९ आश्विन २०७८ शनिबार
अन्य

साइकलमा फनफनी मकवानपुर

चिसापानी गढी, मकवानपुर गढी हुँदै हरिहरपुर गढीसम्मको यात्रा गर्ने हुटहुटी यस पटक बल्ल शान्त भयो । चिसापानी गढी र मकवानपुर गढी मकवानपुरमा र हरिहरपुर गढी  सिन्धुलीमा पर्ने रहेछ ।

सेन वंशी राजा मुकुन्द सेनको नाम मुकुन्दपुरबाट अपभ्रंश हुँदै मकवानपुर भएको मानिन्छ । जिल्लाका कतिपय स्थान महाभारतका कथासँग जोडिएका छन् । वनबास क्रममा पाँच पाण्डव यस जिल्लाका विभिन्न स्थानमा विचरण गरेको स्थानीय बताउँछन । भीमसेनले हेडम्बा राक्षस मारेको र उसैको नामबाट हेटौडा नामकरण भएको भनाइ छ । 

हेटौंडा मकवानपुरको मात्र नभई बाग्मती प्रदेशको राजधानी पनि हो । विभिन्न रुट हुँदै महाभारत पर्वतका उपत्यका र टाकुरा छिचोल्दै एक दिने साइकलयात्रामा हेटौंडा पुग्न सकिन्छ । टिकाभैरव, भट्टेडाँडा, बाग्मती बगुवा, ठिंगन, सिमात, जीतपुर फेदी, मकवानपुर गढी, चौघडा हुँदै हेटौंडा पुग्न सकिन्छ । यो रुट भएर काठमाडौंबाट हेटौंडा पुग्दा करीब ९५ किमि दूरी तय हुन्छ । काठमाडौंबाट दक्षिणकाली, छैमले, सिस्नेरी, टेकर, कुलेखानी, चिसापानी गढी, भिमफेदी हुँदै हेटौंडा पुग्न सकिन्छ । मातातीर्थ, चखेल, पुरुण्डी, कुलेखानी, चिसापानी गढी, भिमफेदी हुँदै हेटौंडा । त्यसैगरी थानकोट चन्द्रागिरि, चित्लाङ, कुलेखानी, भिमफेदी हुँदै पनि हेटौंडा । वा चित्लाङ, बज्रवाराही, कुन्छाल, पालुङ, दामन, सिमभञ्ज्याङ, महभीर, भैंसे दोभान हुँदै हेटौंडा । नागढुंगा, नौविसे, सातघुम्ती हुँदै भने अलि लामो हुन आउँछ । यी सबै रुट भएर साइकलयात्रा गर्नु निकै मजा हुन्छ । 

चल्तीका सबै रुटबाट पटकपटक, एकल वा सामूहिक साइकलयात्राबाट हेटौंडा नगएको होइन । यस पटकको अनुभव भने तीन कुराले फरक रहयो । एक, मकवानपुर गढीमा विजय उत्सव मनाउँदै गर्दा प्रदर्शनीका लागि राखिएका पुराना हतियार देख्न पाइयो । दोस्रो, बसाइँ सर्दै हेटौंडा आइपुगेका चरा अवलोकन गरियो र  तेस्रो संरक्षणका पक्ष तथा आगन्तुक चराको अवलोकन । 

हेटौडाको सेरोफेरो जैविक विविधताको भण्डार मानिन्छ । धार्मिक, पौराणिक, ऐतिहासिक महत्व बोकेका ठाउँमा होटल र पार्क निर्माण गर्न सके स्वदेशी मात्र होइन, ग्रीष्म ऋतुमा भारतीय पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ । 

उत्तरतर्फ महाभारत र दक्षिणतर्फ चुरेसम्म फैलिएको छ मकवानपुर । पौराणिक, ऐतिहासिक, जैविक, धार्मिक, सांस्कृतिक विविधताको संगमस्थलका रूपमा हेर्न सकिन्छ । महाभारत र चुरेको संगमस्थल भएकाले यात्रालाई निकै रोचक बनाउँछ ।  

एक दशक यता हेटौंडा र वरपरका पातला बस्ती निकै बाक्लिएको छ । धेरै परिवर्तन भइसकेको छ । तीव्र गतिमा शहरीकरण बढेको छ । चौंडा बाटो । नयाँ संरचना । बिस्तारित बजार क्षेत्र । सवारी साधनको चाप । भीडभाड । हेटौंडा वरपरका बस्तीमा काठबाट बनेका संरचनाले मधेसको झल्को दिन्थे । अचेल तिनलाई पक्की संरचनाले विस्थापित गर्दै गएका छन् । 

