७ वैशाख २०८१ शुक्रबार
अन्य

धर्तीकै चोखो वनस्पति उपहार पाउँदा...

सन् २०१९ को तिजी पर्वको पहिलो दिन । माटोको सहरभित्र थिएँ म । लगातार तीन पटक भयो, वर्षैपिच्छे मेसो मिलिरहेको छ यहाँ आउने । गतसाल यार्तुङ हेर्न आएका उही एलेन हेलसँग आएको थिएँ । मेरो पनि पहिलो रोजाइमा पर्छ, तिब्बती संस्कृतिको असली स्वरूपको झल्को  दिने ल्हो–मान्थाङ ।  

एलेन हेल एक जना साथी लिएर तिजी हेर्न आएका छन् यस पटक । तिजी सांस्कृतिक पहिचान हो– उपल्लो मुस्ताङको । एउटा जीवन्त र रङ्गीन सांस्कृतिक पर्व । तिजीको रौनकताले भरिएको छ पर्खालभित्रको सिंगो बस्ती । कालजयी ल्हो–मान्थाङको मुस्कानले मोहित भइरहेको छु म । रमाइरहेका छन् एलेन र जो यहाँको न्यानो आतिथ्यमा । फेरि छुट्टै अनुभूति हुन्छ यहाँ बतास रोकिएका बेला । 

दिउँसोको एक बज्दा पुगेको थिएँ, ल्हो–मान्थाङ दरबार अगाडिको साँघुरो ध्ये प्राङ्गण । पुरातन युगलाई प्रतिबिम्बित गर्छ यसले । हातमा माने घुमाएर बौद्ध धर्मको साधना गरिरहेका छन् ल्हो–मान्थाङका जेष्ठ नागरिकहरू । 

मान्छेहरू बौद्धाचार्य पद्यसंभवको ठूलो आकारको सुन्दर थाङ्कालाई भित्तामा टाँग्दै थिए । प्रत्येक दिनको गतिविधि हुनु अघि टाँग्नु पर्दोरहेछ पद्यसंभव चित्रित थाङ्का । 

आफैँमा साहित्य हो–थाङ्का चित्र । चित्रमा झल्किरहेथ्यो संवेगात्मकता, चेतनशीलता र क्रियाशीलता । र, त्यसले सम्झाइरहेथ्यो बौद्ध दर्शन । जीवनलाई सकारात्मक गन्तव्यतिर हिँडाउन उज्यालो मार्गको पहिचान गर्छ यसले । यसैले त बुद्ध धर्म र दर्शनले नजिकबाट छुन्छ मान्छेलाई । 

कसरी जन्मे, कहाँ हुर्के र कहाँ ज्ञान प्राप्त गरेका थिए पद्यसंभवले ! आजपर्यन्त बाँचिरहेका छन् र बाँचिरहने पनि छन् उनी, बौद्धमार्गीको हृदय–हृदयमा । सरसर्ति पढ्ने प्रयत्न गरेथेँ उनको दर्शन । गहिराइमा त कहाँ पुग्न सक्थेँ र म !

मुस्ताङका राजारानी लगायत स्थानीय निकायका प्रमुखहरूको आगमन भैसकेको थियो प्राङ्गणमा । गरिमामय लाग्थ्यो राजारानीको उपस्थिति । नेपालमा रजौटा ऐन खारेज भए पनि राजाकै रूपमा जनताका ढुकढुकीमा बसेका छन् पछिल्ला उत्तराधिकारी जिग्मे बिष्ट । म सोच्छु– साँच्चै उनीहरूको उपस्थिति नहुँदो हो त कति खल्लो हुन्थ्यो होला तिजी ! 

स्वदेशी–विदेशी पर्यटक र स्थानीयहरूले खचाखच हुँदै गयो चोक । परम्परागत तिब्बती पोशाक र गरगहनाले सुसज्जित देखिन्थे स्थानीय । एकरूपता थियो उनीहरूको लवाइमा । केन्द्रतिरबाट पुगेका शासकले पनि त्यो दिन स्थानीय पोशाक नै भिरेका थिए । लोमान्थाङले सम्मानार्थ लगाइदिएको खादा भुईंँमा लत्रेको छ । टोपी मिलाएर लगाएको छैन । आखिर औपचारिकता न पुरा गरेका थिए ! साम्राज्यवाद मगमगाउने टाइ–सुट पहिरिने बानी परेकाहरूलाई लोमान्थाङको पोशाकमा फ्याँकिएका राजासँग टासिँएर बस्दा कस्तो महसुस भयो होला ! सोच्दै थिएँ म । 

