८ वैशाख २०८१ शनिबार
अन्य

मुन्दुम महिमा

तस्बिर सौजन्य : कविचन्द्र राई

भोगीराज चाम्लिङ

अहिले बिस्तारै मुन्दुम (लिम्बुहरू मुन्धुम भन्छन्) प्रति एकथरी बौद्धिकहरू आकर्षित अथवा जिज्ञासु हुन थालेका छन्। यो गज्जब कुरा हो। यसकारण कि यस्तै रैथाने ज्ञानमार्फत नै नेपाली समाजको मूलभूत मौलिक चरित्र थाहा हुने हो, नेपाली समाजलाई खास अर्थमा बुझिने हो।

मुन्दुमलाई थुप्रै सन्दर्भबाट चिनाउन सकिन्छ। मुन्दुमले सिंगै किराती समाजलाई डो-याइरहेको हुन्छ। त्यसैले मुन्दुमलाई सामाजिक संविधान पनि भन्न सकिन्छ। इतिहासकारका अनुसार, काठमाडौं उपत्यकाकेन्द्रित किरात शासन यही मुन्दुमकै आधारमा सञ्चालित थियो।

शाब्दिक विश्लेषणका आधारमा मुन्दुम मान्छेको बोली हो। किरात राई भाषाहरूमा ‘मिन्’ वा ‘मुन्’ शब्दको अर्थ ‘मान्छे’ हुन्छ भने ‘दिम’ वा ‘दुम’ शब्दको अर्थ ‘बोली’ हुन्छ। यसर्थ, ‘मान्छेको बोली’ नै मुन्दुम हो। तर, सबै बोलीलाई मुन्दुम भनिँदैन। धामीहरूले विभिन्न संस्कार गर्दा गायन गर्ने पद्य श्लोक अर्थात् रिसिया मात्र मुन्दुम हुन्। अलि अर्को भाषामा भन्ने हो भने सबै बोली मुन्दुम होइन, तर सबै मुन्दुम मान्छेको बोली हो। यो किराती समाजमा प्रचलित मौखिक ज्ञान हो।

सांस्कारिक सन्दर्भबाट भन्नुपर्दा धामीहरूले गायन गर्ने संस्कारगीत हो, मुन्दुम। एक हिसाबले यो नेपाली समाजको मौलिक बौद्धिक सम्पदा हो। विश्वमञ्चमा नेपाली समाजको मौलिक ज्ञानको प्रतिनिधित्व गर्न सक्ने यो ज्ञान हजारौं वर्षदेखि एकदेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आइरहेको छ। तर, अहिले यो ज्ञानलाई पुस्तान्तरण गर्ने नयाँ पुस्ता कम हुँदै गइरहेका कारण यसलाई संरक्षण गर्न लिखित र अभिलेखीकरण गर्नुपर्ने बेला भएको छ, जुन आ–आफ्नो स्तरमा भइरहेको पनि छ।

सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ मुन्दुम ज्ञान हो, किरातीहरूले हजारौं वर्षअघिदेखि आजसम्म सिकेको, जानेको, सोचेको ज्ञानको भण्डार हो। यसमा उनीहरूको दार्शनिक दृष्टिकोण, उनीहरूको इतिहास र प्राग्इतिहास, अनुभव र ज्ञानसँग सम्बन्धित समग्र विषय व्यक्त हुन्छ। त्यसैले यो आम रूपमा सोच्ने गरिएजस्तो मौखिक धार्मिकशास्त्र मात्र होइन।

