१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

घाँस र गुलाब

तिब्बतमा एक जना बुद्ध व्यक्ति थिए । उनको नाम थियो, मिलारेपा । उनले एउटा छोटो गीत लेखेका छन् । त्यस गीतमा एउटा सानो बगैँचा छ । त्यस बगैँचामा स–साना घाँसका विरुवा छन् । यो ठाउँको छेउमा एउटा ठूलो पर्खाल छ । पर्खालका कारणले न यहाँ कहिल्यै घाम लाग्छ, न त हावा नै । त्यहाँ कुनै हुण्डरी पनि आउँदैन । यसबाट दिक्क भएको सानो घाँसे विरुवाले प्रकृतिसँग प्रार्थना गर्‍यो, ‘मलाई यो बिल्कुलै मन परेन । न त मैले घामको अनुहार देख्न पाउँछु न त हावाहुरीको मज्जा नै लिन पाउँछु । तसर्थ, मलाई एक दिनका लागि भए पनि गुलाफको फूल बनाइदिनु पर्‍यो ।’

सानो घाँसे विरुवाको कुरा सुनेर नजिकका अन्य घाँसहरुले भने, ‘तिम्रो सुद्धि त ठीक छ ? पागल त भएनौ तिमी ? तिमीले त गुलाबको हालत देखेकै छौ । गुलाब बिहान फुल्छ र साँझमा ओइलाउँछ । हामी फुल्छौँ त, फुलिनै रहन्छौँ, हामी कहिल्यै औलाउँदैनौँ ।’ उनीहरुले सानो घाँसे विरुवालाई सम्झाउन खोजे, ‘तिमी यस्ता कुरामा मन नलगाऊ । आफूलाई किन सङ्कटमा पार्न चाहन्छौ ?’

अब समस्या के छ भने त्यो त घाँस–फूसको फूल हो, ओइलाउने तर कुनै कुरै छैन । गुलाफको फूलको कस्तो हालत हुन्छ भन्ने त सबैलाई थाहा छ । अलिकति ठूलो हावा चल्यो भने पनि त्यसको फूल जमिनमा झरिहाल्छ । यस्तोमा गुलाब रुन्छ, छाती पिट्छ । स–साना घाँस विरुवालाई कहिल्यै तूफानले सताउँदैन न त चर्को घामले पोल्दा त्यो गुलाबजस्तो असिनपसिन हुन्छ । त्यो गुलाबलाई त, न धेरै हावाहुण्डरी आउनु हुन्छ न त बढी घाम नै चर्किएको ठीक हुन्छ । जुनसुकै बेला पनि ऊ असुरक्षित हुन्छ ।

स–साना घाँसेलाई त्यही घामले छुन पनि सक्दैन । सधैँ सुरक्षित ! साथी घाँसे विरुवाको कुरा सुनेर पनि उसले चित्त बुझेन । त्यो घाँसको विरुवारातभर रोइरह्यो । प्रकृतिलाई उसले पुकारा गरिरह्यो र भन्यो, ‘नाइँ, मलाई एक दिन भएपनि गुलाफको फूल बनाइदेऊ ।’ भोलिपल्ट बिहान त्यो घाँस गुलाफको फूलमा परिणत भयो । उसका सबै साथीहरुले हल्ला गरेर भने, ‘तिमी एकदमै बेककूफ रहेछौ, पागल रहेछौ ।’

अरु सबैले उसलाई नियालेर हेर्दै थिए । नयाँ गुलाबलाई बिहानदेखि नै समस्याले घेर्न थालिहाल्यो । अब गुलाफको फूल बनेपछि समस्याहरु त आउँछन् नै । त्यो सानो घाँसे विरुवा गुलाबको फूलमा परिणत हुन नपाई उसमाथि समस्याहरु ओइरिन थालिहाल्यो । बिहानबाट नै तूफान चल्न थाल्यो, आँधी चल्न लाग्यो, बादल गर्जिनथाग्यो, बिजुली चम्किन लाग्यो । त्यो गुलाफको फूल कहिले जमिन छुन्थ्यो, कहिले उठ्थ्यो । हावाको बेगसँगै ऊ चचहुइँ हुन थालिहाल्यो ।