पन्ध्रौँ शताब्दीदेखि ल्होछेदिन(लो क्षेत्र– घिलिङ, घमी, चराङ, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेर)का लोवा, गुरुङ र विष्टलगायतका समुदायले मनाउँदै आएको एउटा ठूलो पर्व । आपसी स्नेह साटासाटसँगै विश्व शान्तिको कामना गरिने पर्व । प्राकृतिक तथा दैवी विपत्ती नहोस् भन्ने कामना गरिने पर्व । मौलिक संस्कृतिको परिचय हो तिजी अर्थात् तेन्–ची पर्व । 

“किन र कसरी मनाइन्छ तिजी ?” तिजीको तन्मयतामा तल्लीन फुन्चोक गुरुङलाई सोधेँ मैले । सन् २०१७ देखिकै चिनजानका हुन् उनी । 

“खासमा यो पूजा दोर्जी स्युनु अर्थात् बज्राकिलायामा आधारित छ । शाक्य सम्प्रदायको मुख्य देवता हो–दोर्जी स्युनु । उनैले पृथ्वीमा राक्षसको भय र हिंसा हटाएर शान्ति दिलाएको विश्वासमा तिजी मनाउने गरिन्छ । आज (पहिलो दिन) विशेषगरी देवीदेवताको पूजापाठ गरिन्छ । अन्य भोलि र पर्सि सांस्कृतिक नृत्यहरू प्रदर्शन गरिन्छ । देवताको विभिन्न रुप र शक्ति देखाउने हो जुन तान्त्रिक बौद्ध साधनासँग सम्बन्धित छ । लोका आठौँ राजा समढुब रब्तेनले तिब्बतको शाक्य गुम्बाका गुरु बोलाएर तिजीको चलन चलाएका थिए रे ।” उनले भने । 

तिजीको रसमा डुबिरहेका थिए विदेशी । कोही ठिङ्ग उभिएर त कोही थुपुक्क भुइँमा बसेर । कुर्सीमा आसिन कतिपय त ल्हो–मन्थाङ्का पर्यटन व्यवसायी नै थिए । आतिथ्य व्यवसायमा लागेर पनि किन कसैको ध्यान नपुगेको होला ? ...देख्नेलाई लाज भनेझैँ भएको थियो मलाई ।

तिब्बती संस्कृति हो यस्ता खाले पर्व । जुन अचेल तिब्बतमा छैन तर यसैलाई जिवन्त राखेको छ माथिल्लो मुस्ताङले । ध्ये प्राङ्गणमा फराकिलो रातो घेरा कोरिएको थियो । घेराबाहिर मात्र बस्न पाउँथे दर्शक । मान्छेहरूको आगमनले पाइला राख्ने ठाउँसमेत खालि थिएन चोकमा । घरका छाना पनि भरिँदै थिए । 

००००

“अहो, बस्ने ठाउँ त रै‘नछ ! फेरि मान्छे पनि कति अग्लाअग्ला ! केही पनि देख्दैन पो !” कोही फुस्फुसाइरहेका थिए मेरो पछाडि ।

“अघि नै आउनु पर्ने ! ढिला पो भएछ । केही त देखिन्न ! कसरी हेर्नु खै ? फेरि अर्को आवाज आयो ।

पछाडि फर्केर हेरेँ । निरन्तर दुखेसो पोख्दै थिए–दुई आनी र एक युवती । सबैका कद होचा । बिचरा ! के देखुन् त अग्ला मान्छेले छेकिदिएपछि ! उनीहरू त्यो भीडमा न आफैँ घुस्रन सक्थे न त कसैलाई ठाउँ छोडाउन नै । सबै अपरिचत त थिए ! 

“ल अगाडि जानुस् अगाडि ।” मैले बाटो छाडिदिएँ ।

“धन्यवाद दाइ !” कृतज्ञता ज्ञापन गरिन् युवतीले ।

लामा फुन्चोकलाई भनेर स्थानीय भिक्षुणीका लागि छुट्याइएको हारमा सिट मिलाई दिएँ । प्रसन्न भए उनीहरू । 

००००

साँस्कृतिक बाजासहित विधिवत् प्रारम्भ भयो तिजीको । दरबारबाट निस्किए चुच्चो परेको राता टोपी पहिरिएका लामाहरू । चोकमा आएर आ–आफ्ना ठाउँ लिए लगत्तै मन्त्र पाठ गरे उनीहरूले लामै समयसम्म । 

भाषा बुझिएको भए पो ! सुनेँ मात्र । कस्तो शक्ति शब्दहरूको ! सुन्दैमा पनि अपार शान्तिको अनुभूति हुने ! 

