coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

फ्रान्समा नेपाली भाषा पढाउने गुरु

फ्रान्सको राजधानी पेरिसमा रहेको भाषा तथा अनुसन्धानसम्बन्धी काम गर्ने फ्रेन्च संस्था इनाल्कोमा नेपाली विषय पनि समावेश गरिएको छ। सन् १६६९ मा स्थापित यस संस्थामा नेपाली विभाग छ, जसको प्रमुखमा फ्रेन्च नागरिक रेमी बोर्द छन्। सन् १९७४ मा दक्षिण फ्रान्सको जोहोंदमा जन्मिएका बोर्द मानवशास्त्र तथा भाषा साहित्यमा स्नातकोत्तर हुन् भने ‘नेपालको सुदूरपश्चिम लोकसाहित्यमा विधावारिधि गरेका छन्।

नेपाल यात्रा
बोर्द सन् १९९८ ताका फ्रान्सबाट पाकिस्तान, भारत हुँदै नेपालको महेन्द्रनगरमा आइपुगे। त्यसपछि डोटी पुगेका उनी सुदूरपश्चिमको कला र संस्कृतिबाट निकै प्रभावित भए। डोटीमा तीन महिना खोज अनुसन्धानमा बिताए। उनको अध्ययन जडीबुटी र हिन्दूधर्ममा केन्द्रित थियो। धर्मको नाममा कुनै ठूलो घटना नघटेको नेपाली इतिहासबाट उनी प्रभावित भए। नृविज्ञानबारे विधावारिधि गरेकी फ्रेन्च नागरिक मारी लोकम्थले उनलाई सुदूरपश्चिमकै समाज तथा इतिहासमा विधावारिधि गर्न सल्लाह दिइन्। त्यसपछि उनी सुदूरपश्चिमी लोकसाहित्यको अनुसन्धानमा लागे। उनले मुख्यतः दमाई जातिको गीतबारे अध्ययन गरे, जुन गीत बैंशी राजाको इतिहासमा आधारित छ। यो गीत बिहे र रोपाइँमा निकै लोकप्रिय मानिन्छ। त्यस्तै, ‘भारत’ र ‘हुर्केली’को अनुसन्धान विद्यावारिधि शोधप्रबन्धमा समेटेका छन्।

उनले अनुसन्धानका क्रममा हुर्केली गीत गाउने, बजाउने तथा नाच्दा लगाउने पोसाक पाए। कुनै समयमा यो गीत नांगो तरबार लिएर गाउँदै नाचिन्थ्यो। गीत गाउने परम्परा यथावत् रहे पनि गीतसँगै नाच्ने परम्परा बिस्तारै लोप हुँदै गएको उनी बताउँछन् । उनले रामायण–महाभारतका कथामा बाबुको हत्यारालाई छोराले बदला लिने, राजाको छोरीसँग बिहे गर्ने जस्ता रोचक घटना अनुसन्धानबाट थाहा पाए। अनुसन्धानका क्रममा उनी करिब एक वर्ष डोटीमा बसे। डोटेली परम्परा र दर्शनको गहन अध्ययन  प्रकाशनमा ल्याउन उनको विशेष भूमिका छ। अनुसन्धान सकिएपछि उनी फ्रान्स फर्किए। त्यहाँ रुचिअनुसारको काम नपाएकाले करिब दुई वर्ष कृषि कर्ममा लागे। यसैबेला उनलाई पेरिसस्थित इनाल्कोको नेपाली विभाग प्रमुख बन्न प्रस्ताव गरियो। उनी सन् २००९ देखि इनाल्कोमा आबद्ध छन्। उनीअघि यस विभाग प्रमुखमा फ्रान्सकै मारी क्रिस्टिन काबो थिइन्, जसले नेपाली–फ्रेन्च शब्दकोश समेत लेखेकी छन्।

