२८ श्रावण २०७७ बुधबार
अन्य

मनिला मैझारो

बीएन जोशी 

आँखैमा कसैले ऐना टल्काइदिए जस्तो भो, र म तिरमिराएँ । सपनाबाट ब्युँझिएर झस्केजस्तो बनेँ । वास्तवमा बिहानी सूर्यको सुइरो जहाजको झ्यालबाट पसेर मेरो अनुहारमा ठोक्किएको रहेछ । खुलिसकेको दृष्टिले घोसेमुन्टे लाएर पृथ्वीलाई चियाउने कोसिस गरेँ । समतल खेतका फक्लेँटाहरु विशाल सागरका दरारबाट बच्न जोगिएर पसारिबसे जस्तो लाग्थ्यो । झण्डै सात हजारभन्दा बेसी टापुहरु मिलेर बनेको देश फिलिपिन्स बल्ल हो कि जस्तो लाग्न थाल्यो ।

जहाजको रात्रिकालीन सफर यसै पनि सास्ती लाग्छ मलाई । प्रायःजसो अन्तर्राष्ट्रिय उडानमा तीन घण्टा अगाडि एयरपोर्ट जाऊ, अझ केही समय फ्लाइट डिले होस् त्यसपछि त उडानको समयभन्दा बेसी पर्खाइको घडी लामो बनिदिन्छ । अनि निद हराम त यसै हुने नै भैगयो । गएको साँझ बैंकक सहर र त्यहाँको एयरपोर्टलाई बिदाइ गरेपछि मध्य रातसम्म यी नयनले विश्राम पाएका थिएनन् ।

जहाजले उडान भरेको एकाध घण्टा नबित्दै पिएको सोमरस र चाराजस्ता डिनरले शरीरलाई तै विशेक राहत दिलाएको छ । प्राकृतिक रुपमा हुने समय परिवर्तनले गर्दा जति पूर्वीय दिशातिर लाग्छौं त्यति समय छिटोछिटो व्यतित भैरहेको हुन्छ । यतिबेला गालामा चुम्न आएको सूर्यको रापले वास्तविकताको ऐना देखाउँथ्यो । जमिनभन्दा झण्डै उनन्तिस हजार फिटको उचाइमा रहेकोले पनि होला सूर्यसँगको हाम्रो दूरी यसै पनि कम थियो ।

मान्छे त म लहडी नै छु कि जस्तो लाग्छ । तब न यतिबेला लहडमै फिलिपिन्सको राजधानी मनिला हान्निएको छु । विनाकारण पुनः अठार वर्ष, तीन महिनाको अन्तराल पश्चात् । सन् २००० मा अन्य गन्तव्य देशको बाटो तय गर्दैगर्दा एक हप्ताका लागि काठमाडौस्थित वैध अर्गनाइजेसन परिसरमा रहेको फिलिपिन्सको कन्सुलेटबाट भिसा लिएर गएको थिएँ । तर अफसोच, त्यतिखेर केही नेपालीहरु दक्षिण कोरियाबाट डिपोर्ट भएर मनिला फर्किएको बेला म पुगेको रहेछु । उनीहरुको घानमा म पर्न गएपछि नेपाली पासपोर्ट भएकैले मलाई निकैबेर केरकार गरेका थिए त्यहाँका कप्सहरुले । मलाई लिन आएका लम्साल दाइ एयरपोर्ट बाहिर निकैबेर अलमलिएर घर फर्किएछन् । पछि मैले यथार्थ बताउन फोन गरेपछि थाहा भयो । एकरातका लागि म वेवारिसे हुने भएकोले एयरपोर्ट भित्रैको एउटा होटलमा बाध्यतावस दश अमेरिकी डलर तिरेर बास बसेको थिएँ ।