मन्त्रोच्चारणपछि पालो आयो नाचको, तिब्बती कलात्मक सज्जामा । प्रस्तुति थियो लामा नाच र मुकुट नाचहरूको । कोही शान्त रसमा । कोही करुण रसमा । कोही हाँस्य रसमा । र, कोही भयानक रसमा । 

तिजीको रसमा डुबिरहेका थिए विदेशी । कोही ठिङ्ग उभिएर त कोही थुपुक्क भुइँमा बसेर । सरकारले प्रति पर्यटक पाँच सय डलर र अन्नपुर्ण कन्जरभेशन एरिया प्रोजेक्ट(एकयाप)ले तीस डलर असुल्छ । यही पर्व हेर्ने उद्देश्यका लागि लोमान्थाङ पुगेका हुन्छन् पर्यटक । भिडियो खिचेवापत दुई हजार रुपैयाँ असुल्छ लोमान्थाङले । उनीहरूका लागि बस्ने कुर्सी व्यवस्था गरिदिएको भए सुनमा सुगन्धै हुने थियो । तैपनि गुनासो थिएन कसैकोे । कुर्सीमा आसिन कतिपय त त्यहाँका पर्यटन व्यवसायी नै थिए । आतिथ्य व्यवसायमा लागेर पनि किन कसैको ध्यान नपुगेको होला ? ...देख्नेलाई लाज भनेझैँ भएको थियो मलाई । 

लोमान्थाङले अझै पनि तिजीलाई पर्यटकीय उपज बनाउन नसकेको हो कि भन्ने लाग्यो । यस्ता कुरामा ड्रयागनको देश भुटानसित सिक्नु पर्छ लोमान्थाङले ।

मेचमा बसेका थिए आनीद्वोय र मसँगै भुइँमा थिइन् युवती । तिजीको प्रस्तुति हुँदै गर्दा उनीहरूसँग परिचय भयो । सोनाम आनी र मणीकला पूर्व खोटाङकी र पासाङ आनी सिन्धुपाल्चोककी । 

“दाइ एक्लै आउनु भएको ?” मणीकलाको प्रश्न मलाई ।

“होइन । दुई जना विदेशीसँग ।” 

“खोई त उनीहरू ?” 

“ऊ ती अग्ला बुढाहरू मसँगै आएका हुन् ।” अर्को कुनामा बसेर धमाधम तस्बिर लिँदै गरेका एलेन हेल र जो ब्रिनलाई औँल्याएँ ।  

थप कुराकानी भयो हामीबीच । 

बिदाको समय पारेर नेपाल आएकी थिइन् बेलायतमा बस्ने मणीकला । तिजी हेर्न र मुस्ताङका सबै गुम्बा दर्शन गर्ने उद्देश्यले आनीद्वोयका साथ लागेकी थिइन् उनी । नाताले मणीकला पासाङ आनीको क्षामा (सानी आमा) पर्थिन् । 

आनीजस्तै थिए आनीहरू । अति नै सरल र शान्त स्वभावका । त्यत्तिकै विनयशील, सुशील र सौम्य । त्यस्तै थिइन् मणीकला पनि । उनी जति सुन्दर थिइन्, त्यति नै सुन्दर थिए उनका विचार पनि । बुद्धले दिएको सम्यक दृष्टिसुत्र आत्मसात गरेकी छिन् भन्ने बुझ्न कठिन थिएन । त्यसैलै त उनी भन्थिन्– “हेराइ अनुसार बुझाइ बन्छ । बुझाइ अनुसार सोचाइ बन्छ । सोचाइ अनुसार गराइ हुन्छ । गराइ अनुसार भोगाइ निश्चित हुन्छ रे ।”

सही हो । त्यसैले त भनिन्छ–जस्तो दृष्टि त्यस्तै सृष्टि । 

‘दाइ’ भनेर सम्बोधन गर्थे आनीहरू मलाई । ससम्मान ‘दिदी’ भनेर बोलाउथेँ म उनीहरूलाई ।

मेरो दायाँपट्टि थिए– तासी दिलेक होटलका मालिक छिरिङ रिन्जिन । उनले जति माया मलाई ल्हो–मान्थाङमा कसले गर्छ र ! गहिरो आत्मियता गाँसेको छु मैले उनीसँग । 

“उहिलेउहिले तिब्बतीहरू पनि हामीसँगै तिजी मनाउने गर्थे । त्यसबेला उनीहरू घोडामा आउँथे । हरेक तिजीमा तिब्बतलाई मुस्ताङबाट निम्तो जान्थ्यो रे । पहिलेजस्तो सजिलो छैन । अचेल त आउन छाडे ।” उनी आफूले थाहा पाएका कुरा सुनाउँछन् मलाई ।

००००

पहिलो दिनको साँस्कृतिक गतिविधि सकिए पछि मैले एलेन र जोलाई मणीकला र आनी द्वोयसँग परिचय गराइदिएँ । 

“इट्स प्लेजर टु मिट देम् ! थ्याङ्क यु राज फर इन्टरड्युसिङ !” खुसी हुँदै एलेनले भने ।

