१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

नेपाल भ्रमण वर्षमा हाइकिङ

त्रिशूलडाँडा
त्रिशूलडाँडा (१,६८० मिटर)बाट काठमाडौं, ललितपुर र भक्तपुरको दृश्य छर्लङ्ङ देखिन्छ। मौसम उघ्रिँदा उत्तरमा हिमाल झलमल्ल खुल्छन्। भक्तपुरको चाँगुनारायण नगरपालिकामा पर्छ त्रिशूलडाँडा। यसलाई मुलाकोट गढी पनि भनिन्छ। नेपाल एकिकरणताका नै गढी बनेको थियो। 

डाँडामा महाकाली र भैरवका मूर्ति छन्। रूखमुनि ५ सय वर्षभन्दा पुरानो गणेशको मूर्ति छ। नजिकै ठूलो त्रिशूल छ। कालीनाथ अघोरी बाबाले गाडेको त्रिशूल। चाँगुनारायण र साँखुमा मेला लाग्दा पनि तीर्थालु आइपुग्छन्। डाँडा वरपर होटल तथा रेष्टुरेन्ट छन्। त्यहाँबाट ४ किमिमा चाँगुनारायण मन्दिर छ।

त्रिशूलडाँडामा हाइकिङ गर्दा पुरानो नेवार बस्ती साँखुवाट सुरु गर्ने। साँखुबाट सुन्टोल गाउँ, गदगदे खोला हुँदै पञ्चमहालक्ष्मी मन्दिर पुगिन्छ। मुक्तिनाथ बाबाले बनाएको पञ्च महालक्ष्मी मन्दिर शान्त वातावरणमा छ। त्यहाँ लक्ष्मी र मुक्तिनाथ बाबाका मूर्ति छन्। मन्दिर नजिकै योग रिसोर्ट पनि छ। नजिकै खाजा पसल पनि खुलेका छन्। मन्दिरबाट तेर्सो मोटरबाटो उकालो २ किमि दूरीमा छ तेलकोट भञ्ज्याङ । भञ्ज्याङ (१,५०० मिटर)बाट पश्चिम सल्लाघारीको

जंगल उकालो चढ्ने। दुई किमिमा पुगिन्छ त्रिशुल डाँडा। डाँडाबाट एक घन्टामै पुगिन्छ चाँगुनारायण। चाँगुनारायण (१,६०० मिटर) विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा। चाँगु घुमेपछि पूर्व ओरालो झरेर इन्द्रायणीसम्म पदयात्रा गर्ने।  

कसरी पुग्ने : काठमाडौंको पुरानो बसपार्कबाट साँखुसम्म १८ किमि, गाडीमा। साँखुबाट पदयात्रा। साँखु–तेलकोट ४ किमि, तेलकोट–त्रिशूल डाँडा ३ किमि, त्रिशूलडाँडा–चाँगुनारायण ४ किमि र चागुनारायण–इन्द्रायणी ३ किमि। पदयात्रा दूरी १४ किमि। समय ६ घन्टा।

लेले
ललितपुरको लेले उपत्यका सुन्दर छ। त्यहाँ तरकारी र खाद्यान्न राम्रो उत्पादन हुन्छ। गाउँलेको मुख्य पेशा कृषि र पशुपालन हो। गाउँमा  उत्पादित तरकारी र खाद्यान्न काठमाडौं पु-याइन्छ। लिच्छवी र मल्लकालीन  नेवार बस्ती लेलेमा क्षेत्री, तामाङ, नगरकोटी आदिको बसोबास छ।

देवतैदेवताको सहर लेलेको महत्वपूर्ण सम्पदा सरस्वती कुण्ड हो। कुण्ड नजिकै अरू मन्दिर पनि छन्। तिलको थुप्रोबाट शिव उत्पत्ति भएकाले तिलेश्वर महादेव भनियो भने सरस्वती जलका रूपमा प्रकट भएकीले सरस्वती कुण्ड र शुक्राचार्य पानीको रूपमा परिणत भएको ठाउँलाई ज्ञानकुण्ड भनियो। सरस्वती कुण्ड नजिक सरस्वतीका साथै गणेश, कुमार, नवदुर्गा, संकटा, राधाकृष्ण, लक्ष्मीनारायण, सूर्यनारायण, बगलामुखि लगायतका मूर्ति छन्।  

