पोखरा - गण्डकी प्रदेशको राजधानी पोखरामा दर्जनभन्दा बढी ठूला अस्पताल छन्। साना क्लिनिक र स्वास्थ्य संस्था पनि च्याउझैं छन्। तर पनि जटिल अवस्थाका बिरामी उपचारका लागि पुर्वाधार अपुग छन्।
यहाँका अस्पतालमा सुविधा र प्रविधिको अभाव मात्र होइन, विशेषज्ञ चिकित्सक पनि छैनन्। जसका कारण सर्वसाधारण मारमा परेका छन्। जटिल अवस्थाका बिरामी उचित उपचारका लागि केन्द्रीय राजधानी काठमाडौं धाउन बाध्य छन्।
प्रदेश राजधानी पोखरा आसपासका अन्य जिल्लाका अस्पतालको अवस्था त झनै नाजुक छ। न पर्याप्त प्रविधि न विज्ञ चिकित्सक। त्यसैले केही स्वास्थ्य समस्या परिहाल्यो भने ती जिल्लाका नागरिक पोखरा धाउनुको विकल्प छैन। पोखरामा पनि उपचार सम्भव नभए काठमाडौं नै पुग्नुपर्छ।
यस्तै अभाव रहेको एउटा अस्पताल हो– बागलुङको धौलागिरी अञ्चल अस्पताल। जुन पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका बिरामीका लागि सबैभन्दा ठूलो अस्पताल हो। तर बागलुङमा १ महिनाअघि दुई जना कोरोना संक्रमित पाइएपछि उपचारका लागि अस्पतालमा हतारहतार पूर्वाधार थप गर्न सरकार बाध्य भयो। ती बिरामीलाई जटिल अवस्था आउन सक्ने आकलन गर्दै हतारहतार भेन्टिलेटर राखियो भने आइसियू व्यवस्था गरियो। संयोगवश, ती कोरोना संक्रमितलाई भेन्टिलेटरमा राख्नु भने परेन।
नत्र अरू बेला विभिन्न जिल्लाका जटिल अवस्थाका बिरामीलाई उपचारका लागि पोखरै ल्याउने गरिएको थियो। यहाँ पनि उपचार हुन नसके बिरामीलाई काठमाडौं नै पु-याउनुपथ्र्याे। आखिर किन त जिल्लाका स्वास्थ्य संस्थाको अवस्था यस्तो कमजोर ? तनहुँको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अधिकारी भन्छन, ‘जिल्लाका अस्पताल सामान्य खालका स्वास्थ्य संस्था मात्र बनेका छन्। हामीसँग न जनशक्ति छ न पूर्वाधार।’ दक्ष जनशक्ति र पूर्वाधारबिनै जिल्लाका अस्पताल सञ्चालन भइरहेको उनले बताए। जिल्लाका सरकारी स्वास्थ्य संस्था प्राथमिक उपचार गर्न पनि असक्षम अवस्थामा रहेको उनले जानकारी दिए। निजी अस्पतालको अवस्था पनि कमजोर नै रहेको उनको भनाइ छ।
‘कुनै पनि सरकारले स्वास्थ्य निकाय स्तरोन्नति गर्नेतर्फ ध्यान नदिएको महसुस अहिले भएको छ,’ अधिकारीले भने, ‘पर्याप्त पूर्वाधार हुन्थे भने अहिले हामी त्रसित भएर बस्नुपर्ने अवस्था आउने थिएन। तर अहिले कोही व्यक्तिमा कोरोना संक्रमण भेटिने हो कि भनेर डराउनपर्ने स्थिति छ । किनकि त्यस्ता बिरामीलाई सहजै उपचार गर्ने जनशक्ति र पूर्वाधार जिल्लाका स्वास्थ्य संस्थामा छैनन्।’ अधिकारीका अनुसार जिल्लामा अहिले पनि १५ शैय्या मात्र भएका अस्पताल छन्। जसमा सामान्य सेवा मात्र उपलब्ध छन्। जिल्लाका अस्पताललाई सुविधा–सम्पन्न बनाउनुपर्छ भनेर पहल गर्दा प्रदेश र संघीय सरकारले आश्वासन मात्र दिने गरेको उनको गुनासो छ।
