२० मंसिर २०७८ सोमबार
अन्य

हामी कुन बेला बढी खान्छौँ ?

बिबिसी फ्युचर
बूढापुरानाहरुले प्रायः भन्छन्, ‘खाने कुरा कहिल्यै एक्लै नखानू । सबैसँग बाँडीचुँडी खानु । एक्लो खाना राम्रो हुँदैन ।’
बूढाबूढीहरुको तर्क छ, बाँडेर खाँदा बल बढ्छ । तर आधुनिक शोधले देखाउँछ, हामी समूहमा बसेर खान थाल्यौँ भने अलि बढी नै खान्छौँ । सामूहिक रुपमा खान बस्दा कहिल्यै खान नरुचाउने खान्की पनि हामी होहोमा होहो मिलाएर खान्छौँ । एक्लै त ती कुरा खाने कुरा हामी कहिल्यै सोच्न पनि सक्तैनौँ ।

सँगै खाने चलन निकै पुरानो हो । जब मानिस शिकार गरेर पेट पाल्थे, त्यो बेला पनि उसले झुण्डमा बसेर खान्थ्यो । शोधले के देखाएको छ भने एक्लै खाने मानिस डिप्रेसन र तनावको शिकार हुने गर्छ । सँगै बस्ने–उठ्नेहरुबीच खानपानको बाानीले हामीलाई पनि असर पार्ने गर्छ भन्ने भनाइ पनि छ ।

स्वास्थ्य मनोचिकित्सक जोन दि कास्त्रोले सन् १९९४ मा करिब ५०० मानिसहरुमा शोध गरेका थिए । यो रिसर्चको नमूनामा एक्लै खाना खानेहरु र मिलेर खाने दुवै समावेश गरिएका थिए । यस अध्ययनमा के पाइयो भने समूहमा खानेहरुले एक्लै खानेहरुभन्दा बढी खाएको पाइयो ।

एउटा शोधमा के देखिएको छ भने समूहमा खाना खाँदा ४० प्रतिशत मानिस बढी आइसक्रिम खाने गर्छन् । १० प्रतिशत मानिस म्याक्रोनी (इटालियन खाना) बढी खाने गरेका छन् । एक्लै खाना खानेहरु भने कहिल्यै पनि यी चिज खान्कीका बेला नलिने गरेको पनि अध्ययनले देखाएको छ ।

उसो भए कारण के त ?
उसो भए हामी कसैसँग खान बस्दा किन बढी खान्छौँ त रु कास्त्रोका अनुसार जब समूहमा खान्छौँ, खाँदा हामी गफगाफमा भुलिन्छौँ । जसका कारण हाम्रो हात र मुख कयौँ पटक रोकिने गर्छ । यसले खाने समय लम्बिन पुग्छ ।
ठूलो समूहमा खाना खाँदा मानिसले खान बढी समय लगाउने गर्छन् । जसका कारण हाम्रो दिमागमा पेट भरिएको सन्देश पुग्दैन । जब कि सानो समूह वा एक्लै खाँदा हामी चाँडै खाने कामकुरा सकिहाल्छौँ । यसरी उनीहरु बढी खानुबाट जोगिन्छन् ।

सन् २००६ मा यस्तै किसिमको अर्को एउटा प्रयोग गरिएको थियो । करिब १३२ मानिसलाई खानका लागि एउटा निश्चित समय दिइएको थियो । सबै सहभागीलाई दुई या चार जनाको समूहमा बााँडिएको थियो । केहीलाई भने एक्लै छाडिएको थियो । तर शोधका परिणामले के प्रमाणित गर्‍या भने समयसीमा हुनुका कारण सबैले लगभग उस्तै मात्रामा खाना खाएका थिए । कसैले पनि बढी या कम खाएको पाइएन ।

यसले के प्रमाणित गर्छ भने हामीले खानका लागि बढी समय दियौँ भने बढी खान्छौँ । प्रायः कुनै समारोहका बेला धेरै जना भेला हुन्छन्, यस्तो बेलामा घुमफिर गर्ने या नृत्य–मनोरञ्जनका क्रियाकलापहरु पनि गरिरहेका हुन्छन् । यस्तोमा थोरैथोरै खाँदाखाँदै हामीले आफ्नो भोकभन्दा बढी खाना खान पुग्छौँ । यो कुरा हामीले कहिल्यै ख्याल पनि गर्दैनौँ । खाएजस्तो नलागीकनै हामीले बढी खाना खाइसकेका हुन्छौँ ।

रेस्टुराँका ऐना
केही जानकार भन्छन्, सामाजिक समूहले हामीलाई बढी खान बााध्य पार्दैनन् बरु कयौँ अवस्थामा त एक्लै बसेका मानिसले बढी खाना खाइरहेका हुन्छन् । कयौँ मानिस अञ्जान मानिससँग बसेर पनि खान धक मान्दैनन् । मज्जाले खाना खाइरहेका हुन्छन् ।