माघ–फागुन हिमाल खुल्ने मौसम। यतिबेला काठमाडौं उपत्यकाको जुन डाँडामा चढे पनि हिमालको दर्शन गर्न सकिन्छ। काठमाडौं बाहिरका डाँडाबाट पनि हिमाल अवलोकन गर्न पाइन्छ। त्यसैले आउनुहोस् आआफ्नो वरपरका डाँडापाखामा हाइकिङ गरेर नेपाल भ्रमण वर्ष २०२० मनाऔं। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिऔं।  

कुण्ड नजिकै उत्तरमा पशुपतिनाथ  मन्दिर छ। काठमाडौंको पशुपतिनाथ भन्दा यो मन्दिर पुरानो मानिन्छ जुन विसं ५२६ मा स्थापना भएको थियो। काठमाडौं खाल्डो जलमग्न हुँदा नै लेलेमा बस्ती भएको र त्यहाँ पशुपतिनाथ रहेको थियो भनिन्छ।

कुण्डबाट करिब ४ किमि दूरीमा मनकामना मन्दिर छ। स्थानीय सन्तबहादुर नगरकोटीले ०६२ सालमा सपनामा भगवती देखेछन्। र, गाउँले मिलेर मन्दिर बनाएका। मन्दिरको पूर्वोत्तरमा फुलचोकी र राधाकृष्ण मन्दिर छ। मनकामनाबाट फुलचोकी पुग्न ३ घन्टा लाग्छ। सरस्वती कुण्डबाट एक घन्टा हिँडे मनकामना पुगिन्छ। गाडी र मोटरबाइक मन्दिरसम्मै पुग्छन्। लेले नजिकै टिकाभैरव मन्दिर पनि छ। लेलेमा खाजा घर छन्।    
कसरी पुग्ने : लगनखेलबाट सरस्वती कुण्डसम्म १६ किमि गाडीमा। सरस्वती कुण्ड–मनकामना ४ किमि। पदयात्रा दूरी ८ किमि। समय २ घण्टा।

कात्तिके भञ्ज्याङ
साँखु–लप्सेफेदी–जहरसिंह पौवा हुँदै कात्तिके भञ्ज्याङ भएर शाली नदीसम्म हाइकिङ रुट राम्रो छ। काठमाडौंबाट उत्तरपूर्व १८ किमिमा प्राचीन नेवार बस्ती साँखु छ। त्यहाँबाट पदयात्रा सुरु गर्ने। साँखुबाट ३ किमिमा लप्सेफेदी (१,४३० मिटर)। लप्सेफेदीमा तामाङ जातिको बसोबास छ। गाउँको पूर्वमा नाङलेभारे, पश्चिममा बज्रयोगिनी, उत्तरमा भोटेचौर र दक्षिणमा सुन्टोल गाउँ छन्। खेतीयोग्य जमिन भएकाले धान, गहुँ, मकै, आलु र तरकारी खेती गरिन्छ। नागबेली मोटर बाटोको उकालोमा दायाँबायाँ हरिया रूखहरू। चराको चिरबिर। तेर्सो मोटरेबल बाटो ४ किमि पार गरेपछि जहरसिंह पौवा (१,८०० मिटर) पुगिन्छ। र, हिँड्नुमा जति आनन्द मोटर यात्रामा हुँदैन। पौवामा पसल र होटल छन्। त्यहाँ चौबाटो छ। पश्चिम लागे भोटेचौर, दायाँ उत्तर लागे नाङलेभारे बाहुने पाटी हुँदै मेलम्ची पुगिन्छ भने पूर्व लागे नगरकोट। त्यहाँबाट पूर्व नगरकोट जाने बाटो समात्ने। आकाश उघ्रिएका बेला त्यहाँबाट हिमाल देखिन्छ।
अरू बेला पनि हरिया पर्वत त छँदैछन्। गाउँ डुल्दा मेहेनती गाउँलेबाट श्रमजीवी बन्ने पाठ सिक्न सकिन्छ। पौवाबाट करिब ४५ मिनेट ओरालो झरेपछि कात्तिके भञ्ज्याङ आउँछ। भञ्ज्याङमा ठूलो चौर छ। भञ्ज्याङबाट हिमाल र सिन्धुपाल्चोकका बस्ती देखिन्छ। त्यहाँबाट करिब २ घन्टामा साँखुको साली नदी पुगिन्छ। नदीमा स्वस्थानी माताको मन्दिर छ। मन्दिर घुमेर बसपार्कबाट गाडीमा फर्कने। 

