७ वैशाख २०८१ शुक्रबार
अन्य

लजाउँछ रेड पाण्डा

वाइल्ड लाइफ

रेड पाण्डा । तस्बिर: विमल थापा

लजालु स्वभावको सुन्दर जीव ‘रेड पाण्डा’लाई नेपाली भाषामा ‘हाब्रे’ भनिन्छ । झट्ट हेर्दा घरपालुवा बिरालो जस्तो देखिने भएकाले यसलाई ‘साइनिङ क्याट’ पनि भनिन्छ । यसको शरीरको माथिल्लो भाग रातो र खैरो हुन्छ भने भुँडीमा कालो हुन्छ । अनुहारमा सेतो र आँखा छेउछाउमा कालो हुन्छ । टाउकोदेखि पुच्छरसम्म लम्बाइ ९३ सेमी देखि ११० सेमी हुन्छ । भालेको तौल ३.७ केजीदेखि ६.२ केजीसम्म हुन्छ भने पोथीको ४ केजीदेखि ६.२ केजीसम्म हुन्छ ।  

बाँसका पात र तामा खाने रेड पाण्डा स्तनधारी प्राणी हो । आइयुसीएनले यसलाई सन् १९९६ देखि संकटापन्न जीवको सूचीमा राखेको छ । विश्वमा रेड पाण्डाको संख्या जम्मा २५ सय को हाराहारीमा भएको अनुमान छ ।  

यसको बासस्थान २२ सयदेखि ४८ सय मिटर उचाइमा हुन्छ । नेपालको लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा राष्ट्रिय निकुञ्ज लगायतमा रेड पाण्डा पाइन्छ । यो प्रायः रूखमा बस्छ । एक रुखबाट अर्कोमा उफ्रन र जमिनमा छिटो दौडिन सक्छ ।  

रेड पाण्डाको औसत आयु ८ देखि १० वर्ष हुन्छ । यसले एक दिनमा करीब दुई लाख बाँसका पात खान सक्छ । यसले जेठदेखि साउन महिनामा सन्तान जन्माउँछ । करीब १८ महिनाको उमेर पछि प्रजननका लागि सक्षम बन्छन् ।  

नेपालमा हाब्रेको संरक्षणमा रेड पाण्डा नेटवर्क क्रियाशील छ । यसले मुलुकभित्रका ३५ जिल्लामा अध्ययन गरिसकेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, डोल्पा, लमजुङ, भोजपुर, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालिकोटमा रेड पाण्डा पाइन्छ ।  

  

वाइल्ड लाइफ संरक्षणमा रुचि भएकाहरू रेड पाण्डा अध्ययन गर्न रुचाउँछन् । नेपालमा पनि बेलाबेलामा विदेशी रेड पाण्डा अध्ययन गर्न आउने गरेको नेचर टे«क्सका पर्यटनविज्ञ एवं फोटोग्राफर विमल थापा बताउँछन् । उनीहरूलाई विशेषतः इलाम, ताप्लेजुङ, नुवाकोट र रसुवा क्षेत्र घुमाइन्छ ।  

फिल्ड अफिसर सोनाम टासी लामाका अनुसार रेड पाण्डा नेटवर्कको सहयोगमा इलामका दोबाटे, चोयाटार र गोर्खेमा सामुदायिक होमस्टे सञ्चालित छन् । त्यहाँ पुगेपछि स्थानीय गाइडले पर्यटकलाई रेड पाण्डाका बासस्थानमा डुलाउँछन् । रेड पाण्डा यात्रा गर्न धैर्यता र समय चाहिन्छ । त्यसैले केही दिन छुट्टयाएर यात्रामा निस्कनु पर्छ ।  

फोटोग्राफरको चिनारी  

सयौं किसिमका चरा र रेड पाण्डका तस्बिर खिचेका छन् पर्यटनविज्ञ विमल थापाले । इको टुरिजम अभियन्ताका रुपमा क्रियाशील थापा नेचर टे«क्स डटकम चलाउँछन् । उनी नेपाल पन्छी संरक्षण संघका महासचिव पनि हुन् ।

विमल थापा

तीन दशक अघि नेचर गाइड पेशाबाट पर्यटनमा होमिएका लामीडाँडा, सुर्खेतका थापा ५३ वर्षका भए । विगत ५ वर्षदेखि उनी रेड पाण्डाको अध्ययनमा जुटेका छन् । उनको कम्पनीले रेड पाण्डा टुर पनि चलाउँछ । यतिबेला भने लकडाउनमा घरमै बसेर काम गर्दैछन् ।  संरक्षणकर्मी थापालाई धेरैधेरै शुभकामना !  

प्रकाशित: १० जेष्ठ २०७७ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App