२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

तिला संकराइत

अनादिकालदेखि मेची–महाकालीसम्म बसोबास गर्ने थारु समुदायले तिला संकराइत मनाउँदै आएका छन्। यो वर्ष पनि बिहानै नुवाइधुवाई गरेर तिलको लड्डु, लाई, मुरही, तरुल, घुँगी, सितुवा र माछामासु खाएर तिला संकराइत धुमधामसँग मनाइयो। माघमा मनाइने भएकाले यसलाई माघी, तिला संक्रान्ति, मकर संक्रान्ति, माघे संक्रान्ति, खिचरी, माघ र लाई नाम दिइएको पाइन्छ।

सूर्य मकर रेखाबाट कर्कट रेखामा जाने भएकाले मकर संक्रान्ति भनिएको हो। तिलको महत्वपूर्ण स्थान रहेकाले यसलाई तिला संक्रान्ति पनि भनिन्छ। माघीको दिनदेखि नै सूर्य ‘तिलेतिले’ (शुभ–शुभ) बढ्ने भएकाले थारु समुदायमा दिन लामो र रात क्रमशः छोट्टिँदै जाने विश्वास गरिन्छ। माघीमै वर्षभरिको हरहिसाब फर्छौट गरी आगामी वर्षका लागि योजना बनाइने भएकाले यसलाई नयाँ आर्थिक वर्षका रूपमा लिइन्छ। बिहानै नजिकैको तलाउ, पोखरी वा इनारमा नुवाइधुवाइ गरेर कुलदेवतालाई जल चढाइन्छ। यसबेला खानपिनमा कुनै बन्देज लगाइँदैन। ठूलाबडाको आशीर्वाद लिएर मात्र खानेकुरा खाइन्छ। पुस मसान्तमा दिदीबहिनीबाट बनाइएका परिकार माघ १ मा खाइन्छ। त्यस्तै, बेलुका घर र डिहवारको थानमा दियो र धूप बालिन्छ। आ–आफ्नो औकातअनुसार चेलीबेटीलाई मोटरी वा ढाकीभरि लाई, मुरही र तिलको लड्डु कोसेली पठाउने चलन छ। यो क्रम फागुनसम्म चल्छ।

कतिपय लेखकले तिला संकराइतलाई नयाँ वर्ष र थारु संवत् माने पनि विशेषतः थारु समुदायले वैशाखलाई नै नयाँ वर्ष मानेको पाइन्छ। थारु समुदायले वैशाखमै सिरुवा र जुडशीतल मनाउँदै आएका छन्। यसै दिन अगामी वर्षका लागि योजना बनाउने र घरमा मुन्सी, कामदार, ठाकुर र नोकरचाकर पनि राख्ने गरिन्छ। कृषिबाहेकका कामका लागि अन्य जाति वा समुदायसँग सम्झौता गरिन्छ। जस्तैः फलाम र गरगहनाको काम गर्ने, लुगा सिलाउने, कपाल काट्ने, पूजापाठमा सघाउने (बाहुन)हरुसँग एक वर्षका लागि सम्झौता गरिन्छ। त्यस्तै, माइन्जन, जेवार, मुली, बरघर चुन्ने परम्परा पनि छ, जसले गाउँघरमा हुने सानातिना झगडा, असहमति तथा विवाद सजिलैसँग समाधान गरिदिन्छन्। चौकीदार र गोराइत राख्ने–नराख्ने वा नयाँ राख्ने पनि यसै समयमा निधो गर्ने चलन छ।

माछामासु र घुँगीका सोखिन थारु जातिले तिला संकराइतको तयारीका लागि पुस मसान्तमा गाउँको पोखरीमा माछा र घुँगी मार्छन्। प्रत्येक गाउँमा कम्तीमा दुई–तीनवटा पोखरी हुन्छन्। सो अवसरमा खसी, बंगुर, हाँस, परेवा पनि काटिन्छ। माछामासुबाहेक तिल, मुरही, चिउराको लड्डु, तरुल, अलहुवा (सक्खरखण्ड) ढिक्री, तेलपौर रोटी, तिलखिचरी, गुरखिचरी आदि खाने चलन छ। थारुकला, संस्कृति झल्किने वेशभूषा लगाइन्छ। थारु परम्परा झल्किने नृत्य, गीतसंगीत पनि प्रस्तुत गरिन्छ। हाल संस्कृतिका रूपमा विकृति पनि त्यतिकै भित्रिएको छ। आफ्नो कला, संस्कृतिभन्दा पनि अरूको नक्कल गर्ने चलन बढेको पाइन्छ। खानपिनमा जाँड–रक्सीलाई प्राथमिकता दिने गरिएको छ। नजिकैको धार्मिक स्थलमा मेला लाग्छ, दुःख बिर्सिएर मनोरञ्जन गरिन्छ। राति गाउँगाउँमा धुमरा, सखिया, मान, सोरैठ नाच देखाइन्छ। यी नृत्यमा युवतीहरूले विशेष जोड दिने गरेका छन्।

थारुहरु मनकारी हुन्छन्, भए र पुगेसम्म कुनै आशा लिएर आफ्नो घरमा आउने जो–कोहीलाई खाली पेट र खाली हात फर्काउँदैनन्। केही थारु कमैया हुन पुगे पनि जातीय गुण र पर्व मनाउने भावनामा परिवर्तन आएको छैन। कमैयाले पनि तिला संकराइतमा छुट्टी पाउँछन्। उनीहरू इच्छाअनुसार खानपान गर्छन्। यसैकारण यसलाई मुक्ति दिवस पनि भन्ने गरिएको छ। यसै दिन कमैया बस्न मोलमोलाइ तथा सम्झौता हुने गरेको तीतो यथार्थ थारु समुदायमा थियो। कुनै समय माघीको अवसरमा थारुलाई फकाएर जग्गा–जमिन हात पारिन्थ्यो, थारुका चेलीबेटीलाई कमैया बनाइन्थ्यो। सरकारको घोषणासँगै कमैयाहरु मुक्त त भएका छन्, तर उचित व्यवस्थापन नगरिएकाले उनीहरूको जीवनमा खासै सुधार आएको देखिँदैन। कतैकतै कमैया प्रथा हटेको छैन। कतिपय लेखकले सिद्धार्थ गौतमको वंशज र इमानदार कुशल शासक थारुलाई कुनै निश्चित क्षेत्रमा रहेको कमैयाका रूपमा चित्रण गरेका छन्, जुन सरासर गलत हो। केही समुदायको छलकपटले केही थारु कमैया बनेका हुन्। तर, पूर्वाग्रहले सम्पूर्ण थारुलाई कमैयाग्रसित मानसिकताले सम्बोधन गर्नु थारु समुदायमाथिको अन्याय हो।

तिला संकराइतलाई थारु मौलिक संस्कृति जोगाउने पर्वका रूपमा मनाइनुपर्छ। यसो भएमा मात्र तिला संकराइत, माघी, खिचरा, लाई र माघ पर्वको मौलिक पहिचान जोगिन्छ। आफ्नो आर्थिक क्षमताअनुसार खर्च गरेर संस्कृति संरक्षण गर्ने ध्येयले मनाइनुपर्छ। यसलाई राष्ट्रिय पर्वका रूपमा संरक्षण र संवद्र्धन गर्नु सबैको जिम्मेवारी हो।

प्रकाशित: ४ माघ २०७६ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App