कसरी पुग्ने : काठमाडौं–साँखु १८ किमि गाडीमा। साँखुबाट पदयात्रा, साँखु–जहरसिंहपौवा
६ किमि, जहरसिंहपौवा–कात्तिके भञ्ज्याङ ४ किमि, कात्तिके भञ्ज्याङ–साली नदी ६ किमि। पदयात्रा दूरी १६ किमि। समय ६ घन्टा।

गोसाइँथान   
काभेपलाञ्चोक जिल्लामा धुलिखेल माथि गोसाइँकुण्ड (१,८१५ मिटर) छ। कुण्डको बीचमा महादेव छन्। हिन्दू मान्यता अनुसार महादेवले कालकुट विष सेवन गरेपछि हिन्द महासागरबाट रसुवाको गोसाइँकुण्ड जाँदा यहाँको डाँडामा पाइला टेकेका थिए। डाँडामा महादेव, पार्वती, कृष्ण, हनुमान आदिका मूर्ति छन्। त्यहाँ जनै पूर्णिमाका दिन मेला लाग्छ। गोसाइँथानलाई पवित्र नैमिषारण्य क्षेत्र बनाउने सपना शिवानन्द बाबाले देखेका थिए। बाबाले नैमिषारण्य क्षेत्रका लागि गोसाइँथान उपयुक्त भएको बताएकाले ०७० माघमा समिति बनाएर काम थालियो। त्यहाँ ०७० माघ २८ गतेदेखि अखण्ड हवन सुरु भएको छ।  शिवपुरीबाट सुरु भएर चिसोपानी, नगरकोट हुँदै धुलिखेल आउने ‘काठमाडौं भ्याली कल्चरल ट्रेल’मा पर्छ गोसाइँथान। गोसाइँथानबाट हिमालको दर्शन, चराको चिरविर, गाउँबेसीको दृश्य देखिन्छ/सुनिन्छ। गोसाइँथानको विकासमा स्थानीय जागरुक बनेका छन्। डाँडामा दिव्यश्वर महादेव, काली, हेडम्ब गणेश लगायतका मूर्ति स्थापना गरिएका छन्।  गोसाइँथान सामुदायिक वनको जग्गामा पर्छ। वनको क्षेत्रफल ४६ हेक्टर छ। पदयात्रा गर्दा धुलिखेलबाट गोसाइँथान पुगेर चण्डेश्वरी मन्दिर झर्नु बेस हुन्छ। जंगल बीचको बाटो, शान्त छ।   बनेपाको चण्डेश्वरी मन्दिर शक्ति पिठ मानिन्छ। आइतबार चण्डेश्वरीमा भिड लाग्छ।
चण्डेश्वरी वरपर नेवार बस्ती छ। धुलिखेल बजारमा होटल, लज, रिसोर्ट र रेस्टुँरा छन्। चण्डेश्वरी मन्दिरबाट गाउँ डुल्दै बनेपा बसपार्कसम्म पदयात्रा गर्ने।   

कसरी पुग्ने : काठमाडौं–धुलिखेल ३० किमि। धुलिखेल बसपार्कबाट २ किमिमा गोसाइँथान। धुलिखेल–गोसाइँथान २ किमि। गोसाइँथान–चण्डेश्वरी ३ किमि। चण्डेश्वरी–वनेपा १ किमि।
पदयात्रा दूरी ६ किमि। समय २ घण्टा।

