११ फाल्गुन २०८० शुक्रबार
अन्य

चेली पुज्ने ‘माघे सकराती’

काठमाडौं उपत्यकामा बस्ने मगरहरूले यसपालि टुँडिखेलमा भेला भएर भव्यताका साथ माघे सकराती (माघे संक्रान्ति) मनाए। नेपाल मगर संघको अगुवाइमा बुधबार सांस्कृतिक झाँकीसहित सुरु भएको कार्यक्रम दुई दिनसम्म चल्यो। मौलिक वेशभूषामा ठाँटिएका मगरको सांस्कृतिक प्रदर्शनीले टुँडिखेल रौनकमय बन्यो। काठमाडौंसँगै मगरको बाक्लो बस्ती भएका विभिन्न भू–भाग र विदेशमा समेत विविध सांस्कृतिक कार्यक्रम गरिए।

एक दशकदेखि सुरु भएको यस्तो कार्यक्रममा बर्सेनि सहभागीको संख्या बढ्दो छ। माघे सकराती प्रायः सबै नेपालीले मनाउने महत्वपूर्ण सांस्कृतिक पर्व हो। विशेषतः थारू, मगर, छन्त्याल लगायतले यसलाई आफ्नो समुदायको मुख्य सांस्कृतिक पर्वका रूपमा मनाउँछन्। यी जातिहरू पछिल्लो समय आफ्ना लोप हुन लागेका संस्कृति र रीतिरिवाजको जगेर्नामा संस्थागत रूपमै लागेका छन्।

राष्ट्रिय सांस्कृतिक पर्व

संस्कृतिका धनी भए पनि राज्यले एक भाषा र एक धर्मको नीति लिएसँगै भाषिक, सांस्कृतिक र राजनीतिक दृष्टिले मगरहरू लगायत जाति, समुदाय पछाडि परे। मगरहरूसँगै थुप्रै जातिले आफ्ना संस्कृतिलाई जागरण र एकताका रूपमा मनाउन थालेका छन्। मगरहरूको आवाज र मागकै कारण २०६५ सालमा सरकारले यसलाई मगरहरूको राष्ट्रिय मौलिक चाडका रूपमा मान्यता दिएको थियो। यसपछि विविधतामा एकता खोज्दै सम्पूर्ण मगर समुदायले यस पर्व मनाउन थालेका हुन्।

जनगणना २०६८ को तथ्यांकअनुसार, देशको तेस्रो ठूलो जनसंख्या भएको जाति हो, मगर। सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमा मगरकै जनसंख्या बढी छ। सबैजसो जिल्लामा छरिएर यति ठूलो संख्यामा रहेको मगर जातिमा निश्चय नै सांस्कृतिक–सामाजिक विविधता छन्। मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगरका अनुसार मगरहरूको सिंगो संस्कृतिभित्र मूलतः तीन शाखा संस्कृति छन्– बाह्र मगरात, अठार मगरात र काइके।

गुल्मीको रिडी क्षेत्रभन्दा पूर्वका मगरहरूको भाषा–संस्कृतिलाई बाह्र मगरात (ढुट) र त्यसभन्दा पश्चितिरका मगरको भाषा–संस्कृतिलाई अठार मगरात (खाम-पाङ) भनिन्छ। ज्ञानेन्द्र भन्छन्, ‘डोल्पाका केही गाउँमा बसोबास गर्ने अल्पसंख्यक काइके मगरको छुट्टै भाषा–संस्कृति छ, जुन अन्य मगर संस्कृतिसँग मेल खाँदैन।’ यी तीनै खाले मगरका भाषा आपसमा मिल्दैनन् नै, जन्मदेखि मृत्युसम्मका संस्कारमा केही भिन्नता पाइन्छ। माघे सकरातीलाई भने यी तीनै खाले संस्कृतिका मगरले प्राचीन कालदेखि मनाउँदै आएको मगर संस्कृति अध्येताहरूको भनाइ छ। मगर संस्कृतिमा विद्यावारिधि गरेका मीन श्रीस मगरका अनुसार वर्षायाममा लगाइएको बालीनाली हिउँदयाममा पाक्छ। नयाँ अन्नबाट बनाइएको खिचडी माघे सकरातीको अर्को विशेष परिकार हो। त्यसैगरी नयाँ अन्नबाटै बनाइने सेलरोटी, बारा, बटुकरोटीसँग सुँगुरको मासु, पिँडालुको अचार र जाँडरक्सीजस्ता मगर परिकार यो पर्वमा खाने गरिन्छ।

चेली सत्कारको पर्व
देशभरिका मगरले माघे संक्रान्तिका बेला चेलीबेटीलाई निम्तो गरेर मीठो–पोसिलो खानेकुरा खुवाउने, टीका लगाइदिएर दक्षिणा दिने चलन छ। मगर संस्कृतिसम्बन्धी अध्येता बमकुमारी बूढा मगरका अनुसार मगर समुदायमा माघे सकरातीको खास विशेषता भन्नु नै चेलीलाई पुज्नु हो। उनी भन्छिन्, ‘दाजुभाइ र दिदीबहिनीका बीचमा प्रेम, सद्भाव, विश्वासको वातावरण तय गर्ने एउटा महत्वपूर्ण पर्वका रूपमा यो रहेको छ।’