नयाँ गुलाबको यस्तो हालत देखेर उसका पहिलेका साथीहरु खूब मुस्कुराउन थाले, खूब हास्न थाले । उनीहरुले भने, ‘हामीले तिमीलाई कति सम्झायौँ, कहिल्यै मानेनौ । अब यसको मरण दिन आउँदैछ।’ साँझ पर्दानपर्दै पुनः जोडको तूफान र वर्षा आयो । गुलाबको विरुवाको जरा उखेलियो, पूरै विरुवा र गुलाफको फूल भूइँमा खस्यो । त्यो विरुवा मरेजस्तै देखिन थाल्यो । अन्तिम सास गनिरहेको थियो यसले ।
छेउछाउका विरुवाले चिहाउँदै भने,‘देख्यौ ? के हालत भयो !’

उसले भन्यो,‘मर्ने बेलामा म तिमीहरुलाई यही भन्छु–मेरो पहिलेको जीवन बेकार थियो । आजको एक दिन धेरै आनन्दमय थियो । पहिलेका कैयौँ दिनभन्दा यो एउटा दिन धेरै आनन्द दिने किसिमको थियो ।मैले तूफानलाई पनि जितेँ । तूफानले मलाई लडायो, तर म उठेँ । जब बादल गर्जन लाग्यो, बिजुली चम्कन लाग्यो, फेरि पनि मलाई अप्ठेरो नपरेको होइन तर पनि म त्यसमा उठेको थिएँ । आज म जमिनमा लडेको छु त कुन ठूलो काम गर्‍यो त्यो तूफानले ? यत्रो ठूलो तूफान चल्यो, यत्रोघनघोर बादल गर्जियो । तर जाबो एउटा सानो गुलाबको विरुवालाई लडाउन मात्र सक्यो । पूर्ण रुपमा सिध्याउन भने सकेन ।’

तपाईंले कहिलेकाहीँ सोधिरहनु भएको हुन्छ, ‘तूफानसँग पनि प्रेम हुन सक्छर ? उसलाई हृदयबाट नै अँगाल्न सकएला र ?तूफानसँग प्रेम गर्नका लागि भित्र हृदयमा शानदार केही हुनु पर्छ । तूफानको विरुद्धमा छँदैछैन । तूफान प्रकृति हो भने त्यो हाम्रैलागि बनाइएको हो । उससँग त प्रेम हुनैपर्छ, होइन भने मानिस–मानिस नै होइन ।
हाम्रो पीडा यही छ– बाहिरी संसार तूफान हो । यो कोठा, यो तालिमकेन्द्रभित्र त केही कठिनाई र अप्ठेरो छैन । अप्ठेरो त बाहिर छ र बाहिरको संघर्षसँग गुलाबले जस्तो जुझ्न पाइयो भने त बाँचेको सार्थकता ! नत्र के सार्थकता, नत्र केको जीवन ?

मानौँ, एउटा गोरुगाडाको पाङ्ग्रा गुडिरहेको छ । त्यो पाङ्ग्राचलिरहन्छ तर एउटा किलाले त्यसलाई गुडाइरहेको हुन्छ । त्यो स्थिर भएर बसिरहेको हुन्छ । किला अडिएकोले पाङ्ग्रा चल्दछ । हेर्दा पूरै गाढा हिँडिरहेको छ तर त्यसलाई हिँडाउने एउटा किला स्थिर छ । अब यदि त्यो किला पनि चल्यो भने त जीवन नै धरापमा परिहाल्यो नि ! हामी गाढाको त्यो किलाजस्तो हुनुपर्छ । हेर्दा सामान्य रुपमा चलिरहेका छौँँ तर भित्र स्थिर छौँ । बाहिर तूफान चल्नु ठिकै छ, चल्नै पर्छ तर यदित्यो तूफानका कारण हामी पनि चल्न हल्लिन थाल्यौँ भने त हामीले के जीवन बाँच्यौँ र ?
(ओशोका प्रवचनमध्ये एक ‘क्या सोबे तु बाबरी’बाट ।)

 

प्रकाशित: २५ मंसिर २०७६ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App