२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

स्वस्थानी व्रतकथा : विश्वास कि अन्धविश्वास ?

मानव मस्तिष्कको पूरै क्षमतामा जहाँसम्म पुग्न सकिन्छ, केही मानिसहरु त्यस अवस्थामा पुगे र अलौकिक अनुभव गरे । ‘म को हुँ’ भन्ने प्रश्नको उत्तर फेला पारेका उनीहरुलाई थाहा भयो, मानव मस्तिष्कको पूर्ण विकास भइसकेपछि जान्न बाँकी केही नरहने रहेछ । रहस्यका सबै ढोकाहरु खुल्ने रहेछन् । सुख–दुःखभन्दा पर जान सकिने रहेछ । प्राणीहरु अनावश्यक भ्रममा परेर रुमल्लिइरहेका रहेछन् ।

अहिलेसम्म हामी अज्ञानी भएर भट्किरहेका रहेछौँ । हाम्रो जीवनको ऊर्जाको स्रोतसम्मै पुग्न सकिने रहेछ । उनीहरुलाई ऋषिमुनि, बुद्ध आदि भनेर सम्बोधन गरियो ।

ऋषिमुनिले आफ्नो विकसित मानसिकताका बारेमा करुणावश अरु मानिसलाई सुनाए र त्यहाँसम्म पुग्ने मार्ग बताए । केही क्षमतावान् मानिसले उनीहरुले बताएको कुरा बुझे र सोही अवस्थामा पुगे । उनीहरुले पनि ऋषिमुनिहरुले बताउँदै आएका मार्गहरुबाट पूर्ण विकसित अवस्थामा पुग्न सकिन्छ भन्ने अनुभव गरे र ऋषिमुनिका भनाइलाई अनुमोदन गरे ।

बाँकी धेरै मान्छेले ऋषिमुनिले भनेका कुराहरु बुझेनन् र  त्यसलाई अवलम्बन गर्न सकेनन् । त्यहाँसम्म पुग्नुपर्छ भन्ने भाव चाहिँ उनीहरुमा रहिरह्यो । ऋषिमुनिहरुको आचरण हेरेर र उनीहरु निरन्तर परमानन्दमा डुबिरहेका देखेर उनीहरुलाई पनि यस कुरामाथि विश्वास भयो ।

त्यहाँसम्म पुग्ने क्षमता त हरेक मनुष्यको हुन्छ नै, यो कुरा ऋषिमुनिहरुलाई थाहा थियो । आफ्ना कुरा बुझ्न नसक्ने मानिसहरुलाई उनीहरुले त्यहीबेलाको कथाहरुका माध्यमबाट बुझाउन थाले, जसरी कथाहरुका माध्यमबाट नीतिका कुराहरु सिकाउँदा बच्चाहरुले टपक्क टिप्छन्, भन्न खोजेका कुराहरु बुझ्छन् । तिनै कथाहरुबाट पुराणहरुको जन्म भयो ।

स्वाभाविकै हो, ती कथामा त्यसबेलाको समाजका बारेमा र समाजमा चलेका घटनाहरु कथाहरुमा आउने नै भए, किनभने हजारौँ वर्षपछिका घटनाहरु त ठ्याक्कै आउनै सक्तैनन् । अनि हजारौँ वर्षपछिको कल्पिन कथाहरु भन्दा त्यो त्यति प्रासङ्गिक पनि हुँदैन ।

जसरी विष्णुगुप्तले दुई राजकुमारहरुलाई कथाहरु सुनाएर नीतिज्ञान दिएका थिए, त्यस्तै हरेक पुराणका कथाहरु कसैले कसैलाई भनेका छन् । ‘शिवले पार्वतीलाई भने’ भन्दै कुनै यससम्बन्धी जानकार ऋषिले अन्य मानिसहरुलाई बताउँछन् । जस्तै कि, महाभारतको कथा सुरु हुन्छ नैमिषारण्य नामक वनमा कुलपति महर्षि शौनकको बाह्र वर्षको सत्र चलिरहेको प्रसङ्गबाट ।