तारकेश्वर
तारकेश्वर शक्तिपीठ हुन्। श्रीस्वस्थानी ब्रत कथा अनुसार महादेवले मृत सतिदेवी च्यापेर हिँड्दा उनको दाहिने तिघ्रा पतन भएको ठाउँ तारकेश्वर (१,७३० मिटर) हो। त्यहीँ पछि महादेव उत्पन्न भए। लक्ष्मीले पनि त्यही ठाउँमा तपस्या गरेको विश्वास गरिन्छ। जुन ठाउँ काठमाडौंको शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जभित्र पर्छ। ओढारमा बसेका छन् तारकेश्वर। त्यस ठाउँभन्दा माथि पनि भीरमा महादेव छन्। नजिकै अर्को ओढारमा गणेश, महादेव, त्रिशूल, घन्ट आदि छन्। मन्दिरमा शिवरात्रि, जनैपूर्णिमा, स्वस्थानी ब्रतकथाको समय, बाला चर्तुदशी र सोमबार मेला लाग्छ। तारकेश्वरबाट माथि धौलेश्वर महादेव छन्। त्यहाँसम्म पुग्न डेढ घन्टा हिँड्नुपर्छ। कोलाहल र प्रदूषणबाट मुक्त छ तारकेश्वर। वर्षैभरि शीतल हुन्छ। जंगल भएकाले चिरबिर सुनिन्छ। सरकारले गोलढुंगा, जितपुरफेदी, धर्मस्थली, काभ्रेस्थली, साङला, मनमैजु र फुटुङ गाविस मिलाएर विसं २०७१ मा तारकेश्वर नगरपालिका बनाएको छ।

ध्यान र योगका लागि तारकेश्वर पूण्यभूमि हो। त्यहाँ कविर आश्रम पनि छ। तारकेश्वर मुन्तिर पाँच माने भञ्ज्याङ छ। तारकेश्वरबाट गुर्जे भञ्ज्याङसम्म मोटरबाटो छ। पाँच मानेमा सामान्य खाजा पसल छन्।

कसरी पुग्ने : काठमाडौंको बालाजु बाइपासबाट पासाङ ल्हामु राजमार्गको तीनपिप्लेसम्म ९ किमि। तीनपिप्लेबाट २ किमि पर ठूलो खोलाबाट उकालो चढे १.५ किमि पाँचमानेसम्म मोटर बाटो छ। पाँचमानेबाट १ घन्टा पदयात्रामा तारकेश्वर। हाइकिङ गर्दा तीनपिप्लेबाट ५ किमि उकालोमा तारकेश्वर। तारकेश्वरबाट ५.५ किमिमा गुर्जे भञ्ज्याङ। पदयात्रा दूरी १०.५ किमि। समय ५ घन्टा।

नमोः बुद्ध
नमोः बुद्ध (१,८०० मिटर)सँग शाक्यमुनि गौतम बुद्धको पूर्व जन्मको इतिहास जोडिएको छ। उनले पूर्व जन्ममा बघिनीलाई शरीर दान गरेको ठाउँ यही हो। त्योबेला उनका हाडखुड बटुलेर बनाइएको चैत्य छँदैछ। अर्को जुनीमा तिनै महासत्व लुम्बिनीमा जन्मिए, सिद्धार्थ गौतमका रूपमा। उनले बुद्धत्व प्राप्त गरेपछि चेलाहरूसँग आएर त्यो चैत्यलाई तीनपटक घुमेर प्रणाम गरेका थिए। बुद्धले नमन गरेको ठाउँ भएकाले नमोः बुद्ध भनिएको। प्राचीन स्तुप छेउमा बत्ति बाल्ने पाला छन्। ठूलो माने, नजिकै पुरानो गुम्बा छ। पुण्यभूमि नमोः बुद्ध धार्मिक पर्यटन गन्तव्य बनेको छ। कात्तिक पूर्णिमा र बुद्ध पूर्णिमामा ठूलो मेला लाग्छ।  

