१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

लेबनानमा घरेलु कामदार, गाउँमा पसले र स्वयंसेवक

खोटाङ - सोमबार बिहान मौसम राई आफ्नो किराना पसलका सामान मिलाउँदै थिइन्। खोटाङ, च्यास्मिटार (हाल हलेसी तुवाचुङ नगरपालिका–३) की मौसमले यो पसल लेबनानमा साढे ६ वर्ष काम गरेर फर्केपछि खोलेकी हुन्। योबाहेक उनको अर्को काम छ– आफ्नो वडाका वैदेशिक रोजगारीमा गएका व्यक्ति र परिवारको अवस्था बुझ्ने, विवरण संकलन गर्ने। यो काम पनि उनले लेबनानकै अनुभवबाट पाएकी हुन्। सुरक्षित आप्रवासन परियोजना (सामी)ले उनलाई स्वयंसेवक (भोलेन्टरी रिटर्न)को काम दिएको छ, जसबापत उनले केही तलब पाउँछिन्। ‘आफ्नो वडाको टोल–टोलमा पुगेर विदेश गएका व्यक्तिको परिवारलाई भेटेर तथ्यांक संकलन गर्नु छ।

त्यसैले खाना पकाउने र बालबच्चालाई खुवाएर विद्यालय पठाउने काम उहाँ (श्रीमान् नथराज राई)ले गर्नहुन्छ,’ मौसमले भनिन्, ‘आज वैदेशिक रोजगारमा संलग्न परिवारका सदस्य कुन देश गएको, समय अवधि नाघे/ननाघेको, घरमा कागजात छाडे/नछाडेको बारेमा बुझ्न खानीगाउँ र दाल्फु जाँदैछु।’ मौसमले विदेश जान लागेका युवालाई घरैमा पुगेर विदेशको यात्रालाई सुरक्षित, भरपर्दो र उपलब्धिमूलक बनाउने विधिबारे पनि बताउँछिन्। त्यस्तै, वैदेशिक रोजगारीमा संलग्न परिवारका सदस्यलाई रेमिट्यान्सको सदुपयोग, आवश्यक कागजात सुरक्षित राख्ने लगायत विषयमा सहयोग गर्ने गरेकी छन्। एक छोरा र एक छोरीकी आमाका जिम्मेवारी धेरै छन्, तर उनलाई श्रीमान्को बलियो साथ छ। लेबनानबाट फर्केपछि उनले गाउँकै आफ्नै सोल्टी नथराज राईसँग ०६८ सालमा विवाह गरेकी हुन्। नथराज पनि भर्खरै विदेशबाटै फर्किएका थिए।

अवैध बाटोबाट लेबनान
हाम्र्रो समाजमा पुरुष मात्रै कमाउन लाहुर जान्छन् भन्ने मान्यता पुरानै हो। पुरुष भारतको लाहोर जान थालेसँगै ‘लाहुरे’ भन्न थालियो। लाहुरे सम्बोधनले पुरुषलाई मात्रै बुझाउँछ। मौसम लेबनान जानेताका (०५९ चैत १४ सम्म) उनको गाउँमा पुरुषहरु पनि भर्खरै विदेश जान थालेका थिए।  मौसमको गाउँ (तत्कालीन गाविस च्यास्मिटार) भरिबाट विष्णु राई, धनकुमार राई र हरिबोल राई मात्र विदेश गएका थिए। मौसम विदेश पुगेको खबरले गाउँमा निकै चर्चा पायो। च्यास्मिटारबाट विदेश पुग्ने उनी नै पहिलो महिला थिइन्। काठमाडौं आएकी उनी अवैध बाटो हुँदै बाबुआमालाई समेत थाहा नदिई लेबनान पुगेकी थिइन्। लेबनान जाने समूहमा उनीसहित ६ महिला थिए। उनीहरुलाई दुईजना एजेन्टले काठमाडौंदेखि  दिल्लीसम्म गाडीमा लगेका थिए। ०५९ चैत १४ मा काठमाडौंबाट हिँडेका उनीहरु झापा हुँदै भोलिपल्ट बेलुका सिलिगुडीमा बास बस्न पुगे। सिलीगुडीबाट रेल चढाएर उनीहरुलाई दिल्ली पुर्‍याइयो। दिल्लीमा केही दिन बसेर उनीहरु लेबनानका लागि उडे।