मकवानपुर गढी 
यात्राको दोस्रो दिन, माघे बिहानी । बाक्लो हुस्सुमा रुमलिएको हेटौंडा आसपासका बस्ती छिचोल्दै सानो पोखरा, माछा प्लान, चौघडा बजार, चुच्चे खोला, शिखर कटेरी, धरमपानी, वरभञ्ज्याङ हँुदै करीब १७ किमि दूरी तय गरेपछि मकवानपुर गढी पुगियो । गढी पुग्दासम्म बस्ती आसपासका फाँट र पाखा ढकमक्क तोरी फुलेर निकै रमाइलो देखिन्थ्यो ।   

गढी नजिकै जीपलाइन बन्दै छ । सिंढीको दायाँतर्फ हालै एक दन्ते हात्तीको प्रतिमा स्थापना गरिएको रहेछ । सेन वंशीय राजा हेमकर्ण सेनले पृथ्वीनारायण शाहसित छोरी इन्द्रकुमारीलाई विवाहमा अन्माई चढाएको एक दन्ते हात्ती मरेपछि सोही ठाउँमा गाडिएको भनाइ छ । 

गढी पर्खालको बाहिरी भाग खाल्डोले घेरिएको छ । बाहिरी आक्रमणबाट  गढीलाई बचाउन चौडा ढुंगे पर्खाल छ । बाहिरबाट गढीको मूलद्वारसम्म जाने काठे पुल । मूलद्वार सामुन्ने वंश गोपालको मन्दिर । मन्दिरपछि खण्डहर सेन वंशीय प्राचीन दरबार । सबै संरचना हेर्दा सामरिक तथा वास्तुकला उत्कृष्ट नमूनाका रूपमा लिन सकिन्छ । गढी बाहिर उत्तरपश्चिमतर्फ सानो गढी छ भने गढीको करीब दुई किमि उत्तरपूर्वमा ढुंगे गढी छ ।    

हतियार प्रदर्शनी
गढी दरबारको अघिल्तिर मिर कासिमको फौज र गोर्खाली फौजले युद्धमा प्रयोग गरेका हतियार प्रर्दशनीमा राखिएको थियो । गोर्खाली फौजले लडाइँमा प्रयोग गरेका खुँडा, खुकुरी, ढाल, तरबार, भाला, धनुकाण, घुयेंत्रो राखिएका थिए । गुरगिन खाँका फौजले पराजय भोगेपछि गोर्खालीले जफत गरेका बन्दुक, तोप आदि पनि प्रदर्शनीमा राखिएको थियो । 

सेन वंशी राजाले मकवानपुर गढी राजधानी बनाएर करीब तीन सय वर्ष शासन गरेको इतिहास छ । बडामहाराजाधिराज पृथ्वीनारायणले नेतृत्व गरेका गोर्खाली फौजले १८१९ साल भाद्र ९ गते मकवानपुरमा आक्रमण गरी विजय हासिल गरे । जेठान दिग्बन्ध सेन भागेर बाग्मतीपारि हरिहरपुर गढीमा गए । लगत्तै गोर्खाली फौजले विजया दशमीका दिन पुनः हरिहरपुर गढीमा आक्रमण गरेर ३ सय वर्षे सेन वंशी शासन अन्त्य गरिदियो ।  

मकवानपुर गढीमा गोर्खाली फौजले प्रयोग गरेका खुँडा, खुकुरी, ढाल, तरबार, भाला, धनु काण, घुयेँत्रो राखिएका थिए । गुरगिन खाँका फौजबाट गोर्खालीले जफत गरेका बन्दुक, तोप आदि पनि प्रदर्शनीमा राखिएको थियो । 

दिग्वन्धन सेनको पराजयपछि बंगालका नवाव मिर कासिम खाँले गुर्गिन खाँको नेतृत्वमा पच्चीस सय सैनिक आधुनिक हातहतियारसहित मकवानपुर गढी आक्रमण गर्न पठायो । विसं १८१९ माघ १० गते मुगल फौजलाई गोर्खालीले परास्त गरी करीब पाँच सय थान बन्दुक र दुई थान तोप हात पारे । जनरल अक्टरलोनीको नेतृत्वमा पनि मकवानपुर गढीमा आक्रमण भयो तर हार व्यहोर्नु प¥यो । 