नमोः बुद्धका दुई खण्ड छन्। तल भञ्ज्याङको स्तुप सबैभन्दा पुरानो। माथि डाँडामा गुम्बा र बुद्धका ठूल्ठूला मूर्ति छन्, जुन पछि बनाइएका। अध्यात्म, प्रकृति र संस्कृतिको त्रिबेणीधाम नमोः बुद्ध शान्त र शितल छ। आकाश उघ्रिएका बेला हिमाल झलमल्ल देखिन्छ। मकालु, चोयु, गौरीशंकर, दोर्जेलाक्पा, लाङटाङ, गणेश र मनास्लु हिमाल। त्यहाँ खाना र बास बस्ने होटल तथा रिसोर्ट छन्। हाइकिङ बतासेबाट शुरू गरेर काभ्रे भञ्ज्याङमा समापन गर्ने। 

कसरी पुग्ने : काठमाडौ–धुलिखेल–बतासे ३५ किमि गाडीमा। बतासेबाट हाइकिङ इँटे, शंखु हुँदै नमोः बुद्ध। बतासे–नमोः बुद्ध ७ किमि। नमोः बुद्ध–काभ्रे भञ्ज्याङ ७किमि। जम्मा पदयात्रा दूरी १४ किमि। समय ६ घन्टा।

अनन्तलिंगेश्वर
भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्दछ अनन्तलिंगेश्वर (१,४३०मिटर)। मन्दिरभित्र शिवलिंग छ भने वरपर बासुकि नाग, उमामहेश्वर, गणेश,लक्ष्मी, सरस्वती, गरुड आदिका मूर्ति छन्।
मन्दिर हातामा सातौं शताब्दीमा राजा नरेन्द्र देवले राख्न लगाएको शिलालेख छ। त्यस हिसाबले पनि यो १३ सय वर्ष भन्दा पुरानो मन्दिर मानिन्छ । लालीगुराँसको जंगल बीचमा छ मन्दिर।

मन्दिर हातामा अनन्त कुवा र पोखरी छ। मन्दिरमा साउने सोमबार, शिवरात्री, जनैपूर्णिमा, बाला चतुदर्शी, गाइजात्रा, तीज, दशैतिहार आदि समयमा भिड लाग्छ। मन्दिर माथि कैलाश डाँडा (१,४९० मिटर)बाट काठमाडौंको दृश्य छर्लङ्ङ देखिन्छ। त्यहाँ भ्यूटावर बन्दैछ। त्यहाँ सामान्य खाजा पसल छन्। गाउँका १० घरमा होमस्टे सुविधा गराउने तयारी भैरहेको छ।

अनन्तलिंगेश्वरबाट रानीकोट र लाँकुरी भञ्ज्याङसम्म हाइकिङ गर्ने बाटा छन्। अनन्तलिंगेश्वरबाट सडकैसडक तिवारी आश्रम, देउराली हुँदै रानीकोट पुग्ने। अनन्तलिंगेश्वर–देउराली ५ किमि। देउराली–रानीकोट ४ किमि। नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले गढीलाई अस्थायी सुरक्षा किल्ला बनाएका थिए। त्यतिबेला दक्षिण पूर्वबाट काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका रानीकोट नै थियो। रानीकोटमा होटल तथा रिसोर्ट खुलेका छन्। त्यहाँबाट  घ्याम्पेडाँडा हुँदै पाइलट बाबा आश्रमसम्म पदयात्रा गर्ने।  

कसरी पुग्ने : काठमाडौ–नयाँ ठिमी–दधिकोट–अनन्तलिंगेश्वर १५ किमि। नयाँ ठिमी चोकबाट १० नम्बरको अनन्तलिंगेश्वर यातायात चल्छ। हाइकिङ तर्खगालदेखि गर्ने। तर्खगाल–अनन्तलिंगेश्वर १.५ किमि। अनन्तलिंगेश्वर–रानीकोट ९ किमि। रानीकोट–घ्याम्पेडाँडा ३ किमि। घ्याम्पेडाँडा हुँदै पाइलट बाबा आश्रम झर्ने। पदयात्रा दूरी १३.५ किमि। समय ६ घन्टा।

