१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पेट सफा गर्ने जल चिकित्सा विधि

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

ग्यास्ट्रिक तथा कब्जियत नेपालीको पेवै जस्तो समस्या हो । तपाईं हामी मध्ये धेरैलाई ग्यास्ट्रिक तथा कब्जियतले सताएर आजित बनाएको हुनसक्छ । हामीले सन्तुलित तथा व्यवस्थित जीवनशैली अपनाउन नजान्दा तथा नसक्दा यस्तो समस्या भोगिरहनु परेको हुन्छ ।

तर यस्तो समस्याबाट बच्न नसकिने भने हैन । ग्यास्ट्रिक तथा कब्जियतको समस्याबाट बच्ने विविध उपाय छन् । जसमध्ये दुई विधि हुन्, ‘कुन्जल विधि’ र ‘एनिमा विधि’ ।

ग्यास्ट्रिक तथा कब्जियतको समस्याबाट बच्न घरायासीरुपमै पानीको सहायताले पेट सफा गर्न सकिने यी दुई विधि सहजरुपमा अपनाउन सकिन्छ । प्राकृतिक चिकित्सकीय भाषामा पानीको सहायताले पेट सफा गर्ने विधिलाई ‘जल चिकित्सा’ तथा ‘हाइड्रोथेरापी’जस्ता नामले चिनिन्छ ।
अब चर्चा गारौँ कुञ्जल विधिबारे ।

कुन्जल विधि
पानीले पेट सफा गर्ने एक उपाय हो, ‘कुञ्जल विधि’ । यो विधि अपनाएर पेट सफा गर्न सकिन्छ । यस विधिलाई ‘भमिटिङ विधि’ पनि भनिन्छ ।

पेट सफा गर्ने ‘कुञ्जल विधि’ अपनाउँदा एक लिटर उम्लिएर सेलाउँदै गरेको मनतातो पानीमा एक चम्चा नुन राखेर राम्रोसँग घोल्नु पर्छ । पानी घोलिसकेपछि टुक्रुक्क बस्नु पर्छ । टुक्रुक्क बसिसकेपछि यसरी घोलिएको नुन–पानी पिउन थालेको पाँच मिनेटभित्रमा पिइसक्नुपर्छ । टुक्रुक्क बस्दा पेट थिचिने भएकाले सहजरुपमा तुरुन्तै शरीरमा पानी सोसिँन पाउँदैन । पिएको नुन–पानी अन्न नलि र आमासयसम्म मात्रै पुगोस् भन्ने उद्देश्यले पाँच मिनेटभित्र पानी पिउनु पर्छ ।

पानीमा नुन हाल्नुको कारण शरीरले पानी तुरुन्तै नसोसोस् भनेर हो । मनतातो पानीको आयतन बढ्ने भएकाले सहजरुपमा नुन घोलिन्छ । नुन घोलिएको मनतातो पानी शरीरले ढिलो सोस्छ । जसले भमिटिङ गराउन सहज भूमिका खेल्छ ।  

अब पानी पिइसकेपछि हल्का उठेर घुँडामा एउटा हात राखेर हल्का निहुरिएर अर्को हातको चोर र माझि औँला मुख भित्र हाल्नु पर्छ । मुखभित्रको किल्किलेसम्म औँला पुर्‍याई चलाउनु पर्छ । यसरी औँलाले किलकिले चलाउँदा हामीले खाएको खाद्यपदार्थ र पानीसँग अमिलो, तितो तथा विकार तत्व बाहिर भमिटिङको रुपमा निस्कन्छ । यसरी औँला मुखमा हालेर किलकिले चलाउँदा भमिटिङ गर्न उत्प्रेरित गर्छ । दुईदेखि तीनपटक भमिटिङ गर्दा पिएको एक लिटर पानी भमिटिङको रुपमा शरीर बाहिर निस्कन्छ । १०÷१५ मिनेटमै यो  प्रक्रिया गर्न सकिन्छ । पानीसँग अमिलो, तितो, पिरोलगायत पेटका अनावश्यक विकारतत्व शरीर बाहिर निस्किने भएकोले मुखै नमिठो हुन्छ । त्यसैले भमिटिङपश्चात राम्रोसँग मुख कुल्ला गरेर मात्रै खाद्यपदार्थ खान सकिन्छ ।

कुनै खाना बढी मात्रामा खाएको अवस्थामा तथा अपच  भएको अवस्थामा समेत यसरी मुखमा औँला हालेर भमिटिङ गर्नाले पेटलाई आराम मिल्न सहयोग पुग्छ । खाना अपच भई पेटमा अम्लियपन बढेर ग्यास्ट्रिकको समस्या हुन पुग्छ । भमिट गरी पेटको अम्लियपन फालेपछि पेट हल्का तथा सफा हुन्छ । पेट सफा र स्वस्थ भएपछि खाना त रुच्छ नै व्यक्तिको शरीर नै मजबुत भई व्यक्तिको पाचन प्रणाली नै मजबुत हुन्छ ।

विशेषगरी बिहानको समयमा यसरी नुन–पानी पिई भमिटिङ गर्नु उचित हुन्छ । सामान्यतः १२ देखि ६२ वर्ष उमेर समूहका व्यक्तिले महिनामा दुई पटक यसरी नुन–पानी पिएर भमिटिङ गर्नु उपयुक्त हुन्छ ।
अब लागौँ ‘एनिमा विधि’तर्फ ।

