१२ आश्विन २०७७ सोमबार
अन्य

ताकमकोट मुस्कुराइराख है !

जब घुमफिरको योजना बन्छ तब सबैभन्दा पहिला मौसमका बारेमा जानकारी लिइन्छ। यात्रामा निस्कँदा आकाश उघ्रियोस् र सुन्दर तस्बिर खिच्न पाइयोस् भन्ने लोभ मनमा भइरहन्छ। तर, मौसम हाम्रो वशमा हुँदैन, त्यसैले सधैं चाहे जस्तो हुन्न। यसपाला ताकमकोट यात्रामा भने मन प्रफुल्ल बन्यो, मौसमले साथ दियो। धन्यवाद प्रकृति ! 

म्याग्दी जिल्लाको पश्चिमी भेकमा पर्दछ ताकमकोट। हिमालको सामिप्यमा रहेको ताकम गाउँ घुम्न हामी ८ मंसिर ०७६ का दिन त्यता सोझियौं। बेनी बजारबाट म्याग्दी खोलाको किनारैकिनार दरबाङतिर हुँइकियौं। एउटा बोलेरो जिपमा हामी जम्मा तीन भाइ थियौं, बेनीका पत्रकार मित्र घनश्याम खड्का, जिपका गुरुजी शेरबहादुर र म।
म्याग्दीको सदरमुकाम बेनी बजारबाट हिमाल छर्लंग देखिँदैनन्। जिपमा चढ्नुअघि शिरमाथिको नीलो आकाश ओढेर बसेका हामीले मास्तिर हिमाल खुलेको अनुमान ग-यौं अनि मनमनै मुस्कुरायौं। हिमाललाई बादलुले अँगालोमा बेर्नुअघि ताकमकोट पुग्नु थियो हामीलाई। 

जिपमा ‘कसले जिम्मा लिन्छ र लोभी आँखैको’ गीत घन्किरहेको थियो। वसन्त थापा र लक्ष्मी मल्लले मिठो भाकामा गाएको गीत। गीतको साउन्ड घटाएर गुरुजीले ताकम पुग्न साँढे तीन घन्टा लाग्ने जानकारी गराए। 

जिप हुइँकिरह्यो। हामी तातोपानी कुण्ड कटेर दरबाङ पुग्यौं। दरबाङ क्षेत्र मालिका गाउँपालिकाको केन्द्र। त्यहाँ हामीले अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुसँग चिया गफ ग¥यौं। गाउँपालिकाको पर्यटकीय सम्भावनाबारे बुझ्यौं। आफ्नो गाउँको प्रमुख आकर्षण मालिकाधुरी घुम्ने निम्तो दिए उनीहरूले। समय मिलाएर पक्कै मालिकाको दर्शन गर्ने छौं हामी।

हामीले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेका बेला ताकम जस्ता गाउँबस्तिमा स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउनु पर्ने हो। दुःखको कुरा भ्रमण वर्षका अभियन्ताहरूका आँखामा ताकम परेकै छैन !    

चिया गफपछि फेरि म्याग्दी खोलाको तिरैतिर अघि बढ्यौं। अलिक पर्तिर पुगेसी जिपबाट ओर्लेर खोलाका केही तस्बिर खिचें मैले। ‘धौलागिरि हिमाल नै म्याग्दी खोलाको मुहान हो’, घनश्यामजीले सुनाए, ‘बेनी पुगेर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ।’

दरबाङ मास्तिर फेदीसम्म कच्ची बाटो ठिकै रहेछ। तर, फेदीभन्दा माथि डरलाग्दो भिर। साँगुरो सिंगल ट्रयाकमा ख्याल गरेर गाडी चलाउनु पर्ने। शेरबहादुरजीले सकुशल उकालो कटाए।

धारापानी पुगेर ढुक्कको सास फे-यौं। त्यहाँबाट हिमालको दर्शन मिल्यो। गुर्जा, चुरेन, धौलागिरि, मानापाथी र अन्नपूर्ण हिमालको। घनश्यामजीका लागि ताकम पानी पँधेरा भैहाल्यो। म पहिलोपटक यता आएको। गाउँ मन प-यो। 

