७ आश्विन २०७७ बुधबार
अन्य

स्तुपामा पिच्चपिच्च थुक्नेलाई ‘टिस्यु पेपर’

एकाबिहानै बौद्ध स्तुपामा भिक्षु–भिक्षुणीहरू माने घुमाउँदै  हुन्छन्, मर्निङ वाक गर्नेहरू हुन्छन्, दीनदुःखीहरू हात पसार्दै मागिरहेका हुन्छन्।  यही भीडमा ६३ वर्षीया छुङ्दा शेर्पा देखिन्छिन्, उनको हातमा माइक छ। माइकबाट अमृतवाणी गुन्जिरहन्छ, पिच्चपिच्च थुक्ने बानी छोडौं।  स्तुपा परिसरमा थुक्नु पाप हो ।

छुङ्दा भन्छिन्, ‘बौद्धमा परिक्रमा गर्दै जाँदा भक्तजनले जथाभावी थुकेको, सिँगान र फोहोर फ्याँकेको देखेर मलाई लाज लाग्यो। स्तुपा परिसर सफा राखौँ भन्ने पनि विचार आयो।’

यसपछि स्तुपा परिसर सफा–सुग्घर बनाउने उद्देश्यले उनी एउटा सानो डेक र माइक्रोफोन लिएर स्तुपामा परिसरमा घुम्न  थालिन्। सिँगान, खकार र थुक व्यवस्थापन गर्न उनले अनेक उपाय सोचिन्। यसैक्रममा उनले भक्तजनलाई टिस्यु पेपर बाँड्न थालिन्।
छुङ्दा भक्तजनलाई अनुरोध गर्दै सचेत गराउँछिन्, ‘धर्म कमाउन आउँदा पापको बाटो नरोजौं।’

स्तुपा परिसरमा ठाउँठाउँमा सूचनामूलक ब्यानर राखिएका छन्। तैपनि भक्तजन तथा अन्य मानिसले थुक, खकार र सिँगान जथाभावी फालेका छन्।  उनी भन्छिन्, ‘बौद्ध परिसरको सुन्दरता कायम राख्ने  कोसिस गरौं।  खकार र सिँगान मुक्त बनाउने अभियानलाई सबै मिलेर सफल पारौँ।’

उनी वृद्धवृद्धाले खकार र सिँगान जथाभावी फालेकामा दुःख मान्छिन्, यसलाई उनी मानवीय गल्तीका रूपमा लिँदै भन्छिन्, ‘खकार, सिँगान र थुक फाल्नु गल्ती होइन, तर व्यवस्थापन गर्न नसक्नु गल्ती हो।’

भीडमा ६३ वर्षीया छुङ्दा शेर्पा देखिन्छिन्, उनको हात माइक हुन्छ। माइकबाट अमृतवाणी गुन्जिरहन्छ, पिच्चपिच्च  थुक्ने बानी छोडौं।  स्तुपा परिसरमा थुक्नु पाप हो ।

छङ्दाले सुरु गरेको स्तुपा सिँगान, खकार र थुकमुक्त अभियानअन्तर्गत ‘टिस्यु पेपर’ वितरणमा अरू मानिसले सहयोग गर्न थालेका छन्। दिनहुँ उनको पदचाप पछ्याउने सहयोगी मन बढ्दै गएका छन्।

छुङ्दा बौद्ध स्तुपालाई थुक, सिँगानमुक्त क्षेत्र बनाउन चाहन्छिन्।  उनी भन्छिन्, ‘बौद्ध  परिसरमा थुक्न र सिँगान फ्याँक्न मनाही छ।’  उनले टिस्यु पेपर बाँड्न थालेको करिब दुई महिना बितिसकेको छ। उनी भन्छिन्, ‘दिनमा ३ सय  बढी बन्डल टिस्यु पेपर बाँड्छु।’

बिहान–बिहानै भगवान् सम्झेर धर्मकर्म गर्न आए पनि मनको भगवान्लाई दूषित बनाइएको उनको भनाइ छ। उनी भक्तजनसँग आग्रह गर्छिन्, ‘स्तुपा परिसरमा प्रवेश गर्दा टिस्यु पेपर बोकेर हिँडौँ।’

त्यस्तै, उनले स्तुपा परिसरमा ६ वटा डस्टबिन र ६ वटा चेतनामूलक पम्प्लेट राखेकी छन् । यसपछि बौद्ध परिसरमा जथाभावी फोहोर फ्याँक्ने र  प्याच्चप्याच्च थुक्ने बानी कम हुँदै गएको उनले सुनाइन्। उनी भन्छिन्, ‘अहिले नब्बे प्रतिशत बौद्ध परिसर सफा भएको छ।’

