२१ मंसिर २०७९ बुधबार
अन्य

पर्यटनमा आशा

इलामका पर्यटकीयस्थल । तस्बिर : भीम चापागाईं/नागरिक

केही सातादेखि तराई हुस्सुले ढाकिएको छ । बिहान–साँझ अत्यन्त चिसो । घरबाहिर निस्किन, कामकाजमा जान सर्वसाधारणलाई गाह्रो परिरहेको छ । तर, यहीबेला इलामलगायत पहाडी जिल्लाको मौसम यसरी खुलेको छ कि, असोज–कात्तिकजस्तै । डाँडाकाँडा खुलेका छन् । हिमाल टलक्क टल्किएका छन् । इलामका अग्ला डाँडाकाँडाबाट सूर्याेदय–सूर्यास्त प्रस्ट देखिँदैछ । चियाबारीको हरियाली सधैँका हिउँदभन्दा आकर्षक छ । र, बेला–बेला माटो भिजाउने पानी परेकाले बोटबिरुवामा हरियो फर्केर पहाडी पर्यटकीय क्षेत्र चाहिँ घुमौं–घुमौं लाग्ने भएका छन् ।

पर्यटन वर्ष सन् २०२० को सुरु सँगै इलामका कन्याम, अन्तुडाँडा, सन्दकपुर, माईपोखरी, फिक्कल, पशुपतिनगर, जौबारी, तुम्लिङ, मेघमा, कालपोखरी, गजुरमुखी, लारुम्बालगायत सबै पर्यटकीयस्थलको मौसम राम्रो छ । केही वर्षयता पूर्वाधारमा समेत सुधार आएकाले यहाँका पर्यटकीयस्थल पुग्न अब धेरै समस्या पनि छैन । झापाबाट इलामतिर लाग्नेबित्तिकै मेची राजमार्गको दायाँ–बायाँ आकर्षक र सुविधासम्पन्न होटल, रिपोर्ट खुलेका छन् । दूरदराजका पर्यटकीय गाउँहरूमा पनि अहिले होम–स्टे स्थापना भएकाले अब पर्यटकलाई इलाम आएर खान–बस्न समस्या छैन ।

इलामको मौसम छिनछिनमै परिवर्तन हुन्छ । एकै दिनमा घाम लाग्ने, हुस्सु लाग्ने, पानी पर्ने, फेरि त्यही प्रक्रिया दोहोरिने मौसम इलामको विशेषता नै हो । ‘बिहानले नै दिउँसोको संकेत गर्छ’ भन्ने भनाइ इलामको मौसममा चाहिँ अपवाद नै हुन्छ ।

तर, हिउँद र वर्षामा इलामका पर्यटकीयस्थल घुम्नुको विशेषता आ–आफ्नै हुन्छ । चियाको हरियो गलैंचामा नीलो आकाश र सेतो हिमाल पृष्ठभूमि राखेर फोटो खिच्न पाए स्वर्गै पुगिएला भन्ने लागेर यहाँ आएको सुनाउने पर्यटक भेटिन्छन् । भदौ दोस्रो सातादेखि भने प्रायः पर्यटकीय सिजन सुरु हुन्छ । बर्खाको हिलो, फोहोर सकिएर त्यसै पनि दसैं आएका बेला चियाका बोटका पनि ढकमक्क हरियो मुना टिप्ने सिजन बाँकी नै हुन्छ । आकाश छ्यांग खुल्छ । कन्याम, इलाम, अन्तु, पानीटारको हरियो चियाबारीको पृष्ठभूमि आफैँमा उत्कृष्ट हुन्छ । अझ सन्दकपुर, अन्तु र कन्यामबाट कञ्चनजंघालगायतका हिमालसमेत प्रस्ट देखिने भएकाले आकर्षण थपिन्छ ।

