coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कोरोना भाइरस महामारीको अन्त्य कहिले ?

मृत्यु सास्वत सत्य मानिन्छ । अकालमा मृत्यु हुनु कसैका लागि स्वीकार्य हुँदैन । प्राचीन शास्त्रले यसै भन्छ । कतिपय अवस्थामा अकालकोे मृत्युलाई टार्न महामृत्युञ्जय मन्त्रसमेत जप गरेको शिव महापुराणमा उल्लेख पाइन्छ । सृष्टिदेखि अहिलेसम्म प्रकृतिमा मानिसको अकालको मृत्यु मान्य हुँदैन भनिएको छ । प्रकृतिप्रदत्त आयु छउञ्जेल ‘ऊ’ निर्वाध रुपमा बाँच्न चाहन्छ । यद्यपि उसले सूक्ष्म विषाणुको महामारीको प्रकोप त झनै स्वीकार गर्न चाहँदैन । तर अहिले विश्व सूक्ष्म विषाणुको महामारीको प्रकोपबाट आक्रान्त छ । कारण मानिसको आफ्नै अल्पज्ञानले आफैँलाई सिकार बनाइरहेको दृष्टान्त दिन सकिन्छ ।

निश्चित समयपछि कोरोना भाइरस पनि पहिले फैलिएको सार्स, स्वाइन फ्लु र जीका भाइरसजस्तै मौसमी रुघाखोकीसरह रहने विज्ञहरुको भनाइ छ । तर त्यसबाट जुध्न रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान उनीहरुको सल्लाह छ । रोगप्रतिरोधात्मक क्षमता बढाउन बेसार, अदुवा, लसुन, तुलसीजस्ता जडिबुटीको प्रयोग र घाम ताप्दा फाइदा हुने भनिएको छ ।

जसरी मानिसले जन्मपश्चात् विभिन्न खुट्किला पार गर्दै जीवनका रंगहरू भर्ने चाहना राख्छन् । सोहीअनुरुप ‘ऊ’ मृत्युको नजिकसम्म चलमलाइ रहन्छ । त्यो अवधिसम्म उसले आफ्नो सर्वाङ्गीण विकासको अभिन्न अंग स्वास्थ्यलाई मानेर जीवन व्यतीत गर्दछ । स्वस्थ रहन उसले हरेक उपाय अपनाउँछ र सृष्टि प्रक्रियालाई निरन्तरता दिन अग्रसर भैरहन्छ । भविष्यका सन्तति जोगाउन प्रकोपबाट बच्ने उपाय खोजीरहन्छ । परापूर्व कालदेखि आजको युगसम्म वैज्ञानिकहरू औषधोपचारको खोजमा तल्लीन रहेको देखिन्छ ।

वर्तमानमा मात्रै होइन विगतमा पनि यस्ता महामारी पटक–पटक आएको पाइन्छ । पहिलेका मानिसहरू यस्ता महामारीलाई दैवी प्रकोपसँग जोड्ने गरेको समाजशास्त्रीको कथन छ । तर अहिले वैज्ञानिक खोजको आधारमा अदृश्य सूक्ष्म विषाणुको कारणले प्रकोप फैलने बुझ्न सकिन्छ । हुनसक्छ, पहिलेका मानिस आँखाले त्यस्ता सूक्ष्म विषाणुलाई देख्न नसकेकोले दैवी प्रकोपसँग जोडेका हुन् । त्यसैकारण वातावरण र शरीर शुद्धीकरणको प्रयास अनुसरण गरेको देखिन्छ । मानवीय क्षति कम गर्न र अकाल मृत्युबाट बच्न स्वस्थ आहारविहारमा ध्यान दिएको पाइन्छ । विगतमा आहारविहारमा हेलचेक्र्याइँ गर्दा महामारीको सामना गर्नु परेको बुझ्न सकिन्छ । आधुनिक चिकित्सा विज्ञानले पनि यसै भन्छ ।

पछिल्लो समय चीनको बुहानबाट विकसित कोरोना  भाइरस संक्रमणको फैलावट पनि कतिपय विज्ञ आहारविहारसँग जोडेर हेर्छन् । मानिसहरू ‘अकाल मृत्यु’को भयले घरभित्र सीमित भएका छन् । मौसमी रुघाखोकीको लक्षण समान त्यो भाइरसले विश्वभर करिब ९० हजार मानिसको ज्यान लिइसकेको छ ।

कतिपय विज्ञहरू यसलाई जैविक हतियार (वायोवेपन) को व्याख्या समेत गरेका छन् । के त्यसो हुन सम्भव छ ? के नेपालमा कोरोना भाइरस भित्रिएको अवस्थामा यहाँका मानिसको रोग प्रतिरोधात्मक क्षमताले सामना गर्न सक्छ ?  नेपालमा भयावहको अवस्था कतिदिन रहला जस्ता जिज्ञासाका आधारमा खोजीको विषय बनेको छ । विश्वभरका वैज्ञानिक यतिखेर त्यसविरुद्ध लड्न अनेक अनुसन्धान गरिरहेका छन् ।

