‘शान्ति’ शब्द सबैलाई प्यारो लाग्छ। ‘शान्ति’को विपरीतार्थ ‘क्रान्ति’ भन्ने बुझाइ व्याप्त छ। गौतम बुद्धलाई शान्तिको पर्याय मानेर बुझ्ने र बुझाउने गरिन्छ, सर्वसाधारणदेखि राष्ट्रप्रमुख वा विश्वविख्यात नेताहरू शान्ति स्थापनाका लागि बुद्धका शिक्षा अपरिहार्य मान्छन्। तर, शान्तिबारे बौद्ध दृष्टिकोणको हेक्का राखिएको पाइँदैन। शान्तिकै सन्दर्भमा बुद्धलाई क्रान्तिकारीको पगरी दिँदा विरोधाभास हुन सक्छ। बुद्ध र बौद्ध धर्मदर्शनअनुसार ‘शान्ति’को बुझाइ बेग्लै छ, यसकारण बुद्धलाई क्रान्तिकारी मान्न सकिन्छ।
विरोधको आवाज उठ्दै नउठ्नु तथा त्यस्ता गतिविधि नहुनु नै शान्ति हो। शान्ति–सुरक्षा कायम गर्न बल प्रयोग गरेर विरोधका कार्यक्रमलाई दबाइन्छ, अभिव्यक्ति स्वतन्त्रता हनन गरिन्छ। त्यस्तै, साहित्य सिर्जनामा पनि प्रतिबन्ध लगाइन्छ, विरोधको अन्तर्य बुझ्ने प्रयत्न गरिँदैन। सत्ताको सापेक्षतामा शान्ति सुरक्षाको अर्थ बनाइन्छ। तत्कालीन राणा शासकले शान्ति सुरक्षाकै दुहाइ दिएर आफूविरुद्धको आवाज दबाउने प्रयत्न गरे। पञ्चायती व्यवस्थाविरुद्धका आवाजले शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै ती आवाज उठाउनेलाई कानूनतः कारबाही गरियो। अन्ततः पञ्चायती व्यवस्थाका ठाउँमा थरीथरीका व्यवस्था आए। त्यसपछिका दिन फेरियो, तर प्रवृत्ति उस्तै छ। संसारभर यस्ता दृष्टान्त छन्। भोका, नांगा, शोषित, पीडित, मर्कामा परेकाहरूले आफू मारमा परेको जनाउ दिन नपाउने ? थिचोमिचो वा विसंगतिका सन्दर्भमा यो जायज प्रश्न हो। एक पक्षको हितका लागि अर्को पक्षलाई मर्कामा पार्दा वा यथोचित समाधान नखोज्दा विद्रोह जन्मन्छ। विद्रोह दबाउँदा भविष्यमा ठूलो संकट निम्तिन्छ, र यसले संघर्षको रूप लिन्छ। यसैलाई एक पक्षले ‘अशान्ति सिर्जना’ र अर्कोले ‘शान्ति सिर्जनाका लागि’ भन्छ।
प्रार्थना र कर्मकाण्डले शान्ति स्थापना हुँदैन। बल प्रयोगपछि हुने सन्नाटा कथित शान्ति हो। छलछाम र भ्रमबाट झुटो शान्ति कायम हुन्छ। अन्ततः यो नै अशान्तिका लागि बारुद साबित हुन्छ।
गौतम बुद्ध शान्त वातावरण रुचाउँथे। एक समय नयाँ भिक्षुहरू बुद्धसामु आए। उनीहरू बुद्धदर्शन सिक्दै थिए, त्यतिखेरै होहल्ला भयो। बुद्धले ‘माछा मार्ने ठाउँमा माझीहरूले जस्तै होहल्ला गरेको’ टिप्पणी गरे, भिक्षुहरू लज्जित भए। सिर्जनाका लागि शान्त वातावरण चाहिन्छ। ध्यानमा बस्नु तथा चिन्तन मनन गरेर ज्ञान प्राप्त गर्नु सिर्जनशीलता हो। यसलाई बौद्ध धर्ममा अत्यावश्यक विषयअन्तर्गत राखिएको छ। यसकारण, बौद्ध विहारमा शान्त वातावरण निर्माण गरिन्छ, शान्त वातावरण बौद्ध विहारको पर्याय बनको छ।
