२८ असार २०७७ आइतबार
अन्य

नियमित व्यायाम गर्छु

एभान्जोलिना कार्की 

कक्षा  १०,   श्री जुगल इङलिस मिडियम स्कुल  कपन, काठमाडौं ।

 हामी विगत दुई महिनाभन्दा बढी समयदेखि बन्दाबन्दीमा छौं । हाम्रो देशमा मात्रै होइन, विश्वभरीका मानव जगत नै एक प्रकारले ठप्प अबस्थामा छन ।

  प्रकृतिको यो कहालीलाग्दो समयमा हामी आआफ्नो घरभित्रै सिमित भएका छौं । आजको यो आधुनिक विश्वलाई यति सुक्ष्म जीवाणुले निरीह बनाउला भनेर कसैले कल्पना समेत गरेका थिएनन होला । यो अकल्पनीय समयमा हामीले चुपचाप घरमा बस्नुको अर्को विकल्प भएन र छैन । 

  हामी सबैले मनमनै कामना गरौं । कोभिड १९ रोग निको पार्ने औषधि बैज्ञानिकहरुले छिट्टै पत्ता लगाउन सफलता पाउन । यो रोगको औषधिको अभावमा आज लाखौं मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको छ भने लाखौंलाख मानिसहरुले संक्रमणको सिकार हुनु परेको छ । हामीजस्ता करोडौं बालबालिकाको पढ्न लेख्न पाउनु पर्ने अधिकारबाट वन्चित हुनुपरेको छ ।

  आज विश्वका कयौं बैज्ञानिकहरुको आँखामा निन्द्रा परेको छैन । उनीहरु खाइनखाई, सुतिनसुति कोभिड १९ विरुद्धको औषधि पत्ता लगाउन  निरन्तर लागिपरिरहेका छन ।  

 हामी अलिकति पनि कल्पना नगरेको यो महामारीले मजस्ता करोडौंकरोड बालबालिकाहरुको शिक्षण क्रियाकलाप अन्योल सिर्जना गरिदियो । हामीले सहज रूपमा आआफ्ना शिक्षण संस्था गएर पढ्न लेख्न सकेनौं । नजिकै आइरहेको परीक्षा दिनबाट अन्तिम अवस्थामा आएर रोकिनु पर्‍यो । आफ्ना सबै नियमित क्रियाकलाप छोडेर  हामीले आफ्नै घरमा कुनैदिन यसरी बन्दाबन्दी भएर कष्टपुर्वक बस्नुपर्ला भनेर सोचेका पनि थिएनौं ।

          घरमै बस्नुपर्दा मनमा धेरै कुरा खेल्नु स्वभाविक हो । यसअगाडि हामी यसरी कहिल्यै घरमा बन्दी अवस्थामा बस्नु परेको थिएन ।  बालबालिकाको मनोविज्ञान यसै पनि चन्चल र अस्थिर स्वभावको हुन्छ । बढ्दो उमेर हुने भएको हुँदा शारीरिक रूपमा पनि निक्कै चलायमान  हुनुपर्ने हुन्छ । पढ्ने , खेल्ने मनोरञ्जन गर्ने, साथीभाइसंग घुलमिल हुनुपर्ने उमेरमा कोठामै थुनिनु पर्दा धेरै सकस हुने नै भयो ।  कति साथीहरूलाई लाग्दो हो, बाहिर गएर फूटबल र क्रिकेट खेल्न पाए हुन्थ्यो । कति साथीहरूलाई विद्यालयमा गएर साथीभाइसंग पढ्दै खेल्दै गर्न पाए कस्तो हुन्थ्यो होला भनेर सोच्नु हुन्छ होला   । 

हाम्रो मनोविज्ञानमा बालमैत्री अनेकौं कुराहरु खेले पनि, मनमा सोचे पनि अहिलेका विश्वभरका बालबालिकाहरुको अवस्था बालमैत्रीपूर्ण छैन । घरको चार सुरबाट हामी टाढा जान सक्ने अवस्थामै छैनौं । यो महामारीबाट जोगिन सके पुनः हामी पहिलाकै सामान्य  अवस्थामा फर्किन सक्छौं ।  

 यो प्राणघातक रोग कोरोना अत्यन्त सुक्ष्म जीवाणुले सर्ने भएको हुँदा  हाम्रा खुल्ला आँखाले ती जीवाणु देख्न सक्दैन । हामी बाहिर निस्किदा के थाहा र ती सुक्ष्म जीवाणु हाम्रै शरीरमाबाट घरसम्म आइपुग्ने हुन कि  तसर्थ घरबाहिर जानै हुन्न्न । रोगसंग बचे मात्रै हामीले पढ्ने लेख्ने र खेल्ने हो । हामी एक जनाको सामान्य हेलचेक्र्याइँले के थाहा हामी र हाम्रो समाज नै अप्ठ्यारोमा पर्न सक्छ । त्यसैले हाम्रा धेरै रहर र चाहानाहरु हुँदाहुँदै पनि घरबाट बाहिर निस्किन सकिरहेका छैनौं ।

