रुबिआ पराजुली, कक्षा : ६,
बुढानिलकण्ठ स्कुल,काठमाडौं ।
‘आमा’ शब्द निकै प्रिय लाग्छ । मनका सबै कुरा सुनाउने ठाउँ, भावना पोख्ने अनि खुसीमा उफ्रिने र दुःखमा रुने सुरक्षित स्थान आमाको काख हो । आमाको सम्मानमा मातातीर्थ औंसी मनाइन्छ ।
औंसीका दिन बिहानै विस्ताराबाटै आमालाई ‘ह्याप्पी मदर्स डे’ भनेर शुभकामना दियौं र हातमुख धोएर बहिनी र मैले पूजा ग-यौं । थालीमा फलफूल, टीका, काजू, बदाम लगायत खानेकुरा राख्यौं ।
अनि आमा–बाबा दुवैलाई सँगै बस्न अनुरोध ग-यौं । उहाँहरू मुख हेराहेर गर्दै हुनुहुन्थ्यो त्यही बेलामा हामीले पनि आमाको मुख हेरेको भन्दै फोटा खिच्यौं । आमालाई बहिनी र मैले टिका लगाइदिएर खानेकुरा खुवाइदियौं । बहिनीले मामुलाई राम्री बनाउने भन्दै कानमा फूल सजाइ दिइन् ।
लकडाउनले गर्दा पसलमा गएर केही किनेर आमालाई उपहार दिन नपाएकामा हामी दुःखी थियौं । तर अघिल्लो दिन दिन हामीले कविता सहित लेखेर ह्यान्ड मेड उपहार बनाएका थियौं । बाबाले हामीलाइ यस्तो उपहार बनाउने उपाय सुझाउनु भएको थियो तर, आमाले देख्नुभएको थिएन । टीका पछि आमालाई हामीले त्यो उपहार दियौं । पहिलापहिला दिने कस्मेटिकले भन्दा त हातैले बनाएको उपहारले पो आमालाई खुशी बनायो त । निकै बेर पढ्दै हेर्दै गर्नुभयो ।
त्यसपछि हामीलाई टीका लगाइदिनुभयो । उहाँले टिका लगाइदिदै गर्दा आँखाबाट आँशु पो झरेछन् । त्यतिबेला मैले साथीलाई सम्झिएँ । उनको त आमा नै छैनन् । उनी सानै छँदा आमा यो संसारबाट बिदा भएकी रे । उनले के गरेर औंसी मनाए होलान ?
वर्षमा एक दिन मात्र होइन, सधैं आमाको मुख हेरौं । उहाँको योगदानको कदर गरौं ।
यो कुरा मैले आमालाई सुनाएँ । उहाँले सम्झाउनु भयो, ‘आमा नहुनेले आजको दिन आमाको सम्झना गर्छन् । कसैले दान गर्छन् । कसैले अरुलाई खाना खुवाउँछन् ।
यसबारेमा केही कुरा सुनाएपछि हामीले खाना खायौं । मनमनै मलाई त आफु निकै भाग्यमानी भए जस्तो लाग्यो । आमाको माया र साथमा रहेर मुख हेर्न पाएकामा । लकडाउनले गर्दा कतिपय त आमासँगै बस्न पाएका छैनन् ।
आमाकै कारण हामी यस धर्तिमा छौं । आमा बिनाको हाम्रो जीवन यात्राको कल्पनानसम्म गर्न सकिँदैन । उनी नै सन्तानका लागि माया र करुणाकी खानी हुन् ।
आमाले हामीलाई धेरै माया गर्नुहुन्छ । आफूलाई गाह्रो हुँदा पनि हाम्रो बारेमा चिन्ता लिनुहुन्छ । उहाँको ममतालाई शब्दमा वर्णन गर्नै सकिन्न । कहिलेकाहीँ हामी झगडा गरेर झर्किएर बोल्दा पनि नम्र भएर सम्झाउनुहुन्छ । हामीले गल्ती गर्दा पनि धेरै पटकसम्म माफी दिन सक्नुहुन्छ ।
हरेक गल्तीलाई सिकाईका रुपमा लिन सम्झाउनु हुन्छ आमा । सन्तानलाई आमाजस्तो प्यारो अरु को नै लाग्ला ? गर्भावस्थादेखि हुर्किंदासम्म आमा सँगै भइन्छ । त्यसैले त शिक्षा भनौं या सिकाइको यात्रा आमाबाट शुरु हुन्छ । आमाले दिएको संस्कार नै हाम्रा लागि अमूल्य हुँदो रहेछ । ममता र स्नेहकी खानी आमा त्यतिबेला खुशी हुनुहुन्छ जति बेला हामी खुशी हुन्छौं ।
कस्तो निस्वार्थी माया ! आफू पिडामा बसेर पनि हाम्रो खुसीका लागि कर्म गरिरहनु हुन्छ । उहाँका लागि एक कविता:
नौ महिनासम्म मलाई राख्यौ आफ्नो कोखमा
खुशी हुन्छ्यौ मलाई देखेर जस्तोसुकै दुःखमा ।
तिम्रै काखमा बसेर भएँ म ठूलो
ममतामै हुर्कायौ हुँदा मेरो शरीर कलिलो ।
माया र करुणाले भरिएकी तिमी
संसारकै प्यारो लाग्ने आमा तिमी ।
अन्त्यमा एउटा कुरा भन्छु है, वर्षमा एक दिन मात्र होइन, हामीले सधैं आमाको मुख हेरौं । उहाँको योगदानको कदर गरौं । जीवित हुँदासम्म आमाको सेवा गरौं सकेसम्म दुःखकष्टबाट टाढै राखौं । संसारका सबै आमाहरूप्रति हार्दिक नमन ।
प्रकाशित: १४ वैशाख २०७७ ०८:२९ आइतबार