जापानी बौद्ध धर्मको इतिहासअनुसार युद्धको विरोध गर्न एघारौं शताब्दीतिर निचिरेन नामका भिक्षुलाई एकान्त टापुमा निर्वासन पठाइएको थियो। तर, युद्ध भएर धेरै जनधनको क्षति भयो। पछि उनै भिक्षुको नेतृत्वमा ‘निचिरेन सम्प्रदाय’ स्थापित भयो, यो युद्धविरोधी बौद्ध भिक्षुहरूको सम्प्रदायका रूपमा परिचित छ। कालान्तरमा यो सम्प्रदायका पचास बढी उपसम्प्रदाय जन्मिए। यही सम्प्रदाय आणविक शक्तिको विकास तथा होडबाजीविरुद्ध सशक्त रूपमा खडा भएको छ। ‘निप्पोनजान म्योहोजी’ उपसम्प्रदायका संस्थापक फुजी युद्धविरोधी अभियानमै क्रियाशील छन्। युद्धको विरोध गर्ने क्रममा पूर्वजानकारीसहित एक भिक्षुले विचलित नहुन दृढताका लागि आफूलाई रुखमा बाँधेर ‘नामु–म्यो–हो रेङ्गे–क्यो’ मन्त्र जप्दै र धर्म दुन्दुभी बजाउँदै गर्दा गोली लागेर मृत्युवरण गरेको घटना युद्ध विरुद्धको सशक्त अभिव्यक्ति हो। युद्धको विरोध र शान्तिको सन्देश यो बौद्ध संघले विश्वभर ‘वल्र्ड पिस प्यागोडा’ (विश्वशान्ति स्तूप)को निर्माण अभियान नै चलाएको छ। यस क्रममा नेपालमा दुईटा स्तुपा (लुम्बिनी र पोखरा) निर्माण भयो, काठमाडौंमा एउटा निर्माण हुँदै छ। अन्य बौद्ध संघहरू पनि युद्धको समर्थन गर्दैनन्।
प्रार्थना र कर्मकाण्डले शान्ति स्थापना हुँदैन। शोषक र अत्याचारीको आरामदायी निद्रालाई ‘शान्ति’को अर्थ मान्न सकिन्न। त्यस्तै, सामाजिक न्याय र समानताका लागि गरिएको विरोधलाई ‘शान्ति भंग’ भन्नु शान्तिकै बदनामी हो। बल प्रयोगपछि हुने सन्नाटा कथित शान्ति हो, मूर्दा शान्ति हो। छलछाम र भ्रमबाट झुटो शान्ति कायम हुन्छ। अन्ततः यो नै अशान्तिका लागि बारुद साबित हुन्छ। बुद्धलाई शान्तिको पर्याय मान्न यस्ता कथित र झुटो शान्तिको भ्रमबाट मुक्त हुनुपर्छ। कथित शान्तिका विरुद्ध गौतम बुद्ध क्रान्तिको विगुल नै फुक्छन्, यही नै बुद्धको शिक्षा हो।
बौद्ध धर्मदर्शनमा शीललाई धेरै महत्व दिइएको छ। शील नभई समाधि हुन्न, दुवैको अभावमा प्रज्ञा हुन्न। बुद्धद्वारा निर्दिष्ट शीलको पूर्ण पालनाले व्यक्ति सबैको हितकारी बन्छ, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सबैको भलो चाहन्छ। हिंसामा चित्त नलगाउनु अहिंस्रक बन्नु हो, त्यसको प्रभाव अरूमा प्रसारित हुन्छ। नदिएको वस्तु नलिनु भन्नुको अर्थ चोरी नगर्नु, कुनै पनि प्रकारले लुट्ने, ठग्ने तथा अनुचित प्रकारले धन नकमाउनु भनेको हो, यसले घुसखोरीलाई पनि दुरुत्साहित गरेको छ। यौन दुराचारी, झुट बोल्ने, मद्यपान तथा