कोरोना भाइरसको उद्गम थलो नेपाल नभए तापनि त्यसले नेपालमा प्रत्यक्ष असर परिरहेको छ । देश पूर्णरूपमा लक डाउनको अवस्थामा गुज्रेको छ । मूलतः विदेशबाट नेपालीसँगै भाइरस नेपाल भित्रिसकेको परिपेक्ष्यमा स्थानीय मानिसमा संक्रमणमा फैलावट आएमा त्यसको असर गुणात्मक हुनेछ । त्यसको जल्दो उदाहरण इटाली, स्पेन र अमेरिका भैसकेको छ । त्यो भाइरस कति कडा खालको हो भनेर छुट्याउनुपर्ने नेपालका विज्ञहरूको बुझाइ छ । जटिल खालको कोरोना लागेमा हप्ता दस दिनपछि कुनै औषधोपचार काम लाग्दैन, त्यसले मानिसको ज्यानै लिने जैविक प्रविधिको क्षेत्रमा अनुसन्धान गरेका नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका जैविक प्रविधि प्राज्ञ डा. मुकुन्द रञ्जित बताउँछन् । उनका अनुसार स्थान र मानवीय गुण परिवर्तन गरिसकेपछि भाइरसले आफ्नो गुणमा पनि परिवर्तन गर्दै जाने हुँदा त्यसको सूक्ष्म अनुसन्धान गर्नुपर्र्ने हुन्छ । तर त्यस किसिमका सुविधा सम्पन्न प्रयोगशाला हाम्रा वैज्ञानिक संस्थाहरूमा छैन ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागका विभागीय प्रमुख तथा भाइरसमा अनुसन्धान कर्ता प्राडा. कृष्णदास मानन्धर भन्छन्, ‘कोरोना भाइरसमा अनुसन्धान गर्न सकिन्छ तर पर्याप्त उपकरण र वातावरण पुग्दैन । त्यसका लागि अहिले भैरहेका अनुसन्धान रोग्नु पर्ने हुन्छ । थप व्यक्तिगत सुरक्षाकवच र प्रयोगशालालाई थप स्तरोन्नति गर्नुपर्दछ ।’ त्रिविका प्राडा. कृष्णदास मानन्धरका अनुसार नेपालमा कोरोना भाइरस संक्रमणको संख्या यकिन गर्न परीक्षण मात्रा बढाउनुपर्नेमा जोड दिन्छन् । ‘पछिल्लो समय डेङ्गी भाइरसमा केन्द्रित भएर अध्ययन–अनुसन्धान गरिरहेका छौँ,” प्रा. मानन्धर भन्छन्, ‘त्यसका अलावा, स्टिमबार भाइरसमा काम गरिँदै छ । अन्य विभागसँग सहकार्य गरी हेपाटाइटिस बी, इन्फ्लुएन्जा, एचआईभी भाइरसमा काम गरिरहेका छौं ।’

प्रा. मानन्धरका अनुसार भाइरसमा अनुसन्धान गर्न संवेदनशील हुनुपर्दछ । संवेदनशील भइएन भने जोखिमको सामना गर्नुपर्दछ । कतिपय अवस्थामा महामारी निम्तन सक्छ । तर जटिल खालको भाइरसमा अध्ययन–अनुसन्धान गर्न बिएसएल–३ वा ४ स्तरको प्रयोगशाला चाहिन्छ । यदि त्यस्ता प्रयोगशाला सम्भव भएन भने त्यसभन्दा कम बिएसएल–२ स्तरका पनि गर्न सकिन्छ, प्रा. मानन्धर भन्छन् । तर चीनमा बिएसएल–३ र क्यानडामा बिएसएल–४ ल्याबको प्रयोग अनिवार्य गरेको छ ।

त्रिविका प्राध्यापक कृष्णदास मानन्धरका अनुसार बिएसएल–२ मा केही सुविधा थपेर काम गर्न सकिन्छ । यदि सम्भव भएमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको ‘रेफेरेन्स ल्याब’ मा काम गर्न सकिन्छ । त्यो पनि ‘बिएसएल–२’ तहकै ल्याबटोरी मानिन्छ । कोभिड प्रकरण अगाडि त्यो प्रयोगशाला प्रयोगमा ल्याइएको थिएन, प्रा. मानन्धर भन्छन् ।

नेपालमा संक्रमितको अवस्था
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका डा. शेरबहादुर पुन नेपालीमा संक्रमित कोरोना जटिल नभएको बताउँछन् । उनका अनुसार भाइसर लागेर तुरुन्त ज्यान जाने होइन । यद्यपि पश्चिम नेपालका कैलालीका ३४ वर्षीय एक महिलामा बाहिरबाट आएकाबाट भाइरस सरेको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्विदीय चरणमा प्रवेश गरेको भनेका छन् । यद्यपि नेपालमा देखिएको भाइरस कति कडा खालको होभनेर भन्न सक्ने अवस्था छैन । भाइरसले क्षति गर्ने अवस्था भन्नलाई नेपालमा देखिएको भाइरसको थप अनुसन्धान गर्नुपर्ने हुन्छ । नेपालमा त्यसरी अनुसन्धान हुन सकेको छैन भन्छन् विज्ञहरू ।