कुनै समयका प्रतापी सेन वंशी राजाको राजधानी तथा गौरवपूर्ण इतिहास बोकेको मकवानपुर गढी र दरबारको  भग्नावशेष अहिले पनि हेर्न सकिन्छ ।

यात्राको तेस्रो दिन हरिहरपुर गढी जाने तयारी गर्दैगर्दा हेटौंडाका राजकुमार मिश्रले साथ दिने योजना बनाए । हामी दुई साइकलयात्री चौघडा, हटिया, हर्नामाडी, फुर्के चौर, श्रीपुर छत्तीवनतर्फ लाग्यौं । हेटौंडाभन्दा होचो भूभाग छत्तीवन निकै बाक्लो हुस्सुले छोपिएको थियो । हरिया फाँटका बीचबीचमा देखिने पहेंलपुर तोरीका पाटाले हाम्रो यात्रालाई निकै ऊर्जा दिइरहेको थियो ।  

पहिलेकोे यात्राभन्दा फरक अनुभव थियो । पहिलेको साँघुरो कच्ची बाटो चौंडा पक्की बाटोले विस्थापित गर्दै रहेछ । हामी गफिँदै हात्तीसुँढे हुँदै भुवन चुलीको उकालो कट्यौं । यहाँबाट ओह्रालो लागेपछि फापरबारीतर्फ लाग्यौं । नयाँ बाटाले गर्दा पुरानो बजार काटेको थाहै पाइएन । पहिले बगरका ढड्डी छिचोल्दै हिँड्नुपर्ने बाटो राजमार्गमा परिणत भएछ । हेटौंडाबाट चतरा छिचोल्ने राजमार्गको यस खण्डको अधिकांश काम सम्पन्न हुँदै छ । 

परिवर्तित नयाँ संरचनाले २०५० सालको बाढीको पीडालाई केही हदसम्म सान्त्वना दिएको हुनुपर्छ । हामी नौलो अनुभव सँगाल्दै झुर्झुरे पाँच पाण्डव हुँदै बाग्मतीतर्फ लाग्यौं । हिउँदे बाग्मती शान्त थियो । मकवानपुर र सिन्धुली जोड्ने निर्माणधीन  बाग्मती पुल पूरा भएको छैन । बाग्मती तरेर करीब एक किमि अघि बढेपछि पिपलमाडी आउँछ । पिपलमाडीबाट बायाँतर्फको कच्ची बाटो भएर करीब सात किमि उकालो चढेपछि हरिहरपुर गढी पुगिन्छ । मूलद्वारबाटै दरवारको भग्नावशेष देखिन्छ । दरबारको भित्री भागको लम्बाइ दश मिटर र चौडाइ  पाँच मिटर जति रहेछ ।   

हरिहरपुर गढी 
हाल बारा जिल्लामा पर्ने सिमरौन गढ कला, संस्कृति र समृद्धिले वैभवशाली राज्य  भएको  इतिहास छ । यस राज्यको अन्तिम कर्णाट वंशी राजा हरिसिंहदेव थिए । चौंधौं शताब्दीको अन्ततिर दिल्लीका सुल्तान गयासुद्धीन तुगलकको फौजले भीषण आक्रमण गरेर सिम्रौन गढ ध्वस्त पारे । आक्रमणपछि परिवारसहित बाग्मती र मरिण नदी किनारको पाहाडमा सानो किल्ला बनाए । हरिसिंहदेवले स्थापना गरेको त्यहीँ किल्लाको नाम हरिहरपुर गढी रहयो । मुकुन्द सेनको फौजले कब्जा गरेपछि हरिहरपुर गढी मकवानपुर राज्यको कब्जामा रह्यो ।

गोर्खाली फौजले आक्रमण गर्ने सुइँको पाएका दिग्वन्धन सेनले आक्रमण गर्नुअघि परिवार र महत्वपूर्ण खजाना हरिहरपुर गढीमा पठाए । आफू पनि भागेर केही समय त्यहाँ बसे तर मकवानपुर कब्जा गरेको केही समयमै गोर्खाली फौजले पुनः आक्रमण गरेर सेन वंशी शासन अन्त्य गरिदियो । गौरवपूर्ण इतिहास बोकेको गढी र दरबारको भग्नावशेष हेर्न सकिन्छ ।