            हालसम्म कोरोनाको उपचार भनेकै एक व्यक्तिबाट अर्को व्यक्तिमा  सर्न नदिनु हो । विश्व स्वास्थ संगठनले पनि औषधि पत्ता नलागुनजेल मानिसमानिसबीच सामाजिक दूरी कायम गर्ने । पटकपटक साबुनपानीले हात धुने । मास्क लगाउने, स्यानीटाइजरले हात सफा गर्ने र घरमै बस्ने भनेर सम्झाएको छ । मैले पनि यिनै कुराहरुलाई सतर्क भएर अपनाउने गरेको छु । हातले पढेका छौँ नी, रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो ।

 मलाई विश्वास छ । तपाईंहरुले पनि त्यही गर्नुभएको होला । यो संसारमा धेरै मानिसहरुको दैनिकी  बिग्रेको छ भने हामी जस्ता बालबालिकाको नियमित प्रक्रियामा व्यापक परिवर्तन आएको छ ।

यस्तो बेला आत्तिनु वा हतास हुनु पनि हुन्न । मैले त आफ्ना सबै गतिविधिलाई फरक बनाएको छु । आफुलाई जुन कुरा सजिलो हुन्छ त्यो गर्ने हो । परिवारसंग रमाउँदा धेरै कुरा भुल्न सजिलो हुने रहेछ । अहिले म ईन्टरनेट अलि बढी नै चलाउँछु तर आफुलाई केही न केही जानकारी मिलोस भन्ने सोच्छु । मैले ईन्टरनेटका माध्ययमबाट केही जीवन उपयोगी कुराहरु यो बन्दाबन्दीमा सिकें । खानेकुराहरु बनाउने तरिका, लुगा कपडा कसरी जतन गर्ने उपाय, चित्रकला कसरी बनाउन भन्ने तरिका, कसरी राम्रो अक्षर लेख्न सकिन्छ भन्ने जस्ता धेरै कुराहरु ईन्टरनेटमा हेरेर सिकें ।

 यो अप्ठ्यारो समयमा पनी मैले आफ्नो नियमित लेख्ने पढ्ने कुराहरूलाई नियमित गर्ने कोसिस गरिरहेको छु । आफुले नजानेको कुरा आफ्ना अभिभावकलाई सोधपुछ गर्छु । अहिले हाम्रो स्कुलले अन्लाईन क्लास पनि सुरु गरेको छ । म विद्यालयले दिएको गृहकार्य पनि गरिरहेको छु । 

कोरोनाको यो महामारी कहिलेसम्म हो, कसैले भन्न सकिरहेका छैनन् । तसर्थ मैले त आफ्नो नियमित पाठ्यसामग्रीलाई नै महत्त्व दिदैं आएको छु । पढ्ने कुराका अलवा हाम्रो जीवनमा चाहिने कतिपय सीप घर परिवारबाट सिक्नु पनि शिक्षा नै हो । मैले यो समयमा घर परिवारबाट पनि धेरै कुरा सिक्न पाँए । त्यसबाट पनि म खुसी भएको छु । घरपरिवारबाट पनि हामीले धेरै ठूलो शिक्षा लिनसक्दा रहेछौं भन्ने कुरा म अहिले बुझ्दै छु ।

भनिन्छ, दुख नपरी मानिसको चेत खुल्दैन । साँच्चै बुढापाकाले भनेको यो कुरा सत्य रहेछ । अब हामीले पनि यो महामारीबाट निक्कै ठूलो पाठ सिक्नुपर्ने  हुन्छ । प्रकृति  जस्तो ठुलो शक्ति केही रहेनछ भन्ने शिक्षा  मैले सिक्न पुगें ।

 अहिले मैले घरमै आवश्यक शारीरिक ब्यायाम पनि गर्ने गरेको छु । स्वास्थ रहन शारीरिक ब्यायाम पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले हरेक बिहान सामान्य ब्यायमबाट मेरो बन्दाबन्दीको दैनिकी सुरु हुन्छ ।

       घरमै लामो समय बस्दा शरीरलाई धेरै गाह्रो हुने भएको हुँदा मैले बेलाबेला शरीर तन्दुरुस्त राख्ने उपाय अपनाउँदै आएको छु ।   यो बन्दाबन्दीमा तपाईहरु पनि जीवनलाई कसरी सजिलो र सिर्जनात्मक बनाउन सक्नुहुन्छ सोच्नुहोस । हरेक अप्ठ्याराहरुलाई सजिलोसँग परिवर्तन गर्न सक्नु नै जीवन जिउने उत्तम उपाय हो भन्ने मेरो ठहर छ । 

प्रकाशित: १५ जेष्ठ २०७७ १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App