चीनका चिकित्सा वैज्ञानिकहरूले गरिएको अध्ययन अनुसन्धानका आधारमा डा. पुन भन्छन्, कोरोना भाइरस पनि दुई खालका छन् । जस अनुसार एल र एस हुन्छन् । एलभन्दा एस भाइरसले बढी असर गर्ने र फैलावट दर पनि बढी हुने भनिएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार प्रयोगशालामा स्वाब परीक्षण गरिएको आधारमा पोजेटिभ (कोरोना भाइरसको लक्षण देखिएको) र नेगेटिभ (नदेखिएको) भन्ने बाहेक थप काम भएको छैन । एकातिर त्रिविका बौद्धिक जमात खुम्चिएको अवस्थाका रुपमा लिन्छन्, सरकारसँग भएको सुविधायुक्त ल्याबमा भाइरस अनुसन्धानमा काम हुन नसकेको देखिन्छ ।

विश्वभर फैलिएको कोरोनाको तथ्यांक समीक्षा गर्दै त्रिविका प्रा. कृष्णदास मानन्धर नेपालमा कोरोना भाइरस लागेका मानिसको संख्या अधिक हुनुपर्ने आँकलन गर्छन् । मानिसमा अधिक परीक्षण गर्नुमा जोड दिन्छन् ।

सन् २००९ मा जाजरकोटमा झाडापखाला लाग्दा ६ सय मानिसको ज्यान गएको घटना दृष्टान्त दिँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल भन्छन्, ‘नेपालमा स्थानीय खालका महामारी जाजरकोटमा मानिसको मृत्यु हुँदा परिवारले छुन नमान्ने समस्या देखियो ।’ त्योसँगै नेपालमा सन् २०१५ को स्वाइन फ्लु, बर्डफ्लुको त्रास मानिसमा देखियो ।

नेपालमा भेटिएको पहिलो कोरोना भाइरसको आनुवंशिक जैविक प्रविधिमा आधारित अनुसन्धान गरिरहेका डा. मेघनाथ धिमाल भन्छन्, ‘नेपालमा फैलावट दर कम हुनुमा नेपालीहरूको खानपान, चालचलन, हावापानी र शरीरमा भएको रोग प्रतिरोधात्मक शक्तिका कारणले हुन सक्छ । यसलाई पुष्टि गर्न थप अनुसन्धान गर्नुपर्नेमा डा. धिमाल जोड दिन्छन् ।

भाइरसको उत्पत्ति :
भाइरसका विज्ञहरूका अनुसार जैविक प्राणीहरूको उत्पत्तिसँगै भाइरस पनि सँगै उत्पन्न भएको मान्यता राख्छन् । तथापि, आनुवंशिक अध्ययन भैसक्दासमेत सुरुमा भाइरसको उत्पत्ति कहाँ कसरी भयो भन्ने आधार पाएका छैनन् । यिनीहरूको अवशेष नपाइने भएकोले बाँच्ने आधारमा भनेको ‘होस्ट सेल’ अर्थात् जीवित प्राणी तथा वनस्पति हुन् भनिन्छ । यिनीहरू बहुकोषीय जीवहरूमा आश्रित भएर लामो समय रहिरहने विज्ञहरूको भनाइ छ ।     

नास्टका प्राज्ञ डा. मुकुन्द रञ्जितका अनुसार भाइरस वनस्पति, चराचुरुङ्गी, जनावर र मानिसमा सरेर त्यसले आफ्नो क्षमता विस्तार गर्ने गर्दछ । त्यसपछि एकबाट हजारौं संख्यामा देखा पर्दछ । भाइरस आफैँ जीवात्मा नभएकोले हावामा त्यसै रहँदा केही गर्न सक्दैन । यो बाँच्ने भनेको मानव वा जीवाणुको शरीरका कोषलाई परिचालित गरेर रहिरहन खोज्दछ ।

डा. रञ्जितका अनुसार वैज्ञानिक खोजका आधारमा मानिसहरू आएको दुई लाख वर्ष भएको अनुमान गरिन्छ । त्यसभन्दा आगडि पनि यस्ता भाइरस थिए । तीन अर्ब वर्ष पहिले यसको प्रादुर्भाव भएको मानिन्छ । सूक्ष्म जीवाणुसँगै ‘ब्याक्टेरिया’ सँगै भाइरस पनि आयो, भनिन्छ । ‘अचम्म त सूक्ष्म जीवाणुलाई पनि भाइरस लाग्दछ,’ डा. रञ्जित भन्छन्, ‘निर्जीवजस्तो प्रकृतिका देखिए पनि यो आफू रहिरहन खोज्दछ । ‘डिएनए म्यूटेसन’ भएर मानिसमा सर्छ ।’

यदि अमेरिकाबाट मानिस नेपाल आउँदा रुघा लाग्न सक्छ तर यहाँका मानिसलाई नलाग्न सक्छ, त्यसको कारण भनेको यहाँका मानिस स्थानीय वातावरणसँग घुलमिल भैसकेका हुन्छन् । स्थानअनुसार उसले आफ्नो रक्षाकवच आत्मरक्षा रोग प्रतिरोधात्मक शक्तिको विकास गरेको हुन्छ । वातावरणमा भएका भाइरसविरुद्ध लड्ने क्षमता बनाइसकेका हुन्छन् । तर विदेशबाट कहिले नआएका मानिसमा असर गर्न सक्छ । उसको शरीरले रोग प्रतिरोधात्मक शक्ति निर्माण गर्न समय लाग्छ । त्यस्तो अवस्थामा भाइरस तथा जीवाणुहरूले आक्रमण गर्दछ । त्यसरी वातावरण परिवर्तनसँगे उसलाई रोग लाग्दछ ।