तपस्या गरिरहेका ऋषिहरुलाई उग्रश्रवाले आफूले सुनेका कथाहरु सुनाउनुभन्दा पहिला भनेका छन्, “जनमेजयको सर्पयज्ञमा वैशम्पायनले श्रीकृष्णद्वैपायन व्यासद्वारा तयार पारेको कथा सुनाएका थिए । मैले त्यही सुनेको छु, जुन साधनामार्गमा लाग्नेहरुका लागि अगाडि बढ्नमा र नलाग्नेहरुलाई वैराग्य उत्पन्न गराउन सक्ने खालका छन् । त्यही कथा म तपाईंहरुलाई सुनाउन गइरहेको छु ।” यहीँबाट उनले आफ्ना कथाहरु सुरु गरे ।

श्रीमद्भागवतमा पनि शौनक मुनि भगवद्कथा सुन्नमा सधैँ उत्सुक रहन्थे । उनले श्रीसूतसँग अनुरोध गरे, “मेरो मायामोह हटाउन सहयोग हुने खालको कथा सुनाउनुहोस् । तपाईंको कथा सुनेर मैले मेरो भक्ति र ज्ञान बढोस् । वैराग्यबाट प्राप्त हुने विवेकले बुद्धि बढाओस् । मेरो कल्याण होस् । मेरो मन साधनामा लागोस् ।”

श्रीसूतले कथा सुनाउन स्वीकार गरे र ‘शुकदेवले परीक्षितलाई सुनाएको कथा सुनाउँदै छु’ भन्दै आफ्नो कथा सुरु गरे ।
यी प्रसङ्गहरुबाट पुष्टि हुन्छ, यसरी हरेक पुराणका कथाहरु भन्नुको कारण आध्यात्मिक उपलब्धिका लागि अगाडि बढ्न सकियोस्, या मस्तिष्कको पूरै भाग सक्रिय गर्ने बाटो थाहा होस् भनेर नै हो । मनले उत्पन्न गर्ने बाधाहरु छिचोलेर त्यसभन्दा परको संसारको रहस्यका बारेमा बुझ्न सकियोस् भनेर नै हो ।

पुराणका कथाहरुमा त्यही बेलाका विशेष गरी महाभारतकालसँग सम्बन्धित घटनाहरु जोडिएका छन् । सुन्नेहरुले त्योबेला कथा किन सुन्छन् भने कथामा श्रीकृष्ण या उनैजस्ता कुनै विकसित पात्र जोडिएर आउँछन् ।

उदाहरणका रुपमा श्रीकृष्णलाई नै लिन लिऊँ, त्यस बेलाका बुद्ध हुन् उनी । पूरै मस्तिष्क विकसित भएका मनुष्य हुन् । त्यस्तो व्यक्तिले के–के गरे, किन गरे, के खाए, कसरी हिँडे, कसकसलाई के भने, कसरी जीवनयापन गरे, सबै घटना साधकहरु सुन्न चाहन्छन् । सुनाउनेहरु पनि पूर्ण मानवको कथा सुनाउन पाउँदा मख्ख पर्छन् । उनीहरुका लागि अरु सुनाउनुपर्ने जस्तो कुरा केही पनि छैन । जसरी अहिले पनि अध्यात्ममा रुचि लिने व्यक्तिहरु कुनै बुद्धत्व प्राप्त व्यक्तिहरुको जीवनका घटनाहरु सुन्न चाहन्छन्,उनीहरु जन्मेको, हुर्केको, बुद्धत्व प्राप्त गरेका स्थानहरुमा आफ्ना लागि ऊर्जा प्राप्त हुन्छ भनेर तीर्थस्थल मान्दै जान्छन् ।

कथा न हो, कथाहरुमा भयानकता, यथार्थता र काल्पनिकता जोडिन्छ नै । यदि यी तीन चिज छैनन् भने कथा रुचिवद्र्धक बन्दैन पनि । जसरी नीतिका कथाहरुबाट कथाले दिने सन्देश मात्रै लिइन्छ, त्यसैगरी पुराणहरुबाट पनि तिनले दिने सन्देश आफ्नो देश, काल, परिस्थितिअनुसार ग्रहण गरेर आफ्नो विकासको बाटो अवलम्बन गर्नुपर्ने हो । सामान्य मान्छेले पनि कथा सुन्दासुन्दा त्यसको सन्देश लिन सक्छ भन्ने हो । कथाहरुमा उल्लेख भएका घटनाहरुका बीचबाट गुह्य कुरा पत्ता लगाएर आफ्नो उन्नति गर्न सक्छ भन्ने हो । केही समयसम्म त्यो कुरा लागू भयो पनि । पछिपछि गएर भइदियो के भने कथाहरुलाई नै बोकेर हिँड्न थालियो ।

