१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

गन्तव्य चन्द्रागिरि !

भालेश्वर मन्दिर।

सुन्दर पर्यटकीय गन्तव्य हो–चन्द्रागिरि नगरपालिका। स्वच्छ वातावरण, हरियाली अनि हिमाली दृश्य देखिने यस नगरमा धार्मिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वका थुप्रै सम्पदा छन्। त्यसैले यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास र प्रवर्द्धन गर्न सकिन्छ।

काठमाडौं जिल्लामा रहेका साविकका थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, बाँडभञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र पुरानो नैकापभञ्ज्याङ मिलाएर नगरपालिका बनाइएको हो। नगरमा १५ वडा छन्।

मिश्रित जातिको बसोबास रहेकामा नेवार समुदायको बाहुल्य छ। वस्तीमा समयसमयमा विभिन्न सांस्कृतिक जात्रा र पर्व मनाइन्छ। सातगाउँले जात्रा, मच्छेनारायण जात्रा, नैकापको विष्णुदेवी जात्रा, इन्द्र जात्रा यहाँका मुख्य जात्रा हुन्।

नगरपालिका क्षेत्रको ६३ प्रतिशत भूगोल डाँडाकाँडा छ। डाँडाबाट हिमाली लर्कन, हरिया पवर्तको सुन्दर दृश्य देखिन्छ। त्यहाँबाट पूर्वदेखि पश्चिमसम्मै हिमालको सेताम्मे लर्कन देखिन्छ। 

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा घुम्ने, सिक्ने र रमाउने धेरै सम्पदा छन्। अब गुराँससँग लुकामारी खेल्दै र हिमालसँग आँखा जुधाउँदै चन्द्रागिरिका विभिन्न डाँडामा हाइकिङ, साइक्लिङ र बाइकिङ गर्ने कि !  

यतिबेला लालीगुराँस फुल्ने मौसम। हिमालसँगै गुराँसको सौन्दर्यमा रम्न पाइन्छ।  गुराँसको यौवनसँग लुकामारी खेल्दै र हिमालसँग आँखा जुधाउँदै नगरका विभिन्न डाँडामा हाइकिङ, साइक्लिङ र बाइकिङ गर्ने कि !

‘ऐतिहासिक, सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ भन्ने मूल नारा बोकेर नगरको विकास अभियान थालिएको छ। आउनुहोस्, हामी सबै यस अभियानमा हातेमालो गरौं। चन्द्रागिरि नगरपालिका क्षेत्रका केही गन्तव्यहरूको यहाँ चर्चा गरिएको छ।
 
भालेश्वर
काठमाडौं उपत्यकालाई दक्षिणबाट पहरा दिइरहेका डाँडा हो भालेश्वर। डाँडामा प्यागोडा शैलीको भालेश्वर मन्दिर छ। यहाँ वैशाख १ गते मेला लाग्छ। धार्मिक मात्र होइन, प्राकृतिक हिसाबले पनि भालेश्वर प्रख्यात छ। डाँडा (२५०० मिटर)बाट पूर्वदेखि पश्चिमसम्म १८० डिग्रीमा फैलिएका हिमालहरू गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, सगरमाथा लगायत देखिन्छ। 

भालेश्वर थाप्लो काठमाडौं र मकवानपुरको संगममा पर्छ। त्यहाँबाट सूर्योदय र सूर्यास्तको राम्रो दृश्य देखिन्छ।

भालेश्वर ऐतिहासिक ठाउँ पनि हो। नेपाल एकीकरण तयारीका बेला राजा पृथ्वीनारायण शाह मामाघर भएर चन्द्रागिरि भञ्ज्याङ आएका थिए। भञ्ज्याङबाट सुन्दर उपत्यका हेरेर उनले भालेश्वरमा भाकल गरे। पछि यतैबाट काठमाडौं आक्रमण गरी सफलता पाए। 

राजा पृथ्वीनारायण शाहको प्रतिमा

केवलकार सञ्चालकले डाँडामा पृथ्वीनारायणको सालिक बनाएका छन्। चन्द्रागिरि केवलकार २.५ किमि लामो छ। तल स्टेशनबाट १० मिनेटमा माथि पुगिन्छ। डाँडामा रिसोर्ट, पार्क र रेष्टुराँ सुविधा छ।  