मैले गाउँका तस्बिर पहिल्यै देखिसकेको थिएँ। केही समयअघि गुरिल्ला पदमार्गबाट ढोरपाटन हुँदै बेनी भएर काठमाडौं फर्केका मित्र गुरिल्ला (सुरेन्द्र राना)को स्मार्ट फोनमा ताकमका तस्बिर हेरेको थिएँ।

हामीले जिपबाट ओर्लेर धारापानी गाउँतिर क्यामेरा सोझ्यायौं। त्यहाँबाट अगाडि बढेपछि उद्यमी किरण थापाजीको समूहलाई भेट्यौं। धारापानीबाट बिहानैदेखि मोबाइल फोनमा थापाजी सोधिरहेका थिए, ‘कहाँ आइपुग्नु भयो ?’

उनीहरू पनि हाम्रै जिपमा बसे। केहीबेर गुडेपछि आँखामा ताकम गाउँ टाँसिन आइपुग्यो। राताम्मे घरका पृष्ठभूमिमा हिमाल हाँसिरहेका ! बारी छेउमा परालको टौवा। अति सुन्दर दृश्य ! आँखा नझिम्क्याई हेरिरहें। तस्बिर पनि खिचिरहें।

धौलागिरि गाउँपालिका, वडा नं ७ को कार्यालयमा पुगेर हाम्रो जिप घ्याच्च रोकियो। त्यहाँ गाउँलेहरू हामीलाई कुरी बसेका रहेछन्। वास्तवमा अतिथि देवोः भवको उदाहरण गाउँघरतिरै भेटिन्छ। आत्मीयताको मुहान त्यहीँ हुन्छ। हामी आउने खबरले आमा समूह, गाउँका अगुवा र उद्यमीहरूमा उत्साह थपिएछ। उनीहरूले मिठो मुस्कानसँगै टीका र फुलका गुच्छाले हाम्रो स्वागत गरे।    

अप्रत्याशित सम्मान पाइयो। आत्मीयताको भारी बोक्यौं हामीले। पत्रकारले पाइला टेकेपछि गाउँको प्रचार होला ! आफ्नो आँगनमा पर्यटनको घाम झुल्केला भन्ने आशा उनीहरूका आँखामा झल्केको थियो।   

त्यो सुखद् क्षणमा यात्राका सूत्रधार मित्र राजेश शाक्यलाई ‘मिस’ गरें मैले। उनैले ताकमकोट घुम्ने निम्तो दिएका। निम्तो दिएका मात्र होइनन, घुमफिरको चाँजोपाँजो सबै मिलाइदिएका।

स्वागत कार्यक्रमसँगै गाउँलेहरूले पर्यटन र विकासका कुरा गरे। धौलागिरि गाउँपालिकाको केन्द्र मुनामा राखिँदा सबैलाई पायक नपरेको गुनासो सुनाए। सबै हिसाबले ताकममै केन्द्र राखिनुपर्नेमा उनीहरूले जोड थियो। 

विकासको पहिलो पूर्वाधार भनेकै सडक हो। स्तरोन्नति गरेर सडक कालोपत्रे गर्न सके ताकम लगायत सेरोफेरोका गाउँ चाँडै चम्किन सक्छन्। यसमा गाउँपालिका र प्रदेश सरकारको ध्यान कहिले पुग्ला ? 

गाउँलेका कुरा सुनेर हतारहतार हामी उकालियौं। मौसम बदलिनु अगाडि नै हामीलाई कोटमा पुग्नु थियो। जिपमा करिब ३ किमि गएपछि सिँढी चढ्नुपर्ने  रहेछ। उकालीमा हामीसँगै गाउँका अगुवा पनि थिए।   

डाँडामा पुग्दा मध्यान्ह भैसकेको थियो। पारिपट्टि हिमाल हाँसिरहेकै थिए। थुम्कोमा सिरसिर बतास चलिरह्यो। हामीले कोटको थाप्लो (२,५०० मिटर)मा भर्खरै बनाइएको मन्दिरमा जगन्नाथ र अन्नपूर्णको दर्शन ग¥यौं। साथमा फुलप्रसादी केही बोकेको थिइनँ। त्यसैले दुई हात जोडेर भगवान्का पाउमा मन फूल चढाएँ मैले।

मौसम घमाइलो थियो। मन्दिर भित्र र बाहिर बस्दा कताकता आनन्दको अनुभूति भैरह्यो। शान्त वातावरणमा भोक, प्यास सबै हरायो। मन चंगा बन्यो। चारैतिरका गाउँ, नागबेली पहाड र हिमालतिर नजर दौडाउँदै मनमनै भनें, ‘दुई चार दिन यतै बस्न पाए कति ऊर्जा मिल्थ्यो होला !’