इनाल्को र नेपाली भाषा
इनाल्को भाषा तथा अनुसन्धानमा क्रियाशील संस्था हो, जसमा मध्य युरोपदेखि अफ्रिका, एसिया र अमेरिकासम्मका एक सय पाँच भाषा तथा साहित्यको पठनपाठन हुन्छ। यति धेरै भाषा एकै ठाउँमा पढ्न पाइने यो नै विश्वमा एक मात्र संस्था हो। इनाल्कोमा नेपाली भाषा तथा साहित्यको तीन वर्षे स्नातक सञ्चालन गरिएको छ। पहिलो वर्षमा नेपालको इतिहास र समाजबारे पढाइ हुन्छ। दोस्रो वर्षमा, नेपालको संस्कृति, हिन्दू तथा बौद्ध धर्म, दक्षिण एसियाको आर्थिक र समाज रूपान्तरणसम्बन्धी विषय समावेश गरिएको छ। त्यस्तै, तेस्रो वर्षमा नेपाली साहित्य र भारतीय इतिहासको पठनपाठन हुन्छ। शिक्षणका क्रममा पाठ्यपुस्तक, अडियो र भिडियो प्रयोग गरिन्छ।

इनाल्कोमा शिक्षण शुल्क निकै कम छ। बर्सेनि करिब १२ नेपाली विद्यार्थी भर्ना हुन्छन्। यहाँका विद्यार्थी प्रायः नेपालीसँग बिहे भएका फ्रेन्च र तिनका छोराछोरी नै  हुन्छन्। त्यस्तै, नेपाल घुमेर आएका, नेपालप्रति चासो राख्ने, अनुसन्धान गर्ने र नेपालमा काम गर्न जाने सोच भएकाले पनि नेपाली भाषा तथा साहित्य अध्ययन गर्छन्। नेपाली बाबुआमामा भने छोराछोरीलाई फ्रेन्च सिकाउने मोह बढी देखिन्छ, उनीहरूले आफ्ना छोराछोरीलाई नेपाली भाषा विभागमा खासै भर्ना गर्दैनन् । तीन नेपालीले नेपाली भाषा तथा साहित्य पढ़ाउँछन्। नेपाली विभाग नै हाँकेका बोर्द नेपालका लागि विशेष व्यक्ति हुन्, जसले विदेशमा नेपाली भाषा, साहित्य र नेपाललाई चिनाइरहेका छन्। उनले सन् २०१८ मा ‘सोझो मान्छेको बाटो’ पुस्तक प्रकाशन गरे, यसमा उनको नेपाल बसाइ, कृषि, धर्म, जीवनस्तर, संस्कृति, परम्परालगायत विषय समावेश छन्।

माओवादी विद्रोहताका नेपाल आएका बोर्दले नेपाली भाषा, जीवनशैली र तिनको परिवेश नियाले, जसलाई पुस्तकमा चित्रण गरेका छन्। उनी सोही पुस्तक अंग्रेजीमा अनुवाद गर्ने सोचमा छन्। त्यस्तै, उनले नेपाली साहित्यकार बिपी कोइरालाका कथाहरू र महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता फ्रेन्चमा अनुवाद गरेका छन्। उनी यी अनुवादित कृति छिट्टै प्रकाशन गर्ने सोचमा छन्। उनले आगामी वर्ष नेपाल आएर सुदूरपश्चिमका बैतडी, बझाङलगायत जिल्लामा अनुसन्धान गर्ने योजना बनाएका छन्। उनी दमाई जातिको नयाँ पुस्ता, लोकसंस्कृति र साहित्यको अनुसन्धान गरेर प्रकाशन गर्न चाहन्छन्। २०७२ को भूकम्पपछि नेपालसम्बन्धी शोधकार्यमा संलग्न फ्रान्सेली अनुसन्धान वा अध्यापन संस्थामा कार्यरत लगभग ७० शोधकर्ता तथा विद्यार्थीको सञ्जाल सिर्जना भएको। त्यसको मूल उद्देश्य नेपाललाई निरन्तर सहयोग गर्नु हो।

बोर्दकै अगुवाइमा सञ्जालद्वारा ‘रेजो सेरसर नेपाल’ संस्था नुवाकोटमा स्थापना गरिएको छ। उनी चार वर्षका लागि संस्थापक अध्यक्ष भई सक्रिय रूपमा काममा लागेका छन्। यस संस्थाले प्रसूति लगायत स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App