तराईमा गर्मीको भावर उठिरहेका बेला इलामले चिसो दिन्छ र तराईमा हिउँदको थुरथुरकाम्नु पर्ने शीतलहरमा इलामको घमाइलोले पर्यटक लोभ्याउँछ । झापाको चारआलीबाट मेची राजमार्गतिर मोडिएर करिब १५ किलोमिटर हिँडेपछि इलामको आकर्षणले मन तरंग बनाउन थाल्छ । कोल्बुङको उकालो सुरु भएसँगै मेची राजमार्ग वरपर चियाका बुट्टामात्र होइन, इलामे किसानको पौरख पनि देखिन्छ । इस्कुस बेचेर वर्षको ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने किसान यहीँ छन् । चिया, दूध, अकबरे खोर्सानी, मौसमी र बेमौसमी तरकारी, फलफूल अनि काँक्रा खेतीबाट लाखौं रुपैयाँ आम्दानी गरिरहेका किसानको घरमै गएर उनीहरूको पौरख नियाल्न चाहने पर्यटकलाई त्यो सुविधा पनि छ । कुटीडाँडाका सिँढी उक्लिएर पाथीभराको दर्शन गरेपछि हर्कटे, कन्याम फिक्कलको बाटो इलामका पर्यटकीयस्थल छिरिन्छ ।

‘इलाम भन्नेबित्तिकै धेरै पर्यटक कन्यामको चियाबारी हेरेर यही हो इलाम भन्दै फर्किन्छन्,’ पर्यटन प्रवद्र्धनका क्रियाशील केशव धौराली भन्छन्, ‘तर, फिक्कलबाट इलामतिर लागेपछि सदरमुकाम, माईपोखरी, गजुरमुखी, सन्दकपुरजस्ता अत्यन्त मनमोहक पर्यटकीयस्थल पुगिन्छ ।’ उनले ती पर्यटकीय क्षेत्रको प्रचार–प्रसार आवश्यक रहेको पनि बताए ।

सूर्याेदय–सूर्यास्त दृश्यावलोकनका लागि चर्चित अन्तुडाँडा मेची राजमार्गको छिपिटारबाट जानुपर्छ । त्यहाँबाट करिब १३ किलोमिटरमा रहेको अन्तुडाँडामा अवलोकन गर्न लायक वस्तु धेरै छन् । सडक कालोपत्रे भएको छ । जिप, कार, भ्यान र मोटरसाइकलमा कन्यामबाट अन्तु जान सकिन्छ । अन्तुको झुल्केघामको सिजन भदौ अन्तिममा सुरु हुन्छ । मौसम खुले पुस–माघ र वैशाखसम्म यो सिजन रहन्छ । अन्तुबाट देखिने सूर्याेदय चित्ताकर्षक मानिन्छ । यहाँबाट सूर्याेदय हेर्न बर्सेनि सयौं स्वदेशी र विदेशी आउँछन् । ग्रामीण पर्यटनमा पूर्वको खचाखच रहने पर्यटकीय क्षेत्र भएको छ अन्तु ।

अन्तुबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देखिन्छ । यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैं लाग्छ । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ । भारतको पश्चिम बंगालका सयौं पर्यटक बर्सेनि यहाँ आउँछन्, २–४ रात बिताउँछन् र जान्छन् । तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको घुइँचो नै लाग्छ । नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बंगालबाट बढी पर्यटक आउँछन् । कतिपय स्कुलका विद्यार्थी समूहसमेत अध्ययन भ्रमणमा यहाँ आउँछन् ।

यहाँको अर्काे आकर्षण अन्तुपोखरी हो । चियाबारीको बीचमा रहेको अन्तुपोखरीमा डुंगा सयर गर्न पाइन्छ । प्रतिव्यक्ति ५० रुपैयाँ तिरेपछि डुंगामा चढ्न पाइने स्थानीय खगराज घिमिरेले बताए । ‘यहाँ आएका पर्यटक डुंगा नचढी फर्किँदैनन्,’ उनले भने, ‘कहिलेकाहीँ त सबैलाई डुंगा चढाउन भ्याइँदैन ।’