एनिमा विधि
पेट सफा गर्ने अर्काे विधिलाई प्राकृतिक चिकित्सकीय भाषामा ‘एनिमा’ भनिन्छ । यो विधि अपनाएर पेट सफा गर्दा विभिन्न किसिमका भाँडाको प्रयोग गर्न सकिने भए पनि विशेषगरी आम्खोराजस्तो एक लिटर पानी अट्ने भाँडो प्रयोग गर्नु उपयुक्त हुन्छ । अम्खोराजस्तो भाँडोमा मनतातो पानी भरि एक चम्चा नुन हालेर घोल्नु पर्छ । भाँडोको तल्लो भागमा प्वाल हुन्छ । सो प्वालमा एक मिटर लामो प्लाष्टिकको पाइप जडान गरिएको हुन्छ । भाँडो भन्दा अर्कोपट्टि पाइपको टुप्पाको भागमा एक फिट लामो रबरको ‘क्याथेटर’ जडान गरिएको हुन्छ । क्याथेटरको टुप्पाको गरिपरि पानी निस्कने मसिना प्वाल हुन्छन् । प्वालबाट पानी बाहिर निस्कन्छ । जुन पाइप आकारको रबरको ‘क्याथेटर’ बिस्तारै करिब तीन इन्च गुद्द्वारमा घुसारिन्छ ।

आफूभन्दा अग्लो ठाउँमा भाँडो राखी उत्तानो परेर सुतेर रबरको पाइप गुद्द्वारमा छिराइन्छ । सुरुमा तालिम प्राप्त सहयोगीको सहयोग लिएर पाइप छिराएर पेट सफा गर्ने विधि अपनाउनु उचित हुन्छ ।

यसरी रबरको पाइप गुद्द्वारमा घुसारेपछि ‘एनिमा पट’मा रहेको नुन घोलिएको पानी पेटको ठूलो आन्द्रामा आफैँ सरर जान्छ । भाँडाको पानी आन्द्रामा गएर सकिएपछि रबरको क्याथेटरबाट पानी नफर्कनेगरी पाइप दोब्राएर गुद्द्वारबाट बाहिर निकालिन्छ । त्यसपछि करिब पाँच मिनेट उठेर टहलिनु पर्छ । यसरी टहलिएपछि स्वत्त दिसा आउँछ । दिसा अत्यन्तै दु्रत गतिले बाहिर निस्कने भएकाले यो विधि ट्वाइलेटमै बसेर गर्नुपर्छ ।

यसरी दिसा तथा पेटको ठूलो आन्द्रामा भएको विकार तत्व दिसाका रुपमा बाहिर निस्कँदा बल गरेर कन्नु भने हुन्न । कनेर दिसा गर्दा गुद्द्वारको मांशपेशीमा दबाब पर्न गइ घाउ हुने जोखिम हुन्छ । पायल्स, फिसर तथा फिस्टुला भएको अवस्थामा कनेर दिसा गर्दा रगत आउन सक्छ । दिसा सहजरुपमा बाहिर निस्कन दिनु पर्छ । सामान्यतः करिब तीन पटक दिसा गर्दा पेटमा भएको विकार तत्व दिसाका माध्यमबाट बाहिर निस्कन्छ ।

मलद्वारमा घाउ देखिएको अवस्थामा भने यसरी मलद्धारमा पाइप घुसार्दा घाउ हुन सक्ने भएकाले नघुसार्नु नै राम्रो । पायल्स, फिस्टुला तथा फिसर भएको अवस्थामा समेत गुद्द्वारमा पाइप घुसार्ने ‘एनिमा विधि’ अपनाएर यस्तो समस्याबाट बच्न सकिन्छ । उपचारात्मक विधिसमेत अपनाउन सकिन्छ ।

खाली पेटमा सफा
खाली पेट भएको अवस्थामा पेट सफा गर्ने विधि अपनाउनु उपयुक्त हुने भएकाले विहानै यस्तो विधि अपनाउनु उचित हुन्छ । पेट सफा गर्ने यस्तो विधि अपनाउनु दुई घण्टा पूर्व खाद्यपदार्थ खानु हुन्न, भने पेट सफा गरेको दुई घण्टापछि खानु उपयुक्त हुन्छ ।

पेट सफा गर्ने यी दुवै विधि एकै दिनसमेत गर्न सकिन्छ । पेट सफा गर्ने यस्तो विधि अपनाइसकेपछि एक गिलास उमालेर सेलाएको मन तातो पानीमा आधा दानो कागती र एक चम्चा मह मिसाएर पिउनु उपयुक्त हुन्छ । पेट सफा गर्ने वित्तिकै एक्कासि कडा किसिमको खाद्यपदार्थ खाँदा पाचन पक्रियाले काम नगरी पुनः अनावश्यकरुपमा भमिटिङ तथा झाडापखाला हुने जोखिम हुन्छ । त्यसैले पेट सफा गरिसकेपछि हल्का किसिमका तरल पदार्थ पिउनु उपयुुक्त हुन्छ । गुद्द्वारमा पाइप हालेर पेट सफा गर्ने एनिमा विधि महिनामा दुईपटक गर्न सकिन्छ । यी अति नै सहजरुपमा पेट सफा गर्न सकिने घरेलु विधि हुन् । सुरुमा भने थेरापिस्ट तथा चिकित्सकको सहयोगमा यस्तो विधि अपनाउनु उचित हुन्छ ।

भमिटिङ गर्ने विधिले विशेषगरी ग्यास्ट्रिकको समस्या हुन दिँदैन भने मलद्वारबाट पाइप छिराएर पेट सफा गर्ने विधिले कब्जियत, पायल्स, फिसर तथा फिस्टुला हुनबाट बच्न सकिन्छ ।
प्रस्तुतिः उपेन्द्र खड्का

 

 

प्रकाशित: २५ मंसिर २०७६ ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App