पुराणहरुमा श्रीकृष्णको वर्णन पढ्दा या सुन्दा हामीलाई सामान्य लाग्छ । तर यसमा ठूलो ज्ञान लुकाइएको छ । उनको नीलो शरीर, उनले लगाएका लुगाको रङ, उनको चम्किलो माला, राधासँगै बस्नु – यस्ता प्रसङ्ग जोडिएका कथा सुन्दासुन्दा सामान्य मनुष्यले आफैँभित्र त्यसको छवि देख्न सक्छ । आँखा बन्द गर्दा पनि देखिन थालेपछि मनुष्यको शरीरमा भएका सात चक्रहरु सक्रिय हुन सुरु हुन्छन् ।

आध्यात्मिक साधकहरुले सधैँ साकार र निराकार गर्नुपर्छ । निराकार ध्यान गर्नै सकिँदैन, स्वरुपलाई समातेर साकार ध्यान नगरे । मानौँ, ज्योतिको ध्यान गर्नुपर्छ भनियो भने कुनै स्वरुप नसमाती कसरी ज्योति ठम्याउने ? कुनै न कुनै स्वरुप नआई हुँदैहुँदैन । त्यही स्वरुप ध्यानलाई वैज्ञानिक तरिकाले गरियो भने पुग्नुपर्ने ठाउँमा अवश्य पुगिन्छ भन्नका लागि श्रीकृष्णको स्वरुपको व्याख्या आउँछ । नभएदेखि जुनसुकै वस्तुको स्वरुप ध्यान गर्‍यो भने मन एकोहोरो मात्रै हुन्छ, तर बाटो गलत बन्छ । आध्यात्मिक मार्गमा आवश्यक शरीरमा भएका सात चक्र सक्रिय बन्दैनन् । मन सूक्ष्म बन्दैन । श्रीकृष्णको स्वरुपको ध्यान गर्दा शरीरमा भएका चक्रहरु जाग्न थाल्छन् । मन सूक्ष्म बन्दै जान थाल्छ । सूक्ष्म मन अति आवश्यक कुरा हो यस मार्गमा ।  

उदाहरणका लागि, उनको शरीरको नीलो शरीरमाथि त्राटक गर्दा या आँखा बन्द गर्दा पनि त्यही छवि आइरह्यो भने मनुष्यको घाँटीमा रहेको विशुद्धि चक्र जाग्न थाल्छ । उनले लगाएको धोतीको पहेँलो रङले मणिपुर चक्र जाग्न थाल्छ । चम्किलो मालाले आज्ञा चक्र सक्रिय हुन थाल्छ । चक्रहरु जागृत गराउनु अत्यन्तै महत्वपूर्ण आवश्यकता हो अध्यात्ममा ।

विविध तिकडम विधि नअपनाई राधासहितको श्रीकृष्णलाई भित्रैदेखि याद गर्दा मात्रै मेरुदण्डभित्र हुने सुषुम्ना, सुषुम्नाभित्रको बज्रा, बज्राभित्रको चित्रा र चित्राभित्रको ब्रह्मनाडीबाट ऊर्जा माथितिर प्रवाहित हुन थाल्छ । राधा र कृष्णलाई सँगै राख्नु भनेको हरेक मान्छेभित्र रहेको पुरुष र स्त्री तत्व मिलाउनु हो । यी दुईविना मानव पूर्ण हुन सम्भव छैन ।

यही कारण हो, मूर्तिका माध्यमबाट आध्यात्मिक यात्रा गर्नु सबैभन्दा सजिलो हुन्छ भन्नुको । आनन्दको रसायन प्रवाह गर्ने औषधि नै माने पनि हुन्छ यी चिजलाई । तर यसरी अभ्यास कसले गर्छ ? यहीँबाट धर्म र अध्यात्म छुटिन्छ । कथा मात्रै बोकेर हिँड्नेहरु धार्मिक हुन्, कथाको सन्देश बुझेर अनुसन्धान गर्नेहरु आध्यात्मिक ।

फरक यसरी पनि बुझ्न सकिन्छ, धार्मिक गुरुले जहिले पनि भन्छ, “म भगवान्सरह हुँ । म उत्कृष्ट हुँ । म तिमीहरुलाई भगवान्सम्म पुर्‍याउँछु । मैले भनेको मानेनौ भने तिमीहरुलाई पाप लाग्छ ।” आदि इत्यादि ।
यस्ता गुरुहरु अहंकारी हुन् । यिनले साधकहरुलाई अल्झाएर मात्रै राख्छन् ।

