१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सधैँको प्रश्न, के हो नारी जीवन ?

भनिन्छ, समाज एउटा सोच्न सक्ने, अवलोकन गर्न सक्ने, मूल्याङ्कन गर्न सक्ने, एउटा विवेकशील जमात हो तर बेलाबेलामा यो विवेकशील समाजले विवेक गुमाउँछ । जब कुनै अनपेक्षित घटना घट्छ, त्यस्तो बेलामा विवेकशील समाजले त्यसलाई विनयी प्रत्युत्तर दिनुपर्ने हो तर त्यस्तो हुँदैन । अझ एक कदम अघि बढेर उत्तेजना र उद्वेलित बनाउन स्वयं समाज लागिपर्छ ।

पछिल्ला केही समयमा हत्या, बलात्कारका समाचारहरु प्रस्तुत गर्ने बेलामा मनै खल्बलाउने किसिमका प्रस्तुति मिडियामा देख्न पाइन्छ । खासगरी अनलाइन र युट्युबका प्रस्तुतिमा त्यस्तो देखिन्छ । एउटा विवेकशील जमातको जिम्मेवारी कहीँकतै सही तरिकाले समुचित उपयोग भएको देखिँदैन ।

एउटी नारी बलात्कृत हुन्छे, उसको हत्या हुन्छ । फेरि एउटी बालिकाको बलात्कार हुन्छ र बलात्कारी फरार हुन्छ, महिनौँ उसको बारेमा प्रहरी अज्ञात रहन्छ । यस्तो अवस्थामा प्रसारित हुने समाचारले सामाजिक सञ्जाल र अनलाइनमा सनसनीपूर्ण खबर प्रसारित भइरहन्छन् ।

समाचारको प्रस्तुतिको शैली पनि यसरी हत्या गरियो, यसरी पिटियो-कुटियो, लछारपछार गरियो भनेर समाचारलाई अतिरञ्जित गरिन्छन् । हरेक पटक हुने यस्तो प्रस्तुतिले कतिलाई मनोरञ्जन प्राप्त होला तर यसले समाजको संवेदनशीलतामा भने हरेक पटक प्रश्न उठाइरहेको हुन्छ कि वास्तवमा हामी कस्तो समाज हौँ ? संवेदनशील समाज हौँ कि अरुको पीडालाई स्वाद मानीमानी पस्कने, परपीडक समाज हौँ ?

हरेक पटक म जब हत्या र बलात्कारका समाचारहरु पढिरहेकी हुन्छु, पूरै पढ्न नसकेर आङ सिरिङ्ग भइरहेको हुन्छ । मलाई त यस्तो हुन्छ भने घटना घटेको परिवार र त्यो गाउँठाउँका मानिसलाई कस्तो महसुस हुन्छ होला ? कतिपय अवस्थामा त परिवारको मुटु नै चिरिन्छ होला ! यस्तो संवेदनशील विषयमा कलम चलाउँदा त्यही भएर थोरै मात्र भए पनि विचार पुर्‍याउनुपर्ने हुन्छ ।

त्यसो त मिडियाले सत्यतथ्य ल्याउन भूमिका खेल्नु नै पर्छ, यसमा कुनै दुई मत छैन । हो, अनुसन्धान गर्नुपर्छ तर हरेक कुरा अनुसन्धान भइरहेको र पूरै प्रमाण फेला नपारिसकेको अवस्थामा ‘अन्दाजीफिकेसन’ पत्रकारिताले भने पत्रकारिताको विश्वसनीयतालाई नै अप्ठेरो मात्र बनाउँदैन, बदनाम नै बनाइदिन्छ ।

विगतका २५ वर्षमा मैले पत्रकारितालाई नजिकबाट नियालेर हेरेको अनुभवमा मैले यो कुरा भनिरहेकी हुँ । तानाबाना बुनेर सामाजिक सञ्जालभरि छरपष्ट भएका मरमसला हाली पस्किएका समाचारले एउटा नारीलाई बाँचुञ्जेल मुटु छियाछिया बनाउन काफी हुन्छ ।

