सबैभन्दा सुखी र खुसी बन्न सक्छ।

अन्त्यमा, पैसाकै लागि मेहेनत गर्नुपर्छ। तर त्यसकै लागि भनेर मरिहत्ते गर्नुहुँदैन। पैसाले सबथोक किन्न सकिएला तर खुसी किन्न सकिँदैन। सकिने भए त आज यो कोरोनाका कारण विश्वभर ज्यान गुमाएका व्यक्तिका परिवारका आँखाबाट आँशुका थोपा झर्ने थिएनन्। तसर्थ आफू र आफ्नो परिवारलाई खुसी हुन जति पैसा चाहिन्छ, त्यति नै पैसा मान्छेलाई चाहिन्छ।

प्रकाशित: १८ जेष्ठ २०७७ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App