यही मेसोमा थोरै खुसीको कुरा पनि बाँडिहालौं। अघिल्लो वर्षदेखि मुन्दुम पोखरा विश्वविद्यालय अन्तर्गत मानवशास्त्र एमफिलमा पनि पठनपाठन सुरु भएको छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायअन्तर्गत एमए तहमा दर्शनशास्त्र विषयमा पनि समावेश भएको छ। मैले नै किरात राई चाम्लिङ खाम्बातिमको मुन्दुम अभिलेखीकरण समितिका सदस्यको रूपमा संकलन र सम्पादनका गरेका ‘मुन्दुम : सृष्टिकथा’ र ‘मुन्दुम : होसुङ’ दुई पुस्तक पाठ्यक्रममा समावेश भएका हुन्। त्यस्तै, इमानसिंह चेम्जोङको संकलनमा प्रकाशित किरात मुन्धुम (किरातको वेद) पनि समावेश भएको छ। नेपाली रैथाने ज्ञानलाई ज्ञान निर्माण गर्ने निकायले पहिचान गर्नु निकै सुखद पक्ष हो।
०००
मानव र समाज विकासका हिसाबले भन्ने हो भने मुन्दुम जंगली र बर्बर समाजको उपज हो भन्ने लाग्छ। किनभने, यसमा प्रकृति, पितृ र मृतात्माको महत्वपूर्ण स्थान हुन्छ। यससम्बन्धी किरातीहरूको दार्शनिक दृष्टिकोण मुन्दुमबाट मात्रै थाहा पाउन सकिन्छ।

हजारौं वर्षअघिका किराती पुर्खाका लागि प्रकृति जीवनको आधार मात्र थिएन, विशाल रहस्य पनि थियो। उनीहरूका लागि प्रकृति जीवनयापनको स्रोत मात्र थिएन, अनिष्टहरूको कारण पनि थियो। मुन्दुम दर्शनले प्रकृतिलाई सर्वश्रेष्ठ मान्छ, प्रकृतिलाई शक्ति र मित्रको रूपमा पनि व्याख्या गर्छ। यसलाई प्रकृतिवाद अथवा आदिम भौतिकवाद भन्ने गरिएको छ।

मुन्दुमले पितृहरूको शक्ति र आत्माको अस्तित्वको कुरा पनि गर्छ। व्यक्ति राम्ररी म-यो भने पितृमा जान्छ, राम्ररी मरेन भने पितृभन्दा बाहिर जान्छ भन्ने मान्यता मुन्दुममा पाइन्छ। यसको अर्थ सामाजिक जीवनमा पनि मरण असल खालको हुनुपर्छ, समाजले कमसल ठान्ने मृत्यु हुनु हुँदैन भनेर समाजलाई पनि खराब कामबाट बच्न प्रेरित गरिरहेको हुन्छ। यसरी मृत्यमा पनि सामाजिक मार्गदर्शन भेट्न सकिन्छ। यद्यपि मुन्दुमले मृत्युपछिको जीवनभन्दा बढी बाँचिरहेको जीवनलाई सुखी र समृद्ध बनाउनमा जोड दिन्छ। त्यसका निम्ति पितृ र प्रकृतिको साथ लिनुपर्छ भन्ने मुन्दुमको दर्शन हो।

मुन्दुम मान्छेको बोली हो। किरात राई भाषाहरूमा ‘मिन्’ वा ‘मुन्’ शब्दको अर्थ ‘मान्छे’ हुन्छ भने ‘दिम’ वा ‘दुम’ शब्दको अर्थ ‘बोली’ हुन्छ। यसर्थ, ‘मान्छेको बोली’ नै मुन्दुम हो। तर, सबै बोलीलाई मुन्दुम भनिँदैन। धामीहरूले विभिन्न संस्कार गर्दा गायन गर्ने पद्य श्लोक अर्थात् रिसिया मात्र मुन्दुम हुन्।

वेदकालीन आर्यहरू र अहिलेका मुन्दुम मान्ने किरातीहरूको चिन्तन र विश्वास एउटै देखिन्छ। वेदकालीन आर्यहरू पनि प्रकृतिपूजक नै थिए। सूर्य, वायु, नदी, उषा, वर्षा, वनको पूजा गर्थे। तर, प्रकृतिवादबाट अहिले ईश्वरवादमा आइपुगे। किरातीहरू अहिले पनि प्रकृतिपूजक नै छन्, फरक यति हो। त्यसैले दार्शनिक हिसाबले ऋग्वेद र किराती मुन्दुमबीच भिन्नता देखिँदैन।

