१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

शेरेको भौंभौं

 देवेन्द्रप्रसाद उप्रेती
‘भौं...भौं..., घरका मान्छेहरू कता गएछन् !’ शेरेलाई छटपटी भइरहेको थियो। ऊ आज कुइँकुइँ गरेर घुमिरह्यो। ऊ घरमा एक्लै थियो। घरका मान्छे सबै बाहिर गएका रहेछन्। घरको मूलढोका लगाइएको थियो। घरभित्र बच्चा रोएको आवाज आउँदै थियो। शेरे घरि मूलढोकामा गएर उफ्रियो, घरि गेटबाहिर आयो। मान्छेहरू बाटोमा ओहोरदोहोर गरिरहेका थिए। शेरेलाई कसैले वास्ता गरेनन्। ऊ केही कुरा सुनाउन खोजिरहेको थियो। सबैलाई हतार नै छ। कसलाई कसको कुरा सुन्ने फुर्सद छ र ?

छिमेकी घरको बूढीआमा घाम तापेर बसिरहनुभएको थियो। उहाँले मनमनै भन्नुभयो, ‘यो कुकुर आज यताउता गरेर घुमिरहेको छ। यसलाई के भएछ हँ ?’ उहाँले कुकुरलाई हकार्नुभयो। तर, शेरे त्यहाँबाट जान मानेन। उसले बूढीआमालाई कोट्याउन थाल्यो। उहाँ शेरेसँग डराउनुभयो र लठी टिपेर खेदाउनुभयो। शेरे घरको गेटभित्र त पस्यो तर फेरि फर्केर आयो। बूढीआमालाई दुइटा खुट्टा जोडेर अनुरोध गर्न थाल्यो। उहाँले शेरेलाई सोध्नुभयो, ‘के भयो तँलाई ? किन यसरी मसँग बिन्ती गरिरहेको छस् ?’ शेरेले ‘कुइँकुइँ’ मात्र गरिरह्यो। उसले बूढीआमाको फरियामा टोकेर तान्यो। उहाँ पनि शेरेले डोर्‍याएतिरै डोरिनुभयो। घरको मूलढोकामा गएर ऊ उफ्रिन थाल्यो।

घरभित्र बच्चा रोएको आवाज आयो। तर, ढोकामा त ताल्चा लगाएको छ। बूढीआमा छक्क पर्नुभयो। उहाँले ताल्चा तान्नुभयो तर निस्केन। वरिपरि हेर्नुभयो तर ताल्चा फोर्ने वस्तु केही पनि देख्नुभएन। उहाँले मनमनै भन्नुभयो, ‘बच्चालाई केही समस्या परेजस्तो छ। घरमा मान्छे कोही रहेनछन्। अब केही उपाय त गर्नैपर्छ।’ आँगनमा फूलहरू फुलेका छन्। चैते घाम एकदमै चर्केको छ। हावा चलिरहेको छ। घरको आसपासमा भएका रूखहरूमा हरियाली छाएको छ। मनै रमाउने वातावरण छ। तर, बच्चाको समस्याले बूढीआमाको मन पोल्यो। बूढीआमा बाटातिर निस्कनुभयो। शेरे पनि उहाँकै पछि लाग्यो। उहाँले एक जना अपरिचित व्यक्तिलाई भन्नुभयो, ‘बाबू, मलाई समस्या परेको छ। एकछिन यहाँ आउनुस् न।’

घरभित्र बच्चा रोएको आवाज आयो। तर, ढोकामा त ताल्चा लगाएको छ। बूढीआमा छक्क पर्नुभयो। उहाँले ताल्चा तान्नुभयो तर निस्केन। वरिपरि हेर्नुभयो तर ताल्चा फोर्ने वस्तु केही पनि देख्नुभएन।

ती व्यक्ति काममा हिँडेका रहेछन्, आउन मानेनन्। बूढीआमाले अझै अनुरोध गरेपछि उनी आए। घरभित्र बच्चा रोइरहेको तर बाहिरबाट ढोका बन्द रहेको कुरा सुनाउनुभयो। एकछिन त ती व्यक्ति अलमल्ल परे। उनले यताउति हेरे, केही देखेनन्। अलिकति परतिर एउटा चुच्चे ढुंगा थियो। उनले बूढीआमालाई भने, ‘यस ढुंगाले ताला फुटाऊँ कि ? फेरि घरमा कोही छैनन्। के गर्ने होला ? पछि आएर चोर पो भन्ने हुन् कि ?’ बूढीआमाले भन्नुभयो, ‘तपाईं यसलाई फुटाउनुस्। यसको जिम्मा म लिन्छु। बच्चाका बाआमालाई म सम्झाउँला।’ बटुवाले त्यही ढुंगाले ताला फोरे। हतारहतार दुवै भित्र पसे। शेरे पनि पछि लाग्यो। बिरालो ‘म्याउँ’ गर्दै उफ्रेर भाग्यो। शेरे बिरालाको पछि लाग्यो।

बच्चाको छेउमा मरेको मुसो थियो। बूढीआमाले बच्चालाई बोक्नुभयो। बच्चा शान्त भयो। बूढीआमाले भन्नुभयो, ‘धन्य प्रभु, बच्चालाई केही भएको रहेनछ।’ बटुवा बिदा हुन लागेका थिए। बच्चाका बुबाआमा पनि आइपुगे। घरको ढोका खुलेको देखेर उनीहरू तर्सिए। उनीहरू घरभित्र पसे। त्यहाँ त बूढीआमाले बच्चा पो बोकिरहनुभएको छ। उहाँले बच्चाका बाआमालाई भन्नुभयो, ‘यसरी बच्चालाई एक्लै छोडेर हिँड्नुहुन्छ ? बच्चालाई केही भएको भए के हुन्थ्यो। चिच्याइरहेको बच्चा निकाल्न यी बाबुको सहयोगले ताला फोरेर भित्र पस्यौं। दशा भन्ने कुरा बाजा बजाएर आउँछ र ?’ बच्चाका बाआमाले धन्यवाद दिए। उनीहरू केही बोल्न सकेनन्।

प्रकाशित: २४ फाल्गुन २०७६ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App