अध्ययताका अनुसार यस चाडमा दाजुभाइले खासगरी बिहे गरेर गइसकेका दिदीबहिनीलाई निम्ता दिन्छन्। माइत आएका दिदीबहिनीले सकरातीको दिन बिहानै नुहाइधुवाइ गरेर पँधेराबाट ल्याएको चोखो पानी र जौको जमराले घरको धुरीखाँबो पुज्ने गरिन्छ। त्यसपछि चेलीहरूलाई दाजुभाइले चामलको सेतो टीका र जौको जमरा लगाइदिएर दक्षिणासहित ‘मिस्रा’ दिने गर्छन्। छोरीचेलीलाई दिइने तरुल, गिठा, भ्याकुर, पिँडालु, रोटी, खिचडीलगायतलाई मिस्रा भनिन्छ।

माइत आउन नसकेका चेलीलाई उनीहरूकै घरघरमा मिस्रा पु-याइदिने वा पठाइदिने चलन छ। बमकुमारीका अनुसार, पश्चिमतिरका मगर समुदायमा यस दिन दाजुभाइले दिदीबहिनीलाई बोलाउनैपर्ने र दिदीबहिनी पनि उपस्थित हुनैपर्ने परम्परा रहँदै आएको छ। ‘निम्ता नगरेको र निम्तो अस्वीकार गरेको अवस्थामा माइतीचेलीको सम्बन्ध नै संकटमा पर्ने अवस्थासम्म पैदा हुन्छ,’ उनी भन्छिन्। आफ्नै दिदीबहिनी नभएकाहरूले नाताले दिदीबहिनी पर्नेलाई बोलाउने चलन पनि छ।

नेपालको पूर्वी भेगतिरका मगरले भने अघिल्लो दिन वनमा गई ल्याएको वनतरुलको काँचो टीका लगाउने/लगाइदिने चलन रहेको मगर सांस्कृतिक संघका अध्यक्ष कविराज मगर बताउँछन्। उनका अनुसार यो पर्वमा चेलीबेटी र ज्वाइँ–कुटुम्बलाई बोलाएर विभिन्न परिकार खुवाउने चलन धेरै पहिलेदेखिको हो। माघे सकारातीमा मगर समुदायले तरुललाई सबैभन्दा बढी महत्व दिने गर्छ। माघ १ गतेदेखि गर्मी मौसम सुरु हुने भन्दै शरीरलाई चिसो बनाएर प्रकृतिसँग मिलाउन वनतरुल, घरतरुल खानुपर्ने मान्यता मगर समुदायमा रहेको पाइन्छ। पिँडालु, सखरखण्ड, गिठा, भ्याकुरलगायत कन्दमूललाई पनि तरुल बराबर नै मानेर खाने चलन पनि छ।

नयाँ आर्थिक वर्ष
पहिले मगरहरूले माघे सकरातीलाई नयाँ आर्थिक वर्षको रूपमा लिन्थे। यसको पछाडि निश्चित ऐतिहासिक तथ्य रहेको नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर बताउँछन्। उनका अनुसार प्राचीन तथा मध्यकालमा नेपालमा थुपै्र मगर राज्य अस्तित्वमा थिए। त्यतिबेला बितेको वर्षको समीक्षा गर्ने तथा आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्ने दिनका रूपमा माघ १ गतेलाई लिइन्थ्यो। त्यतिबेला राज्यले मात्र नभई सर्वसाधारणले पनि आफूसँग सम्बन्धित सबैखाले हरहिसाब अद्यावधिक मात्र नभई परिवारजनका बीचमा काम बाँडफाँड पनि यसै दिन गर्थे। मीन श्रीसका अनुसार मगर समुदायले वर्षभरिको समयलाई दुई भागमा विभाजन गरी माघे संक्रान्तिदेखि असार मसान्तसम्म उभौली र साउने संक्रान्तिबाट पुस मसान्तसम्म उधौलीका रूपमा लिने गरेका छन्। उभौली सुरु हुनुलाई नै मगरहरूले नयाँ वर्ष आरम्भको मान्यता दिने गरिएको उनी बताउँछन्।

सामाजिक र सांस्कृतिक पक्ष
मगर समुदायमा मौसमअनुसार बेग्लाबेग्लै गीत–नृत्यमा रमाउने चलन छ। बाजागाजा कहिले बजाउने र कहिले बन्द गर्ने भन्ने सामाजिक प्रावधान छ। साउने सकरातीबाट चर्को आवाज आउने मादल आदि बाजा बजाउन पाइन्छ भने माघे सकरातीसँगै तिनलाई बन्द गर्ने चलन छ। त्यही दिनमा मधुरो आवाज हुने खैँजडी बजाएर गाइने र सुस्त चालमा नाचिने कौडाको विधिवत् सुरुवात गरिन्छ।

