१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बेलुनमा मान्छे

साहसिक कामले जीवनलाई सार्थक बनाउन मद्दत गर्दछ। साहसिक खेलबाट आत्मविश्वास बढ्छ। वास्तवमा आत्मविश्वासको पहाड चढ्नेहरू नै जीवनमा सफल हुन्छन्। जीवन अनुभवको प्रयोगशाला न हो। प्रकृति, संस्कृति, ज्ञान, विज्ञान र जगतलाई बुझ्ने प्रयोगशाला। भोली मरेर लानु के छ र, त्यसैले बाँचुञ्जेल अनुभव बटुल्नुपर्छ।

नौलो अनुभव सँगाल्ने सिलसिलामा यसपाला पोखरामा हट एयर बेलुन उडान भर्ने अवसर मिल्यो। अघिल्लो साता फेवातालको सिरान पामेमा बेलुनमा बसेर सेरोफेरो नियाल्यौं हामीले। विचित्रको मीठो अनुभूति भयो। जमिनमा हिँडेर र प्याराग्लाइडिङमा बसेर हेरेको पोखरालाई बेलुनको झोलुङ्गोमा बसेर हेर्दा फरक स्वाद मिल्यो।

बेलायती पाइलट अलेक्जेण्डरको नेतृत्वमा हामी ७ जना पत्रकार बेलुनमा बसेका थियौं।  एलपिजी ग्याँस बालेर पाइलट बेलुनको हावा तताउँदै थिए। तातो हावाले बेलुन माथिमाथि उड्छ। हामी पनि बिस्तारै उड्यौं। उड्नुअघि मनमा डर थियो, जब उड्न थालियो डर त कता हरायो कता। मनमा रोमाञ्चक अनुभव मात्र भइरह्यो।

उड्नुअघि पाइलटले हामीलाई सुरक्षा र यात्रुले ध्यान दिनुपर्ने कुराबारे ब्रिफिङ गरेका थिए। उडिसकेपछि ल्याण्ड गर्ने बेला सर्तक हुन सुझाए। आकाशमा हामीले आआफ्ना क्यामेराको लेन्स घुमायौं। हामी ढुक्क थियौं किनकि हाम्रा पाइलटको हातमा थियो बेलुनको गति र दिशा नियन्त्रण गर्ने साँचो।

बेलुनमा बसेर कुमारी माछापुच्छ्रेसँग आँखा जुधाउँदै, फेवाताल, नागबेली डाँडापाखा र बस्तीहरूमा नजर डुलाउँदा अलौकिक आनन्द मिल्छ। पारिवारिक भ्रमणका लागि समेत हट एयर बेलुन उपयुक्त रहेछ !   

हामी उड्दै गयौं। चापाकोटतिरको जंगल, फेवाताल, पामे बजार, पञ्चासे डाँडा हुँदै सराङकोट डाँडामास्तिर नजर डुलाउँदा अन्नपूर्ण साउथ, हिमचुली र माछापुच्छ्रे हिमालको दर्शन गर्न पाइयो। हिमाल खुलेको दिनमा उड्न पाएकाले भाग्यमानी ठान्यौं आफूलाई। ‘सनराइजको स्वागत गर्ने गरी उड्न पाएको भए झन् मजा हुन्थ्यो’, बेलुन यात्रा संयोजन गरेका मित्र विष्णुकान्त घिमिरे भन्दै थिए, ‘बेलुनमा बसेर सनसेट हेर्नु पनि कम्ता रमाइलो हुँदैन।’

डुल्दाडुल्दै पाइलटले हामीलाई क्यामेरातिर हेर्न सुझाए। हामी बेलुनको एकछेउ झुण्ड्याइएको गोप्रोतिर हेरेर मुस्कुरायौं। उनले सामूहिक तस्बिर खिचे। त्यतिबेला हामी करीब दुई हजार मिटर उचाइमा थियौं। बेलुन चार हजार मिटर माथिसम्म उडाउन मिल्दो रहेछ।

आकाशमा चरा उडेझैं उड्न पाउँदा गद्गद भयौं हामी। बेलुनमा बसेर कुमारी माछापुच्छे«सँग आँखा जुधाउँदै, फेवाताल, नागबेली डाँडापाखा र बस्तीहरूमा नजर डुलाउँदा अलौकिक आनन्द मिल्छ। पारिवारीक भ्रमणका लागि समेत हट एयर बेलुन उपयुक्त  रहेछ !