आध्यात्मिक असली गुरुले त भन्छ, “म पनि तिमीहरुजस्तै हुँ । मलाई यस मार्गका बारेमा तिमीहरुलाई भन्दा अलिकति बढी जानकारी छ, त्यति मात्रै हो । यदि तिमीहरु पनि यस मार्गमा अगाडि बढ्न चाहन्छौ भने म बाटो बताइदिन सक्छु, तर मिहिनेत तिमीहरुले नै गर्नुपर्छ । तिमीहरु आफैँले अभ्यास गरेर हेर्नुपर्छ ।”      

यदि कुनै पनि पुराणहरु या अन्य कुनै शास्त्र पढ्दा आध्यात्मिक रुपमा व्यक्तिको उन्नति हुँदैन भने तिनको कामै छैन । कथामा झुण्डिएर मात्रै के हुन्छ ? केही हुँदैन ।

मानौँ, अरुको सहयोग गर्दा आनन्द आउँछ भन्ने सन्देश दिनका लागि कुनै बच्चालाई एउटा भालु या कुनै देवताको कथा भनियो । त्यो भालु या देवताले कुनै घटनाबाट एकजना मान्छेको सहयोग ग¥यो । मान्छेको प्राण बचाइदियो । यसको अर्थ यो होइन कि भालु या देवता भगवान् हो, उसको पूजा गर्नुपर्छ । भालु या देवताले जसोजसो गर्‍यो त्यसैत्यसै गर्नुपर्छ । भालु या देवताले गरेको सहयोगबाट आफूले पनि सहयोग गर्दा फाइदा हुने रहेछ भनेर सिक्ने मात्रै हो । त्यही अवस्थाा त अरुलाई आउँदैन नै । त्यसैले सिकेर अर्कै परिस्थितिमा पनि त्यो लागू गर्नुपर्ने हुन सक्छ ।

पुराणका कथाहरुमा उल्लेखित पात्रहरुले गरेकै जस्तो गर्न खोज्यो के हुन्छ ? केही हुँदैन । मानौँ, पार्वतीले शिव वर पाऊँ भनेर तपस्या गरिन् रे ! उनले पाइन् रे पनि ! पार्वतीको जस्तो व्रत अहिलेको समयमा सम्भव होला ? अवश्य पनि छैन । अनि धेरथोर व्रत बस्नेहरुले पनि कतिले पाएका छन् शिवजस्ता पति । यदि शिवजस्ता पति पाए भने पनि अहिलेको समयमा कसरी सान्दर्भिक हुन सक्छ ? भाङ्, धतुरो खाँदै हिँड्ने, अर्धनग्न भएर हिँड्ने, आफ्नी पत्नीलाई छाडेर अर्कैसँग रासलीला गरिदिने, आफ्नै पत्नी कुनै अर्को मान्छेलाई दिइदिने गरिदियो भने त्यो मान्छे अहिले भगवान् शिवजस्तो होइन, कुनै पागलखाना या जेलखानामा हुन्थ्यो । यदि साँच्चै नै शिवकै जस्तो क्षमता भएको मान्छे छ भने पनि उसलाई अहिलेका मानिसले कसरी चिन्न सक्छन् ?

त्यस बेलाका सबै खालका मानिसलाई बुझाउनका लागि शिक्षा हुन् पुराणहरु । तिनबाट सन्देश लिन सक्नुपर्छ । कथामा झुण्डिएर बस्यो भने ‘हामी एक्काइसौँ शताब्दीमा बाँचिरहेका छौँ, तर हाम्रो सोच सोह्रौँ शताब्दीको जस्तो छ’ भन्ने भनाइ लागू हुन्छ । हामी न यताका हुन्छौँ, न उताका, जसरी अहिले भइरहेको छ । समय धेरै बदलिइसक्दा पनि हामी बदलिन सक्तैनौँ । अन्धविश्वासमा अल्झिइरहन्छौँ ।