तर यहाँका मानिसले अन्य मानिसले संक्रमण फैलिने खालका रोग ल्याएको खण्डमा पनि शरीरको रोगप्रतिरक्षा प्रणालीले रक्षा गर्न थाल्दछ । अन्य प्रकारको भाइरस आयो भने पनि हाम्रा मानिसहरूले प्रतिरोध गर्न सक्छन् त्रिविका प्रा. कृष्णदास मानन्धर भन्छन् । उनका अनुसार कोरोना जस्ता रुघाखोकी, ज्वरोका लक्षण अन्य भाइरस इन्फ्लुएन्जामा पनि हुन्छ । प्रा. मानन्धर त्यो ‘मास इम्युनाइजेनस’ बिस्तारै भइरहेको हुन सक्ने अनुमान गर्छन् । तर यो प्रमाणित कुरा भने होइन । भाइरसको एन्टीबडी, इम्युन सेल्सहरूको बारेमा अनुसन्धान गर्नुपर्ने हुन्छ । कोरोना नेपालमा भित्रिइसकेपछि पनि यहाँका मानिसले त्यसविरुद्ध लड्ने क्षमताका बारेमा अनुसन्धान गर्नुपर्ने प्रा. मानन्धर जोड दिन्छन् ।

वायुमण्डलमा कसरी बस्छ ?     
वायोमोलिक्युल्सका आधारमा कार्बोहाइड्रेड, फ्याट एण्ड लिपिट, प्रोटिन, न्यूक्लिक एसिड हुन्छन् । न्यूक्लिकएसिड पछि रुपान्तर भएर ‘डिएनए’ बन्छन् । डिएनएबाट ‘आरएनए’ बन्छ, आरएनएबाट ‘प्रोटिन’ बन्छ । नास्टका प्राज्ञ मुकुन्द रञ्जितका अनुसार कोरोना भाइरस ‘आरएनए भाइरस’ हो । चारैतिर कोषका झिल्लीहरूले ढाकेको हुन्छ । त्यसको दुई तहमा ‘लिपिट’ हुन्छन्, त्यसबाट ‘प्रोटिन’ बाहिर निस्किरहेको हुन्छ । त्यसपछि भाइरसमा भएको प्रोटिन र मानिसको शरीरमा भएको प्रोटिन मिल्दछ । त्यसपछि भाइरस मानिसको शरीरमा प्रवेश गर्दछ । यसकारण साबुन पानीले मिचिमिचि हात धुने भनिएको हो, भन्छन् डा. रञ्जित । उनका अनुसार यसरी हात धुदा प्रोटिन टुक्रेर नस्ट हुन्छ अनि अन्य व्यक्ति वा स्थानमा संक्रमण हुन सक्दैन । चिल्लो पदार्थ हटेर जान्छ । त्यसपछि नाक, मुख आँखा वा अनुहारमा छुँदा असर नगर्ने हुन्छ ।

“यो भाइरसले मुख्य गरि श्वासप्रश्वास नली र फोक्सोमा असर गर्दछ । फोक्सोको कोषहरूमा यसले पानी जमाउने गर्दछ । भ्यान्टीलेटरमा राखेर अक्सिजनको साहारा दिएर राखिन्छ । यदि मानिसलाई दस दिनसम्म बाचेमा उसलाई निको हुन सक्नेछ,” डा रञ्जित भन्छन्, “नत्र जतिसुकै गरे पनि निको हुँदैन । बुढो मानिसमा रोग प्रतिरोधात्मक शक्ति कम हुँदा मृत्यु हुने गर्दछ ।’

भाइरसको विभिन्न रूप    
विज्ञहरू अहिलेसम्म यस्ता भाइरस ल्याबमा अनुसन्धान गरेर बाहिर आएको ठान्दैनन् । कतिपयले चीनको बुहानमा भाइरसको संक्रमणले महामारीको रुप लिएपछि ल्याबबाट निस्केको अनुमान लगाए । नेपालका केही विज्ञहरू पनि आंशका गर्दछन् । कतिपय विदेशी सञ्चार माध्यमहरूमा समेत विषय प्रवेश पाएका थिए । तर त्यसमा सत्यता नभएको बुझिन्छ । सामन्यतः भाइरस जनावर, पशुपक्षीबाट मानिसमा सरेको पाइन्छ । मानिसमा फैलावट भएको विभिन्न भाइरसले निम्त्याएको महामारी प्लेग, स्मलपक्स, क्लोरिया, इन्फ्लुएन्जा, स्वाइन फ्लु, सार्स, इबोला, जिका, डेंगी र कोभिड–१९ देखिएको छ ।