‘विशेषज्ञ चिकित्सक जिल्लाका सरकारी अस्पतालमा छैनन्। निजी स्वास्थ्य संस्थाले पनि राख्न सकेका छैनन्,’ उनले भने, ‘त्यही भएर कोही बिरामीको स्थिति जटिल भइहाल्यो भने जिल्लामा उपचार हुने अवस्था छैन। कि त पोखरा लैजानुपर्छ, नत्र काठमाडौं जानुको विकल्प छैन।’ जिल्लाका अस्पतालमा केही संख्यामा भेन्टिलेटर र आइसियु राख्ने हो भने पनि १ करोड रुपैयाँ भए पुग्ने उनको अनुमान छ। तर गाउँगाउँमा सडक बनाउन तातिने प्रनिधिनले अस्पताल बनाउन चासो नदिएको उनको आरोप छ।
पोखराका अस्पतालमा पनि पर्याप्त सुविधा नभएको यहाँका स्वास्थ्यकर्मीले बताएका छन्। जटिल अवस्थाका बिरामीका लागि चाहिने जति आइसियु र भेन्टिलेटर छैनन्। त्यो अप्ठेरो अहिले कोरोना संक्रमण बढ्दै जाँदा देखिएको छ।
प्रदेशभित्र सञ्चालित सबै अस्पतालको गरी जम्मा १ सय ३२ वटा आइसियु र ५४ वटा भेन्टिलेटर मात्र रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ। प्रदेशमा पोखराबाहेक अन्यत्र कुनै पनि ठाउँका अस्पतालमा आइसियु र भेन्टिलेटर छैनन्। पोखराका एक दर्जन अस्पतालमा यी सेवा भए पनि न्यून संख्या रहेको चिकित्सकले बताएका छन्। त्यसबाहेक सुविधा–सम्पन्न प्रयोशाला, मेसिन, प्राविधिकको पनि अभाव छ। अभावै अभावमा स्वास्थ्य संस्था सञ्चालन भइरहेकोे चिकित्सक बताउँछन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराभित्रका मणिपाल शिक्षण अस्पतालमा सबैभन्दा बढी ३२ आइसियु र १५ वटा भेन्टिलेटर छन्। त्यसपछि गण्डकी मेडिकल कलेजमा २३ आइसियु र १० भेन्टिलेटर छन्। पोखराकै चरक मेमोरियल अस्पतालमा १६ वटा आइसीयू र ६ वटा भेन्टिलेटर छन्। प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ११ आइसियु र २ वटा मात्र भेन्टिलेटर छन्।
निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले भेन्टिलेटर अपुग भएकाले थप्ने प्रयास भइरहेको जानकारी दिए। ‘सबैतिर पूर्वाधार अपुग रहेछन् भन्ने अनूभुति अहिले भएको छ। त्यही भएरै जिल्लाका अस्पताललाई आगामी दिनमा अझ प्रविधिमैत्री र दक्ष जनशक्तियुक्त बनाउने निर्णय भएको छ,’ शर्माले सुनाए, ‘अब हरेक जिल्लाका अस्पतालमा केही सुविधा थपिन्छन्। त्यसका लागि प्रदेश सरकारले बजेट दिने भएको छ।’