उतिबेला अध्यागमनका कप्सहरुले विनाकारण मलाई भोलिपल्ट बिहान आठ बजेको हङ्गकङ्ग रिटर्न टिकट थमाइ दिएको थियो । अवाक बन्न पुगेथेँ म त्यतिखेर । आक्रोश मनभित्र उम्दारुपले उम्लिरहे पनि आवरणमा ठण्डा बन्नु जो थियो । अर्काको देश, अर्काको कानुन आफूले त सिर्फ भनेको मान्नुपर्ने मात्रै थियो । हो, त्यसबेलादेखि मनमा एउटा गहिरो खिल गडेर बसेको थियो मनिलाप्रति ।

आज यसै धर्तीमा लामो अन्तरालपछि पाइला टेक्दैछु । यतिखेर त झन् मलाइ त्यहाँ छिर्नका लागि भिसा पनि लिनुपरेको छैन । एयरपोर्टमै मेरो पासपोर्टमा इन्ट्रीवाला स्ट्याम्प ढ्यापिएको छ विनासकस । ढिलो नै सही रवाफका साथ म उसको देशमा पैताला टेकेर एक किसिमको बदला लिँदैछु यस बखत । सफलताको आत्मसन्तुष्टि मिलेको अनुभूति हुँदैछ । यसभन्दा अघि आकाशबाटै मनिला सहरलाई नियालेको भरमा चित्त बुझाउनु परेको थियो भने यसपटक जमिनमा खुट्टाले टेकेर पाइला नाप्नु छ यस अन्जान सहरमा । साहस छ मनमा र त अन्योलताका बीच पनि यात्रालाई अगाडि बढाइरहेको छु ।

चलायमान मकाती एभिन्यू
व्यस्त मनिला सहरको मकाती एभिन्यू विदेशी पर्यटकहरुको अत्यधिक जमघट हुने स्थान रहेछ । काठमाडौंको ठमेल भनेजस्तै । ट्याक्सीबाट अवलोकन गर्दा देखिने पब, ट्याप, बार र नाइट क्लबका ठूला होर्डिङ बोर्डहरु अनि ट्याक्सी ड्राइभरको भनाइले साँझ पर्नासाथ रमझमले चरम सीमाको रुप लिने संकेत दिन्थ्यो । सहर, महानगर त्यो हो, जहाँ चौबीसै घण्टा चलायमान हुन्छ र सुविधा मिल्छ । रात छिप्पिँदै जाँदाको दृश्यहरुले यस्तै जनाऊ दिन्थ्यो । फिलिपिन्समा पुग्नु अनि सानमिगेल बियर नपिउनु ? यो हुन सक्दैन । मित्र ज्याक भन्दै थिए । किनकि सानमिगेल बियरको जननी देशमा हामी जो पुगेका थियौं ।

झिलिमिली मकाती स्ट्रिटको सौन्दर्य रातमा झनै खुल्ने रहेछ । बारको बार्दलीमा बसेर सानमिगेल बियरको चुस्की लिँदै सडकपट्टि नजर फाल्दा प्रत्यक्ष देखिएको हो । बियर अर्डर गरेपछि एक बाल्टीमा पाँच बोटल बियर दिने रैथाने चलन रहेछ क्यारे, हरेक टेबलमा रहेको पिभिसीको बाल्टीसहितको थुप्रो बियरको बोटलले स्पष्ट पारेको थियो । कमिलाका ताँती जस्ता लाग्ने लहरै रहेका अनेक खालका रेष्टुरेन्टको ढोका बाहिर ग्राहक बोलाउने काइदाको कला र गला थामिसक्नु थिएन ।

अझ साउथ एसियनजस्ता अनुहार देखिना साथ नमस्ते भन्दै सत्कार गरेर बोलाउनु पृथक लाग्थ्यो । त्यसभन्दा बाहिरका सडक पेटी र गल्लीहरुमा झुण्ड, झुण्ड थुप्रिएका के जातिहरुको लाम यौनकर्मीहरुको नमुना रहेछ । उनीहरुबाट जोगिएर हिँड्न पनि निकै सकस हुने । सडकले थेग्न नसक्ने गरी रुमल्लिएका तिनीहरुमा को केटा को केटी थिए, छुट्टाउन सकिन्थेन । यहाँ सर्जियो सोफिया बनेका थिए, केभिन क्याथलिन बनेकी थिइन् । उनीहरुको रंगमञ्चलाई बार्दलीबाट नियाल्दा आफू कतै भव्य रंगमहलभित्र छु कि जस्तो भान हुन्थ्यो । यो एउटा गरिबी र बेरोजगारीको बेजोड कास्टिङ थियो मेरा लागि । फरक यत्ति हो कि, हाम्रो देशमा लुकिछिपी यस्तो पेशा गरिन्छ भने यहाँ खुलमखुल्ला रुपले । यो देशको सरकार र जनताका लागि यी पक्रिया सामान्य देखिन्थे ।