प्लेग
१३ औं शताब्दीमा प्लेगको महामारी फैलिएको थियो । प्लेगले अधिकतम पचास  करोड मानिसको मृत्यु भएको ठानिन्छ । त्यस रोगबाट युरोपमा अधिक मानिसको मृत्यु भएको थियो । सुरुमा मुसाको दिसाबाट साना किटाणु, उडुस र उपियाँमा सर्‍यो भनिन्छ । त्यसपछि स्तनधारी जनावर र पक्षी हुँदै मानिसमा आइपुगेको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार सन् २०१० देखि २०१५ सम्म पनि प्लेग देखिएको छ । विश्वभर करिब ३ हजार २ सय ४८ मानिस प्रभावित भएको रिपोट गरेको पाइन्छ । त्यसमध्ये ५ सय ८४ जनाको मृत्यु भएको डब्लुएचओले उल्लेख गरेको छ ।

स्मल पक्स
युरोप, एसिया र अरबमा एक शताब्दीसम्म फैलियो भनिन्छ । १८ शताब्दीको अन्त्यतिर यसको उन्मूलन भयो । बेलायती मेडिकल डाक्टर ‘एडवार्ड जेनर’ले गाईमा पाइने किर्नाको टोकाइबाट लाग्ने ‘काउपक्स’ कमसल खालको भाइरसबाट स्मलपक्सविरुद्धको खोप अनुसन्धानबाट पत्ता लगाएपछि निर्मूल भएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (युस–सीडीसी) का अनुसार दस जनामा तीनको मृत्यु भएको उल्लेख छ । यो भाइरस कहाँबाट आयो भनेर अहिलेसम्म पत्ता लगाउन सकेको छैन । भ्याक्सिन बनेपछि नियन्त्रणमा आएको उल्लेख गरेको पाइन्छ ।

क्लोरिया
१९ औं शताब्दीको मध्यतिर बेलायतमा दसाै‌ हजार मानिस क्लोरियाको कारणले मृत्यु भएको पाइन्छ । पानी तथा खानेकुरामा संक्रमण भएर हुने ‘भिवियो क्लोरिया’ सूक्ष्म जीवाणुको कारण मानिसमा झाडापखाला लाग्ने गर्दछ । डब्लुएचओले गरेको अनुसन्धानका आधारमा विश्वभर अधिकतम ४० लाख मानिसमा वर्षेनी रोग लाग्दछ । डब्लुएचओको तथ्यांकअनुसार २१ हजारदेखि १ लाख ४३ हजार मानिसको वर्षेनी मृत्यु भएको छ । नेपालमा पनि झाडापखाला र हैजाका कारण मृत्यु हुने गरेको छ ।

इन्फ्लुएन्जा
सन् १९१८–१९१९ इन्फ्लुएन्जा फ्लुबाट झन्डै प्लेगकै हाराहारीमा मानिसको मृत्यु भएको युएस–सीडीसीले उल्लेख गरेको पाइन्छ । डब्लुएचओले सन् २०१७ डिसेम्बरमा प्रकाशित गरेको तथ्यांकअनुसार श्वासप्रश्वास सम्बन्धित इन्फ्लुएन्जा भाइरसका कारण विश्वमा ६ लाख ५० हजार मानिसको मृत्यु भएको देखाउँछ । उक्त तथ्य अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (युएस–सीडीसी), विश्वस्वास्थ्य संगठन र विश्व स्वास्थ्य निकायहरूसँगको सहकार्यमा तथ्यांक प्रकाशन गरेको थियो । त्यसभन्दा दस वर्ष अगाडिको तथ्यांकमा २ लाख ५० हजारदेखि ५ लाखसम्म मृत्यु हुने प्रक्षेपण गरिएको थियो । इन्फ्लुएन्जा भाइरस ए, बी, सी र डी हुन्छन् । भाइरस ए र बी मौसमी परिवर्तनसँगै देखिन्छ ।

स्वाइन फ्लु
इन्फ्लुएन्जा ए ‘स्वाइन फ्लु (एनवान एचवान पीडीएमजिरोनाइन) भाइरस’ र ‘एनथ्रीएनवान’ भाइरसले सन् २००९ मा महामारीको रुप लिएको थियो । यस्ता भाइरसका बेला टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने, गला बस्नेलगायतका लक्षण देखा पर्छन् । विकासशील राष्ट्रहरूमा देखिएका मौसमी रुघाखोकी यकिन कारण अहिलेसम्म पत्ता लागि नसकेको डब्लुएचओले उल्लेख गरको छ । तर पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु श्वासप्रश्वास प्रणालीमा परेको असरका कारण ९९ प्रतिशत बालबालिकाको मृत्यु भएको भने उल्लेख गरेको पाइन्छ । ‘स्वाइन फ्लु’ मेक्सिकोमा सर्वप्रथम देखिएको थियो । सीडीसीको तथ्यांकअनुसार हालसम्म ‘स्वाइन फ्लु’ देखिएको पहिलो वर्षमा मात्रै अधिकतम ५ लाख ७५ हजार ४ सय मानिसको मृत्यु भएको उल्लेख छ ।

स्पेनिस फ्लु
इन्फ्लुएन्जा ए (एचथ्रीएनटु) जसलाई स्पेनिस फ्लुले चिनिन्छ । सन् १९१८ देखि १९१९ मा विश्वभर यसबाट ४० लाख मानिसको मृत्युको भएको डब्लुएचओको तथ्यांकले देखाउँछ । त्यसपछि सन् १९६८ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकामा देखा परको थियो । त्यसबेला १ लाख मानिसको मृत्यु भएको युएससीडीसीले उल्लेख गरेको छ ।