जडिबुटी र वनस्पतिसम्बन्धी ज्ञानमा पनि किरातीहरू निकै अगाडि छन् भन्ने कुरा मुन्दुम अध्ययन गरेपछि थाहा हुन्छ। विभिन्न संस्कार गर्दा मुन्दुममा यस्ता वनस्पति र जडिबुटीहरूको चर्चा हुन्छ। जस्तोः ‘वाइको संस्कार’। चाम्लिङ राईहरूले गर्ने यो पूजालाई वाडाको पनि भनिन्छ। र, खस नेपाली भाषामा यसलाई पानीपूजा अथवा पान्देउ पनि भनिन्छ। यो संस्कारमा थुप्रै खोलानदी र वनस्पतिको उल्लेख हुन्छ।

वाइको गर्दा सयौंथरी फूलको नाम उल्लेख आउँछ। तल मधेसदेखि लिएर माथि हिमाली क्षेत्रसम्मका वनस्पतिको नाम आउँछ। यसले किराती पुर्खामा वनस्पतिसम्बन्धी ज्ञान कति धेरै भन्ने थाहा हुन्छ। मैले सामान्य अध्ययन तथा संकलन गर्दा लगभग पाँच दर्जनभन्दा बढी वनस्पतिको नाम संकलन गरेको छु। यस्ता वनस्पतिको संख्या दुई सयभन्दा बढी उल्लेख हुने गरेको छ। एउटै धामीले त यति धेरै फूलको नाम भन्न सक्दैनन्, तर थुप्रै धामीबाट संकलन गर्दा यो संख्या हुन आउँछ। मुन्दुममा पुकार गरिने यस्ता वनस्पतिहरू लेकालीभन्दा बेंसीतिरका बढी छन्। यसले किरात राईहरू अलि बेंसीतिर बस्ने अनि बेंसीबाट आदिम बसाइँसराइ गरेका हुन् भन्ने देखिन्छ।
०००
मुन्दुमको अर्को उल्लेख्य पक्ष भनेको आदिम बसाइँसराइको मौखिक अभिलेखीकरण हो। विभिन्न थरी संस्कार गर्दा आदिम बसाइँसराइको उल्लेख हुन्छ। लिखित सामग्रीमा कतै फेला नपर्ने यो सन्दर्भ मुन्दुममार्फत जोगाइएको अमूल्य निधि हो। अहिले आनुवांशिक र भाषिक अध्ययनका आधारमा किरातीको आदिम बसाइँसराइबारे जे भनिरहेको छ, लगभग त्यसैसँग मिल्दोजुल्दो उल्लेख मुन्दुममा पाइन्छ। मैले यहाँ खासगरी किरात राईहरूसँग बढी सम्बद्ध भएर कुरा गरिरहेको छु।

मुन्दुमअनुसार किरातीहरू कागुनी फल्ने नियामाबाट आएका हुन्। त्यहाँबाट उनीहरू पैतिप, जोजिला, खैबर, कस्मिर आए। त्यहाँबाट उनीहरू योँला आए। मेरो हिसाबमा योँला भनेको सिन्धुघाँटीको सभ्यता हो। त्यहाँबाट उनीहरू गंगाको मैदान हुँदै थारु–वृज्जिहरूको थातथलोमा आइपुगे। त्यहाँबाट उनीहरू तराईको मैदानै मैदान सप्तकोशी चतरा–वराहक्षेत्र आइपुगे, जसलाई मुन्दुममा खुवालुङ भनिन्छ। सप्तकोसीको अरुण, तमोर र सुनकोशी भेट भएको ठाउँलाई खुवालुङ मानिन्छ। त्यहाँ एउटा ठूलो ढुंगा पनि छ। किराती पुर्खाहरू त्यो थलोमा आएर पहाडतिर छिरेको मान्छन्।

सप्तकोशी तरेर तमोर पछ्याएर निस्कनेहरू लिम्बू भए। अरुण पछ्याएर जानेहरू याम्फू, लोहरूङ, मेवाहाङ भए। दूधकोशी, जसलाई प्राचीनकालमा राईहरूले दुदुकोशी (दूधजस्तो कोशी) भन्ने गर्थे। यही नदी पछ्याएर आउनेहरू खम्बूहरू भए। र, सुनकोशी पछ्याएर आउनेहरू सुनुवार (कोइँच), जिरेल, सुरेल, हायु र थामीहरू भए भनिन्छ।