गाउँलेहरूले आफैं चन्दा उठाएर करिब एक करोड रुपैयाँमा दुई तले मन्दिर, सत्तल र शौचालय बनाएका रहेछन्। ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने भावनाले ओतप्रोत गाउँलेको सत्कर्मलाई नमन गरें मैले।

मन्दिर बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले योगदान पु-याएका छन्। अमेरिकामा बस्दै आएका ताकमका रघुनाथ सुवेदीले झक्झक्याएपछि गाउँलेहरू मन्दिर निर्माणमा जुटेका रहेछन्। उनले अमेरिकामा, रिमप्रकाश थापाले ताकममा, खगेन्द्र थापाले अस्टे«लियामा र खड्गबहादुर थापाले काठमाडौंमा अर्थ संकलनको अगुवाइ गरेका रहेछन्। यसरी सबैको सहयोगले कलात्मक मन्दिर बन्यो।   

मूल मन्दिरसँगैको पुरानो भवनमा प्राचीन हतियारहरू ढाल, तरबार, तोप र छेलो राखिएको रहेछ। बाहिर खुला आकाशमुनि ओदान छ। चौबीसे शासनकालमा सुरक्षाकर्मीले खाना पकाउने प्राचीन ओदान रे ! 

मन्दिर निर्माण समितिका अध्यक्ष तेजिन्द्र बहादुर थापाका अनुसार विसं २०७२ वैशाख १२ को भूकम्पले मन्दिर जीर्ण बनेपछि नयाँ मन्दिर बनाइएको हो। यहाँ विशेषतः बडा दसैं र शनिबार तथा मंगलबार भीड लाग्छ। दसैंमा पञ्चबलि दिने चलन छँदै छ।  

झलक्क हेर्दा नव निर्मित मन्दिरले समग्र ताकम गाउँकै सौन्दर्य बढाएको छ। यद्यपि पुरातत्व विभागले सिमेन्ट, गिटी र फलाम प्रयोग गरेर बनाइएका मन्दिरलाई मान्यता दिँदैन। त्यसैले उसले पुराना मूर्ति र हतियार राख्न परम्परागत शैलीमा अर्को मन्दिर बनाउने उद्घोष गरेको रहेछ। त्यो मन्दिर बनेपछि ताकमकोटमा जोर मन्दिर हुने छन्। 

ताकमकोटका विषयमा वडाध्यक्ष कलानिधि शर्मा लगायत अगुवाबाट धेरै जानकारी पाइयो। ताकमकोट ऐतिहासिक थलो। विसं १२४६ देखि १५४५ सम्म कोटमा बसेर आत्रे गोत्रीय बगाले थापाले राज्य चलाएका थिए। पछि विसं १८४२ सम्म समालवंशी मल्लहरूले शासन गरे। विसं १८४३ असोज १४ गते काजी अमरसिंह थापा, योगनारायण मल्ल, दामोदर पाण्डे र जीव शाह नेतृत्वको गोरखाली फौजले ताकमलाई नेपाल राज्यमा एकीकृत गराएको थियो।

नेपाल राज्यमा विलीन हुनुअघि चौबिसे शासनकालमा थुम ताकम राज्यले सेरोफेरोका गाउँमा शासन गथ्र्यो। कोटका जगन्नाथ–अन्नपूर्णलाई गुर्जा, मुदी, चेचुङ, नेरबाङ, खिबाङ, मुना, दर, लमसुङ, लुलाङ, खोरिया, पन्थोक, जुग्जा, दाङा, कुइने, मल्कबाङ, मलम्पार, मराङ, बिम, दुखु, दरबाङ, निस्कोट, च्युरीबोट, मगरदाङ, घर्तिथोक, लाममेला, तमान, बोङखानी, धारापानी र ताकम गाउँले शक्तिपीठका रूपमा मान्दा रहेछन्। 

