coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

१० करोडको आकस्मिक कोष स्थापना हुने

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि  १० करोड रुपैयाँको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ। बिहीबार बसेकोे नगर कार्यपालिका बैठकले यस्तो निर्णय गरेको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

कोषबाट नोभेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काललाई साना, मझौला र ठूला वडालाई क्रमशः  २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले निकासा पठाउने निर्णय भएको छ। ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण एवं डेंगु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्प्लेट, ब्यानर लगायत  प्रचार सामग्री निर्माण एवं वितरण गर्ने निर्णय भएको छ,’ प्रमुख शाक्यले भने, ‘काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न स्थानमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री,  प्रचार सामग्रीसहितको हेल्प डेक्स स्थापना तथा सञ्चालन गरिनेछ।’

टेस्ट गर्ने सामान हामीसँग छ,’ उनले भने, ‘कसैलाई पनि उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने गरी काम गर्न हामी तयार छौँ।’

शाक्यका अनुसार बैठकबाट महानगरपालिकाभित्रका  मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत  धार्मिक तथा सामाजिक सम्पदा क्षेत्रमा भीडभाड नगर्न सर्वसाधारणलाई अनुरोध गर्ने निर्णय भएको छ। त्यस्तै, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्य प्रभावकारी ढंगले सञ्चालन गर्न काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखाअन्तर्गत फोकल प्वाइन्टका रूपमा २४ सै घन्टा हेल्प डेक्स सञ्चालन गर्ने महानगरको तयारी रहेको छ। ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आवश्यक सहयोगका लागि काठमाडौं महानगरपालिको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई उच्च सतर्कतामा राखी परिचालन  गर्ने निर्णय पनि गरेका छौँ,’ शाक्यले भने, ‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू अर्काे व्यवस्था नभएसम्म भोजभत्तेरमा सामेल नहुने, भोजभत्तेरको आयोजना नगर्न भनेका छौँ।’

संघीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्न–गराउन सम्बन्धित विभाग, महाशाखा र शाखालाई निर्देशन गर्ने, उपप्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिलाई कालोबजारी नियन्त्रणका लागि प्रभावकारी ढंगले परिचालन गर्ने, काठमाडौं महानगरपालिकाभित्र मनाइने जात्रा, पर्वहरूमा परम्परागत रुपमा पूजाबाहेक भिडभाड नगर्ने–नगराउने निर्णय पनि महानगरले निर्णय गरेको छ।   त्यसैगरी, काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै पनि सभा, सम्मेलन, समारोह गर्न  निरुत्साहित गर्ने र त्यस्ता कार्यक्रममा महानगरपालिकाले कुनै पनि सहयोग नगर्ने निर्णय गरिएको छ। ‘कामपाबाट सञ्चालिन हेल्प डेक्स तथा सार्वजनिक स्थानमा निःशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने,  कामपाको कार्यालय तथा कार्यकक्षमा डिस इन्फेक्सन गर्ने पनि तयारी गरेका छौं,’ शाक्यले भने, ‘कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सन्देशमूलक सूचना, होर्डिङ तथा डिजिटल बोर्डबाट प्रचार तथा डिसप्ले गर्ने व्यवस्था मिलाउनेछौं।’

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेले महानगरपालिकासँग सहकार्य गरेर कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न महाशाखा तयार रहेको बताए। ‘टेस्ट गर्ने सामान हामीसँग छ,’ उनले भने, ‘कसैलाई पनि उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने गरी काम गर्न हामी तयार छौँ।’ उनले डा. सुन्दरमणि दीक्षितले दिएका अभिव्यक्ति जस्तो अवस्था नरहेको भन्दै उनलाई पनि सकारात्मक प्रचार गर्न सुझाव दिएका छन्।

प्रकाशित: ८ चैत्र २०७६ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App