काविते बीच एक काहवत
हजारौं टापुहरु मिलेर बनेको देशमा बिचहरु कति होलान् ? मेरो मनमा कौतुहलता जागेको छ । कुनै एक बिचमा गएर समुद्री नुनिलो पानीमा तैरने इच्छालाई बिचहरुको राजधानीमा आएर छुटाउने कुरै भएन । पर्याप्त समय हुँदो हो त, यहाँका चर्चित सेबुको ओस्लोब, पलावनको एल निदो बिच अथवा बताङ्गाससम्म जान कुनै कठिनाइ थिएन । समयको कमीले गर्दा धेरै टाढा जान सक्ने अवस्था पनि रहेन ।

गाइडवाला ट्याक्सी ड्राइभरको सुझावबमोजिम मेट्रो मनिलाबाट दक्षिणमा अवस्थित काविते बिचलाई नै अहिलेको गन्तव्य बनायौं । पेनिनसुला आकारमा समुद्रलाई दायाँबायाँ राखी लम्पसार सुतेजस्तो देखिने काविते एउटा सानो सुन्दर बस्ती रहेछ । समुद्रको मध्य हाइ ह्वे हुँदै हुँइकिएको कारले एकाध घडीपालामै स–सानो घरहरुको बाक्लो काविते बस्तीलाई छिचोल्दै अगाडि बढ्यो । वरपरका दृश्यमा दृष्टि फैलाउँदा देखिएका स्थानीय मानिस, घर, यात्रु, वाहनलगायतका चिजहरु अनौठा लाग्थे । एसियाकै एउटा देश भएर पनि पश्चिमी प्यासिफिक ओसियनको यस क्षेत्रमा अन्य एसियन राष्ट्रभन्दा पूरै फरक परिवेश देखिन्थ्यो ।

काविते बिचमा केही होटलहरु भए तापनि मानिसहरुको खासै चहलपहल देखिँदैनथ्यो । शान्त तटीय क्षेत्रमा पानीको छाल भने एकतमासले मिल्किरहेको थियो । मानौँ ऊ कसैलाई भेट्टाउनका लागि छलाङ्ग मार्न खोजिरहेछ । मित्र ज्याक र मैले समय र प्रकृतिको भरपुर उपभोग गरेको दृश्यहरु ट्याक्सी ड्राइभरले मोबाइलको क्यामेरामा धेरै कैद गरिदिए । केही मानिस तटीय भागमा रहेका सीमित रेष्टुरेन्टका छाप्राहरुमा बसेर बियरको चुस्कीसँगै शान्त वातावरणको आनन्द लिइरहे पनि पानीभित्र डुबुल्की मारेका भने थिएनन् ।

मनिला फर्किएपछि काविते बिचका बारेमा सुनिएका अनेकखाले किंवदन्तीहरुले ज्यानै सिरिङ पार्‍यो । त्यहाँ कोही मानिस पानीमा डुबेर हरायो भने एउटा बोक्सी निस्केर बचाइदिने देखि, कति मानिस हराएका पनि छन् । उसले त्यस बिचलाई पहरा दिइरहेकी हुन्छे । पानीकै मध्येभागबाट निस्केर ऊ भित्रै बिलाउछे रे । यस्ता त्राषदीपूर्ण कथनहरु सुनेपछि उल्लासमय ती मनोरञ्जनका क्षणहरु एकाएक सिथिल बने । यतिखेर मनको मथिङ्गल काविते बिच छेउमा रहेको नरिवलको छाप्रोमा बसेर पिएको ज्याक डेनियल्स ह्विस्कीले भन्दा बेसी हल्लाइदियो ।