‘घरधनी असल थिइन्’
मौसम त्यहाँ घरेलु कामदारका लागि गएकी थिइन्। उनले त्यहाँ पाँच सदस्य रहेको घरमा भान्सादेखि सरसफाइ र केटाकेटीको हेरचाह गर्ने काम गर्नुपथ्र्यो। उनले काम गर्ने घरमा एक दम्पती र तीन छोराछोरी थिए। घर मालिक (पुरुष) भने व्यापारका सिलसिलामा कहिले कतार, कहिले दुबई घुमिरहन्थे। उनीहरुको कम्प्युटरको व्यापार थियो। ‘घरेलु कामदार हुन कहाँ सजिलो छ र ?’ मौसम भन्छिन्, ‘मैले काम गर्ने घरमा पहिले तीन सदस्य मात्र थिए, पछि क्रमशः दुई बच्चा थपिए। ती साना केटाकेटीको हेरचाह, भान्सादेखि घरको अन्य सरसफाइले गर्दा फुर्सद हुँदैनथ्यो।’ मौसमलाई भासाको समस्या थियो। तर, सामान्य अंग्रेजी बोल्न जान्ने भएकाले उनले सुरुमा त्यसैलाई संवादको माध्यम बनाइन्। पछि उनले फ्रेन्च बोल्न सिकिन्, बालबच्चा हेरचाहका क्रममा फ्रेन्च भाषाको प्रयोग गर्नुपथ्र्यो। अन्य तुलनामा उनका रोजगारदाता असल थिए, त्यसैले उनले ठूला समस्या भोग्नुपरेन। जबकि उनले काम गरिरहेकै नजिक एक नेपाली महिलाले आत्महत्या गरेकी थिइन्। लेबनानको हावापानी पनि राम्रो थियो। गर्मी याममा पहाडमा बस्नुपथ्र्यो, जाडो याममा तराईमा झर्नुपथ्र्यो।

उनी त्यो परिवारको कतिसम्म विश्वासिली पात्र बनिन् भने घरधनी घरबाहिर जाँदा चाबी उनैलाई थमाएर जान्थिन्। घरधनी महिलासँग उनको गत वर्षसम्म पनि सम्पर्क भइरहेको थियो। उनले मौसमलाई लेबनान फर्कन आग्रह गरिरहन्थिन्। घर आए पनि उनलाई मालिक्नीले लेबनान बोलाइरहन्थिन्। घरधनी असल भए पनि तलब नबढाइदिएका कारण मौसमले लेबनान छाडेकी हुन्। ‘विदेश जाने महिलालाई अहिले पनि राम्रो मानिन्न, राम्रो नजरले हेरिन्न। तर, मैले कहिल्यै नराम्रो महसुस गर्नुपरेन। भने जति तलब नबढाएकाले मात्र फर्किएकी हुँ,’ मौसम भन्छिन्, ‘घरेलु कामदारलाई साह्रोगाह्रो भन्ने कस्तो ठाउँमा बस्यो र घरधनी कस्तो पर्‍यो भन्नेमा भर पर्छ।’ घरधनी असल परेकैले उनी त्यहाँ साढे ६ वर्ष टिक्न सकेकी थिइन्। लेबनान गएको चार वर्ष (०६४ चैत) मा उनी दुई महिनाको बिदा लिएर घर फर्किन् र श्रमस्वीकृति लिएर पुनः बहराइन हुँदै लेबनान पुगिन्। त्यसपछि दुई वर्षजति  बसेर २०६७ माघमा घर फर्केकी हुन्।