मुन्दुमले भनेजस्तै आनुवांशिक अध्येयता तथा भाषाशास्त्री भान ड्रिमले पनि किरातीहरू कागुनी फल्ने ह्वाङहो नदीबाट कस्मिर हुँदै नेपालका पहाडी भू–भागभरि पूर्वसम्म फैलिएका हुन्। भाषाशास्त्रीको चिनियाँ र किरातीले बोल्ने भोट–बर्मेली भाषा लगभग ६ हजार वर्षअघि छुटिएको हो भन्ने भनाइले पनि यही कुरा सही हुन सक्ने देखाउँछ।

यो त भयो प्राग्ऐतिहासिक कुरा। लिच्छविकालभन्दा पहिले काठमाडौं उपत्यकामा केन्द्रित भएर शासन गरेका किरातीसँग हालका किरातीको कुनै सम्बन्ध छ कि छैन भन्ने पनि मुन्दुमबाट केही हदसम्म खुट्याउन सकिने स्थिति छ। गोपालवंशावलीमा लिच्छविहरूबाट पराजित भएका किरातीहरू पूर्वतर्फ लागेर तामाकोशी र अरुण नदीका बीचमा बस्छन् भनिएको छ। यसबारे पनि मुन्दुममार्फत केही कुरा केलाउन सकिने स्थिति छ।

मेरो आजसम्मको सामान्य अध्ययनले यसबारे प्रस्ट उल्लेख सुनुवार (कोइँच)हरूको मुन्दुममा फेला पर्छ। कोइँच मुन्दुमअनुसार काठमाडौंमा बस्ने र काठमाडौं छाडेर जाने दुईथरी किराती छन्। काठमाडौं नछाड्ने किरातीहरू लास्ती हुन्, छाडेर हिँड्ने किरातीहरू गास्ती हुन्। इतिहासका अध्येयतालाई थाहै छ, अन्तिम किराती राजा गस्ती हुन्। मेरो विचारमा मुन्दुमको गास्ती उही अन्तिम किराती राजा गस्ती हुन्। मुन्दुमभित्र मेहनतपूर्वक प्रवेश गरेर केस्रा केलाउने हो भने इतिहासदेखि प्राग्इतिहाससम्मका धेरै कुरा खुलस्त हुने सम्भावना देखिन्छ।

खोटाङ छोरम्बुका चाम्लिङ राईहरूको एउटा वंशनाममा ‘नामदोपा’ भन्ने उल्लेख हुन्छ। रामेछापको ‘नामदोपालु’ क्षेत्रमा किराती राजाको शासन थियो भन्ने अहिले पनि स्थानीयले बताइरहेकै छन्। यसले पनि लिच्छविहरूबाट पराजित भइसकेपछि केही किराती पूर्वतिर लागेको स्पष्ट हुन्छ। किन पूर्वतिर लागे ? यो प्रश्न उठ्नु स्वाभाविकै हो। किनभने, पूर्वतिर त लिच्छविकालमा पनि किरातीहरूको स्वशासन चलिरहेको थियो, जुन कुरा राजा मानदेवको चाँगुनारायण अभिलेखले संकेत गरेको छ।

मुन्दुम नकेलाई किरातहरूको सापेक्ष रूपमा सही र पूर्ण इतिहास प्रकाश पार्न सकिँदैन। हामीले देख्दा धामीले रातो भाले काटेको मात्रै देख्छौं, अन्धविश्वास प्रसार गरिरहेको मात्र देख्छौं। तर, उनीहरूले कति भव्य ज्ञान जोगाइरहेका छन् भन्ने पूर्ण रूपमा खोजेका छैनौँ।
०००
अहिले नेपाली समाजमा हेर्ने हो भने संगीत र साहित्यमा पूर्वका किरातीको उपस्थिति औपचारिक मात्रै नभएर हस्तक्षेप र नेतृत्व नै गर्ने स्तरको छ। यस्तो किन भएको होला ? कसले यसरी सोचेको छ कि छैन, मलाई थाहा छैन, तर मैले चाहिँ यसको पछाडि पनि मुन्दुमलाई कारण देखेको छु।