ऐतिहासिक गढी इन्ट्रामुरोस  
विनाजानकारी अनायासै घुम्नुको मज्जा पनि बेग्लै हुन्छ कहिलेकाहीँ । प्रायः हाम्रो गाइड भनेको ट्याक्सी ड्राइभर र मोबाइल इन्टरनेट हुनेगर्छ । यतिखेर ट्याक्सीभित्र छिरेपछिको गन्तव्य इन्ट्रामुरोस क्षेत्र बन्यो । फिलिपिन्सको यो एउटा चर्चित ऐतिहासिक गढी रहेछ । जुन संग्रहालयले फिलिपिन्सको पछिल्लो पुस्तालाई मात्र हैन विश्वलाई नै इतिहासप्रति प्रत्यक्ष साक्षात्कार बनाउनमा मद्दत पुर्‍याउँछ । प्राचीन भग्नावशेष र इँटाहरु यहाँको सबैभन्दा पुरानो संरचना हो । यसको निर्माण उतिबेला स्पेनिस सेनाहरु बस्नका लागि गरिएको रहेछ । जतिबेला फिलिपिन्स स्पेनको उपनिवेश थियो ।

सताब्दीयौं पुराना कला कौशलबाट बनेका भवनहरुले आँखालाई झिमिक्क पार्नसमेत दिएन । यति पुराना संरचनालाई कस्तो परिष्कृत तवरले सम्हालेर राखेका हुन् । यतिखेर म हाम्रो देशका अव्यवस्थित पुराना दरबारको भवनका संग्रहालयहरु सम्झेर मुकदर्शक बन्छु । ठूला भवन र अस्थिपञ्जरजस्ता देखिने इँटको पर्खालका नजिक जाँदा भत्किएर आफैँलाई किच्ला कि भन्ने त्रास उस्तै रहन्छ, तर सुव्यवस्थित रहेछ । यो स्थान किन पनि चर्चित छ भने, फिलिपिनो जनताका नायक मानिने डाक्टर जोसे रिजललाई नोभेम्बर ३ देखि २९ डिसेम्बर १८९६ सम्म कैद गरी राखिएको थियो ।

उनको जन्म राजधानी मनिलादेखि दक्षिण स्थलमार्गबाट दुई घण्टाको दूरीमा पुगिने पागसन्जन फल्स भन्ने ठाउँमा भएको थियो । बहुप्रतिभाका धनी रिजल आफैँमा एक बौद्धिक व्यक्तित्व, डाक्टर र वैज्ञानिक थिए । भनिन्छ, उनले बीसभन्दा बढी भाषा बोल्न जान्दथे । उनले लेखेका धेरै चर्चित पुस्तकहरु रहेछन् । तीमध्ये सेकेण्डरी स्कुलमा पढाइ हुने नोली मि टांग्रे जुनियर र एल फिलिबुस्टरिज्मो सिनियर हुन् ।

अन्याय सहन नसक्ने उसले धेरै प्रकारका लेखहरु स्पेनिस शासनविरुद्ध लेख्दा जेल परेका थिए । उनको विद्रोहपूर्ण लेखबाट प्रेरित भएर अरु कैयन् फिलिपिनोहरुले संघर्षका लागि एकताबद्ध हुनमा साथ दिए । स्वतन्त्र हुनु अघि फिलिपिन्स झण्डै तीन सय वर्षसम्म स्पेनको उपनिवेश थियो ।

सन् १९५३ मा पुनस्र्थापना गरिएको फोर्ट सान्टियगोलाई त्यहाँको महासभाले २४ जुन १९७३ देखि धार्मिक तीर्थस्थलको रुपमा घोषणा गरिएको रहेछ ।

