१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

यसरी राखिएको छ क्वारेन्टाइनमा वुहानबाट ल्याइएका नेपालीलाई

काठमाडौं-  कोरोना भाइरस (कोभिड–१९)को इपिसेन्टर मानिएको  चीनको वुहानबाट उद्वार गरेर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ। नेपाल एयर लाइन्सको विमान आज बिहान त्रिभुवन विमानस्थलमा उत्रिएसँगै विशेषरुपमा तयार पारिएका सवारी साधानमा राखेर क्वारेन्टाइनमा पुर्‍याइयो।

उनीहरु चढेका सवारीलाई एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेर खरिपाटी स्थित क्वारेन्टाइन पुर्‍याइएको थियो। उनीहरुलाई त्यहाँ १४ दिनसम्म राखिने छ। क्वारेन्टाइन स्वास्थ्य उपचारदेखि खेलमैदान सम्मको व्यवस्था गरिएको छ।

१७५ जनालाई खरिपाटीमा राखिए पनि उनीहरुलाई लिन गएको विमानका पाइलट, को-पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई नगरकोटस्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ।

नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इञ्जिनीयर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनासहितको टोली शनिबार चीनको वुहान गएको थियो । बुहानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर विमान आज बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।    

नेपाल आउन तयारी अवस्थानमा चीनको वुहान एयरपोर्टमा आएकामध्ये ६ जनाको शरीरमा ३७.३ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देखिएपछि चीन सरकारले नै नेपाल फिर्ता नपठाएको र चारजनाले त्यही बस्ने इच्छा देखाएका थिए। वुहान ५५ , झिङझाओ ४८, सियन २९ , इन्सी २६ , जिङमेन ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ लाई नेपाल ल्याइएको हो।    
 

के गरिन्छ क्वारेन्टाइनमा ?

खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा नवीन फुयाँलको नेतृत्वमा चिकित्सक र  नर्सहरु रहेका छन्। सो टोलीले क्वारेन्टाइनमा उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र शंका लागेमा थप उपचारको लागि अस्पताल पठाउने छ। आज नै फर्काइएका १७५ को रगत सङ्कलन गरी परीक्षणका लागि पठाउने तयारी डा. फुयाँलको टोलीले गरेको छ।


चीनबाट विमान चढ्नु अघि र काठमाडौँको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण भएपछि सबैको स्वास्थ्य जाँच गरिएको थियो। त्रिभुवन विमानस्थलमा तापक्रम परीक्षण गर्दा कसैमा पनि समस्या देखिएको छैन।   नमूना परीक्षण गर्दा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने बताइएको छ।  जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ । सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड तयार पारेको छ।    
      क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ। ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ।    
      क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै तीनवटा वासिङ मेशिन, ओछ्यान, तावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स, औषधिलगायत दैनिक रुपमा आवश्यक सबै सामग्री प्रत्येक बेडमा पुर्‍याइएको छ।    
     एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ। शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ।    


      मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने, क्यारेमबोर्ड, लूडो, बच्चाका लागि बललगायतको खेल खेल्ने व्यवस्था गरिएको छ। कोठाभित्रै बस्ने नभई कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ।    
     क्वारेन्टाइनमा १४ दिनमा पनि स्वास्थ्य जाँच एवं रगत सङ्कलन गरिनेछ भने अरू दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मामिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ।    
     कुनै कुराको आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ ।
     क्वारेन्टाइनमा रहँदा अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेनटाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ। प्रत्येक दिन बिहान बिहानी खाजा, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ। पत्रकारका लागि समेत क्वारेन्टाइनमा  व्यवस्था गरिएको छ। त्यहाँ बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ।    
     क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ। चौबिसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ। क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ।    
        राससको सहयोगमा

 

प्रकाशित: ४ फाल्गुन २०७६ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App