कसरी पुग्ने: काठमाडौं पुरानो बसपार्कबाट थानकोट गोदामसम्म १५ किमि गाडीमा। गोदामबाट केवलकार, गाडी र पदयात्रामा पुग्न सकिन्छ। पदयात्रामा गोदामबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै भालेश्वर र भालेश्वरबाट चखेल देउराली हुँदै मातातीर्थसम्म हिँड्न सकिन्छ। दूरी: १३ किमि। समय ५ घन्टा।

भष्मेश्वर
‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो। सबैलाई चेतना भया !’ भष्मेश्वर गढीमा राजा पृथ्वीनारायण शाहको महावाणी लेखिएको बोर्ड छ। नेपाल एकीकरणताका उनले यस ठाउँलाई गढी बनाएका थिए। यसको संरक्षण गरेर पर्यटकीयस्थल बनाउन सकिन्छ।

काठमाडौंंको दक्षिणपट्टि उभिएको भष्मेश्वर (२,५०० मिटर) प्राकृतिक भ्यूटावर पनि हो जहाँबाट हिमाल, सूर्योदय र सूर्यास्त देखिन्छ। भष्मेश्वरको पश्चिममा भालेश्वर पर्छन् भने दक्षिणमा चम्पादेवी र फर्पिङका साथै महाभारत श्रृङखला। उत्तरपूर्वमा हिमाल र काठमाडौं उपत्यका।

भष्मेश्वरबाट देखिएको हिमश्रृङ्खला

डाँडामा पसल छैन। अलिक मुन्तिर छापडाँडामा पसल छ। छापडाँडा (२,३००मिटर) काठमाडौं र मकवानपुरको साँधमा पर्छ। यसको टुप्पामा टंकेश्वर महादेव छन्। मन्दिरबाटै हिमालको ताँती देखिन्छ। छापडाँडाबाट १ किमि तल चखेल देउराली छ। तामाङ वस्ती चखेलमा राणाकालीलन रोप वे छ जुन अचेल चल्दैन। त्यसलाई संरक्षण गरेर पर्यटकीय प्रोडक्ट बनाउन सकिन्छ। देउरालीबाट पनि हिमाल र काठमाडौंको दृश्य देखिन्छ।

कसरी पुग्ने: काठमाडौंबाट कीर्तिपुर भत्क्यापाटी हुँदै पुष्पलाल पार्कसम्म १२ किमि गाडीमा। पदयात्रा पार्कबाट शुरू गर्ने। ठाडो उकालो हुँदै देउराली, भष्मेश्वर टप, सिम्पानी चौर, छापडाँडा हुँदै मच्छेनारायण पुग्ने। दूरी: ९ किमि। समय ः ५ घन्टा। अधिकांश बाटो ठाडो उकालो र ओरालो छ।

दहचोक हिल्स   
दहचोक आफैमा सुन्दर पर्यटकीय गन्तव्य हो। चारैतिर डाँडाले घेरिएको सुन्दर गन्तव्य जहाँबाट भिमढुंगाको पूरा दृष्य देखिन्छ। यहाँ इन्द्र दह, कालु पाँडे समाधिस्थल, मनकामना मन्दिर, नजकिै स्जिरल्याण्ड पार्क छन्।

इन्द्रले नुहाएको दह भएकाले इन्द्रदह (१,८५० मिटर ) भनिएको। दहको बीचमा नागको मूर्ति छ। पौराणिक भनाइअनुसार सत्य युगमा भगवान् इन्द्रले गौतम ऋषिकी पत्नी अहिल्यासँग झुक्याएर नाजायज सम्बन्ध राखे। ऋषिले रिसाएर इन्द्रलाई श्राप दिए। इन्द्र प्रायश्चित गर्न यहाँ आइपुगे। लामो ध्यानपछि श्रापमुक्त भएर दिव्य शक्तिले पोखरी सिर्जना गरी नुहाएर स्वर्ग प्रस्थान गरेछन्। दहमा भाद्र शुक्ल पूर्णिमाका दिन विशेष मेला लाग्छ।

ऐतिहासिक हिसाबले हेर्दा राजा पृथ्वीनारायण शाहले यस क्षेत्रलाई गढीका रूपमा प्रयोग गरेको पाइन्छ। दहभन्दा सय मिटर माथि डाँडामा उनले स्थापना गरेको मनकामना मन्दिर अहिले पनि छ। 