“ह्वाइ डन्ट वि ह्याव अ कफी विथ देम् !” मेरो प्रस्ताव ।

यसै पनि प्रशन्न चित्तका मान्छे हुन् एलेन । उनकी श्रीमती डुवान पनि बौद्धमार्गी  हुन् । त्यसैले पनि बौद्धमागी विशेषगरि भिक्षु–भिक्षुणी भेट्दासँग अति नै रमाउथे उनी । खुसी हुँदै उनले कफीको प्रस्ताव स्वीकारे । 

हामी बसेकै तासी दिलेक होटलमा पुगेर कफी पियौँ । मणीकलासँग गफिएका थिए एलेन । उनी प्रशंसा गर्दै थिए– मणीकलाको अग्रेजीको । बेलायतमा पढेपछि ब्रिटिस एक्सेन्ट त आउने नै भयो । मिठो भ्वाइस, सही प्रोनाउन्सियशन र स्वरको आरोहअवरोह मिलाएर बोल्न जानेकी । साँच्चै सुनिरहुँझैँ लाग्थ्यो उनको अङ्ग्रेजी । आफू बोल्दा कनीकनी बोल्नु पर्छ तर धाराप्रवाह बोल्थिन् उनी । लाग्थ्यो– यस्तो पो अङ्गे्रजी !

कोरलामा आनीले फूलको झोला मलाई उपहार दिँदै भनिन्, “भगवानको पुजा गर्दा यसलाई धुपसित जलाउने हो । यसको धुवाँ सिधै स्वर्ग जान्छ रे । र, भगवान खुसी हुन्छ रे । धेरै नपाउने भएकाले यसलाई पाउडर धुपमा मिसाएर बालिन्छ ।”

“भोलि बिहानको कफी हाम्रो तर्फबाट । होटल थ्री सिस्टर्समा आउनुस् है दाइ !” मलाई मणीकलाको निम्तो । 

“भैगो नि किन दुःख !” टार्न खोज्दै थिएँ म ।

 “दुःखको कुरा के नै भो र ! आउनुस् न । संजोगले भेट भयो । दाइसँग भेट्दा खुसी लागेको छ हामीलाई ।” तीनै जना एउटै स्वरमा ।

नस्वीकारी भएन उनीहरूको निम्ता । 

“हस् म आउँछु ।” वचन दिएँ मैले ।

सोचेकै थिइनँ उनीहरूलाई भेट्छु भनेर । खुसी थिएँ म पवित्र आत्मा र बिचार भएका मान्छेसँग भेट्दा । एउटै हो, आनी र हामी बस्ने समाज तर समाजमा रहेरै सांसारिक जीवनबाट टाढा छन् उनीहरू । कसरी सकेको होलान् सांस्कृतिक बन्धनभित्र बाँधिएर बस्न ! मनमा कुरा खेलेथ्यो मेरो ।

००००

भोलिपल्ट । 

आठ बजिसकेछ । झण्डै बिर्सेछु मणीकलाको निम्तो । हतारिएँ म ।

आमुन्ने–सामुन्ने हो तासी दिलेक र थ्री सिस्टर्स होटल । नित्यकर्म पनि सकिसकेका रहेछन् आनीहरूले । एकैचोटी भयो म पुग्नु र कफी आइपुग्नु । 

“कोरोला नाका (चाइनिज बोर्डर) जाने इच्छा थियो । यहाँको जीप त साह्रै महङ्गो रहेछ । बीस हजार भन्यो । अलि सस्तोमा गइदिने तपाइँले चिनेको कुनै जीप छ कि ? सोधनी गरिन् पासाङ आनीले । 

बीस किलोमिटरको दूरी छ, भाडा पनि बीस हजार । लोमान्थङको त जीप ! त्यो पनि तिजीको बेलो । केको छोइसाध्य हुन्थ्यो र ! दुई दिन अघि भइदिएको भए त हामी नै लिफ्ट दिन सक्थ्यौँ । लोमान्थाङ आइपुगेकै दिन चीनियाँ सीमामा गएका थियौँ हामी । 

छिरिङले मेरो आग्रहमा दुई हजार रुपैयाँ त घटाइदिए । यसो सोचेँ– हामी आएको जीप चालक दिपक सुवेदीलाई किन नभन्ने ! उनलाई बोलाएर सोधेँ । सात हजारमै गइदिन तयार भए उनी । बिना लगानी सात हजार गोजीमा हाल्न पाउने भएपछि के भो र ! ‘आए बाउको, गए साहुको’ त हो नि ड्राइभरहरूलाई ! यता आनीहरूलाई पनि हुनुसम्मको सस्तो परिगो । दुबै थरी खुसी । 