बेलुनमा बसेर यताउता हेर्दाहेर्दै बीस मिनेट बितिसकेछ। उड्ने धित मरेकै थिएन, हामी पछि पोखराका पत्रकार साथीहरू उड्ने तयारीमा थिए। त्यसैले पाइलटले हामीलाई बिस्तारै ओराले। ल्याण्ड गर्ने बेलामा हामी बसेको झोलुङ्गो हल्लिँदा बेग्लै रोमाञ्चकता थपियो।

बेलुनमा उड्दा केही कुरामा ख्याल गर्नुपर्ने रहेछ। उचाइमा चिसो हुने भएकाले माकल टोपी र न्याना लुगा लगाउनु पर्दो रहेछ। हिल भएको जुत्ता र चप्पल लगाउन मिल्दो रहेनछ। बेलुनको कुरा गर्दा बाल्यकालको सम्झना आउँछ। हामी सानो छँदा हाम्रो गाउँ (दधिकोट, भक्तपुर)तिर पनि हट एयर बेलुन देखिन्थ्यो। कहिलेकाहीँ धानखेतीमा बेलुन ल्याण्ड भएको दृश्य पनि देखेका थियौं हामीले। त्यतिबेला अनौठो मानेर हेथ्र्यौं हामी। आखिर यो त लोभलाग्दो पर्यटन प्रोडक्ट पो रहेछ !

तिनताका शुरू गरिएको बेलुन कम्पनी उहिल्यै बन्द भैसकेको छ। हामीलाई पोखराको ‘बेलुन नेपाल’ले उडाएको हो। पोखरामा बिक्रम बाडेको समूहले सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुन शुभारम्भ गरेको हो। बाडे सहित दीपककुमार श्रेष्ठ र सविन महर्जन सहितको चार करोड पचास लाख रुपैयाँको लगानीमा बेलुन नेपाल कम्पनी सञ्चालित छ। कम्पनीका अनुसार प्रतिव्यक्ति २० हजार डलर बराबर बिमा गरिएको हुन्छ।

विशेषतः युवा साहसिक खेलमा रमाउँछन्। त्यसका लागि स्वस्थ शरीर, मनभरि आँट र केही रकम चाहिन्छ। बेलुनको झोलुङ्गो (बास्केट)मा एकै पटक ८ जना बस्न सक्छन्।   पोखरामा बर्सात्का तीन महिना असार, साउन र भदौमा बेलुन उडाइँदैन। अरू बेला उडाइन्छ।

नेपालीले बेलुनमा आधा घन्टा उडेको ९ हजार रुपैयाँ तिर्नुपर्छ। त्यस्तै फोटो र भिडियोको १५ सय रुपैयाँ थप लाग्छ। रिजर्भ गरि उडान गर्न चाहे आधा घन्टाको ५५ हजार र एक घन्टाको ८० हजार रुपैयाँ पर्छ। प्याकेजमा लेकसाइडदेखि पामेसम्म दुईतर्फी यातायात सुविधा पनि हुन्छ।

बेलुन पोखराको पर्यटनमा नयाँ उपहार हो। प्रकृतिको बरदान पोखरामा केही दशक यता धमाधम साहसिक खेलहरू बढ्दै छन्। प्याराग्लाइडिङ, कायाकिङ, राफ्टिङ, अल्ट्रालाइट, बन्जी जम्प, जीप फ्लायर, माउन्टेन बाइकिङ, क्यानोनिङ, हाइकिङ, हट एयर बेलुन लगायत गतिविधिले पोखरालाई तन्नेरी बनाउँदै लगेको छ। लाग्छ, पोखरामा भर्खर पर्यटनको बैंस फक्रिएको छ।

नेपालमा बेलुन लोकप्रिय हुँदैछ। जसरी म्यानमार पुग्नेहरू हट एयर बेलुनमा नबसी फर्कंदैनन्, त्यसैगरी एक दिन बेलुन पोखराको पर्याय बन्ने आशा गरौं !
बेलुनबाटै बन्जी  

बिक्रम बाडे, अध्यक्ष, बेलुन नेपाल
नेपालको पर्यटनमा हट एयर बेलुन नयाँ प्रोडक्ट हो। वर्ष दिनको अनुभवबाट हामी उत्साहित छौं। हामीसँग हाल दुइटा बेलुन छन्। चाँडै अर्को एउटा बेलुन थप्दैछौं। बेलुनबाटै बन्जी जम्प र स्काई डाइभ गराउन होमवर्क गरिरहेका छौं। साथै मेघौली र कपिलवस्तुबाट पनि बेलुन उडाउने योजनामा छौं।  
सम्पर्क ः बेलुन नेपाल–०६१–४६५०४७।

प्रकाशित: १ चैत्र २०७६ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App