भीमढुङ्गा
काठमाडौंबाट बाहिर निस्कने पुरानो नाकामध्ये एउटा हो भीमढुङ्गा। बाहुन, क्षेत्री, जनजाती र दलितको बसोबास छ नार्गाजुन नगरपालिका–१० को भीमढुङ्गामा। गाउँमा भीमसेन, गुप्तेश्वर, महेशनारायण र चुनदेवी मन्दिर छन्। महेशनारायण गुफामा महादेव छन्, चमेरा पनि बस्छन्। भीमढुङ्गा वर्षैभरि शीतल वातावरण पाइन्छ। सुत्न सधैं सिरक ओढ्नै पर्छ। चिसो हावा, चिसो पानी र चारैतिर हरियाली। सीतापाइला चोकबाट मात्र ८ किलोमिटर दूरीमा थाप्ले गाउँ (१,६५० मिटर) छ। त्यहाँ तामाङका घरमा होमस्टे सुविधा छ।   राती भीमढुङ्गा काठमाडौंमा बिजुलीको झिलिमिली देखिन्छ। गाउँबाट सूर्योदय र सूर्यास्त पनि राम्रो देखिन्छ। आकाश उघ्रिएका बेला हिमालको दर्शन मिल्छ।  जनबोलीमा भीमढुङ्गा भनिए पनि खास नाउँ भीमढुंगा हो। किंवदन्ती अनुसार मञ्जुश्रीले खड्गले चोभार काटेर काठमाडौं तलाउको पानी बाहिर पठाउनुअघि त्यहाँ देवदेवी डुंगा सयर गर्थे। त्यस्तैमा दोलखा भीमसेन र रामकोटकी राजकुमारी प्रभावतीबीच प्रेम बसेछ। उनीहरूले प्रेम साटासाट गर्दा डुँगा अड्कियो। भीमसेनको डुँगा अड्किएको ठाउँलाई भीमसेनडुँगा भन्न थालियो। पछि अपभ्रंश हुँदै भीमढुङ्गा भनियो। नागार्जुन शिवपुरी निकुञ्जसँग जोडिएको छ भीमढुङ्गा। जाडोमा पहार ताप्न र गर्मिमा शितल खान भीमढुङ्गा। भीमढुङ्गा खाजा पसल, होमस्टे र रिसोर्ट सुविधा छ।  

कसरी पुग्ने : काठमाडौंको सीतापाइला चोकबाट भीमढुङ्गा बसपार्कसम्म गाडीमा। त्यहाँबाट डेढ घण्टा पदयात्रामा थाप्लेगाउँ। भीमढुङ्गा बसपार्क–महेशनारायण–बाहुनेथान ४ किमि ठाडो उकालो। बाहुनेथान–थाप्ले २ किमि। थाप्ले–नर्सरी भञ्ज्याङ ४ किमि। जम्मा पदयात्रा दूरी १० किमि। समय ५ घण्टा।

देवीचौर
दक्षिणकाली मन्दिर सामुन्नेमा रहेको ललितपुरको देवीचौर सुन्दर गन्तव्य हो। काठमाडौं उपत्यकाको पूरा छवि र हिमाल देखिन्छ देवीचौरबाट। देवीचौर (२,००० मिटर)मा तामाङ जातिको बाहुल्य छ। गाउँमा बौद्ध चैत्य र देवीका मन्दिर छन्। 

श्रीस्वस्थानी ब्रतकथा अनुसार देवीचौरको देउराली भन्ने ठाउँमा सतिदेवीको अँग पतन भएपछि दूधेश्वरी महादेव उत्पन्न भए। मृत सतिदेवीको शरीर बोकेर हिँड्नेक्रममा महादेव यहाँ आइपुगेछन्। यो ठाउँलाई शक्तिपीठ मानेर पूजा गरिन्छ। त्यहाँ ठूलो चौर छ। हाल चौरमा खेल मैदान बनाइएको छ, युवा फुटबल खेल्छ्न्। चौर क्षेत्रमा पिकनिक स्पट छन्। त्यसैगरी डुकुछाप र देवीचौरको सीमामा पर्ने कटुवाल दहको आफ्नै महत्व छ। दहको पानीले नुहाएमा चर्म रोग निको हुने जनविश्वास छ। दहमा नयाँ वर्षका दिन मेला लाग्छ। त्यहाँ स्वर्गद्वारी मन्दिर प्रतिस्थापन गरिएको छ। स्वर्गद्वारी, कटुवाल दह र दूधेश्वरीको एकीकृत प्रचार गर्न सके धार्मिक पर्यटन गन्तव्य बन्न सक्छ देवीचौर क्षेत्र।