भ्रमण वर्ष २०२० मा भित्रिने पर्यटकले बौद्ध स्तुपाबारे गलत प्रचार नगरून् भन्ने उनको चाहना हो। उनी स्तुपा परिसर सदैव सफा र आकर्षक भएको चाहन्छिन्। उनी पर्यटकसासु सभ्य नागरिकको परिचय दिन पनि स्तुपा परिसर सफा राख्नुपर्ने बताउँछिन्।

बिहान ७ बजेदेखि आठ बजेसम्म उनी टिस्यु पेपर बाँड्छिन्। सुरुसुरुमा आफ्नै लगानीमा टिस्यु पेपर बाँडिन्। पछिपछि स्थानीय तथा भक्तजनले उनको अभियानलाई साथ दिएको उनले सुनाइन्।

उनी बौद्ध स्तुपा विभिन्न जातजातिको साझा थलो भएको बताउँछिन्। यहाँ स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्छ। उनी भन्छिन्, ‘जथाभावी थुक्ने र सिँगान फ्याँक्दा स्तुपा परिसर  प्रदूषित हुँदै गएको छ, विभिन्न रोग लाग्न सक्छ।  आफैँंले फालेको सिँगानले आफैँ बिरामी परिएला, सचेत होऔँ, सभ्य नागरिक बनौँ।’

छुङ्दाले बौद्ध स्तुपा परिसर सफा राख्न बौद्ध समाज कल्याण गुठीलाई समेत आग्रह गरेकी छन्, आफ्नो अभियानबारे जानकारी दिएकी छन्।

छुङ्दाले टिस्यु पेपर बाँड्न थालेको तीन दिन भएको थियो, लाजिम्पाटकी सतिला नकर्मी लामाले उनको प्रशंसा गरिन् र उनलाई अभियानमा साथ दिइन्। सतिला भन्छिन्, ‘यस्तो जाडोमा भक्तजनको सेवामा उहाँ खटिएको देखेर म निकै प्रभावित भएँ। यसपछि उहाँलाई सघाउन मन लाग्यो।’

सरिता बिहान–बिहान दैनिक रूपमा बौद्ध स्तुपा आउँछिन् र  बौद्ध खकार, सिँगानमुक्त क्षेत्र अभियानमा सरिक हुन्छिन्। उनी भन्छिन्, ‘बिहान–बिहान परिक्रमा गर्न बौद्ध आउँछु, र यी आमाको सेवारूपी प्रयासलाई सफल पार्न लागिपर्छु।’  उनी कामअनुसारकै परिणाम पाउँदा काम गर्ने जाँगर बढेको बताउँछिन्।

त्यस्तै व्यक्ति हुन्,  ओखलढुंगा चम्पादेवी गाउँपालिका–४ का लोकबहादुर कार्की, जो बौद्धमा कोठा भाडामा लिएर बस्छन्। उनी दैनिक रूपमा मर्निङ वार्क गर्न  बौद्ध परिक्रमामा निस्कन्छन्। यस क्रममा उनले एकदिन वृद्धा (छुङ्दा शेर्पा)ले माइक्रोफोनबाट भक्तजनलाई जथाभावी नथुक्न अनुरोध गरेको सुने। उनी ती वृद्धाको सेवारूपी कर्मबाट प्रभावित भए। उनले ती वृद्धलाई सोधे, ‘आमा, हजुरको सेवामा म पनि आबद्ध हुन सक्छु।’
आमाले भनिन्, ‘हुन्छ, तपाईं हामी मिलेरै बौद्ध स्तुपा परिसर सफा राख्ने हो, आउनुस्।’

कार्की छुङ्दाको स्वीकृतिसँगै टिस्यु पेपर वितरण तथा थुक, खकार र सिँगान व्यवस्थापनमा खटिन्छिन्। उनी  टिस्यु पेपर बाँड्दै ‘जथाभावी नथुकाँै, मन्दिर परिसर सफा राखाैँ’ भन्दै हिँड्छन्। उनी भन्छन्, ‘एउटा मानिसको प्रयासमा यत्रो सहयोग मिल्दो रहेछ भने सामूहिक रूपमै सेवामा लाग्दा झनै सहज होला।’