“दाइ पनि जाउँ न हामीसँगै !” मणीकलाको आग्रह ।

“यु आर फ्री, राज । वि विल स्पेन्ड आवर टाइम अन आवर वन वे । वि‘ल सि इन द स्वायर याट टु पीएम ।” बिहानै एलेनले मसँग भनेका थिए । 

फुक्का थिएँ म । कसरी समय बिताउँ भनेको बेला राम्रै भयो ।

मैले भने– “हुन्छ नि त ।”

००००

चल्यो गाडी । 

पठारिलो भूगोलका बालुवा, माटो र गेगरका बाक्लो पत्रमा कोरिएको कच्ची सडकले उफारिरहेको थियो स्कार्पियोलाई । बिहान खाएको नास्ताले घोच्दै थियो भुँडी ।

सुनेको थिएँ– मेसोजोइक युगमा टेथिस सागरको उत्तरी भागमा पथ्र्यो रे माथिल्लो मुस्ताङ । पोहोर साल एलेनले भनेका थिए– “द ल्यान्डस्केप हियर इज लाइक द लुनार सर्फेस ।” चन्द्रमाको धरातल पनि बालुवैबालुवाको होचा थुमले भरिएको हुँदा मुस्ताङलाई चन्द्र धरातलजस्तै भनिएको रे । आफू चन्द्रमामा पुगेको छैन क्या रे ! जान्नेले जे भन्यो त्यही पत्याउने त हो ! 

जेजे भए पनि हिमालपारिका हिमालबीचमा जैविक विविधतायुक्त सुन्दर भू–दृश्य लिएर बसेको छ–मुस्ताङ । सुन्दर लाग्छ मलाई आफ्नो देश, आफ्नो माटो । अग्ला होँचा थुमहरू पार गरिरहेका छौँ । थुमथुममा बाँकी छन्–खण्डहर । ठाउँठाउमा छन्– माने र छ्योर्तेनहरू । 

उत्साहित छन् आनीहरू । सिमित गुम्बा संसारबाट बाहिर निस्कँदा कति खुल्ला महसुस हुँदो तिनलाई ! मनमनै गमिरहेछु म । 

दाइ तपाइँलाई त यहाँका छ्योर्तेन, गुम्बा र गुफाहरूले पनि चिन्छन् है ! छोसेर पुगेपछि बोलिन् मणीकला ।

“तर मैले अझै चिन्न सकेको छैन !” 

“किन र दाइ ?”

“असङ्ख्य प्राचीन छ्योर्तेन, गुम्बा र गुफा छन् यहाँ । ती सब कहिले, कसले र कुन उपादेयताका लागि बनाए भन्ने अझै रहस्यमय छ । हामीले सबैको अध्ययन गर्न कहाँ सकेका छौँ र !” मेरो जवाफ । 

“हो, यसैले त मुस्ताङलाई ‘याज युजल’ रहस्यमय बनाएको छ नि ! मणीकालले थपिन् ।

अद्वितीय छन् गुफाहरू । अक्करे भीर खोपेर बनाइएका गुफा आश्रयका रूपमा प्रयोग गरेको देखिन्छ । जस्तो कि– झोङ गुफा । पाँच तला छ डेढ सय कोठाको । छुट्टाछट्टै छन्, पकाउने खाने र सुत्ने कोठाहरू । त्यतिबेला प्रयोग गरिएका सामानका अवशेष अझै बाँकी छन् । पच्चीस सय वर्ष अघि तिब्बतसित लडाइँ हुँदा छोसेरका मान्छे यहीँ बसेर ज्यान जोगाएका थिए रे । 

“एक पटक तिब्बतको हाजी गावा भन्ने गुण्डाको समूहसँग झगडा पर्दा माथिबाट खोला थुनिदिएछ । यता पानीको हाहाकार भइ‘गो । पछि उसले यताको अवस्था बुझ्न मान्छे पठाएछ । एउटी महिलाले पानीको सट्टा मज्जाले तेलले नुहाएर देखाइदिछन् । त्यसलाई लागेछ, पानी नभए पनि यिनीहरूसँग पानीको बिकल्प रहेछ । त्यसपछि उनीहरूले पानी छोडिदिएछन् ।” 

परार साल आउँदा छिरिङ रिन्जिनले भनेका थिए मलाई । मान्नैपर्छ ति महिलाको रणनीतिक चाल । 

मुस्ताङमा भएका कतिपय गुफा बौद्ध गुरुहरूले साधनाका लागि बनाएका थिए । खोला पारि देखिन्छ पुरानो बस्तीको तस्बिर । तिजीले होला मान्छेहरू चल्मलाएको देखिन्न । फेरि अगाडि आउँछन्– ससाना गुफाहरू ।