हिजोआज यहाँको सरकारले कतिपय भवनहरुमा भने निर्वाचन आयोगलगायतका अन्य सरकारी कार्यालयहरु सञ्चालनमा ल्याएका छन् । हाम्रा कतिपय राणाकालीन दरबार र महलहरुमा सरकारी कार्यालयहरु राखिए जस्तै लाग्यो । यस्ता महत्वपूर्ण ऐतिहासिक स्थलहरुलाई राज्यले गहनाको रुपमा सम्हालेर राख्नुपर्ने हो । हाम्रो देशमा जस्तै उग्र राजनीतिक हस्तक्षेपले यहाँको विकास संगसंगै महत्वपूर्ण सम्पदाहरुमा समेत गिद्धे नजर लाएको देखिन्छ । उपल्लो ओहोदामा रहेकाहरु अझ माथि उकालो लागे भने ग्रामीण भेग र निमुखा जनताको जीवनस्तरमा कुनै सुधार आएन ।

यात्राकै दौरान आत्मीय बनेका फिलिपिनो मित्र रायन डिक्वेनोबाट धेरै कुराको जानकारी मिलेको थियो ।
कुनै बेला पूर्वी एसियामा विकासको तीव्र गतिमा दौडिएको राष्ट्र थियो फिलिपिन्स । यसै पनि जमिन थोरै र जल धेरै भएको देशका जनताको भाषामा भन्दा, भ्रष्टाचारले गिजोलेको राजनीतिले अगाडि बढ्न दिएन । जसको ज्वलन्त उदाहरण भनेको पूर्व राष्ट्रपतिदेखि उच्च ओहोदामा बसेकाहरु भ्रष्टाचारी आरोपमा जेल पर्दै जानु हो । तर हाम्रो देशमा जस्तो अदालतको आदेश भन्दै न्यून रकम धरौटी राखेर सफाइ पाउँदै जानु भने पक्कै हैन ।

सवारी समस्या
दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली मुलुकहरुतिर झैँ यहाँको पनि ठूलो समस्या भनेको ट्राफिक जाम रहेछ । इन्ट्रामुरोस घुमिसकेर करिब तीन किलोमिटरभन्दा पनि बेसी पैदलिँदै गर्दासमेत बासस्थानसम्म फर्कने कुनै सवारी साधन पाउन नसक्नु पीडादायी बन्यो । जामको व्यापकताले ट्याक्सीहरु मुख्य सहरतर्फ जान मरिगए मान्दैन । जुन स्वाभाविक पनि लाग्यो । निकै सोधखोजपश्चात् त्यो पनि आधा बाटोसम्म मात्रै जाने मेट्रो स्टेसन फेला पर्‍यो । तैपनि केही राहतको महसुस भयो । तर दुईतला माथिको मेट्रो चढ्नलाई सडक पेटीदेखि लाइन लाग्नुपर्ने । यो मैले पहिलोपटक देखेँ । संसारकै अत्यधिक मानिसको चाप हुने सहरहरुमध्ये साङ्घाइ, बेइजिङ्, दिल्ली, बैंककहरुमा समेत त्यति साह्रो भीड लागेको कहिल्यै देखिन ।

मेट्रो भएको स्थानसम्म पुग्नु सफलताको शिखर चुम्नु जत्तिकै लाग्यो । यहाँको ट्राफिक जामसँग काठमाडौंको तुलना गर्नु फिका हुन्थ्यो । ठूला बस, ट्याक्सी, अनेकथरिका प्यासेन्जर लरी, मेट्रो सबै चलेकै छन् । ट्राफिक सिग्नल बत्तीहरुले सही सलामत काम गरिरहेकै छन् । हाम्रो जस्तो भएका सीमित सिग्नल बत्तीहरुसमेत संग्रहालयमा लगेर राख्नुपर्ने अवस्थाका जस्ता पनि थिएनन् । न कि नेपालका सडकमा जसरी असरल्ल गाडी पार्किङ गरेको हुँदो हो । र पनि यस्तो विधि जाम किन भएको होला ? सडकभन्दा झण्डै पैंतीस मिटर माथिबाट सुल्किहेको मेट्रोको झ्यालदेखि मुन्तिर नयन छर्दै म गमिरहेछु ।

 

 

 

प्रकाशित: २१ कार्तिक २०७६ १३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App