मगर संस्कृतिका अध्यताका अनुसार पश्चिम भेगको पहाडी क्षेत्रमा अहिले पनि मगरहरूको बसाइ लेक र बेंसी दुवैतिर हुने गर्छ। ‘उभौली लागेसँगै लेकका पाटनमा गएर लामो समय बस्ने, खेतीपाती गर्ने, भेडाबाख्रा पाल्ने गर्छन्,’ मीन श्रीस भन्छन्, ‘जाडो पनि बढेको, कामको बोझ नभएको बेला पारी बेंसीमा झारिएका भेडीगोठ पुनः लेकतिरै लाने बेला भएको संकेत गर्ने पर्वका रूपमा माघे सकरातीलाई लिने गरिन्छ।’ डा. श्रीसका अनुसार यो पर्वले तिहारकै झल्कोसमेत दिने गरेको छ। किनकि यतिबेला कतैकतै ‘देउसीभैलो’जस्तै घरघरमा पुगी नाचगान गरी माग्ने चलन छ। बाग्लुङको एउटा भेगतिर पहिलो दिनलाई ‘जेठी सकराती’ र दोस्रो दिनलाई ‘कान्छी सकराती’ भनेर दुई दिन मान्ने पनि गरेका छन्। कतैकतै पितृ चाडका रूपमा पनि यो पर्व मनाउने चलन छ।

तारो हान्ने खेल
माघे सकरातीका बेला मगर समुदायमा तीर हान्ने खेल खेलिन्छ। डा. श्रीस मगरका अनुसार परम्परागत आधारमा हेर्दा मगर समुदायमा पुस १५ गतेबाट मात्रै धनुकाँड चलाउन पाइन्छ। दुई साताजति अभ्यास गरेर माघे सकरातीका दिन तारो हान्ने प्रतियोगिता हुने गर्छ। प्रतियोगिता जित्नेलाई विभिन्न पुरस्कार दिइन्छ। पहिलेपहिले तारो हान्ने खेल जितेर साली (मामाचेली) लाई विवाह गर्ने समेत चलन थियो। कतिपय ठाउँमा तरुनीले तन्नेरीलाई निसाना बनाएर तारो हान्न चुनौती दिएर विवाह गर्ने सर्त राख्थे। तारो हान्ने बाजी जितेर विवाह भएका धेरै उदाहरण मगर समुदायमा पाइन्छ।  

तारो खेलले मगरहरू सिकारी जाति भएको संकेत दिन्छ। प्राचीन तथा मध्यकालमा बाबुबाजेले आफ्ना सन्तानलाई धनुकाँड चलाउन सिकाउने गरेको र कालान्तरमा त्यो खेलका रूपमा विकसित भएको अठार मगरात संस्कृतिकी अध्यता बमकुमारी बताउँछिन्। पहिलापहिला भेडीगोठ लिएर जाँदा वनमा विभिन्न जनावरको सिकार गर्न र खतरनाक जनावरको आक्रमणबाट बच्न धनुकाँड चलाउने गरिन्थ्यो। धनुकाँड चलाउने सीप अघिल्लो पुस्ताले पछिल्लोलाई सिकाउने चलन थियो, जुन माघेसंक्रान्तिकै आसपासमा हुन्थ्यो। त्यसैकारण पछि आएर माघे सकरातीमा मगर समुदायमा खेलिने एउटा महत्वपूर्ण खेलका रूपमा यसको विकास भएको मान्यता छ।

सार्वजनिक बिदाको माग
माघे सकरातीमा दिन थालिएको सार्वजनिक बिदा पछिल्लो सरकारले कटौती गरेपछि चौतर्फी असन्तुष्टि प्रकट भएको पाइन्छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश नेपालको मूल मर्मलाई संविधानले आत्मसात् गरे पनि राज्यले सबैखाले सांस्कृतिलाई समानताका आधारमा सम्मान दिन नसकेको मगर संघका अध्यक्ष रोका सुनाउँछन्। आदिवासी जनजातिका चाडपर्वमा दिइने सार्वजनिक बिदा हटाएर राज्यले विभेद गरेको उनको भनाइ छ।

दिन थालिएको बिदा हटाउँदा राज्यप्रति हुने अपनत्व भाव मरेर जाने भएकाले आगामी वर्षदेखि बिदाको व्यवस्था गर्न संघका महासचिव पुनले माग गरे। माघे संक्रान्ति पर्वलाई मध्यनजर राखेर चारवटा प्रदेशले बिदा दिएको र प्रदेशले बिदा नदिएका प्रदेशका केही गाउँपालिका तथा नगरले समेत सार्वजनिक बिदा दिएको जानकारी गराउँदै लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालका अध्यक्ष भोजविक्रम बुढा मगरले स्वागतयोग्य भएको प्रतिक्रिया दिए।

प्रकाशित: ४ माघ २०७६ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App