बाटैभरि छन् छ्योर्तेन । अलपत्र लाग्छन् ती देख्दा । रातो, पहेँलो, खैरो, नीलो, फुस्रो रङका विभिन्न भू–आकृति । बलौटे पहाड–पहरा, न्हिचुङ खोलाको उपत्यका र गाउँ छेवैका बारीमा अङ्कुराइरहेका उवा बाली । निलो आकाशमा मुस्कुराइरहेका सेता बादल र बादलभित्र लुकाछिपि खेल्दै रमाइरहेका नीलगिरिलगायतका हिमशृङ्खला ।

बिछट्टै रमणीय थियो दिन ।

अलि पर पुगेपछि झोङ गुफाले स्वागत गर्छ हामीलाई । हेर्दा खट प्वालझैँ लाग्छन् गुफाका झ्याल । रहस्यय र कलापूर्ण छ यो । कसरी बनाए होला ? कति समय लाग्यो होला यो बनाउन ? कूतुहल जाग्छ मनमा । 

अस्ति मात्र तेस्रो तलासम्म पुगेको थिएँ । ख्याल मज्जा आउँदैन गुफाको झ्यालबाट बाहिर हेर्दा ! सोधेँ– “हेर्ने होइन त झोङ गुफा ?” 

“यहाँसम्म आएका छौँ हेर्नै प¥यो नि !” सोनाम आनीको जवाफ ।

“पहिले गुफा त्यसपछि गुम्बा हुन्न त ?” पासाङ आनीले भनिन् । 

गुफाको अगाडि फुटबल खेल्ने मैदान छ । तिर हान्ने खेल भइरहेको छ मैदानको एकापट्टि छेउमा । मुस्ताङबासी आपसमा सामिप्यता अभिबृद्धि गर्न खेल्छन् यो खेल । अस्तिको दिन एलेनहरू लिएर आउँदा त सय तिरेर खेलेको थिएँ । कहिल्यै खेलेको भए पो ! दसैवटा काण खेर गए मेरा ।

तिजी हेर्न ल्हो–मान्थाङ पुगेका पर्यटकहरूको भिड थियो झोङ गुफामा । कोही भित्र छिर्दै, कोही बाहिर निस्कँदै । कोही भ¥याङ चढ्दै, कोही ओर्लदैँ । त्यही भिडमा तेस्रो तलासम्म पुग्यौँ हामी भित्ता छाम्दै । सहासिक काम नै हो गुफा छिर्नु पनि । 

गुफापछिको साइटसिइङ गुम्बातर्फ । 

३,८०० मिटर उचाइमा छ छोसेर । बलौटे, खैरो, फुस्रो पहराको चेपमा लपक्क टाँसिएको छ गुम्बा । गेरुवा रङले लिपिएका छन् भित्ता । गुम्बासम्म पुग्न ढुङ्गाका श्रेणी बनाइएको छ । भित्र राखिएको छ, शाक्यमुनि बुद्धको मूर्ति । नमन ग¥यौँ हामीले । आनीद्वोय र मणीकलाले बत्ती बाले, खादा र भेटी चढाए र प्राथना गरे । उनीहरूसँगै प्राथना गरे मैले । 

छोसेरबाट हुइँकियौँ सीधै कोरला नाकातर्फ । फराकिलो छ छोसेरदेखिको सडक । हदै सदुपयोग गरिएको छ बलौटे माटोको । पिच नभए पनि पिच गरेको जस्तै । चालक दीपक भन्छन्– यति भए त पिच पनि किन चाहियो र !

अलि अगाडि पुगेपछि आँखामा पर्न आउँछ सलक्क परेको सुनौलो रङको चट्टान लमतन्न परेर सुतिरहेको । दीपक भन्छन्– “यो चाहिँ गोल्डेन फिस स्टोन ।” माछाकै आकारको छ यसको आकृति । चट्टानको पिँधमा छ सानो गुफा । उहिलेउहिले मान्छे बस्ने गर्थे रे ।

मसिना गेगर र ढुङ्गाको रास थुप्रिएका छन् सडक किनारामा । बतासकै लयमा चल्नुपर्छ यहाँका ढुङ्गाहरूले पनि  । 

मान्छेलाई मात्र भनेको गाडीलाई पनि लेक लाग्दो रहेछ । ४,००० मिटरमा पुगेपछि उकालिन अस्वीकार गर्दै थियो स्कार्पियोले । 

भारतीय गाडी चीनको छेउमा आइपुग्दा डरायो कि के हो ! हँसाइदिएँ मैले । 

गाडीलाई छिनछिनमा एक्लिमाटाइज गराउँदै लगे चालकले । ठाउँठाउँमा छुन्छ सडकले परम्परागत गोरेटोलाई । र, भेटिइन्छन् लुङ्दर नाचिरहेका थुम्कीहरू । प्रत्येक देउरालीमा धुप सल्काउँछन्, मन्त्र पढ्छन्, खादा चढाउँछन् र बौद्ध मन्त्र लिखित नयाँ लुङ्दर अर्पिन्छन् आनीहरू । एकोहेरो हेरिरहेथेँ म उनीहरूको कर्मलाई । 