अन्तुकै सिंहबाहिनी निकै मनमोहक र आकर्षक धार्मिक पर्यटकीयस्थल पनि हो । अन्तुमा धार्मिक गन्तव्य पनि छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर, सिंहवाहिनीमा रहेको मानिस र सिंहको अनुहार देखिने ढुंगा अहिलेसम्म ओझेलमै छ । शिक्षक स्थानीय शिक्षक अम्बिका पोख्रेल भन्छन्, ‘स्वामी एकदेव साधुले पत्ता लगाएको यो सिंहवाहिनी भगवतीमा मानिस र सिंहको अनुहार तथा मानिसका पाइला देखिन्छन् । यो थाहा पाए कति पर्यटक यहाँ आउने थिए होला ।’ यहाँ मानिसको पाइलाजस्तो देखिने ढुंगा पनि छ । नजिकै देवीस्थान पनि । कन्यामबाट अन्तु जाँदा चौरस्ता भन्ने स्थानबाट करिब आधा किलोमिटरको मोटरबाटो गएपछि सिंहदेवी भगवती र सिंहदेवी देवीस्थान पुगिन्छ ।

इलामलाई चिनाउने अर्काे गन्तव्य हो कन्याम चियाबारी । आँखाले देखिएसम्म चियाबारी रहेको कन्याम सडक सहजताले पनि बाहै्रमास पर्यटकले भरिभराउ हुन्छ । अहिले चियाबारीभित्र कलात्मक रेलिङसहितको शृंगार पनि गरिएकाले पर्यटक कन्याम घुम्न लालयित हुन्छन् । ‘कन्याम आउने पर्यटक इलाम घुम्न आएको भन्दै सन्तुष्ट देखिन्छन्,’ स्थानीय होटल व्यवसायी राज अविरल भन्छन्, ‘हिउँदमा यहाँ वनभोज खान आउनेको लहर नै चल्छ ।’ अन्तु र कन्याममा लोपोन्मुख लेप्चा जातिको समेत बसोबास रहेकाले सांस्कृतिक अध्ययनका लागि आउने पर्यटकलाई अर्काे गन्तव्य हुनेगर्छ ।

केही समयअघिसम्म नगन्य मात्रै रहेका होटल अहिले कन्यामको सडकमा खचाखच भइसकेका छन् । १० करोड रुपैयाँभन्दा माथि लगानी गरेर कन्याम आसपासमा सुविधासम्पन्न होटल स्थापना गरिएका छन् । यहाँ आउने पर्यटकले इलामे अर्थाेडक्स अर्गानिक चियादेखि अन्य परिकार खान पाउँछन् । कन्याममा चियासँग लुकामारी खेल्न, लभडाँडाबाट हिमाल, पहाड र तराई नियाल्न अनि घोडा चढ्न चाहिँ पर्यटकले छुटाउँदैनन् ।

करिब १० किलोमिटरमा रहेको फिक्कल बजार चाहिँ यहाँ आउने पर्यटकको कोसेली किन्ने बजार हो । फिक्कलमा छुर्पी, बम्बइसन, ललीपप, घिउ, अकबरेलगायत पर्यटकले चाहेअनुसारका स्थानीय उत्पादन पाइन्छन् । फर्किँदा लैजाने कोसेली पहिल्यै बुक गरिराखे पनि फरक पर्दैन । कन्याम–फिक्कल–अन्तु सर्किट नेपाल सरकारको सय उत्कृष्ट पर्यटकीय गन्तव्य सूचीमा समेत परेको छ ।

पूर्वी पहाडकै आकर्षक पर्यटकीयस्थल सन्दकपुर इलामको पर्यटकीय गहना नै हो । ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुरमा भने प्रायः हिउँदमा मात्र पुग्न सकिन्छ । सडक व्यवस्थित नहुँदा सन्दकपुरबाट स्थानीय बढी लाभ लिन सकेका छैनन् । नेपालकै भू–भाग भए पनि भारतपट्टि पूर्वाधार राम्रो भएकाले यसको बढी प्रयोग भारतले नै गरिरहेको छ । सन्दकपुर विश्वको सर्वाेच्च शिखर सगरमाथा देखिने नेपालसँग जोडिएको एउटै मात्र बिन्दु भएकाले पनि यहाँ भारतको बाटो भएर बर्सेनि हजारौं पर्यटक आउँछन् ।

