१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

सहयोग माग्दै जनआन्दोलनका घाइते

रूकुम - रुकुमका ५० वर्षीया तारा खड्का उपचारका लागि सहयोग माग्दै विभिन्न संघसंस्था चहार्दै हिँड्छन्, जो  २०६२/६३ को जनआन्दोलनका घाइते हुन्। उनलाई प्रहरीले चलाएको गोली लागेको थियो। त्यसबेला उनी नारायणहिटी दरबारअगाडि महेन्द्रको सालिक भत्काउँदै थिए। उनी भन्छन्, ‘प्रहरीले हानेका तीन गोली मेरो दाहिने खुट्टामा लाग्यो। आठ जनाको  मृत्यु भयो। मसँगै आन्दोलनमा उत्रेका धेरै घाइते भए।’

बाँच्ने आस
खड्कालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरियो। उनको उपचार हुन सकेन र उनलाई  उपचारका लागि अमेरिकाको ‘पाइलट हस्पिटल’ लगियो। त्यहाँ दुई वर्षसम्म उनको उपचार हुँदा स्वास्थ्यमा सामान्य सुधार आएको थियो। पूर्ण रूपमा निको नहुँदै उनलाई नेपाल फर्काइयो। उनी भन्छन्, ‘उपचारका लागि करिब १ करोड खर्च  भयो। सरकारले ५० लाख सहयोग गरेको थियो ।’ उनले उपचारका लागि  काठमाडौं  बानेश्वरको घर ४० लाखमा बेचेका थिए। उनको दाहिने खुट्टामा अहिले स्टिल राखिएको छ। दाहिने हातको कुहिनादेखि नाडीसम्म घाउका दागैदाग छन्। उनी  भन्छन्, ‘यो सबै घाउ आन्दोलनमै भएको हो। यहाँ काटेर नुन खुर्सानी दलिदिएका थिए। यति मात्र होइन, दिमागमा करेन्ट लगाएर मानसिक यातना पनि दिइयो।’ खड्काको हात र ढाडमा लागेको चोटको दाग अझै छ।  उनको बोली प्रस्ट छैन, त्यहीबेला उनको जिब्रो काटिदिएका थिए।  

यथार्थ
खड्का काठमाडौं सुन्धारामा कोठा भाडामा लिएर बस्दै आएका छन्। दैनिकी चलाउने समस्याले पिरोल्न थालेपछि उनी कृत्रिम गोडाको सहायतामा हिँड्दै आर्थिक सहयोगका लागि विभिन्न संघसंस्थामा पुग्छन्। ‘राम्रोसँग हिँड्न र बोल्न सक्ने भए पनि आफैँले केही काम गर्थें। खान–लगाउन मुस्किल भएको छ,’ यसो भन्दै गर्दा उनको अनुहार  मलिन हुन्छ । उनी औषधि सेवन गर्न पैसासमेत नभएको सुनाउँछन् । खड्काले सानैमा आमाबुबा गुमाएका थिए। पूर्वप्रधानमन्त्री मरिचमान सिंहले उनलाई काठमाडौं ल्याएका थिए। सिंहकै सहयोगमा खड्काले आरआर क्याम्पसबाट स्नातक गरे। उनको दैनिकी राम्रैसँग चल्दै थियो। वि. सं २०४५ सालमा उनले श्रीमती गुमाए। उनकी श्रीमती २०४५ सालको भूकम्पमा परेर बितेकी थिइन्। त्यसपछि उनी बेसहारा भएका थिए।

परिवर्तन
२०६२/६३ सालको जनआन्दोलनपछि मुलुकमा भएका परिवर्तनले आफूलाई छुन नसकेको उनको भनाइ छ। ‘जतिसुकै परिवर्तन आए पनि राज्यले हाम्रो मूल्यांकन गर्न सकेन,’ उनी भन्छन्, ‘अहिले यो अवस्थामा हामी कसरी बाँचेका छौं भनेर सरकारले हेरेको छैन ।’ खड्का आफ्नो समस्या र गुनासो लिएर प्रधानमन्त्री कार्यालयदेखि सत्य निरूपण तथा मेलमिलाप आयोगसम्म धाए। तर, कुनै सरकारी निकायबाट सहयोग नपाएको उनी सुनाउँछन्।

प्रकाशित: २४ फाल्गुन २०७६ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App