डाँडामा कालु पाँडेको समाधीस्थल पनि छ। कीर्तिपुर युद्धमा काजी कालु पाँडेको मृत्यु भयो। उनले मृत्यूपछि गोरखा देखिने ठाउँमा आफ्नो शव गाडियोस् भन्ने चाहेका थिए। समाधिस्थलमा हालै उनको प्रतिमा बनाइएको छ।  

मिश्रित जातजातिको बसोबास रहेको इन्द्रदहमा सांस्कृतिक विविधता पाइन्छ। दह वरपर खाजा पसल र होटल सुविधा छ। इन्द्र दह मुन्तिर स्वीटजरल्याण्ड पार्क छ जुन पिकनिक स्पट बनेको छ। पार्क नजिकै विन्ध्यवासिनी मन्दिर र बुद्ध गुम्बा पनि छन्।

कसरी पुग्ने: इन्द्रदहसम्मै मोटर बाटो छ। पदयात्रा गर्दा काठमाडौंको नागढुंगा चेकपोस्टसम्म गाडीमा। त्यहाँबाट दुई घन्टा पदयात्रामा इन्द्रदह। फर्किंदा बलम्बु गुम्बा हुँदै पुरानो नैकापबाट नयाँ नैकापसम्म पदयात्रा। पदयात्रा दूरी १२ किमि। समय ५ घन्टा।

मातातीर्थ
मातातीर्थ (१,४०० मिटर) मा आमाको मुख हेर्ने औंसीका दिन मेला लाग्छ। त्यहाँको पोखरी नजिकै आमाको प्रतिमा छ।

मातातीर्थबारे रोचक कथा छ। उहिल्यै एउटा बालक हाल पोखरी रहेको वरपर गाई चराउँथ्यो। खाना खाने बेला अलिकति खाना पोखरीमा खस्थ्यो। दिनदिनै यस्तो हुन थाल्यो। खाना किन पोखरीमा खसेको होला भन्ने उसलाई जान्ने मन भयो। महिनांै दिन बितेपछि बालकले नियालेछ। हेर्दा त मरेकी आमा पो देखेछ ! रोइकराई गर्दै उसले आमालाई घर जान ढिपी ग¥यो। आमाले एकचोटि मरेपछि फेरि घर जान नमिल्ने र हरेक औंसीका दिन दर्शन दिने वाचा गरेर छोरालाई घर पठाइन्। त्यसै वचनअनुसार बालक हरेक वर्ष आमालाई भेट्न आउन थाल्यो। एक दिन एउटी महिला आमा हेर्न पोखरीमा कुरेर बसिन्। धेरै बेर कुर्दा पनि आमालाई नदेख्दा त्यहीं हाम्फालेर मरिछिन्। त्यति बेलादेखि पोखरीमा मरेका आमाले आफ्नो रूप देखाउन छाडेछन्।
पवित्र भूमि मातातीर्थ क्षेत्रमा सामान्य होटल र रेष्टुराँ छन्।  

मच्छेनारायण
हिन्दूहरूका लागि पवित्र तीर्थ हो मच्छेनारायण। भगवान् विष्णुका दश अवतारमध्ये मत्स्य प्रथम अवतार हो। दानवले वेद लगायत शास्त्र चोरेर पाताल पु-याएपछि त्यसलाई फिर्ता ल्याउन विष्णुले माछाको रूप धारण गरेका थिए।

मत्स्यनारायण मन्दिर।

मच्छेनारायण (१,४३० मिटर)मा तलाउ बीचमा घन्ट आकारको मन्दिर छ। सँगै अन्य देवदेवीका मन्दिर र निर्वाण बुद्ध विहार छ। हिन्दू र बौद्धमार्गीको साझा तीर्थ हो, मच्छेगाउँ। मच्छेनारायण नजिकै पुष्पलाल पार्क छ। चम्पादेवी फेदीको पार्क कम्युनिस्ट नेता पुष्पलालको सम्मानमा बनाइएको। मच्छेनारायण क्षेत्रमा नेवार र अन्य परिकार पाइने रेष्टुराँ छन्।

पातले वन
हरियो जंगल बीचमा रहेको एउटा रिसोर्टकै कारण पातले वन क्षेत्र चर्चित छ। वनको काखमा छ–पातले वन भिनेयार्ड रिसोर्ट। आरामदायी बास र रसिलो अंगुरका कारण यसले ख्याति कमाएको छ। त्यहाँ ९ थरिका अंगुर खेती गरिएको छ। असार अन्तिम साता र साउन पहिलो हप्ता अंगुर पाक्ने मौसममा अंगुर टिप्ने इभेन्ट गरिन्छ। यहाँको अंगुरबाट जुस उत्पादन हुन्छ।