कार्की दिनहुँ बिहानपख बौद्ध परीसरभित्र रहेको पसलमा बस्छन्। उनी भन्छन्, ‘बौद्ध स्तुपामा रहेका बुद्धका आठ आँखाले फोहोर नगर भन्छन्। त्यसैले म निरन्तर परिसर सरसफाइमा  लागिपरेको छु। मानिसको नाकबाट सिँगान बग्नु गल्ती होइन, तर सम्बन्धित ठाउँमा नफाल्नु गल्ती हो। मानिसको व्यवहार फरक–फरक हुन्छ। सफा ठाउँमा रमाउन सबैलाई मन लाग्छ, तर सफा गर्न कोही अघि बढ्दैनन्।’

उनी बालबालिकाले जथाभावी थुक र सिँगान फ्याँकेर हैरान बनाएको सुनाउँछन्। उनी भन्छिन्, ‘बालबालिकाले कुरा बुझ्दैनन्। जथाभावी फोहोर गरिदिन्छन्। म विशेष गरी बालबालिको निगरानी गर्छु।’

कार्की जहिल्यै भक्तजनलाई टिस्यु पेपर बाँड्न नसकिने सुनाउँछन्। उनी भक्तजनलाई थुक, खकार र सिँगान डस्टबिन वा प्लास्टिकमा फ्याँकेर स्तुपा परिसर सफा राखिदिन अनुरोध गर्छन्। उनी भन्छन्, ‘यो अभियानले जनचेतना फैलाउँछ। हामी आफैँ सचेत हुनुपर्छ।  आदर्श नागरिकको परिचय दिने हो भने जताततै सफा देखिन्छ।’
कार्की सांस्कृतिक महत्वप्रति ध्यान घट्दै गएकाले यस्ता धार्मिक धरोहरको बेवास्ता भएको बताउँछन्।

त्यस्तै, छुङ्दालाई सहयोग गर्दै आएकी अर्की नारी हुन्, नोराजिङ शांगमो। उनी भन्छिन्, ‘अरूलाई सिकाउनुभन्दा आफैँंबाट काम सुरु गर्नुपर्छ। आफू राम्रो मार्गमा लोगे अरूलाई राम्रो बाटोमा ल्याउन सजिलो हुन्छ।’

उनी समाजसेवामा लाग्न चाहन्थिन्, तर मेसो पाएकी थिइन्। उनले छुङ्दाबाट प्रेरणा पाइन्। उनी भन्छिन्, ‘समाजसेवाको मार्ग भेट्टाएकी छु। बिहानको एक घण्टाको समय यस अभियानलाई दिन्छु।’

अभियानकै कारण बौद्ध स्तुपा परिसर सफा र आकर्षक देखिँदै गएको उनले सुनाइन्। उनी भन्छिन्, ‘बौद्ध हाम्रो पवित्र स्थान हो, यसको संरक्षण हुनुपर्छ। सरसफाइ हुनुपर्छ।’

बौद्ध क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाले भ्रमण वर्ष २०२०  को अवसरमा बौद्ध परिसरमा सुरक्षाकर्मी खटाइएको जानकारी गराए। उनी भन्छन्, ‘बौद्ध सडकखण्डमा सडक नियमावलीअनुसार ठाउँठाउँमा ट्राफिक नियमका पोस्टर राखिएका छन्। बौद्ध परिसरप्रति मानिसको सकारात्मक सोचलाई सम्मान गरिएको छ। फोहोरमुक्त क्षेत्र बनाउनमा क्षेत्र विकास समिति क्रियाशील छ।’

बौद्ध क्षेत्र विकास समितिले बौद्धनाथ स्तुपा परिसरमा स्विपरको व्यवस्था गरेको छ। यसबाट दिनमा  तीनपटक स्तुपा परिसरको सरसफाइ भइरहेको उनले जनाए।  उनी भन्छन्, ‘स्तुपा परिसरमा जम्मा हुने फोहोरमैलालाई व्यवस्थित गर्न बौद्ध क्षेत्र विकास समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस समितिले सरसफाइ केन्द्र प्रालिसँग सम्झौता गरेर फोहोर व्यवस्थापन गर्दै छ।’

समितिको कार्यालय भवनमा पर्यटकका लागि शौचालयको व्यवस्था गरिएको छ। सो शौचालयको नियमित सरसफाइको प्रबन्ध पनि मिलाइएको छ।  

छुङ्दा आफूलाई सहयोग गर्ने सबै जनालाई धन्यवाद दिँदै भन्छिन्, ‘सबैले हातेमालो गरेर अघि बढिएमा बौद्ध स्तुपा जस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाको सरसफाइ र संरक्षण हुन्छ।’

प्रकाशित: ३ फाल्गुन २०७६ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App