तल ताकम गाउँमा ३३५ घर धुरी छन्। ताकम जातजातिको सुन्दर फुलबारी हो। यहाँ मगर, छन्त्याल, क्षत्री, बाहुन, गुरुङ, थकाली, गिरी, दमाई, कार्मी, सार्की आदि जातजाति मिलेर बसेका छन्।

धान, मकै, कोदो र आलु ताकमको मुख्य उत्पादन। सागसब्जी राम्रो हुन्छ। घरघरै जस्तो बाख्रा, कुखुरा र भैंसी पालिएको छ। दूध, दही, मोही र घ्यू पाइन्छ।

गाउँमा सामान्य खाना र बास पाइने आधा दर्जन होटल छन्। त्यस्तै गत  असारदेखि ५ घरमा होमस्टे सुविधा थपिएको छ। यसरी ताकम पर्यटनको बाटोमा बामे सर्दैछ। राम्रो प्रचार गर्न सके पर्यटकीय गाउँका रूपमा चम्किन सक्छ। 

अर्को कुरा, ताकम गाउँ विभिन्न पदमार्गको प्रवेशद्वार पनि हो। यतैबाट ढोरपाटन शिकार आरक्ष, धौलागिरि राउन्ड, गुर्जा र गुरिल्ला पदमार्गको यात्रा गरिन्छ। यति सुन्दर गाउँमा आइपुग्दा आफुलाई भाग्यमानी सम्झें मैले। अनि घुम्ने व्यवस्था मिलाएकामा मित्र राजेशजीलाई धन्यवाद दिएँ।

मन त त्यतै बसिरहेकै थियो, फर्कनुपर्ने हाम्रो बाध्यता थियो। हामीले बिहान खाना खान भ्याएका थिएनौं। त्यसैले दिउँसो ३ बजे दालभात खाएर गाउँलेसँग बिदाइका हात हल्लायौं।

फर्कने बेला मनमा कुरा खेलिरह्यो–हामीले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेका बेला ताकम जस्ता गाउँबस्तिमा स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउनु पर्ने हो। दुःखको कुरा भ्रमण वर्षका अभियन्ताहरूका आँखामा ताकम परेकै छैन !   

हाम्रो यात्रा सफल भयो। फर्कने क्रममा धारापानी हुँदै अघिकै भिरनेर पुग्यौं।  ओरालोमा अचानक गुरुजीले जिप रोके। ‘घनश्यामजी ओर्लेर ओत हाल्नुस्न गाडीमा प्रोब्लेम आयो’, गुरुजीको आग्रह सुन्नेबित्तिकै ओर्लेर उनले चक्कामुनि ढुङ्गा अडेस लगाए। 

मैले पनि सघाएँ। अगाडिका चक्कामा ढुङ्गाको ओत राखिसकेपछि गुरुजी ओर्लेर पछाडिको चक्का देखाए। अहो, टायर त बाहिरपट्टि निस्केको रहेछ ! झन्डै उछिट्टिनुअघि जिप रोकेर उनले हामीलाई बचाए। अल्लारे ड्राइभर भैदिएको भए हामी चारै जनाको एकै चिहान बन्न सक्थ्यो ! गुरुजी अनुभवी भएकाले हामी बच्यौं। 

उनले तल दरबाङमा गाडी बनाउने मिस्त्रीलाई फोन गरे। हामीलाई दरबाङमा गएर कुर्नुस् भने। पैंतीस मिनेट हिँडेपछि हामी दरबाङ पुग्यौं। त्यहाँ खाजा खाईवरी दुई घन्टा कुरेपछि गुरुजी जिप लिएर आइपुगे। बल्ल उनले जिपमा आएको ‘प्रोब्लेम’बारे प्रस्ट बताए।

‘ओरालोमा ब्रेक फेल भयो। तुरुन्तै मैले फोरव्हिल तानेकाले मात्र जिप रोकियो’, उनले भने, ‘गाडीमा फोर व्हिल सुविधा नभइदिएको भए रोक्न सकिँदैनथ्यो।’

हामी आत्तिन्छौं भनेर उनले अघि सबै कुरा नभनेका रहेछन्। उनका कुरा सुनेर बल्ल मुटु ढुक्ढुक् गर्न थाल्यो। घनश्यामजी र मैले एकै सासमा भन्यौं, ‘हाम्रो ज्यान बचाएकामा तपाईलाई धन्यवाद !’

