७ वैशाख २०८१ शुक्रबार
अन्य

पर्यापर्यटनको आकर्षक गणतव्य ‘कमल दह’

पर्यापर्यटनको आकर्षक गन्तव्य ‘कमल दह’ । तस्बिर : मिथिलेश/नागरिक

पर्यापर्यटनको आकर्षक केन्द्रको रुपमा मिर्चैया नगरपालिका–९ को कमल दहले काचुली फेरेको छ । राष्ट्रपति तराई–मधेस चुरे विकास समितिले नेपाली सेनामार्फत दहलाई पर्यटकीय स्थलको स्वरुपमा ढाल्न संरक्षण, प्रवद्र्धन र आधुनिकीकरण गरेपछि कमल दह आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

उत्तरमा चुरे पहाडको काखमा अवस्थित कमल दहबाट हिमाल समेत अवलोकन गर्न पाइने गरी भ्यू टावर निर्माण गरिएको छ । पर्यापर्यटनको हिसाबले विकास भएको कमल दह झण्डै तीस बिघा क्षेत्रफलमा फैलिएको छ ।

कमल दहमा फुल्ने कमलको कारण यो दह थप चर्चित छ । जेठको पहिलो सातादेखि कमलको बोट पलाउन सुरु गर्छ । साउन महिनाभरि ताल छेउछाउको भाग हरित बन्छ । त्यसपछि कमल फुल्न सुरु गर्छ । फूलसँगै हरियाली भने कात्तिकसम्मै रहन्छ । यो बेला ताल घुम्न लायक हुन्छ ।

कमल दहको पानी सफा र निलो छ । कतै मुुहान पनि नदेखिने तर पानी सुुकेर पनि नघट्ने कमल दहको अनौठो विशेषता हो । सधैँ कञ्चन पानीको छाल अनि गृष्ममा फुल्ने कमलको मनमोहक आकर्षणले पर्यटकको मन लोभ्याउँछ । स्विमिङ गर्न र नाउ (डुँगा) बिहार गर्न सकिने कमल दह निकै आकर्षक छ ।

नेपाली सेनाले ०७५ जेठ ३१ गत्तेदेखि कमल दलको जीर्णोद्धार, उकास, आधुनिकीकरण, दह सरसफाइ र संरक्षणका लागि काम थालेका थिए । नेपाली सेनाले यो दहलाई पर्यटकीय स्थलको स्वरुप दिएर काम सम्पन्न गरिसकेको छ ।  नष्ट प्रायः भैसकेको कमल फूललाई संरक्षण गरी दहभरि फैलाउने, दहको चारैतिर आकर्षक बाटो निर्माण गर्ने, दहभित्रका जलमारा (बेकार झाडी) हटाउने काम गरेर दहलाई आकर्षक बनाइएको छ । कमल दहमा रौनक फर्काउने काममा नेपाली सेनालाई स्थानीय तहको समेत सहयोग छ ।

नेपाली सेनाले यो दहको मौलिकता जोगाउँदै आकर्षक पर्यटकीय केन्द्रको स्वरुप दिएको मिर्चैैया नगरपालिका–९ का अध्यक्ष मोहन पोखरेलले बताए । निर्माण सकिएसँगै यो दह आन्तरिक र बाह्य पर्यटकका लागि लोभलाग्दो पर्यटकीय स्थलको स्वरुप पाएको पोखरेलले भने । मिर्चैया नगरपालिकाबाट करिब ७ किलोमिटर उत्तर चुरे फेंदमा अवस्थित छ, कमल दह । वडा अध्यक्ष पोखरेलका अनुसार राजमार्गको मिर्चैया खण्डबाट कमल दहसम्म करिब ३१ फिटको फराकिलो सडक निर्माण भैरहेको छ पर्यटकीय स्थल कमल दहको निर्माण काम सम्पन्न भएसँगै यो सडक पनि कालोपत्रे गर्ने योजना रहेको उनले बताए ।

राष्ट्रपति चुरे तराई–मधेस विकास समितिको ३ करोड ३५ लाख रुपैयाँ नेपाली सेनामाफर्त कमल दहलाई आकर्षक पर्यटकीय स्थल निर्माणमा खर्च गरिएको छ ।  

यहाँ पर्यटकका लागि इन्जिन बोट राखिने योजना छ । चारैतिर डिलमा सेड, चौतारा, खानेपानीको व्यवस्थापन गरिँदै छ । दहमा पानी बढी हुँदा पानी निकासका लागि चेक ड्याम निर्माण गरिएको छ । भत्केका डिलहरुलाई मर्मत सम्भार गरी व्यवस्थित बनाइएको छ ।