स्वस्थानीको कुरा गर्ने हो भने यो कुनै गुह्य रहस्यले भरिएको शास्त्रीय ग्रन्थ होइन । स्कन्द पुराणबाट केही कुराहरु अनुवाद गरेर बाँकी आफ्नै कथाहरु समेटिएको छ यसमा । यसका केही कथाहरु स्कन्द पुराण र अन्य पुराणहरुमा पनि पाइँदैनन् । स्कन्द पुराणबाहेक अन्य केही पुराणका टुक्राटाक्री पनि जोडिएको छ यसमा । कला नभएको व्यक्तिले टुक्राटाक्री जोड्दा त्यो कुरुप बनेजस्तै बनेको छ एक हिसाबले यो ग्रन्थ । त्यही त देखिन्छ स्वस्थानी व्रतकथामा ।  

जस्तै, स्वस्थानीका सुरुका केही अध्याय भूगोल, सृष्टि आदिको सृष्टिको वर्णन आउँछ । यी प्रसङ्ग श्रीमद्भागवतबाट लिइएको हो । विष्णुले मधु र कैटव नाम गरेका दानवलाई मारेका कुरा वराह पुराणबाट लिइएको हो । पद्मपुराणलगायतका अन्य पुराणहरुबाट पनि कथा लिइएको छ । कुनै पनि पुराणमा स्वस्थानी नामको पात्र नै भेटिँदैन ।

स्वस्थानी व्रतकथाका बारेमा बताइरहँदा एउटा अर्को प्रसङ्ग जोड्नु सान्दर्भिक हुन्छ । धेरै पहिलादेखि बेलाबेलामा हिन्दु मन्दिरहरुमा जाँदा र बाटोमै पनि एउटा पर्चा बाँडिराखिएको हुन्छ । जसमा कुनै चमत्कारजस्तो लाग्ने घटना उल्लेख गरिएको हुन्छ ।

“अकस्मात् भगवान् शिव प्रकट हुनुभयो र भन्नुभयो.....” या “नागदेवता प्रकट हुनुभयो र दूध माग्नुभयो, त्यो सेवन गर्नुभयो, अनि भन्नुभयो....”  भनेर सानो घटना राखेर अन्तिममा भनिएको हुन्छ, “यो पर्चा आफूले पढेर अरु पाँच सयप्रति छापी अरुलाई बाँड्यो भने पुण्य मिल्छ । एकजना फलानो समस्या (कुनै पनि व्यावहारिक समस्या) मा परेको मान्छेले पाँच सयजनालाई यो पर्चा बाँड्दा उसलाई फाइदैफाइदा भयो । पर्चा बाँड्नुपर्छ भनेर थाहा पाउँदापाउँदै पनि नबाँडेका कारण फलानोलाई यस्तो घाटा भयो ।” आदिआदि ।

हजारौँ मान्छेहरु छन्, जो यस्तो पर्चा पढेपछि डराउँछन्, थोरै मान्छेहरु लोभमा पर्छन् र पर्चा छपाएर बाँडिदिन्छन् । यसरी धर्मका नाममा बेकारमा लोभ र डरले पनि ठूलो काम गरिरहेको देख्न सकिन्छ ।

यही पाटोबाट स्वस्थानी व्रतकथालाई पनि हेर्न सकिन्छ, किनभने यो व्रत पूरै विश्वासमा मात्रै आधारित देखिन्छ । यसको व्रत बस्दा हुने विश्वासका आधारमा यस्तो उस्तो फाइदा हुन्छ भनिएको मात्रै छ । तर उसले कुनै उपलब्धि गराउँदैन पुराणहरुको उद्देश्यअनुसारको । पुराणहरुमा हरेक घटना घट्नुका कारण छन्, तिनलाई पुष्टि पनि गरिएका छन्, यसमा छैन । हुन सक्छ, व्रत बसेका कारण स्वास्थ्यलाई केही फाइदा होला, हाम्रो संस्कृति भनेर जोगाउन पनि सकिएला – यी फरक कुरा हुन् ।

चित्त नबुझ्दो कुरा के छ भने स्वस्थानी, पुराण आदि ग्रन्थहरुमा जन्म, विवाह र मृत्यु पूर्वजन्ममा आधारित हुन्छ भनिन्छ । यदि निश्चित हुन्छ भने फेरि शिवजस्ता पति पाऊँ भनेर व्रत बस्नुको के अर्थ ? पार्वतीले शिवको गरिन्, किनभने शिव पूर्ण विकसित अवस्थामा उल्लेख छन् सबै शास्त्रहरुमा । यस्तो अवस्थामा उनको ध्यान गर्नु जायज हो । पार्वतीले शिवलाई जसरी पनि पाउने नै थिइन्, यो कुरा पहिल्यैदेखि पक्का थियो । अन्य मानिसहरुको मामलामा यो कुरा लागू हुन सक्तैन । शिवको ध्यान गर्नु फरक कुरा हो, शिवजस्तै पति पाऊँ भन्नु फरक कुरा ।