त्यसै पनि समाज नारीका पक्षमा हुँदैन । त्यस्तो समाजले बलात्कृत नारीमाथि गर्ने हेयको व्यवहार त गर्छ नै त्यो घरका अन्य सदस्यहरुको मनोविज्ञानमा नराम्रो प्रभाव पर्छ । आफ्ना आमा, दिदीबहिनीहरुका बारेमा दिनरात समाचार छापिँदा स्वयं समाजलाई पनि नराम्रो छाप पर्छ । स्वस्थ समाजका लागि यस्ता खबर हानिकारक हुन्छन् ।
पचास हजारभन्दा बढी बालिकाहरु घरेलु कामदार छन् । ती बालिकाहरु कुनै न कुनै रुपमा घरेलु हिंसाको शिकार परेकै हुन्छन् । कलिलै उमेरमा भोग्ने घरेलु हिंसाले तिनको मनमस्तिष्कमा पर्ने प्रभावले कालान्तरमा कुनै गतिलो परिणाम अवश्य ल्याउँदैन । यसका लागि कतिपयले घरेलु कामदारमा कम उमेरका बालबालिकालाई राख्न नहुने समाचार यसअघि नसुनिएको होइन तर त्यो पनि उचित कार्यान्वयनको अभावमा अलपत्र परेको छ ।

जुन घरमा जोसुकै घरेलु कामदार आएको होस्, उसलाई राम्रो वातावरण दिइनुपर्नेमा कुनै शंका छैन, साथै उसको भविष्य सुनिश्चित गर्ने र हुने पक्षमा पनि ध्यान दिइनुपर्छ । त्यस्तो सुनिश्चितताको अभावमा दुर्घटना घट्ने गरेका छन् र एउटै घटनाले समग्र घरेलु कामदार तथा घरेलु काम दिने रोजगारदाता दुवैप्रति नकारात्मक भावना चुलिएर जान्छ ।

केही वर्षयता महिला सशक्तीकरणका नारा धेरै सुनिएको छ तर दिनहुँजसो हिंसा र बलात्कारका घटना बढिरहेका छन् । कसैले जागिर दिलाइदिन्छु भनी शोषण गरिरहेको छ, कसैले जागिर दिलाएबापत शारीरिक ज्यालाको माग गरिरहेको छ र त्यसैलाई आधार बनाएर महिनौँ शारीरिक शोषण गरेको छ ।

त्यसो त पछिल्लो समय बलात्कारका घटनामा उजुरी बढ्दो क्रममा छ । यस्ता उजुरीले देखाउँछन्, पहिला चुपचाप सहने बानी परेका महिलाहरु सक्रिय भएर आफ्नो हकहित र अधिकारका लागि आवाज उठाइरहेका छन् । अब अत्याचारलाई चुपचाप सहने पक्षमा उनीहरु छैनन् । जब–जब चर्को स्वरमा अधिकारका लागि आवाज उठ्छन्, समाजले त्यसलाई त्यत्तिकै गलत सिद्ध गर्न सक्ने छैन । ढिलै सही आवाज सुन्न समाज बाध्य हुन्छ र आवाजलाई मान्यता प्रदान गर्छ÷गरिरहेको हुन्छ । पछिल्लो समय सबै किसिमका शोषणविरुद्धमा उठेका आवाजलाई सुन्न थालिएको छ ।

कतिसम्म भने ‘ठूलाठालु’ भनिएकाहरु पनि अनुसन्धानको घेरामा पर्न थालेका छन् । यो एउटा समाजका लागि सन्तोषको समाचार हो । नत्र त जतिसुकै ठूलो अन्यायमा पनि ‘ठूलाठालु’ बच्नु र निरीह मात्र दण्डको भागिदारी हुनुले न्यायपूर्ण समाजको अवधारणाले नै कतै बाटो बिराएको हो कि भन्ने लाग्न थालिसकेको थियो । यसले अन्यायविरुद्ध आवाज उठ्दा त्यो आवाजलाई सुनिदोरहेछ है भन्ने आश्वस्तताको अवस्था सिर्जना भएको भान दिलाएको छ ।

प्रकाशित: २० फाल्गुन २०७६ ०६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App