म त त्यतिबेला मात्र सम्झन्छु भगवान्लाई, जतिबेला दुःख र पीडाले आहत हुन्छु तर उनीहरू बुद्ध धर्म र दर्शनमै लिन छन् । उनीहरूको त्याग र समर्पण अनि मेरो व्यक्तिगत लाभहानीको हरहिसाब । आकाश–जमिनको फरक छ उनीहरूको र मेरो जीवनको यथार्थ र भगवानप्रतिको आस्था । थुम्कीमा चलिरहेको चिसो बतासले हल्लाइरहेको थियो मेरो मथिङ्गल ।

अगाडि आउँछन् फराकिला थुमहरू, कोरला नाका नजिकै पुग्दा । भुईं फूलहरू फूलिरहेका देखिन्थे सेता र पहेँला रङका । 

“च्याङ्गा–भेडाको चरन क्षेत्र हुन् यी ।” मैले भनेँ । 

“अहा ! हिउँ परेका बेला यहाँ स्की खेल्न क्या मज्जा आउँदो हो हगि दाइ !” आश्चर्य चकित हुँदै मणीकला । 

ख्वै ! कहिल्यै खेलेको भए पो थाहा हुनु !

तिब्र गतिमा गुडिरहेको गाडी रोक्न लगाउँछिन् उनी । बतासले फुइँकि लगाउन थालिसकेको छ । छिट्टै बोर्डर पुगेर फर्कन पाए हुन्थ्यो भन्ने लागिरहेको छ मेरो मनमा । तर आग्रह गर्छिन् मणीकला– ‘जाउँ न दाइ त्यो थुम्कामा !’  

सबै ओर्लेन्छौ र पछ्याउँछौँ उनलाई । उच्च समस्थलीमा थियौँ हामी । ४,६०० मिटरको उचाइ भएपनि त्यस्तो महसुस हुन्थेन । 

चारै दिशा हिमालले नै छुट्याएको छ हिमालपारिको मुस्ताङलाई । पूर्वमा मुक्तिनाथ हिमाल र दामोदर हिमालले मनाङ जिल्ला, पश्चिममा मुकुट हिमालले डोल्पा, दक्षिणमा निलगिरि साउथ र धौलागिरि हिमालले म्याग्दी र तिब्बतसँग जोडिएको छ उत्तरमा धाङ्धुङ्मर हिमाल  । 

बेगिन्ति थुमहरू छन् चारैतिर । थुम्कैथुम्काका तरेलीले मन लोभ्याउँछ । क्या अद्भुत् लाग्छ थुमबाट नियाल्दाको दृश्य जगत् । हावाले कोतरेर चिराचिरा पारेका पहाडका सतह पनि सल्काइलो देखिन्छन् । सोच्छु–यहाँ यति धेरै एलानी जग्गा छ । उकुसमुकुसिएर बाँच्न विवश छन् काठमाडौँलीहरू । फेरि सोच्छु–यो जग्गा काठमाडौँमा लगेर राख्न मिल्ने हो भने पनि गरिबलाई हुने त के हो र ! बरु भूमाफिया र नवसामन्तीकै हुकुम चल्ने त हो । 

धक फुकाएरै तस्बिर खिच्दै र खिचाउँदै थिए आनीहरू बिभिन्न पोजमा । सांसारिक जीवनप्रति मोह नभए पनि तस्बिर मोह चाहिँ हुँदोरहेछ । मलाई पनि अटाउँथे उनीहरू आफ्ना क्यामेरामा । लाग्थ्यो–आज तस्बिरमा आफैँलाई भुलिरहेका छन् उनीहरू ।

साँच्चै आनी भएर गुम्बामा बस्नु नपरेको भए सायद कस्तो हुन्थ्यो होला उनीहरूले बिताइरहेको जीवन ! कोही डाक्टर भएर अस्पतालमा बिरामीको सेवा गरिरहेका हुन्थे होलान् । कोही इन्जिनियरका काम गरिरहेका हुन्थे हेलान् । कोही स्कूल वा कलेजमा पढाइरहेका हुन्थे होलान् । कोही व्यवसायी बन्थे होलान् । बौद्ध धर्म, परम्परा र रितीको निरन्तरताको अर्थमा कतै उनीहरूलाई गुम्बामा सिमित राख्दा वनको स्वतन्त्र पन्छीलाई पिँजडामा राखेजस्तो भएन र ? आनीद्वोयलाई देख्दा प्रश्न उब्जन्थ्यो मनमा । 