सन्दकपुरमा १–२ वटा मात्रै व्यवस्थित होटल छन् । त्यसभन्दा केही तलको भू–भागमा भने होम–स्टे र होटल खुल्ने क्रम तीव्र छ । भारतपट्टि भने पर्यटकका लागि दर्जनौं कटेजहरू छन् । भारततिरबाट यहाँ तेस्रो बंगाली र तेस्रो मुलुकका पर्यटक आउँछन् । नेपालतिर आइपुग्ने र यताबाट सन्दकपुरसम्म पुग्ने पर्यटक भने आन्तरिक र बंगाली मात्रै हुन् । पशुपतिनगर नाकामा दुवैपट्टि अध्यागमन सुविधा नभएकाले तेस्रो मुलुकका पर्यटक भारतबाट नेपाल छिर्न पाउँदैनन् । झापाको काँकडभिट्टाबाट भित्रिएका पर्यटकको गन्तव्य भने इलामतिर पर्दैन । उनीहरू झापाबाट सिधै धरान, चितवन, पोखरा र काठमाडौंतिर लाग्छन् ।

चियाबारीले ढाकेको इलाम सदरमुकाम घुम्ने सिजन पनि यही हो । नेपालमै पहिलोपटक चिया खेती गरिएको चियाबारी र देशकै पुरानो कारखाना पनि सदरमुकाममै पर्छ । यो चियाबारी सौन्दर्य र आम्दानीको स्रोत मात्र होइन, ऐतिहासिक महत्वको समेत छ । चीनले कोसेलीका रूपमा पठाएको चिया डेढ सय वर्षअघि इलाममा रोपिएको थियो । इलामे चियाले बोकेको नेपाल–चीन सम्बन्धको ऐतिहासिक महत्व बुझेका व्यक्तिका लागि यो चियाबारी आकर्षणको केन्द्र भएको छ ।

नेपालकै इतिहास बोकेको इलामको चियालाई सम्पदाका रूपमा विकास गर्ने प्रयास गरिरहेको इलाम गृहजिल्ला भएका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ बताउँछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई काठमाडौं आएका बेला नेम्बाङकै पहलमा इलामको चिया चखाइएको थियो । वेत्रावती सन्धिअनुसार १९२२ सालमा चिनियाँ सम्राटले प्रधानमन्त्री जंगबहादुर राणालाई उपहारका रूपमा पठाएको चिया इलामका तत्कालीन बडा हाकिम गजराजसिंह थापाले यहाँ खेती गर्न लगाएका थिए ।

१९३५ सालमा इलाम चियाबारीबीचमा स्थापना भएको कारखाना पनि नेपालकै पुरानो कारखानाका रूपमा छ । नेपाल–चीनबीच १८४९ भदौ ६ मा भएको सन्धिको एउटा बुँदामा नेपालले चिनियाँ सम्राटका लागि उपहारको पञ्चवर्षीय मिसन पठाउने, चिनियाँ सरकारले नेपाली मिसनको खर्च तिर्ने, यातायातको सुविधा दिलाउने र उपहार फिर्ता पठाउने उल्लेख छ । नेपाल र चीनबीच पटक–पटकको युद्धपछि भएको वेत्रावती सन्धिअनुसार नै चिनियाँ सम्राटले जंगबहादुरलाई उपहारका रूपमा पठाइएको चियाको बिरुवा इलाम ल्याएर रोप्न लगाइएको इतिहास छ ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत इलामको चियासँग नेपाल–चीन कुुटनीतिक सम्बन्ध जोडिएको बताउँछन् । चीनको उपहारका रूपमा आएको चियाले इलाममा १ सय ५५ वर्षसम्म उत्तिकै उत्पादन दिइरहेको उनको भनाइ छ । ‘चीनमा भने यो प्रजातिको चिया मासिइसकेको हामीले सुनेका छौं,’ प्रमुख बस्नेतले भने, ‘तर, हामी यो महत्वको प्रचार गर्न सकिरहेका छैनौं ।’

सदरमुकामको नजिक रहेको भालुढुंगा अहिले नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । यहाँ आउने पर्यटकका लागि स्थानीय ११ घरमा सामुदायिक होम–स्टे व्यवस्था गरिएको छ । इलाम बजार घुम्न आएका पर्यटकसमेत सस्तो र गाउँघरको खानपान हुने भएकाले होम–स्टेमै खान–बस्न रुचाउने गरेका छन् । यहाँ आउने पाहुनालाई स्थानीय उत्पादनका तरकारी, लोकल कुखुराको मासु, तोङ्बा, सुकुटी, गुन्द्रुकको अचारलगायत पाहुनाले रोजेका परिकार खुवाउने गरेको स्थानीयले बताए ।