मनमस्तिष्कलाई बेहोस बनाउने वस्तुशबाट टाढिँदा नैतिक बल उच्च हुन्छ, यस्तो नैतिक बलले कसको के हानि गर्छ ? युद्धको बीज मनबाटै हुने भएकाले यसलाई शुद्ध पार्नु अनिवार्य छ। बुद्ध मन शुद्धिमा बढी जोड दिन्छन्। चतुब्रह्मविहार भनेर मैत्री, करुणा, मुदिता र उपेक्षा भावनाको विकास गर्न जोड दिइन्छ। सानातिना झैझगडादेखि ठुल्ठूला युद्धसँग द्वेष भावनाले काम गरेको हुन्छ, तर मैत्री भावनाले द्वेष भावनालाई प्रश्रय दिँदैन। अरूको दुःखलाई आफ्नै ठान्ने करुणा भाव र अरूको सुख आफ्नै सुख ठानेर आनन्दित हुने मुदिता भाव तथा नराम्रा कुरामा ध्यान नदिने उपेक्षा भाव बौद्धका लागि गहनासरह हुन्।
सम्यक् वचन, सम्येक कर्मान्त, सम्यक् आजीवन, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि, सम्यक् संकल्प र सम्यक् दृष्टि नै आर्य अष्टांगिक मार्ग हुन्। यो मार्गमा हिँड्नेहरू सुगतिमै पर्छन्, यसको विरोध वा खण्डन सभ्य समाजले गर्दैन।
बुद्ध शिक्षाले अरूको हितमा पनि उत्तिकै ध्यान दिन प्रेरित गर्छ। दुष्टको भलो गर्नुपर्छ, यो बुद्ध शिक्षालाई अव्यावहारिक ठान्छिन्। तर, समस्या समाधानका लागि यो सही तरिका हो। अरूले डरछेरुवा भन्लान्, काँतर ठान्लान् भन्ने डर वा अहंकारी भावले दुष्टलाई क्षमा दिन गाह्रो हुन्छ, क्षमा दिनु तथा भलो कामना मात्रै दुष्टताविरुद्धको ठूलो प्रहार हो। यस्तो गर्नु धर्मको मार्गमा लाग्नु पनि हो।
सहनशीलताबिना शान्ति स्थापना हुँदैन। तर, यसको अर्थ निरीह भई अन्याय र अत्याचार सहेर दीनहीन जीवन बिताउनु भन्ने होइन। सहनशील हुन मनमा क्रोध र इष्र्या बास गर्न दिनुहुन्न। बुद्धले पनि विरोध र विद्रोह गर्न निषेध गरेका छैनन्। समाजलाई सही दिशा दिन विरोध तथा विद्रोह आवश्यक छ। गौतम बुद्धले कोशल देशका नन्द गोपालकलाई भनेका थिए, ‘शत्रुले शत्रुलाई जति हानि पु¥याउन सक्छ, त्योभन्दा बढ्ता हानि कुमार्गमा लागेको चित्तले पु¥याउँछ।’(दिसो दिसं यं तं कयिरा–वेरी वा पन वेरिनं। मिच्छा पणिहितं चित्तं–पापियो नं ततो करे, धम्मपद ४२)
यसकारण, हामीले चित्तलाई कुमार्गमा लगाउनुहुँदैन। कतै कतै बुद्ध शिक्षाको मूल उद्देश्य विश्वशान्ति भनिन्छ, यो मनगढन्ते र अतिशयोक्ति अभिव्यक्ति हो। अरू जम्मै कुरालाई पन्छाएर शान्ति ल्याउने कुरा केवल कल्पना मात्रै हो। बौद्ध धर्मदर्शनले जीवनको रूपान्तरणमा जोड दिएको छ, यो क्रान्तिकारी कदम हो। जीवनको रूपान्तरणका क्रममा दिगो शान्ति स्वतः कायम हुन्छ, त्यस्तो शान्ति बौद्ध धर्मदर्शनअनुसार ‘बाई प्रडक्ट’ हो।
प्रकाशित: १२ पुस २०७६ ०५:२८ शनिबार