स्वस्थानी व्रतकथाको ग्रन्थ लेखिएको धेरै नभएको उदाहरणले पनि कुनै धार्मिक व्यक्तिले पुराणका केही कथाहरुलाई आधार बनाएर कल्पिएको कथा हो भन्न सकिन्छ ।

करिब १८ सय वर्षअघिका घटनाहरु पढ्न पाइन्छन् । कुनै देशमा राज्यको ढुकुटी रित्तिन लाग्यो भने देशका राजाले केही गुप्तचरलाई ऋषिको भेषमा अन्य केही शिष्यहरु तयार गरेर मानिसहरुको बीचमा पठाइदिन्थे । अनि आफैँ ऋषिको दर्शन गर्न भनेर जान्थे । नक्कली ऋषिका शिष्यहरुले गाउँगाउँमा गएर ऋषिको गुण गाउन थाल्थे । ऋषिको गुणगान सुनेपछि र देशका राजा, प्रधानमन्त्री नै दर्शन गर्न आएपछि जनतामा ती ऋषिप्रति अथाह विश्वास जाग्थ्यो । ऋषिले योजनाअनुसार कुनै एउटा पुरानो मूर्ति लगेर कुनै एकान्तमा गाडिदिन्थे । केही समयपछि आफूले समाधिको अवस्थामा देखेको भन्दै जनताद्वारा नै उत्खनन गर्न लगाउँथे ।

जनता आफैँले ऋषिले भनेजस्तै देख्थे र उनीहरुको विश्वास अझै गढ्थ्यो । ऋषिले त्यो मूर्तिलाई स्थापित गरेर मन्दिर बनाउन उक्साउँथे । जसले जति धेरै धन चढाउँछ उसलाई त्योभन्दा धेरै गुण धन प्राप्त हुन्छ भनिदिन्थे । जनताले सोहीअनुसार गर्थे । त्यो धन राज्यको ढुकुटीमा जान्थ्यो । ऋषि र उनका शिष्यहरुले आफ्नो भेष पहिलाकै जस्तो बन्थे । जनतामा हल्ला चल्थ्यो, ऋषि आफ्ना शिष्यसहित लोप भए । हाम्रो उद्धार गर्न आएका थिए, आफ्नो सिद्धिद्वारा अलप भए । त्यसपछि जनताको धर्मप्रतिको विश्वास झनै चरम अवस्थामा पुग्थ्यो ।

यस्ता थुप्रै घटनाहरु पढ्दा स्वस्थानी व्रतकथामाथि पनि झट्टै विश्वास गरिहाल्नुपर्ने कुनै आधार छैन । यसको अर्थ व्रत बस्नै हुँदैन भन्ने पनि होइन । तर सत्यतथ्य केलाउने प्रयास गर्नुपर्छ । यस्ता कुराहरुमाथि पहिला शोध हुनुपर्छ, अनुसन्धान हुनुपर्छ र प्रमाणित गरेर मात्रै पालना गर्दा राम्रो हुन्छ ।

वर्षैपिच्छे स्वस्थानीको व्रत बस्नेहरु हजारौँको संख्यामा छन् । तर अनुसन्धान गर्नेहरु एकजना नेपाली पनि छैनन् । सरकारका तर्फबाट पनि यसको यस्तै अन्य धार्मिक कुराहरुको रिसर्च गर्नका लागि कुनै योजना छैन । आवश्यक नै ठान्दैन । बरु डा. जेसिका वान्थाइन विरकेन्होल्ज नामकी एक अमेरिकी नागरिकले स्वस्थानी व्रतकथामा पीएचडी गरेकी रहिछन् । रिसर्चका लागि उनी पाँचपटकसम्म साँखु पुगेकी रहिछन् । उनको भनाइअनुसार स्वस्थानीको पुस्तक लगभग ४४१ वर्षअगाडिको हो । पुरानो पुस्तकमा जम्मा २ दिन र एक रातको पूजाविधिहरुका बारेमा मात्रै वर्णन गरिएको छ । पछिका पुस्तकहरुमा भने एक महिनाको पूजाविधिबारे वर्णन गरिएको छ ।