विदेशको सपना
मौसमको बाल्यकाल गाउँमै घाँस–दाउरा र गोठाला गर्दै बित्यो। च्यास्मिटार माविमा पढ्दै गर्दा उनलाई कुनै न कुनै दिन विदेश पुग्छु भन्ने लाग्थ्यो। विद्यार्थी कालमा संगत पनि त्यस्तै साथीहरूसँग भयो। उदयपुर, ताम्लिछा (हाल लिङचुङबुङ गाउँपालिका)का विद्यार्थी पनि मावि तहको अध्ययनका लागि च्यास्मिटार आउँथे, त्यसमध्ये आफूभन्दा सिनियर कमला राई र कोपिला राई मौसमका साथी बने। २०५९ मा एसएलसी उत्तीर्ण गरेर मौसम दिक्तेल बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्न थालिन्। ताम्लिछाबाट हाटबजार गर्ने क्रममा दिक्तेल पुगेका बेला कमला र कोपिला मौसमकै कोठामा बस्थे र फर्कन्थे। पछि कमला लेबनान पुगिन्। लेबनान जानका लागि उनै कमलाको साथ रह्यो, मौसमलाई। ‘काठमाडौं गएर मैले कमलामार्फत नै लेबनानका लागि एप्लाई गरेकी हुँ,’ मौसम भन्छिन्, ‘घर–परिवारको आर्थिक अवस्था कमजोर थियो। क्याम्पसमा भर्ना भएर पनि खर्चको अभाव भइरहन्थ्यो। त्यसैले पढाइ रोकेरै विदेश जाने निर्णय गरेँ।’

मौसमको गाउँबाट तीनजना मात्रै पुरुष विदेश गएका थिए। मौसम विदेश पुगेको खबरले गाउँमा निकै चर्चा पायो। च्यास्मिटारबाट विदेश पुग्ने उनी नै पहिलो महिला थिइन्।

दुई छोरी र दुई छोरामध्ये जेठी सन्तान मौसम देश द्वन्द्वमा रहेका बेला विदेश गएकी थिइन्। विदेश जानका लागि उनलाई परिवारबाट स्वीकृति थिएन। खर्च दिनु त परको कुरा भयो। त्यही भएर उनले लेबनान जान ४० हजार रुपैयाँ ऋण लिएकी थिइन्। लेबनान जाने बेला उनले काठमाडौंमै रहेका भाइमार्फत घरमा खबर पठाइन्। लेबनान पुगेको भोलिपल्टै उनले घरमा चिठी पठाइन्, तर त्यो चिठी घरमा आइपुग्न ६ महिना लाग्यो। विदेश गएर लामो समयसम्म सम्पर्कविहीन हुँदा गाउँभरि हल्ला चल्यो– मौसम हराइन् वा कसैले बेच्यो। चिठी नपुग्दासम्म उनको परिवार चिन्तामा बस्यो। ‘त्यतिबेला च्यास्मिटार गाविसले फोन सञ्चालन गरेको थियो, तर तत्कालीन विद्रोही माओवादीले लाइन काटिदिएको थियो। त्यही भएर चिठी पठाउनुको विकल्प थिएन,’ उनी भन्छिन्, ‘लेबनान पुगकै भोलिपल्ट चिठी पठाएकी थिएँ, तर ६ महिना ढिलो आइपुगेछ। त्यसपछि परिवारसँग चिठी आदान–प्रदान भइरह्यो।’ त्यसपछि उनले घरमा खर्च पठाउन थालिन्। सशस्त्र द्वन्द्वको अन्त्यपछि फोनमार्फत पनि कुरा हुन थाल्यो।

गाउँ फर्केर आत्मनिर्भर
लेबनानको बसाइ त्यति दुःखको थिएन, कमाई पनि कम होइन। केही तलब बढेको भए लेबनानमै केही समय बस्ने उनको योजना थियो, तर तलब नबढेपछि उनले स्वदेश फर्केर गाउँमै केही गर्ने सोच बनाइन्। सोच अनुसार नै  घर फर्केर उनले घरनजिकै राई डाँडामा किराना पसल सुरु गरिन्। अहिले उनलाई पसल हेर्न श्रीमान्ले सघाउँछन्। किराना पसलको अलाबा उनले श्रीमान्सँग मिलेर गत भदौदेखि ब्रोइलर कुखुराको फर्म सुरु गरेकी छन्। ‘विदेशबाट फर्केलगत्तै सुरु गरेको पसल अहिले पनि राम्रै चलिरहेको छ,’ उनी भन्छिन्, ‘ब्रोइलर कुखुराको फर्म पनि सुरु गरेकी छु। अलि व्यवस्थित गर्दै लैजाने सोचमा छु।’

प्रकाशित: २४ फाल्गुन २०७६ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App