इलामको अर्काे महत्वपूर्ण पर्यटकीय गन्तव्य हो माईपोखरी । सदरमुकामबाट १३ किलोमिटरमा पर्ने माईपोखरीको जैविक विविधता अवलोकन र अध्ययन गर्ने सिजन भदौपछि नै सुरु हुन्छ । यो मौसम पर्यटकका लागि उपयोगी भएकाले प्रायः पर्यटकले खाली हुँदैन माईपोखरी । धार्मिक आस्थाको केन्द्र पनि भएकाले माईपोखरीमा पूजापाठ गर्ने, जल चढाउने, सदबीज छर्ने कामका लागि धार्मिक पर्यटक धुइरो लाग्छन् । यहाँ मंसिरको एकादशीमा ठूलो धार्मिक मेला लाग्छ ।

पर्यटन वर्ष सन् २०२० को प्रचारका लागि गत हरिबोधिनी एकादशीका दिन यहाँ मेला लागेको थियो । वर्षाैंदेखि हरिबोधिनी एकादशीका दिन मेला लाग्ने माईपोखरीमा झण्डै दुई दशकपछि लागेको हो । ‘पर्यटन वर्ष सन् २०२० को प्रचार गर्न सन्दकपुर गाउँपालिकाको गाउँसभाले नै निर्णय गरेको थियो,’ गाउँपालिकाका अध्यक्ष उदय राईले भने, ‘माईपोखरी सबै धर्म, रीति–संस्कृति र समुदायको साझा स्थल भएकाले यहाँको धार्मिक र पर्यटकीय महत्व छ ।’ यसपटकदेखि माईपोखरी नजिकैको गुराँसपोखरीमा डुंगा सयर गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

पौराणिक महत्वको ९ कुने माईपोखरीबारे महाभारतको कथामा पनि उल्लेख रहेको त्यसका जानकार बताउँछन् । कौरव र पाण्डवको युद्धपछि पाण्डवहरू माईपोखरी आएर नुहाई पाप पखालेको जनविश्वासले माईपोखरी नुहाउनेको घुइँचो लाग्ने गरेको छ ।बाह्रैमास चिसो मौसम रहने माईपोखरीमा प्रायः मंगलबार र शनिबार धार्मिक पर्यटक घुइँचो लाग्ने भए पनि अरू दिनसमेत पर्यटकले खाली हुन पाउँदैन । जैविक विविधतामा धनी माईपोखरी विश्व संरक्षण सूचीमा समेत सूचीकृत छ ।

२८ अक्टोबर सन् २००८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दसौं बैठकले माईपोखरीलाई विश्वसम्पदा सूचीमा राखेको छ । २ हजार १ सय २१ मिटर उचाईको पहाडी थाप्लोमा ठूलो जलाशय छ । दर्जनौं प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडिबुटीले वरिपरिबाट पहरा दिइरहेको छ यसलाई । आकाश उघ्रेका बेला कञ्चन पानीमा देखिने कोणधारी धुपी र सल्लाघारीको छाया आकर्षक देखिन्छ । उच्च पहाडी र चिसो ठाउँ भएकाले गर्मी याममा माईपोखरीको महत्व बढ्छ । पोखरीको वरपर ९० हेक्टरको धार्मिक वन छ । २ हेक्टरमा जलाशय रहेको यो क्षेत्रको १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ ।

स्थानीय धार्मिक वन समूहका अनुसार यहाँ १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप, ६ प्रजातिका उभयचर पाइन्छन् । रूख भ्यागुतो, ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यांट्याङ पाहा, हरियो छेपारो, चंखे सर्प र विश्वको लोपोन्मुख ओंत पनि यही विविधतामा रमाउँछन् । ३ प्रजातिका रैथाने माछा, काकाकुल, भुँडीफोर, हिमाली गिद्धजस्ता ३ सय प्रजातिका पक्षी ओहोर–दोहोर गर्छन् माईपोखरीमा । श्रीलंका–साइबेरिया आउ–जाउ गर्ने चराको मार्ग पनि माईपोखरी नै रहेको चराविद् बताउँछन् । दुर्लभ वन्यजन्तु पाइने माईपोखरीमा वनस्पति पनि दुर्लभ नै भेटिन्छन् । गलैंचे झ्याउ माईपोखरीमा मात्रै पाइन्छ भनिन्छ ।