इबोला
यो भाइरस सुरुमा फलफूल खाने चमेरा, दुम्सी र जनावरहरूबाट मानिसमा प्रवेश गरेको भनिएको छ । यसबाट मृत्यु दर औसतमा ५० प्रतिशत देखिएको थियो । इबोला मध्य अफ्रिकामा देखा परेको भाइरस भनिन्छ । सन् १९७६ मा भाइरस पत्ता लगाएपछिको ठूलो ‘आउटब्रेक’ पश्चिमी अफ्रिकामा सन् २०१३ मा भएको थियो । त्यसपछि नजिकका देशहरू सिरिया र लिबेरियासम्म फैलियो । सुरुमा ज्वरो आउने, टाउको दुख्ने, श्वरमा परिवर्तन आउनेलगायतका लक्षण हुन्छन् । झाडाबान्ता, मृगौलामा असर, कतिपयमा नाकबाट र शरीरको भित्री भागबाट रगत निष्कासन हुने  बताइन्छ । दुई वर्षको अन्तरालमा करिब १२ हजार मानिसको मृत्यु भएको तथ्यांक पाइन्छ । अहिले पनि जोखिम रहेको क्षेत्रमा इबोला भ्याक्सिनको परीक्षण भैरहेको छ ।

जिका भाइरस
जिका भाइरस एडिज अजिप्टाइ लामखुट्टेका कारणले सर्ने रोग हो । यो भाइरस दिउँसोको समयमा एडिज लामखुट्टेले टोकेमा सर्ने भनिन्छ । सन् १९४७ मा पहिलोपटक युगान्डामा बाँदरमा जिका भाइरस देखा परेको थियो । सन् १९६० देखि १९८० ताका एसिया र अफ्रिकामा यो भाइरस त्यति कडा रुपमा देखा परेको थिएन । सन् २००७, २०१३ देखि यता हरेक वर्ष देखा पर्दै आएको डब्लुएचओले उल्लेख गरेको छ । डब्लुएचओका अनुसार विश्वभरका ८६ मुलुकमा जिकाको फैलावट भैसकेको छ । जिका नेपालमा देखा नपरेको नेपाली विज्ञहरूको भनाइ छ ।

डेंगी भाइरस
डेंगी भाइरस पनि एडिज अजिप्टाइ लामुखुट्टेले सार्ने रोग हो । जटिल खालका डेंगी भएमा मानिसको मृत्यु हुने गरेको छ । डेंगीको हालसम्म प्रभावकारी उपचार छैन । विश्वभर ४० लाख मानिसमा संक्रमण हुने डब्लुएचओले उल्लेख गरेको छ । ब्राजिलमा सन् २०१४ मा यस भाइरसले १४ सय मानिसको मृत्यु भएको थियो । सन् २०१७ मा कडा प्रकृतिको डेंगी ५३ प्रतिशत मानिसमा देखा परेको डब्लुएचओले उल्लेख गरेको छ । नेपालमा पनि डेंगी भित्रिसकेको छ । केही मानिसको मृत्युसमेत भैसकेको छ ।

सार्स भाइरस
सन् २००३ देखि २००४ सम्म चीनमा देखा परेको सेभेर एक्युट रेस्पिटरी सिन्ड्रम (एसएआरएस) संक्षेपमा ‘सार्स–भाइरस’ पनि अहिलेको ‘नोवेल कोरोना भाइरस’ जस्तै नयाँ भाइरसका रुपमा देखा परेको थियो । ‘सार्स’ एक प्रकारको बिरालो (सिवेट) बाट आएको भनिन्छ । पछि यो भाइरस चीनका मानिसमा देखा पर्‍यो । त्यसबेला सार्सले चीनमा मात्र करिब ८ हजार मानिसलाई संक्रमण गर्‍यो । यस भाइरसले विश्वका १७ देशका ७ सय ७४ मानिसको मृत्यु भैसकेको छ ।

नोवेल कोरोना भाइरस
नोवेल कोरोना भाइरसको स्रोत अहिलेसम्म अनुमानमै सीमित छ । वैज्ञानिकहरूले नोवेल कोरोना भाइरस चमेरोबाट मानिसमा आएको अनुमान गर्छन् । विश्वस्वास्थ्य संगठन ‘नोवेल कोरोना भाइरस परिस्थितिजन्य रिपोर्ट–७९’ अनुसार अप्रिल–८, २०२० सम्म विश्वभर १३ लाख ५३ हजार ३ सय ६१ जना संक्रमित छन् । नेपालमा अहिलेसम्म मानवीय क्षति भएको छैन ।

नेपालमा महामारी
जगतजय मल्लको पालामा काठमाडौंमा ठूलो महामारी फैलिएको बताइन्छ । विभिन्न पत्रपत्रिकाको लेखोटका आधारमा मल्लकालमा फैलिएको महामारीले करिब २० हजार मानिसको मृत्यु भएको थियो । हैजाले पनि नेपालका मानिसलाई सताएको पाइन्छ । विफर, दादुराले महामारीको रुप लिएको इतिहास छ । विसं २०२० मा विफर रोगथामका लागि खोप लगाउन विफर महामारी ऐन, २०२० जारी गरेको पाइन्छ । विज्ञहरूका अनुसार नेपालमा साधारण रुघाखोकीजन्य फ्लुका कारण वर्षेनी १० हजारको मृत्यु हुने गरेको छ ।