जिपमा लिफ्ट मागेर आएकी गाउँकी बहिनी अघि नै दरबाङबाट ट्याक्सी चढेर बेनीतिर सोझिइसकेकी थिइन्। हामीचाहिँ राति अबेर मात्र बेनीमा पुग्यौं।

आखिर यात्रा सोचे जस्तो नहुन सक्छ। कहिले सजिलो हुन्छ त कहिले अफ्ठेरो। नमरी बाँचे कालले साँचे घुम्नुपर्ने धेरै ठाउँ बाँकी छन्। त्यसो त एक जुनीमा नेपाल घुम्न भ्याइँदैन। फेरि ताकमकोट जस्ता आत्मीय गाउँमा एक फेरा घुमेर पुग्दैन, फेरिफेरि पुगिरहनु पर्छ।

हरियाली वातावरणमा टलक्क टल्केका हिमाल हेर्न असोज–कात्तिकतिर फेरि ताकम घुम्ने रहर पलाइसक्यो मनमा। आशा गरौं, त्यतिबेला अस्तिको भन्दा राम्रो मौसम हुने छ !

कसरी पुग्ने : काठमाडौं–पोखरा–बेनी २८८ किमि, बसमा ९ घन्टा। बेनीबाट पश्चिम ३२ किमिमा ताकम गाउँ। ताकमबाट ३ किमिमा ताकमकोट। बेनी बजारबाट  बिहान ८ बजे, ११ बजे र दिउँसो १ बजे मुना गाउँका लागि बस छुट्छन्, बसमा ४ घन्टा। ताकममा बसबाट ओर्लेर कोटमा चढ्नुपर्छ। त्यस्तै मुना गाउँबाट बेनीका लागि बिहान ८ बजे, १० बजे र ११ बजे बस छुट्छन्। 

शक्तिपीठ
कलानिधि शर्मा,वडाध्यक्ष, धौलागिरि–७


ताकमकोटको जगन्नाथ–अन्नपूर्ण मन्दिर शक्तिपीठ हो। दर्शन गरे मनोकामना पूरा हुन्छ। हामीले २०७२ सालको भुइँचालोबाट जीर्ण बनेको मन्दिर पुनर्निर्माण गरेका हौं। हामी मन्दिर हातामा धर्मशाला बनाउँदै छौं। भान्छा घर पनि बनाउने छौं। आवश्यक पूर्वाधार विकास गरी ताकमकोटलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्छौं।

पर्यटनको उज्यालो
अमृता भण्डारी,वडा सदस्य, धौलागिरि–७


हाम्रो गाउँमा पर्यटनको प्रचुर सम्भावना छ। गाउँमा आन्तरिक र बाह्य दुवै पर्यटक रमाउन सक्छन्। हाम्रो गाउँसम्म आइपुग्ने सडक पक्की बनाउन स्थानीय, प्रदेश र केन्द्र सरकार तात्नुपर्छ। साथै गाउँलेलाई पर्यटनसम्बन्धी विभिन्न तालिमहरू चाहिएको छ। यहाँका होमस्टे र पर्यटकबीच पुल हाल्न सरोकारवालाले हातेमालो गर्नुपर्छ।

अल्लो उत्पादन
किरण थापा,अध्यक्ष, अल्लो उत्पादन समूह


हामीले गाउँमा विसं २०७२ सालदेखि अल्लोको धागोबाट कपडा उत्पादन गर्न थालेका छौं। समूहका ६ जना सदस्यले उत्पादन गर्दै आएका छौं। हामीले उत्पादन गरेका कपडा पोखरा र काठमाडौंमा विक्री गर्छौं। कोटको कपडा, गलबन्दी, ब्याग, शर्ट र जुत्ताका कपडाको डिमान्ड बढी छ। हामी पर्यटकका लागि स–स्याना कोसेली उत्पादन गर्ने तयारीमा छौं।