परिस्थिति बदलिएको छ । स्थानीय निकाय सक्षम हुँदै छन् । ऐतिहासिक तथा पुरातात्विक महत्वका यस्ता ठाउँ संरक्षण गरी प्रचार गर्ने । यिनको विषयमा अध्ययन गर्ने विद्यार्थी, शोधकर्ता तथा अन्य जिज्ञासुको ध्यानाकर्षण गराउन सके आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । 

केहीबेरको अवलोकनपछि हामी हेटौंडा फर्कियौं । यसरी हामीले १२० किमि जतिको एक दिने साइकलयात्रा पूरा ग¥यौं । 

संरक्षणका कुरा
सबै जीवको साझा घर हो धर्ती तर मान्छेको स्वार्थकै कारण कैयौं जीव यस धर्तीबाट लोप भइसके । यही क्रम चलिरहे मानिस पनि यस धर्तीबाट लोप हुन सक्ने कुरामा वैज्ञानिकहरू चिन्तित छन् । मकवानपुर गढीतर्फ उकालो लाग्दै गर्दा सालक पार्कले ध्यान खिच्यो । हेटौंडा बजारबाट करीब आठ किमि दूरीमा पार्क पुगिन्छ । सालक संरक्षणका लागि बनाएको पार्क । यसले इको सिस्टम सन्तुलन राख्न महत्वपूर्ण सहयोग पु¥याउँछ ।  

के हो सालक ?
संकटापन्न धर्तीकै सबैभन्दा पुरानो जीवित अवशेष हो सालक । सर्वेक्षण अनुसार ४३ जिल्लामा सालक पाइन्छ । विश्वमा पाइने आठ प्रजातिको सालकमध्ये दुई प्रजाति नेपालमा पनि पाइन्छ । मकवानपुरको दक्षिणी भेकमा तामे सालक पाइन्छ । बलियो खपटाले ढाकेको शरीर भएको यो जीव आफूलाई खतरा आइपरे भकुण्डो जस्तै डल्लो परेर बस्छ । 

राति क्रियाशील रहने सालक लजालु, संवेदनशील र शान्तिप्रिय स्वभावको हुन्छ । त्यसैले यसलाई सजिलै देखिंदैन । कमिला र धमिरा यसको मुख्य आहार । दैनिक १४० ग्रामदेखि २०० ग्रामसम्म किरा खान सक्छ भने वार्षिक सात करोडसम्म किरा खान सक्ने उल्लेख छ । मानिसको शत्रु जीव खाएर बाली जोगाउन सघाउँछ । 

अंग्रेजी पात्रोअनुसार दोस्रो महिनाको तेस्रो शनिबारलाई विश्व सालक दिवसका रूपमा मनाइन्छ । सन् २०२० फेब्रुअरी १५ मा नेपालमा पनि नवौं सालक दिवस मनाइयो । 

आगन्तुक चरा

हेटौंडा बजारबाट करीब ३ किमिमा माछा प्लान छ । हरेक वर्ष यहाँको माछा पोखरीमा हिउँद याममा विभिन्न प्रजातिका आगन्तुक चरा आउँछन् । चरा अवलोकन गर्ने, चरासम्बन्धी अध्ययन गर्नेका लागि पनि महत्वपूर्ण स्थान हो । चरा अवलोकन गर्दै पोखरीको डिलमा घण्टौं बसेको थाहै हँुदैन । यति मात्र होइन, आसपासका जंगलमा अनेक किसिमका सुनगाभा, जडीबुटी अवलोकन गर्न सकिन्छ । 

अन्त्यमा,
यस पटकको साइकलयात्रामा धेरै कुरा सिक्ने अवसर मिल्यो । बाग्मती प्रदेशको राजधानी हेटौडा र आसपासका गाउँपालिका तथा नगरपालिका जैविक विविधताले धनी छन् । धार्मिक, पौराणिक, ऐतिहासिक महत्व बोकेका विभिन्न स्थान छन् । ती स्थानको प्रमाण संकलन गरी प्रचार गर्न सके पर्यटकीय गन्तव्यका रूपमा रूपान्तरण गर्न सकिन्छ । खानेबस्ने सुविधा, मनोरञ्जन पार्क निर्माण गरेर विशेष ग्रीष्म ऋतुमा भारतीय पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ ।

प्रकाशित: १५ वैशाख २०७७ १७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App