कमलको महत्व
कमल दहमा रहेको पानीमुनिको कमल यसको मुख्य आकर्षण मानिन्छ । यसको खानी नै यो दहमा छ । कमललाई निकाल्ने उपयुक्त समय चैत पहिलो सातादेखि वैशाख अन्तिम सातासम्म मानिन्छ । पानीमुनि रहेको कमल निकाल्नुपूर्व पौडिएर तालभित्र पसेपछि डुबेर खुट्टाले छामेर कमल पानीभित्र छ भन्ने पक्का गरिन्छ । कमल भएको पक्का भएपछि पानीबाहिर आएर लामो सास फेरिसकेपछि फेरि पानीभित्र डुबेर कमल निकालिन्छ । यसरी निकालेको कमललाई तालमाथि नै छोड्दै तीन/चारपटक यो क्रिया दोहोर्‍याइन्छ ।

यसपछि कमललाई पौडिँदै गएर पानीबाहिरै ल्याइन्छ । कमल काँचै पनि खान सकिन्छ । यसलाई अचारको रुपमा पनि प्रयोग गरिन्छ । कमलको फूलदेखि जरासम्म सबै मानव स्वास्थ्यका लागि महत्वपूर्ण औषधिको रुपमा प्रयोग गरिने यस दहका संरक्षकमध्येका एक राजदेव राउत दाशले बताए । कमलको फूलबाट बनेको बीउलाई (दाना) पिसेर पानीमा घोली नियमित सेवन गरेमा जन्डिस रोग निको हुने उनको अनुभूति  छ ।

गुमनाम कमल दह
सताब्दीयौं पुरानो इतिहास बोके पनि प्रचार–प्रसार र संरक्षणको अभावमा पर्यापर्यटनको आधार कमल दह गुमनाम छ । प्रदेश २ मा पर्यापर्यटनको बलियो सम्भावना बोकेको कमल दहको संरक्षणमा सरकारी बेवास्ताले यसको अस्तित्व संकटमा परेको हो । दहमा उम्रने झ्याउ झारले तालको सुन्दरतालाई बिगारेको थियो । ०५४ सालदेखि त यो दहको अस्तित्व झनै संकटमा पर्‍यो । चुरे जलाधार संरक्षण समितिका महासचिव देवकुमार मोक्तानका अनुसार तत्कालीन स्थानीय निकायले दह ठेक्का लगाउन थालेपछि यसको अस्तित्वको संकट सुरु भएको हो ।

ठेक्केदारले माछा पालन गरेर दहको पानी दूषित पार्ने गरी मलखाद हाल्न थालेपछि दह फोहोर हुन थाल्यो । ठेक्केदारले कमल दहको आकर्षण कमलको फूल नष्ठ गर्ने, रुख बिरुवा मास्ने काम सुरु गर्‍यो । जसका कारण दहको अस्तित्व खतरामा परेको मोक्तानले बताए । यो क्रम ०७४ साल कातिक सम्म चल्यो ।

यसरी सुरु भयो संरक्षण
स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधि आएपछि कमल दह संरक्षणतिर कार्य अघि बढ्यो । यो दह मास्ने माफियाहरुलाई छेउ लगाएर जोगाउने काम आफू निर्वाचित भएर आएपछि सुरुवात गरेको वडा अध्यक्ष मोहन पोखरेलले बताए । 

राष्ट्रपति चुरे तराई मधेस विकास समितिमा पहल गरेर कमल दह पर्यटकीय स्थलको कार्यक्रम ल्याएको पोखरेलले बताए । कमल दह यस क्षेत्रको मात्र नभएर यो प्रदेशकै लागि बलियो आम्दानीको स्रोतको रुपमा गौरव गर्न सकिने पर्यटकीय स्थल भएको उनले बताए । चुरे विकास समितिले दह संरक्षण र प्रवद्र्धनात्मक काम सम्पन्न गरिसकेको छ । उनले भने, ‘हामी पर्यटकीय महोत्सवको आयोजना ल्याउँदै छौं ।

कमल दहमा छिट्टै आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गर्दैछाैं, पोखरेलले सुनाए । स्थानीय तहमा भएका स्रोत उपयोग गरेर कमल दह पर्यटकीय स्थललाई देशकै नमुना पर्यापर्टनको केन्द्र बनाउने पोखरेलको अठोट छ । सडक, सञ्चार, यातायात, खानेपानीको पहुँच अनि दहको संरक्षण, सम्बद्र्धनको काम सम्पन्न प्रायः भइसकेको छ । उनले भने, ‘भ्रमण वर्ष सुरु भएसँगै यो दह पर्यटकलाई स्वागत गर्न आतुर छ, उनले भने ।

 

प्रकाशित: २५ माघ २०७६ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App