दक्षिण एसियाली मुलुकको तथ्यांक हेर्ने हो भने ‘नोवेल कोरोना भाइरस परिस्थितिजन्य रिपोर्ट–७९’ अनुसार अप्रिल–८, २०२० सम्म १० हजार ७ सय ७ संक्रमित छन् । त्यसमध्ये ४ सय २४ जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाको फैलावट बढिरहँदा नेपालमा ९ जनामा संक्रमण देखा परेको छ । यद्यपि अहिलेसम्म मानवीय क्षति भएको छैन ।

महामारीको सदुपयोग
यसरी दक्षिण एसियाली देशहरूमध्ये पनि नेपालमा कम फैलावट हुनुलाई विज्ञहरू यहाँको हावापानी, चालचलन, खानपान र रोगप्रतिरोधात्मक क्षमता भएको अनुमान गरेका छन् । सन् २०१० मा स्वाइन फ्लु र डेंगीजस्ता भाइरस पनि कम मात्रामा देखिएको थियो ।

विज्ञका अनुसार भाइरस संक्रमण भएपछि मानिसको शरीरले भाइरसविरुद्ध लड्न हाच्छुँ आउने र शरीरको तापक्रम बढाउँदा ज्वरो आउने अवस्था हुन्छ । हाम्रो शरीरले आफैँ एन्टीबडी बनाउँछ । विषाणुसँग लडिरहेको हुन्छ । आफ्नो क्षमता प्रयोग गरिरहेको हुन्छ । तर कोरोना भाइरसले फोक्सोमा इन्फेक्सन गरेर काम गर्न दिँदैन । सुख्खा खोकीका कारण कफ शरीर बाहिर आउन पाउँदैन, जसले गर्दा हाम्रो शरीरले भाइरस बाहिर निकाल्न सक्दैनन् । यस्तो समस्याले गर्दा कोरोना लागि हालेमा उपचार गर्न गाह्रो भएको विज्ञहरू बताउँछन् ।

अर्को कुुरा नेपालमा संक्रमण भएको व्यक्तिबाट नमुना लिएर वैज्ञानिक अनुसन्धान गर्नुपर्ने हुन्छ । किनभने संसारभर भ्याक्सिन नबनिसकेको अवस्थामा नेपाली वैज्ञानिकहरूको दक्षता त्यसमा काम लाग्न सक्छ । त्यसका लागि हाम्रा विश्वविद्यालयको प्रयोगशालालाई सक्षम बनाउन जरुरी भएको जैविक प्रविधि विभागका पूर्व विभागीय प्रमुख प्राडा. रजनी मल्ल बताउँछिन् । उनका अनुसार विदेशी जोहन हप्किन्स विश्वविद्यालय, भारत, चीन, अमेरीका र जर्मनीलगायतका देशका अनुसन्धानरत वैज्ञानिकहरूले भ्याक्सिन बनाएको दाबी गरिरहेका छन् । तर विश्वस्वास्थ्य संगठनले आधिकारिक रुपमा कुनै भ्याक्सिन बनाएको जानकारी दिएको छैन ।

त्रिवि जैविक प्रविधि विभागकी पूर्व विभागीय प्रमुख प्राडा. रजनी मल्लका अनुसार कोरोना लागेका ८० प्रतिशत रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसको मृत्यु भएको छ । यसको मृत्युदर ०.२ प्रतिशत (एक हजारमा दुईजना मात्र) मृत्यु भएको छ, प्रा. मल्ल भन्छिन् । जैविक प्रविधि समाजका अध्यक्ष नवीननारायण मुनन्कर्मी सरकारले वायोटेक्नोलोजीको भूमिका अवमूल्यांकन गरेको बताउँछन् । वायोटेक्नोलोजी विषयको महत्व बढी हुँदासमेत भूमिकाविहीन भएको बताउँछन् । नेपालमा करिब ६ सय संख्यामा भएको बायोटेक्नोलोजिस्टलाई पनि सदुपयोग गर्न नसकेको सोसाइटीका अध्यक्ष मुनन्कर्मी गुनासो गर्छन् ।

यो बीचमा विभिन्न सरकारी निकायले सरोकारवाला संघसंस्थासँग छलफल गरेको त्रिविका प्राडा. रजनी मल्ल बताउँछिन् । महामारी फैलिएको अवस्थामा वायोटेक्नोलोजीका जनशक्ति त्रिवि जैविक प्रविधि विभागले उपलब्ध गराउने कुरा भएको प्रा. मल्ल उल्लेख गर्छिन् । प्रा. मल्ल पनि सरकारले जैविक प्रविधिको महत्व नसकेको बताउँछिन् । उनका अनुसार नेपालमा गर्मी मौसम सुरु भएकाले कोरोना हाम्रो वातावरणमा लामो समय नटिक्ने दाबी गर्छिन् । अहिले कोरोना भाइरस बढी देखिएका मुलुकमा वायुमण्डलको तापक्रम न्यून देखिएको अर्का जैविक प्रविधि विज्ञ डा. मुकुन्द रञ्जित बताउँछन् । जैविक प्रविधि विभागका प्रमुख प्राडा. कृष्णदास मानन्धर पनि सरकारले कोरोनाको अवस्था थाहा पाउन ‘कोरोना टेस्ट’ अधिक मानिसमा गर्नुपर्ने सुझाव दिन्छन् ।