यसबाट स्पष्ट हुन्छ, स्वस्थानी व्रतकथा पछि विकसित भएको हो र पुराणका केही कथाहरुलाई आधार बनाएर कल्पिएको कथा हो । जबकि पुराणहरुमा स्वस्थानीको नाम नै उल्लेख छैन ।

यो एउटा राम्रो कथा हो मात्रै भन्न सकिएन भने यसबाट अहिलेको समाजमा पर्ने घाटाहरु धेरै छन् । जस्तै – ७० वर्षको बूढोसँग सात वर्षकी गोमासँगको बिहे प्रसङ्ग । ऋषिपत्नीहरु आफ्ना पतिबाट सन्तुष्ट नभएपछि शिवको लिङ्गबाट आकर्षित हुँदै पछि लाग्नु । वृन्दाका पति जालन्धर पत्नीसँगै सल्लाह गरेर पार्वतीलाई छल गरी यौन सम्बन्धका लागि जानु तर यसमा वृन्दाको कुनै आपत्ति नहुनु । विष्णुले गएर जालन्धरकी पत्नीसँग यौन सम्बन्ध गाँस्नु । यस्ता थुप्रै प्रसङ्गहरु छन्, जुन अहिलेको समाजमा अलिकति पनि मेल खाँदैनन् ।

स्वस्थानीका कथाकार निकै चलाख पनि देखिन्छन् । उनले स्वस्थानीलाई देवीको कथा भने । यही कारणले अहिले पनि महिलाहरु नै यसको व्रत गर्नेहरु हुन्छन् । तर केन्द्रमा मनलाग्दी गर्दै हिँड्ने शिव छन् । पुरुषहरुलाई खुल्ला हुन छुट र महिलाहरुलाई पतिव्रता भएरै बस्नुपर्छ भन्ने सन्देश यसले दिएको छ ।

एउटा स्वस्थानी व्रतकथाको सबैभन्दा ठूलो घाटा भनेको कथाहरु शुद्ध मनले पाठ गर्नुपर्छ भनिएको छ । एक महिनासम्म एक छाक खाएर व्रत वस्नुपर्छ, चोखो रहनुपर्छ भनिएको छ तर कथाहरु यौन कथाजस्ता लाग्छन् । यो समयमा यौनका कथाहरु सुन्दा त्यो कथाको प्रभाव के पर्ला ? आफ्ना पतिसँग यौनक्रियाकलापको आनन्द लिएको ! अविवाहिता छन् भने शिवजस्तै छाडा पतिसँग यौनसम्बन्ध गाँसेको !

लेखिसकिएको र धार्मिक आस्था भएका धेरै मानिसले मान्न थालिसकेका कारण यसबाट कम्तीमा पनि सकारात्मक सन्देश लिन सक्नुपर्छ । हैन भने संस्कृति मान्ने क्रममा समाज झन्झन् सङ्कुचित हुँदै गएको पत्तै पाइन्न ।
जस्तै – ७० वर्षको बूढा र ७ वर्षको गोमाको जस्तो अनमेल विवाह भयो भने विशेष गरी पत्नीले जीवनभर दुःख झेल्नुपर्ने हुन्छ । त्यसैले यस्तो विवाह उपयुक्त हुँदैन । घरमा भिक्षु आउँदा भिक्षा नदिनाले गोमालाई श्राप मिल्छ भन्नुको अर्थ कुनै पनि काम ढिला गर्नुहुँदैन भन्नु हो । राम्रो काममा ढिला गर्‍यो भने पछि लामो समय दुःख झेल्नुपर्छ भन्नु हो ।

चन्द्रावती र दक्षप्रजापतिको जस्तो व्यवहार देखाउँदा अहंकार बढ्छ र ठूलो कष्ट झेल्नुपर्छ भनेर सिक्न सकिन्छ । नवराज पात्रबाट कर्तव्यपालमा कहिल्यै चुक्नुहुँदैन भनेर बुझ्न सकिन्छ । नशामा होस गुम्छ र आफूले गरेको गल्तीका बारेमा थाहै हुँदैन भनेर शिवले नशाको सुरमा पार्वती अर्कैलाई दिएर पठाएको प्रसङ्गबाट बुझ्न सकिन्छ । यस्तैयस्तै धेरै कुराहरु....।
 

प्रकाशित: १४ माघ २०७६ ०६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App