गाउँमा गुप्तेश्वर गुफा छ। गुफाभित्र विभिन्न किसिमका अनौठा आकृति छन्। देवीचौरका गाउँले कृषि उत्पादन गर्छन्। डाँडामा सुविधायुक्त होटल, रेस्टुँरा र होमस्टेमा जोड दिनुपर्ने देखिन्छ।

कसरी पुग्ने : लगनखेलबाट चारघरेसम्म गाडीमा। चारघरेबाट छम्पी, बुरुङचुली हुँदै देवीचौर र देवीचौरबाट बुरुङचुलीसम्म पदयात्रा। चारघरे–देवीचौर ६ किमि, देवीचौर–जौबारी हुंदै बुरुङचुली ६ किमि। जम्मा पदयात्रा दूरी १२ किमि। समय ५ घन्टा।

फुल्चोकी  
काठमाडौं उपत्यकाको सबैभन्दा अग्लो डाँडा फुल्चोकी (२,८०० मिटर)। डाँडामा फुल्चोकी माईको मन्दिर र चैत्य छ। यसरी हिन्दू र बौद्धमार्गीको साझा तीर्थ बनेको छ फुल्चोकी। त्यहाँ वैशाख १ गते मेला लाग्छ। 

डाँडामा चिसो कतास चल्छ। त्यहाँबाट दर्जनौं हिमाल देखिन्छ। त्यहाँ पुसमाघमा हिउँ पर्छ। हिमाल मात्र होइन, डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि सुन्दर देखिन्छ। त्यहाँ पुग्दा मन र मस्तिष्क दुवै शीतल बन्छन्। डाँडामा हवाई जहाज र टेलिभिजनलाई सिग्नल पठाउने टावर छन्। सैनिक क्याम्प पनि छ। त्यहाँ सामान्य खाजा घर छन्।

फुल्चोकीसम्मै मोटर बाटो छ। हाइकिङ चाहिँ गोदावरीबाट सुरु गर्ने। गोदावरीमा वर्षैभरि वनभोज खानेको भीड लाग्छ। त्यहाँ पवित्र कुण्ड र नौ धारा छन्। गोदावरीमा वनस्पति उद्यान, मत्स्य अनुसन्धान केन्द्र, वनस्पति प्रयोगशाला, पञ्चदेवल, शान्ति वन जस्ता ठाउँ छन्। क्रिश्चियन समुदायको चर्च, गौतम बुद्धको मूर्ति, मनोक्रान्ति ध्यान केन्द्र आदि सम्पदा पनि छन्। गोदावरी कुण्डबाट पिकनिक स्पट, लठ्ठा भञ्ज्याङ हुँदै फुल्चोकीको थाप्लोमा पुग्ने र थाप्लोबाट जंगलको ठाडो गोरेटो झरेर नौधारासम्म पदयात्रा गर्ने।

कसरी पुग्ने : लगनखेल–गोदावरी १२ किमि गाडीमा। गोदावरी कुण्डबाट पिकनिक स्पट, लठ्ठा भञ्ज्याङ हुँदै फूल्चोकी टप र टपबाट जंगलको ठाडो गोरेटो झरेर नौधारासम्म पदयात्रा। गोदावरी–लठ्ठा भञ्ज्याङ ४ किमि। भञ्ज्याङ–फुल्चोकी ६ किमि। फुल्चोकी–नौधारा ७ किमि। हाइकिङ दूरी १७ किमि। समय ८ घन्टा।
(महर्जन ‘हाइकिङ काठमाडौं’ पुस्तकका लेखक हुन्।)

प्रकाशित: २५ माघ २०७६ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App