हरियाली बिच्छयौनामा बसेको छ पातले वन। रिसोर्टबाट पश्चिमदेखि उत्तरसम्म धादिङ, नुवाकोट र भीमढुंगाको चित्ताकर्षक दृश्य देखिन्छ। दक्षिणमा हरिया थुम्का, महाभारत श्रृङ्खला र नागबेली राजमार्ग देखिन्छ भने हिमाल खुल्ने बेला सेताम्मे हिमालको लर्कन देखिन्छ। रिसोर्टबाट ५ मिनेट उकालो चढे डाँडाबाट काठमाडौं उपत्यका देखिन्छ। सूर्योदय र सूर्यास्त समेत देखिन्छ। सेमिनार, विकेण्ड र हनिमुन मनाउनेको भीड लाग्छ यहाँ। पातले वनलाई केन्द्र मानेर धेरैतिर हाइकिङ गर्न मिल्छ।  

कसरी पुग्ने:  काठमाडौं–पातले वन १७ किमि। नागढुंगा चेकपोष्टबाट ओरालो झर्दा पृथ्वी राजमार्गको सडक खण्डबाट करीब डेढ किमि दूरीमा पातले वन छ। पातले वन रिसोर्टसम्मै गाडी जान्छ। हाइकिङ गर्दा सीतापाइलाबाट भीमढुंगा बसपार्कसम्म बसमा। बसपार्कदेखि हिंड्दा ६ किमिमा पातले वन। पातले वनबाट ६ किमि हिंडे नैकाप भञ्ज्याङ। पदयात्रा दूरी १२ किमि। समय ः ५ घन्टा।

मसिने
बाडभन्ज्याङमा पर्ने मसिने माउन्टेन रेन्जका लागि प्रख्यात छ। तामाङ समुदायको बसोबास रहेको मसिनेमा पिकनिक स्पट छ। साथै तीन वर्षअघि खुलेको स्पाइडर टावर रिसोर्ट पनि छ जहाँ सजिलै बास बस्न सकिन्छ। मसिनेदेखि खानी खोलासम्म लिंक रोड खुलेको छ। मसिनेबाट धादिङ र नुवाकोटको दृष्य देखिन्छ। मसिने हुँदै चित्लाङसम्म पनि पदयात्रा गर्न सकिन्छ।

कसरी पुग्ने: थानकोटसम्म गाडीमा। थानकोटबाट बाडभन्ज्याङ, मसिने हुँदै नागढुंगा चेकपोष्टसम्म पदयात्रा। थानकोट– मसिने ४ किमि, मसिने– चेकपोष्ट करीब १ किमि। जम्मा दूरी करीब  ५ किमी। साना बालबालिकालाई हाइकिङ गराउन उपयुक्त रुट। मसिनेसम्मै मोटर पुग्छ।

सुनौलो नगर   
मनराजा खत्री,अध्यक्ष, चन्द्रागिरि पर्यटन विकास समाज 


धार्मिक पर्यटकीयस्थलका रूपमा चन्द्रागिरिले ख्याति कमाएको छ। हाम्रो नगरपालिका प्राकृतिक हिसाबले पनि उत्तिकै आकर्षक छ। हामी हाम्रो नगरलाई योग र ध्यान केन्द्रका रूपमा विकास गर्दैछौं। नगरका ठाउँठाउँमा योग तथा ध्यान केन्द्र बन्दै छन्।

हामी घुमफिरसँगै स्वास्थ्य सम्बन्धी चेतना जगाएर स्वस्थ पर्यटन विकासमा समर्पित छौं। पर्यटकलाई खाना र बासका लागि होटल छन्। ठाउँठाउँमा होमस्टे विकास गर्न प्रोत्साहित गरिरहेका छौं। भएका निजी होमस्टेहरू अनलाइन मार्फत बुकिङ गराउन सकिन्छ। हामी छिट्टै सामुदायिक होमस्टे संचालनको पहल गरिरहेका छौं। साथै हाइकिङ, बाइकिङ र मोटर साइक्लिङको विकासमा काम गर्दै आएका छौं। पर्यटकीय पूर्वाधार विकास गर्न नगरपालिकालाई निरन्तर झक्झकाइरहेका छौं। हामी सिंगो नगरपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरेरै छाड्छौं।

प्रकाशित: २४ फाल्गुन २०७६ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App