“गुम्बाबाट बाहिर निस्कँदा कस्तो महसुस हुन्छ ?” कूतुहल मेट्न मुख फोरेँ मैले ।

“गुम्बामै बानी परिसक्यो हामीलाई त ।” आनीहरूको जवाफ ।

खुल्न चाहेका थिएनन् उनीहरू । “आनी भएर बस्दा भावनाहरू कुण्ठित भएकोजस्तो लाग्दैन ?” सोधुँ कि जस्तो लागेको थियो तर सोधिनँ । 

००००

मान्छे नपुगे पनि मेरा आँखा र मन पुगिसकेको थियो कोरला नाकामा । नाङ्ग्रीको सीमा भूमि खुम्चिएर कोरलामा रहेको छ । हामी उभिएकै बिन्दुबाट देखिन्थ्यो सिमामा चीनले बनाएको भवन । उता त्यस्तो, यता हाम्रोमा केही सुरसारै छै्रन । चेकपोस्ट त सिमाभन्दा दस किलो मिटर वरै छ ! 

अहिलेसम्म त मेला लगाएर उपल्लो मुस्ताङवासी र चिनियाँले ब्यापार गर्दै आएका छन् । ढिलै भए पनि यो नाका खुले मुस्ताङ मात्र होइन, नेपालकै ‘लाइफ लाइन’ सावित हुने थियो ! मणीकलालाई भनेथेँ मैले ।  

निकैबेर भइसकेको थियो हामी थुमहरूमा छरिएर बसेको । बतासको प्रवाह गरेका छैनन् । बरु माटो पो कोट्याउँदै छन् उनीहरू । के खोजेका होलान् त ? नजिकै गएर हेरे । परबाट हेर्दा फूल फुलेजस्तै देखिने खरानी रङको झार पो टिप्दै थिए । अचम्भित भएँ म । र, सोधे– 

“के टिपेको हो यो ?” 

“दाइलाई थाहा छैन ? यो त धर्तीको सबैभन्दा चोखो वनस्पति हो नि ।”

“के नाम हो यसको ?”

“आतोङकार्पो ।”

“यसले के गर्ने त ?”

“भगवानको पुजा गर्दा यसलाई धुपसित जलाउने हो । यसको धुवाँ सिधै स्वर्ग जान्छ रे । र, भगवान खुसी हुन्छ रे । धेरै नपाउने भएकाले यसलाई पाउडर धुपमा मिसाएर बालिन्छ ।”

“यि लिनुस् ! हामीले यो तपाईंका लागि टिपिदिएको । सोनाम आनीले प्लास्टिकको झोलामा हालेर दिइन् । 

“तपाईंले हामीलाई यति ठूलो सहयोग गर्नुभयो । बदलामा तपाईंलाई दिन हामीसँग केही छैन । यो त प्रकृतिकै उपहार हो । लानुस् न ! मणीकलाले थपिन् ।

हाम्रो धर्म र परम्परा अनुसार धुप सल्काउनु र दीप प्रज्वलनको छुट्टै महत्व छ । धुप बाल्दा सुगन्ध त आउँछ । यसले घरभित्र बहने हावा शुद्ध पार्छ, किटाणुहरू नष्ट गर्छ र नकारात्मक ऊर्जाबाट हामीलाई टाढा राख्छ । तर आतोङकार्पो र यसको महत्व थाहा थिएन । उनीहरुबाटै थाहा पाएँ ।

सायद उनीहरू मलाई गुनको बदला गुन लगाउन चाहन्थे । उनीहरूबाट कुनै कुराको अपेक्षा गरेको त थिइनँ । तर पनि उनीहरूको स्नेहपूर्ण सौगातलाई इन्कार गरिनँ । आभारी भएथेँ म उनीहरूसँग । 

बढिसकेको थियो बतासको अहङ्कार । सिमास्तम्भ(नेपाल २४, २०१९) पुगेर केही तस्बिर लिएपछि पर्केका थियौँ । यति नै त थियो त्यहाँसम्म पुग्नुको उद्देश्य । खिचेका तस्बीरलाई फेसबुकमा पोस्ट्याउन र यात्राको अनुभवलाई ट्वीटरमा ट्वीट्याउन त  बाँकी नै थियो । 

तितरबितर भएर बेगले कुदिरहेका थिए आकाशमा बादलका टुक्रा कोरला नाका छाड्दा । घामलाई छेक्न सकिरहेको थिएन उध्रिएका बादलले । 

ल्हो–मान्थाङ आइपुगुन्जेलसम्म बीसको उन्नाईस भएको थिएन बतासको अहङ्कार । काँप्दै थिए–ल्हो–मान्थाङका भोटे पिपलका पात बतासको झोकालाई सहन नसकेर र गाउँदै थिए बेसुरका गीत ।

प्रकाशित: १३ वैशाख २०७७ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App