यद्यपि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख अधिकारीहरूसहित विदेशी विश्वविद्यालयका असुसन्धानकर्ताहरूले नेपालमा भेटिएको पहिलो बिरामीको नमुना ‘डिएनए सिक्वेसिङ्’ गरेको अनुसन्धानको लेखोट अनुसन्धान अमेरिकन माइक्रोवायोलोजी सोसाइटीको अनलाइनमा प्रकाशन गरेको पाइएको छ । त्यस्ता अनुसन्धानलाई संस्थागत विकास गर्न नेपालका विश्वविद्यालयका अनुसन्धानकर्मीसँगको सहकार्यमा गर्न नसकेको देखिएको छ । त्यसतर्फ राज्यको ध्यान जानु जरुरी छ, किनभने स्वास्थ्य महामारीका बेला व्यवस्थापक कर्मचारीले अनुसन्धानमा कत्तिको भूमिका खेल्ला भन्ने प्रश्न प्रेचिलो बनेको छ ।

स्वास्थ्य क्षेत्रका व्यवस्थापकले अनुसन्धान गर्ने विश्वका अन्य देशको परिपाटी देखिएको छैन । विदेशबाट कोरोना सम्बन्धी अनुसन्धान गरेर नेपाल भित्रिएका अनुसन्धानकर्ता छन् । तिनको सीप र ज्ञान नेपालमा खिइन नदिन पनि सरकारले व्यवस्थापन गर्न सक्नुपर्दछ । यसकारण भाइरसजन्य प्रकृतिको रोगमा विदेशीलाई गुहार्ने प्रविधिबाट छुट्कारा पाउन सरकारले जैविक प्रविधि केन्द्रीय विभाग, राष्ट्रिय स्तरको अन्य प्रयोगशाला, अनुसन्धान गर्ने संस्था तथा विश्वविद्यालयहरूको स्तरोन्नति र व्यवस्थापन गर्र्नुपर्ने विज्ञहरूको सुझाव छ ।
अन्त्यमा,
विज्ञहरूका अनुसार यस्ता महामरी निश्चित समयपछि बिस्तारै घट्दै जान्छन् । सार्स, जीका र स्वाइन फ्लु जस्ता भाइरसको फैलावटका बेला निश्चित समयपछिको अन्तरालमा जनजीवन सामान्य बनेको थियो । अहिलेको कोरोना भाइरस पनि पछि सामान्य मौसमी रुघाखोकी जस्तो भाइरसको रुपमा रहने विज्ञहरूको भनाइ छ । उनीहरूका अनुसार यसबाट बच्ने उत्तम उपाय भनेको एक्लै  बस्ने हो । नेपालमा पनि विगतका महामारीका बेला मानिसलाई एक्ल्याएर उपचार गरेको पाइन्छ ।

त्यसकारण हरेक विपतपछि नयाँ सम्भावनाको सुरुवात हुनेहुँदा कोभिड–१९ जस्ता महामारीबाट बच्न सरकारले आमनागरिकको आहारविहार, वातावरण, रोगप्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक चिकित्सा, रैथाने विधि, आर्युवेदमा उल्लेखित औषधि उपचार विधिलाई थप वैज्ञानिक आधार विस्तार गरी विश्व समुदायलाई समेत फाइदा पुग्न सक्छ । आधुनिक चिकित्सा प्रणाली लक्षणका आधारमा गरिने प्रणाली भएको कतिपय विज्ञहरूको भनाइ छ ।

तसर्थ, महामारीले औषधोपचारमा नयाँ विधि खोजीरहेको सन्दर्भ बुझ्न सकिन्छ । हिमालय क्षेत्रमा भाइरसहरू निष्क्रिय हुने आयुर्वेद विभागका पूर्व महानिर्देशक डा. देवकला भण्डारीको भनाइ छ । उनका अनुसार कोरोना लागेका बिरामीलाई पनि हिमालको चिसो हावा स्पर्श गरी उपचार पद्धति अपनाउन सकिन्छ । हिमाली क्षेत्रमा पाइने जडिबुटी स्वच्छ र विषाणुविरुद्ध लड्न सक्षम हुन्छन् । उनका अनुसार अहिलेको अवस्थामा त्यस्ता जडिबुटीको नेपालमा प्रशोधन गर्ने अवस्था सिर्जना गर्नुपर्ने देखिएको छ । अदुवा, लसुन, बेसार, चिराइतो, चुट्की, तुलसी र लेकाली जडिबुटीको प्राकृतिक औषधोपचार पद्धतिसँगै आधुनिक विधि अपनाएर विश्वलाई नयाँ खालका चिकित्सा विधि सिकाउने बेला भएको छ ।

प्रकाशित: १९ वैशाख २०७७ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App