उदाहरणका लागि जापानमा गरिएको एउटा शोध काफी छ । सो शोधमा केही मानिसलाई ऐनाका अघिल्तिर या भित्ताको अगाडि बसेर मकैका फूल (पपकर्न) खान दिइयो । ऐनाका अघिल्तिर पपकर्न खानेहरुले बढी स्वाद मानेर खाएको पाइयो । सायद यही कारण बढीजसो रेस्टुराँका चारैतिर ऐना लगाइएको हुन्छ ताकि ग्राहकहरुले बढ खाऊन् र बढीभन्दा बढी खाना अर्डर गरुन् ।

हरेक शोधको परिणाम सय प्रतिशत नै ठीक हुन्छ भन्ने पनि हुँदैन । केही अध्ययनले समूहमा मानिसले कम खाना खान्छन् भन्ने दाबी गर्छन् । खासगरी खाना खाने भन्ने कुरा नितान्त वैयक्तिक कुरा हो । कसैको मज्जाले दिल खोलेर खाने बानी हुन्छ, कसैको थोरैमा चित्त बुझाउने बानी हुन्छ । केहीमा संकोच हुन्छ र संकोची मानिसले कतै मेरोबारेमा कसैले केही भन्ने त होइन भनेर समूहमा कम खाने पनि गर्छ ।

यस्ता केही अध्ययनको निष्कर्ष पनि देखिएका छन्, जहाँ मोटोपनको शिकार भएका बालबालिका समूहमा भन्दा एक्लै खाने गरेका पनि छन् । एक्लोपनका कारण तिनले बढी खान्की खाएका हुन्छन् र खाएको कुराको स्वाद पनि पाएका हुँदैनन् । मोटोपनको शिकार भएका युवा आफूजस्तै मोटोपन भएका मानिससँग संगत बढाउँछन् र उनीहरु आफ्नो खानेबानीलाई परिवर्तन गर्दैनन् । उनीहरुले पत्रुखाना बढी खान्छन् । सायद उनीहरुलाई आफूमात्र एक्लो मोटोपन भएको व्यक्ति होइन रहेछु भन्ने ढुक्क हुँदो हो । तर जब उनीहरु नै दुब्लापातला आफू समान उमेरकाहरुसँग हुन्छन्, त्यो बेला सामान्य बेलाभन्दा कम नै खान्छन् ।

यही कुरा महिलाहरुमा पनि देखिएको छ । जब कुनै महिला पुरुषका साथ खाना खाइरहेकी हुन्छे, त्यो बेला उसको छनोट कम क्यालोरीयुक्त खान्की प्राथमिकतामा परिरहेको हुन्छ । अनि जब आफूजस्तै महिलाका साथमा हुन्छे, उसले कुनै पथपरहेजबिना सबैथोक खाइरहेकी हुन्छे ।   

अध्येताहरु भन्छन्, समाजको तौरतरिकाले हाम्रो खानपिनको बानीमा प्रभाव पारिरहेको हुन्छ । तर यसले कुन हदसम्म मानिसलाई असर पारिरहेको हुन्छ भन्ने कुरा भने कुनै शोध अहिलेसम्म भएको छैन ।

के र कति खाइरहेका छौँ, ध्यान दिऔँ
बेलायतको बर्मिङ्घम विश्वविद्यालयकी प्राध्यापक सुजैन हिग्स भन्छिन्, ‘समूहमा बसेर खाँदा बालबालिकामा गहिरो असर पर्छ । उनीहरु सन्तुलित आहार खान्छन् । आफूभन्दा ठूलाबाट खानपिनको तौरतरिका सिक्नु बालबालिकाका लागि ज्यादै जरुरी हुन्छ । खासगरी लामो समय बाँच्ने इच्छा हुनेहरुले त आफ्नो खान्कीका बानीमा गहिरो गरी ध्यान दिन आवश्यक छ ।

हिजोआज जसरी जे कुरामा पनि पार्टी दिने र अनेक थरिका खान्की पस्किइन्छ, यसले हाम्रो मोटोपन बढाउन भूमिका खेलिरहेको हुन्छ । मानिसहरु पनि आफ्नो मोटोपन बढ्ला भन्ने चिन्ताबाट ढुक्क भएर जमेर खाना खान्छन् । विश्व स्वास्थ्य संगठनको आँकडाका अनुसार संसारभरिमा करिब एक अर्ब मानिस मोटोपनको शिकार छन् । तीमध्ये ३० करोड ३० लाख त बालबालिका मात्र छन् ।

खाने कुराको उचित र राम्रो बानी बसाल्नका लागि साथीभाइको संगत छाड्ने वा एक्लै खाने होइन । बरु हामीले के खाइरहेका छौँ र कति खाइरहेका छौँ भनेर ध्यान दिए मात्र पनि पुग्छ ।

पार्टीमा गएका बेला विभिन्न प्रकारका खान्की खान र हेर्न पाइने भयो र अब त्यसको स्वाद लिने भइयो भनेर होइन, भेटघाटको अवसर मात्र हेर्नुस् । किनभने अन्न पराई हो तर पेट त आफ्नै हो । राम्रो स्वास्थ्यका लागि त हामीले खाने कुरामा नियन्त्रण नगरी हुँदै हुँदैन ।

प्रकाशित: २३ वैशाख २०७७ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App