सस्तो होमस्टे
कृष्ण भण्डारी,अध्यक्ष, सामुदायिक होमस्टे


हाम्रो ताकम गाउँमा क्षेत्री र बाहुनका ५ घरमा गएको असारदेखि होमस्टे सुविधा दिन थालेका छौं। होमस्टेमा एकै रात ४० जनासम्म बस्न सक्छन्। होमस्टेमा अर्गानिक खानामा जोड दिन्छौं। एक छाक सादा खानाको २५० रुपैयाँ, मासु खानाको ३५० रुपैयाँ र सुतेको १०० रुपैयाँ मात्र लिन्छौं।  
सम्पर्क : ९८६४३७२८४० 

उदाहरणीय युवा  
व्यापार, समाजसेवा र पर्यटन अभियानमा समर्पित छन् बेनी बजारका राजेश शाक्य। समाजमा आफ्ना लागि मात्र बाँच्नेहरू धेरै हुन्छन्। तर, अरूका लागि बाँच्नेहरूको जीवन सार्थक बन्छ। यस्तै उदाहरणीय युवा हुन्–राजेश शाक्य। व्यापार, समाजसेवा र पर्यटन अभियानका पर्याय।

शाक्यको चिनारीका तीन पाटा छन्। पहिलो उनी व्यापारी हुन्। म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष रहेका शाक्य बेनीमा पाउरोटी कारखाना र डिपार्टमेन्टल स्टोर चलाउँछन्। दोस्रो उनी ओमकुमारी शान्ति कोषमार्फत् गरिबहरूको उपचारमा सहयोग पु-याउँछन्  र तेस्रो उनी म्याग्दीका पर्यटन अभियन्ता हुन्, पर्यटन विकासमा समर्पित छन्।  

व्यापारमा उनी सफल छन्। उनले १६ जनालाई रोजगारी दिएका छन्। त्यति मात्र होइन, उनकै सहयोग र प्रेरणाले बेनी बजारमा केही युवा उद्यमशीलताको भ-याङ चढ्दै छन्।

अर्को सन्दर्भ, उनी ओमकुमारी शान्ति कोषका अध्यक्ष हुन्। कोषले ११४ जना गरिबको उपचारमा सहयोग पु-याइसकेको छ। विसं २०७१ मा कोष गठन भएको थियो। बोन म्यारोको उपचार गर्दागर्दै १८ वर्षीया ओमकुमारी पुनले जीवन गुमाउनु प-यो त्यतिबेला। उनको उपचारबाट बचेको रकम १३ लाख रुपैयाँबाट कोष गठन गरियो। 

‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने मूलमन्त्र बोकेर उनीहरू आर्थिक अभावमा कसैले उपचार नपाई मर्नु नपरोस् भन्ने अभियानमा जुटेका छन्। कोषको खातामा ९० लाख रुपैयाँ छ। मुलुकभित्र र बाहिरका म्याग्देलीले थप ८० लाख रुपैयाँ सहयोग गर्ने बचनबद्धता जनाइसकेका छन्।

‘हामी दुई करोड रुपैयाँको अक्षय कोष स्थापना गर्दैछौंं’, शाक्य भन्छन्, ‘यसको व्याजबाट गरिबको उपचार गरिरहनेछौं।’

म्याग्दीका धेरै युवा विदेशमा श्रम गर्दैछन्। प्रकृति र संस्कृतिको अनुपम भण्डार म्याग्दीमा पर्यटनको प्रचुर सम्भावना छ। त्यही देखेर शाक्य पर्यटन अभियानमा होमिएका। उनी बेलाबेलामा निजी खर्चमा पत्रकारलाई घुमाएर म्याग्दीको पर्यटकीय सम्भावना उजागर गराउँछन्। पर्यटन गाउँ बनाउन सरोकारवालालाई झक्झक्याउँछन्।  