माङसेबुङ गाउँपालिकामा पर्ने किरात धार्मिकस्थल लारुम्बा पनि पछिल्लो समय पर्यटीयस्थलका रूपमा चर्चित छ । संसारभरका किरात धर्मावलम्बी लारुम्बालाई आस्थाको केन्द्र मानेर यहाँ आउ–जाउ गरिरहेका छन् ।

यहाँको रहनसहन अलि अनौठो भएकाले पनि यो क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने सम्भावना देखिन्छ । किरात धर्मावलम्बीको संस्कारमै पर्ने मदिरा र मासुलगायत यहाँ जाँड, रक्सी, मासु, चुरोट, खैनी र सूर्ती खान दिइँदैन । गाउँका घरैपिच्छे राता, सेता र पहेंला झन्डा गाडिएको छ । प्रत्येक घरका आँगनमा तीनवटा बाँसका लिंगामा सूर्यअंकित अर्को ध्वजा पनि छ । देशकै विशिष्ट व्यक्ति यहाँका धार्मिक गुरु आत्मानन्द लिङ्देनको जन्मोत्सव समारोह उद्घाटन गर्न आइपुग्छन् ।

यहाँ आयोजना हुने विशेष समारोहहरूमा महिला, पुरुष र बालबालिका सबै सेतो पहिरनमा सजिएका हुन्छन् । उँधौली अर्थात् मंसिरे पूर्णिमामा गुरु आत्मानन्द लिङ्देनबाट आशीर्वचन लिनु यहाँको संस्कार हो । नेपाल मात्र नभई भारत, भुटान, बंगालदेश, श्रीलंका, चीन, हङकङजस्ता मुलुकहरुबाट आउँछन् धर्मावलम्बी ।

प्रचारप्रसार नै नभएका पर्यटकीयस्थलको संख्या पनि इलाममा धेरै छ । छिन्टापु, गोरुवाले, जौबारी, नयाँबजारलगायतका पर्यटकीयस्थलको प्रचारप्रसार हुन सकेको छैन । नयाँबजारको सिद्धपोखरी, सोयाङको साततले झर्ना र मलुपोखरी, माइमझुवाको जैविक विविधता, टोड्के झर्ना पर्यटीय गन्तव्य हुन् । सदरमुकाम नजिकैको बालनगाउँ, जमुनाको चोयाटार वन, प्याङको थुम्के, पानीटार चियाबारी, सिद्धिथुम्का, मिक्लाचोङलगायत दर्जनौं पर्यटकीयस्थलको पूर्वाधार विकास हुन बाँकी छ । ‘पर्यटन वर्ष सन् २०२० का लागि पूूर्वाधार विकासमा सक्रिय छौं, धेरै पूर्वाधार त तयार गरिसकिएको छ,’ पूर्वीपहाको पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई भन्छन्, ‘इलाममा पर्यटक भित्रिनुले यहाँको समृद्धिमा सघाउँछ ।’

पर्यटन सूचना केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा झापाको बाटो भएर आउने पर्यटकको संख्या ४२.६ प्रतिशतले बढेको थियो । इलाम–झापाको सीमा जोरकलशमा रहेको पर्यटन सूचना केन्द्रका अनुसार त्यस आर्थिक वर्ष इलाममा १ लाख ३४ हजार ७७ पर्यटक इलाम आएका छन् ।

अघिल्लो वर्षभन्दा ४० हजार हाराहारीले पर्यटकको संख्या बढेको केन्द्रका गगन घिमिरेले बताए । चालु वर्ष पनि यहाँबाट इलाम आउने पर्यटकको संख्या आसलाग्दो छ । गत मंसिरमा मात्रै यो बाटो भएर ४८ हजार ५७ पर्यटक इलाम आएका थिए । कात्तिकमा २३ हजार ८ सय, असोजमा १० हजार १ सय २३, भदौमा २ हजार ६ सय ७४ र साउनमा २ हजार ३ सय १४ पर्यटक आएको केन्द्रले जनाएको छ ।

 

प्रकाशित: २६ माघ २०७६ १२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App