अब किरातीहरूको छिरिनाम (उधौली) पर्व आउँदै छ। त्यसबखत काठमाडौंमा लगभग एक महिना विभिन्न स्थानमा साकेला सिली (नृत्य) हुन्छ। विशेष गरेर काठमाडौं टुुँडिखेलको साकेला सिलीले चर्चा पाउने गरेको छ, तर उपत्यकाभित्र दर्जनौं स्थानमा एक महिनाभरि साकेला नृत्य हुन्छ। यो समयमा पूर्वी पहाड पूरै संगीतमय भएको हुन्छ। यो पर्वको खास आकर्षण नृत्य हो, जतिबेला सयौं प्रकारका नृत्य गरिन्छ। कृषिसँग सम्बन्धित, सिकारी जीवनसँग सम्बन्धित अनि दैनिक जीवनसँग सम्बन्धित सयौंथरी नृत्य गरिन्छ साकेलामा। त्यससँगै गीत हुने नै भयो।

अर्कोतिर, किरात धामीहरूले मुन्दुम जसरी गायन गर्छन्, लयका हिसाबले ती आ–आफ्नै खालका हुन्छन्। एक धामी र अर्को धामीको गायनमा भिन्नता हुन्छ। अहिले पनि किराती समाजमा हजारौं यस्ता धामी छन्, जसको अर्थ हुन्छ– हजारौं लय किराती समाजमा अहिले पनि बाँचिरहेको छ। मुन्दुम आफैँमा विशाल साहित्य पनि हो। प्रतीकात्मक र लयात्मक अभिव्यक्तिका लागि यसको जोडा पाउन मुस्किल पर्छ।

मुन्दुम भनेको गायन हो, सङ्गीत पनि हो, जसको यति धेरै विविधता छ। त्यही परम्पराले गर्दा किरातीहरू संगीतमा धेरै छन्। उनीहरू त परम्परादेखि मुन्दुम गाउँदै आएका छन्। गीतमै हुर्केका छन्। लयमै हुर्केका छन्। मुन्दुमको गीत र लयले गर्दा किरातीहरू बढी गायक–संगीतकार भइराखेका छन्। किराती समाज गीत–संगीतमय समाज हो। जसको समाज र जीवन नै यसरी नृत्यमय, संगीतमय, साहित्यमय छ भने त्यो समाजले गीत–संगीत अनि साहित्यमा अगुवाइ गर्नु स्वाभाविकै हो।
०००
समाजमा ज्ञान दुई थरी हुन्छन्– लिखित र मौखिक। मौखिक ज्ञान भएकाले गाउँघरमा खस नेपाली भाषामा पुरानो पुस्ताले मुन्दुमलाई ‘करङ वेद’ पनि भन्छन्। उनीहरूको भनाइ छ, ‘हाम्रो मुन्दुम करङबाट निकाल्नुपर्छ, बाहुनहरूको जस्तो किताब पढेर हुँदैन।’ अब धेरै लामो समयसम्म मुन्दुम मौखिक ज्ञानका रूपमा सुरक्षित हुने अवस्था छैन। पुरानो पुस्ता ढल्दैछ, पर्याप्त संख्यामा मुन्दुम जोगाउने धामीहरूको नयाँ पुस्ता तयार हुन सकिरहेको छैन। त्यसैले अब यसलाई पुस्तक, अडियो, भिजुअलका रूपमा अभिलेखीकरण गर्नुको विकल्प छैन, यस्तो प्रयास भइरहेको पनि छ। यसका लागि सरकारी स्तरबाटै पहल हुन आवश्यक छ।