शर्माका अनुसार बागलुङको अञ्चल अस्पतालमा ५ शैय्याको आइसियु व्यवस्था गर्ने तयारी भएको छ। त्यस्तै गोरखामा पनि क्षमता बढाउने तयारी भएको उनले जानकारी दिए। ‘दुई हिमाली जिल्ला मनाङ र मुस्ताङका अस्पतालमा २÷२ वटा र अन्य जिल्लाका अस्पतालमा ५÷५ शैय्याको आइसियु राख्ने निर्णय भएको छ,’ शर्माले भने, ‘बल्ल अहिले सबैतिर अत्यावश्यक सुविधायुक्त अस्पताल नभएको महसुुस भएको छ।’ आइसियु र भेन्टिलेटर राख्दा पनि थप जनशक्ति चाहिने भएकाले सबैतिर यी सुविधा नभएको उनको भनाइ छ। ‘अहिलेको समायोजनका आधारमा हामीले झन्डै आधा जनशक्तिको भरमा काम गरिरहेका छौं। त्यसले पनि अप्ठेरो पारेको छ,’ शर्माले भने, ‘तर अहिले सबै अस्पतालमा पूर्वाधार चाहिने रहेछ भन्ने पुष्टि भएको छ।’
उनका अनुसार एउटा भेन्टिलेटरको बजार मूल्य १५ देखि २२ लाख रुपैयाँसम्म पर्छ। धेरै ठूलो लागत पर्ने भएकाले पनि सबै अस्पतालले धेरै संख्यामा यी पूर्वाधार राख्न नसक्ने उनको भनाइ छ। शर्माका अनुसार अहिले अस्पतालमा रहेका सबै भेन्टिलेटर र आइसियु पनि सञ्चालनयोग्य छैनन्। करिब ७० प्रतिशत मात्र सञ्चालनमा रहेको उनको अनुमान छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्य पनि सबैतिरका अस्पतालमा पर्याप्त पुर्वाधार नभएको बताउँछन्। कास्की बाहिरका कुनै पनि स्वास्थ्य संस्थामा पर्याप्त सुविधा नहुँदा त्यसको चाप पोखराले खेप्नुपर्ने अवस्था आउने उनले बताए। ‘सबै अस्पताल सुविधा–सम्पन्न हुने हो भने हामीलाई कम चाप पथ्र्याे।
तर त्यस्तो नहुँदा त्यसको मार पनि हामीले खेप्नुपरिरहेको छ,’ आचार्यले भने, ‘अबको समयमा जिल्लाका सबै स्वास्थ्य निकायलाई सुविधा–सम्पन्न बनाउन जरुरी छ।’ अहिले पोखरामा सञ्चालित निजी अस्पतालमा समेत पर्याप्त सुविधा नरहेको उनले बताए।
बागलुङको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेल पनि सम्भावित महामारीबाट जोगिन सबैतिरका अस्पताल सुविधा–सम्पन्न हुनुपर्ने अहिले पुष्टि भएको बताउँछन्। ‘सम्भावित महामारीका लागि हामी तयार भएर बस्नुपर्छ ।
अहिलेको जस्तो अप्ठेरो कुनै पनि बेला आउन सक्छ। त्यसको तयारी तत्कालै गरेर हुँदैन,’ पोखरेलले भने, ‘त्यसका लागि पूर्वाधार तयार गर्नुपर्छ।’ उनका अनुसार कोरोनाका संक्रमित फेला नपर्दासम्म अञ्चल अस्पतालमा आइसियु र भेन्टिलेटरजस्ता उपकरण थिएनन्। यी उपकरण श्वासप्रश्वाससम्बन्धी जटिल अवस्थाका बिरामीको उपचारका लागि आवश्यक पर्छ। तर नहँुदा सुरुमा केही अत्तालिए पनि पछि व्यवस्थापन गरिएको उनले बताए।
‘अस्पतालमा आवश्यक उपकरण चाहिन्छ भन्ने बल्ल अहिले महसुस भयो। सघन उपचार कक्ष, तालिम–प्राप्त जनशक्ति, सुविधायुक्त प्रयोगशालाको अभाव अहिले देखियो,’ उनले भने, ‘बेलैमा यी उपकरण र जनशक्ति यहाँ हुन्थे भने हामीलाई डर हुने थिएन। तर हतारमा व्यवस्थापन गर्नुपर्दा तनाव भयो।
प्रकाशित: ११ वैशाख २०७७ ०५:०८ बिहीबार