२१ असार २०७७ आइतबार
अन्य

चरा हाम्रा साथी

बर्दियामा मयुर । तस्बिर : दिपक राजबंशी

रुविआ पराजुली

कक्षा: ६

बूढानिलकण्ठ स्कुल, काठमाडौं  

चरा प्रकृतिका अभिन्न अंग हुन् । वातावरणमा सन्तुलन कायम राख्न चराले महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले चरा संरक्षण गर्नु हाम्रो दायित्व हो । चराबाट  हामी धेरै कुरा सिक्न सक्छौं । उनीहरू आकाशमा उडेको देखेर मानिस पनि आकाशमा उड्न सक्छन् कि भनेर कोशिस गर्दा राइट दाजुभाई हवाईजहाज  आविष्कार गर्न सफल भएका थिए । तिनले चराबाट प्रेरणा नपाएको भए अहिले हामी हवाइजहाज चढ्ने अवस्थामा आइपुग्दैनथ्यौं कि ! यो विज्ञान तथा प्रविधिको क्षेत्रमा चराको व्यवहारले पारेको प्रभाव हो ।

त्यस्तै टिभीमा रामायण हेर्दा रावणले सीतालाई हरण गरेको खबर जटायु चराले राम र लक्ष्मणलाई दिएका थिए । उनले आफ्नो ज्यान जोखिममा पारेर खबर दिएको दृष्यमा मेरो मन भावुक बनेको थियो । जटायुले उक्त खबर नदिएको भए राम र लक्ष्मणलाई सीता भेट्टाउन कठिन हुन्थ्यो होला !  

रुविआ पराजुली

पहिलापहिला हुलाक र मोवाइल फोन, इमेल तथा इन्टरनेट सुविधा नहुँदा मानिसले परेवाका खुट्टामा बाँधेर पत्र आदनप्रदान गर्ने गरेको कुरा मैले जीजु हजुरबुवाबाट सुनेकी थिएँ । चराको महत्व त खबर ल्याउन र लान पनि गरिँदो रहेछ ।  

वोट विरुवालाई हानी गर्ने किरालाई चराले खाइदिन्छन् । त्यति मात्र होइन चराले विरुवामा परागसेचन गराउन पनि सहयोग गर्छन् ।

परेवा शान्तिको प्रतीक मानिन्छन् । चराले कुनै पनि देशको पहिचान पनि बोकेका हुन्छन् । जस्तै नेपालको राष्ट्रिय चरा डाँफे हो जुन हिमाली भेकमा पाइन्छ । यसले हाम्रो प्यारो देशको पहिचान झल्काउँछ ।  

जहाँ धेरै खालका चरा पाइन्छन्, त्यहाँ अन्य धेरै किसिमका जीवजन्तु तथा वोट विरुवा पनि हुन्छन् । कुनै चरा निश्चित स्थानमा मात्र पाइन्छन् भने तिनको विशेष महत्व हुन्छ । उदाहरणका लागि काँडे भ्याकुर नेपालमा मात्र पाइन्छ ।  

जसरी सगरमाथा अवलोकन गर्न विश्वभरका पर्यटक नेपाल आउँछन्, त्यसरी नै अरु देशमा नपाइने काँडे भ्याकुर हेर्न आउनेहरू पनि हुन्छन् । यसरी बर्ड वाचिङ टुरिजमबाट विदेशी मुद्रा समेत आर्जन हुन्छ ।  

नेपालमा ८ सय ८६ प्रकारका चरा पाइन्छन् । अझै यस्ता धेरै चरा हुन सक्छन् जसको पहिचान भएको छैन । ती मध्ये केही चरा नेपालमा मात्र पाइने पनि हुन सक्छन् । त्यसैले हामीले सबै चराको संरक्षण गर्नु पर्छ ।  

केही काम गरिरहँदा जब हामीलाई अल्छी लाग्छ तब यसो घर बाहिर निस्किँदा  चराको चिरबिर सुनेर आनन्द लिन सक्छौं । अझ जंगलमा जाँदा त झन् धेरै चरा देख्न र तिनको आवाज र स्वभाव देखेर आनन्दित हुन सकिन्छ ।  

म पोहोर सौराहा घुम्न जाँदा हात्ती चढेर जंगलमा घुम्दा मयुर देख्दा रमाइलो लागेको थियो । मैले त्यहाँ धेरै जसो विदेशीले चराको फोटा खिचिरहेको देखें । हाम्रो हात्तीका ड्राइभर (माहुते) दाइ भन्दै हुनुहुन्थ्यो, ‘बाघ, भालु, गैंडा जस्ता जनावर देख्न त साइत जुर्नुपर्छ । तर, चरा जतिबेला पनि देखिन्छन् । तीनलाई हेर्दा डर लाग्दैन, बरु आनन्द मिल्छ ।’  

हाम्रो वातावरण सन्तुलन राख्न चराले सहयोग गरिरहेका हुन्छन् । वोट विरुवालाई हानी गर्ने किरालाई चराले खाइदिन्छन् । त्यति मात्र होइन चराले विरुवामा परागसेचन गराउन पनि सहयोग गर्छन् । विभिन्न जनावर मरेर यत्रतत्र परेका हुन्छन् । गिद्ध जस्ता चराले मरेका सिनो खाएर वातावरण सफा गर्छन् । दुर्गन्ध फैलनबाट जोगाउँछन् । त्यसैले यिनीहरूलाई प्रकृतिका कुचिकार पनि भनिन्छ ।

हामी विहान उठ्दा कुखुराले ‘कुखुरी काँ’ भनेको सुन्छौं । पहिलेपहिले हातमा घडी नहुँदा कुखुराको आवाजलाई नै समयको सूचक मानिन्थ्यो रे ! त्यसैले कुखुरालाई घडी चरो पनि भनिन्छ ।  

कुखुरा लगायत अन्य चराको मासु पनि खाने चलन छ । हाँसलाई सरस्वतीको बाहन मानिन्छ । कागलाई तिहारमा पूजा गरिन्छ । गौंथलीले हाम्रो घरमा कति मेहनत गरेर गुँड लगाएका छन् । तिनले बचेरालाई कति धेरै माया गर्छन् । उनीहरूबाट हामीले सबैलाई माया गर्नु पर्छ भन्ने सिक्न सक्छौं ।  

काफल पाक्यो चराको आवाज र कोइलीको आवाजले हामीलाई गिजाए जस्तो लागे पनि सुन्दा रमाइलो हुन्छ । यसरी प्रकृतिमा चराको ठूलो महत्व छ । प्राकृतिक सन्तुलन राख्न र पर्यटन विकास गर्न हामीले चरा संरक्षण गर्नु आवश्यक छ ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App