पहिलापहिला धामीहरू मुन्दुम रेकर्ड गरेको मन पराउँदैनथे, यस्तो कार्यका लागि हतपत उनीहरू अनुमति दिँदैनथे। अहिले अवस्था अलि बदलिएको छ। नयाँ पुस्ताका धामीहरू ज्यादै कम निस्कन थालेपछि अघिल्लो पुस्ताका धामीहरू चिन्तित हुन थालेका छन्। उनीहरू भन्छन्, ‘म मरेपछि मसँगै जाने भयो मुन्दुम।’ प्रायः धामीलाई ‘अब तपाईंहरूको मुन्दुम रेकर्ड गरेर किताब छाप्ने हो, अनि पछि बाहुनले पुराण पढेजस्तै पढेर संस्कार गर्ने हो’ भन्दा उहाँहरू खुसी देखिनुहुन्छ। एकजना धामीको मुन्दुम रेकर्ड गरेर पुस्तक छापेपछि भन्नुभएको थियो, ‘नाति अब म मरिनँ हैन त ?’

किरात पुर्खाहरूले धेरै पहिलेदेखि विकास गरेको मुन्दुम मौखिक रूपमा थपिने अनि छुट्ने नियमित प्रक्रियाबाट अहिलेको अवस्थामा आइपुगेको हो। अहिले पनि थपिँदै छ, अहिले पनि छुट्दै गइरहेको छ। तर, आधुनिकताले मुन्दुममा नकारात्मक प्रभाव पु¥याएको छ। किरात राईहरूमा राम्रो मरण भएकाहरूको सम्झनामा मुन्दुम गाउँदै चौतारो बनाइन्छ। अहिले गाउँगाउँमा सडक पुगेको छ। सडक मूलबाटोबाटै निर्माण गरिन्छ र चौतारो पनि मूलबाटोमै बनाइएको हुन्छ। मूलबाटोका यस्ता चौतारोहरू अहिले विकासका नाममा विस्थापित हुँदै छन्। चौतारो विस्थापित हुँदा त्यससँगै मुन्दुम पनि विस्थापित हुँदैछ।

आधुनिक शिक्षाको कारण परम्परागत ज्ञानमा पनि समाज उपयोगी कुरा छन् भन्ने भुसुक्कै बिर्सिएका छौं। हामी सुकरातलाई पढ्छौं, तर धामीलाई पढ्न तयार छैनौं। हामी माक्र्सलाई पढ्न तयार छौं, तर आफ्नो समयको भौतिकवादी चिन्तन बोकेको मुन्दुम पढ्न तयार छैनौं। यस्ता ज्ञानलाई कम्तीमा स्थानीय पाठ्यक्रममा समावेश गर्नु बुद्धिमतापूर्ण कार्य हुनेछ।

आर्थिक कारणले गर्दा गाउँघरका पुराना चिहान ध्वस्त भए। त्यहाँ सिन्धुघाँटीमा उत्पादन भएर तिब्बतसम्म व्यापार हुने जीमाला, सीमाला भनिने ‘वाछिनारी’हरू पाइन्थे। राम्रो आम्दानी हुने भएपछि किरात राईका बस्तीका सबै पुराना चिहान उधिनेर वाछिनारी बिक्री गरिएका छन्। जबकि ती इतिहासका धेरै महत्वपूर्ण पुरातात्विक वस्तु हुन्। यो वाछिनारी जो किरात राईका लागि बिहे संस्कारमा अनिवार्य चाहिने सामग्री हो। मेरो हिसाबमा वाछिनारीले किरात राईको तीन–चार हजार वर्ष पुरानो समयबारे बताउँछ। तर, अहिले गाउँमा निकै कम मात्रै बाँकी होलान्, वाछिनारी भएका चिहानहरू।

मुन्दुमका नाममा किराती समाजले थुप्रै अवैज्ञानिक सांस्कृतिक अभ्यास पनि गरिरहेको छ भन्ने यथार्थ हो। फेरि पूरै अन्धविश्वास र धार्मिक शास्त्रका रूपमा मात्र बुझ्ने दृष्टिकोण पनि एकपाटे नै हो। यी दुवैबाट बचाउनुपर्ने हुन्छ मुन्दुमलाई।

प्रकाशित: ७ मंसिर २०७६ ०१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App