उनकै नेतृत्वमा ‘धौलागिरि सेन्चुरी पदमार्ग’ पहिचान गरिएको छ। उनी बेनी नगरपालिका सहित म्याग्दीका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो बुक प्रकाशनको तयारीमा जुटेका छन्। ‘पर्यटनबाट मात्र म्याग्दीको आर्थिक समृद्धि सम्भव छ’, ३९ बर्से शाक्य भन्छन्, ‘हाम्रा जनप्रतिनिधिहरू जिम्मेवार भएर पर्यटन विकासमा हातेमालो गर्नुपर्छ।’

स्याबास् लाहुरे
भारतीय सेनाबाट निवृत्त भएपछि ताकम गाउँको विकासमा खटिएका छन् तेजिन्द्र बहादुर थापा। हाम्रो समाजमा सामाजिक काममा अगुवाइ गरी केहीले रिटायर्ड लाइफलाई सुखद् बनाएका छन्। त्यस्तै अगुवा हुन्–तेजिन्द्रबहादुर थापा। उनकै नेतृत्वमा ताकमकोटमा जगन्नाथ–अन्नपूर्ण मन्दिर बनेको हो।

मन्दिरको शिलान्यास २८ मंसिर २०७५ मा गरियो। गत दसैंमा मन्दिर निर्माण पूरा भयो। ट्रष्टमार्फत् मन्दिर निर्माण गरिएको हो। निर्माणमा एक करोड रुपैयाँ खर्च भैसक्यो। सबै संरचना पूरा गर्दा अढाई करोड रुपैयाँ खर्च हुनेछ।

नवनिर्मित मन्दिर भित्र जगन्नाथ र अन्नपूर्णका धातुको मूर्ति पनि राखिने छ। धमाधम यसको निर्माण हुँदै छ। दुबै मूर्ति ४१ इन्च अग्ला हुनेछन्। मन्दिरमा रहेको पञ्चधातुको मल्लकालीन मूर्ति २०३२ सालमा चोरी भएको थियो। त्यतिबेला चोरले पूजारी काइँलाको हत्या गरेर चोरेका थिए। 

मन्दिर बनाउन अहोरात्र खटिएका छन् थापा। ताकममा धार्मिक पर्यटनको फूल फुलाउने अभियानमा जुटेका छन्। मान्छेहरूले कबुलेको रकम दिइसकेका छैन। त्यो रकम उठाउने दौडमा छन् यतिबेला। उनको सक्रियता तारिफयोग्य छ।

अमेरिकामा बस्ने रघुनाथ सुवेदीले ताकमकोट मन्दिर पुननिर्माणका लागि ११ लाख रुपैयाँ उठाइसकेका थिए। ‘अब हामी पनि जुट्नुपर्छ भनेर समिति बनाएर मन्दिर निर्माणमा लाग्यौं’, थापा सुनाउँछन्, ‘मन्दिर बनाउँदा आत्मसन्तुष्टि मिलेको छ।’

धारापानीमा जन्मेहुर्केका तेजिन्द्रसँग अनेकौं सम्झना छन्। उनले १९ वर्षकै उमेरमा कोट क्षेत्रमा छेलो जितेका थिए। २१ वर्षको उमेरमा बागलुङको उत्तर गंगाको जनैपूर्णिमा मेलामा पनि जितेका थिए।

खासमा उनी लाहुरे हुन्। विसं २०३५ सालमा भारतीय सेनामा भर्ती भएका थापाले २४ वर्ष जागिर खाए। सन् २००३ मा रिटायर्ड भएपछि वर्ष दिन नेपालमा बसे। लगत्तै मकाउ पुगेर ४ वर्ष काम गरे। अनि केही समयपछि बहराइन पुगे। मकाउ र बहराइनमा बस्दा उनले गैरआवासिय म्याग्देलीको संस्था मोना र म्याग्दी उद्धार समिति लगायतमा बसेर काम गरे।

अढाई वर्ष भयो उनी नेपाल फर्केको। उनका छोराछोरी कोही अस्टे«लिया त कोही जर्मनमा छन्। नेपालमा बुढाबुढी मात्र बस्छन्। ‘बाँकी जीवन सामाजिक काममै विताउँछु’, ५९ बर्से थापा भन्छन्, ‘आफ्नै गाउँलाई उज्यालो बनाउने छु।’

प्रकाशित: २१ मंसिर २०७६ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App