१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

मर्मअनुसार चाड मनाउने तरिका

एलपि भानु शर्मा

हरेक चाडपर्वको छुट्टाछुट्टै विशेषता हुन्छ । धर्मअनुसार चाडपर्व फरक भएजस्तै चाडपर्वको मूल मर्म पनि फरक हुन्छ । हिन्दूहरुको सबैभन्दा ठूलो चाडको रुपमा दशैंलाई लिइन्छ । दोस्रोमा तिहार छ । दशैँ र तिहार मनाउनुको धार्मिक कारण फरक छ । दशैं शक्ति बढाउने पर्व हो भने तिहार साहस, प्रेम र भाइचाराको सम्बन्धका लागि हो ।  

दशैंको मूल परम्परागत मान्यता आफूभित्रको शक्तिलाई जगाउनु हो । अन्तर्निहित शक्ति जगाउनु प्रमुख कुरा हो । शक्तिका प्रतिरुप धेरै थरिका हुन्छन् । आफूलाई स्वस्थ राख्ने, ज्ञान  बढाउने, सम्बन्ध विस्तार गर्ने, प्रेमिल हुने, हर्षाेल्लास गर्ने या के गर्ने– व्यक्तिले आफ्नो इच्छा अनुसारको काम गर्ने हो ।

त्यसकारण पर्व मनाउने आफ्नै तौरतरिका हुन्छन् । आफूलाई चाहिएको शक्ति के हो, त्यो पहिचान गर्नुपर्छ । व्यक्ति सबै उही हुन् । बनावट उही हो । मात्रै ज्ञान फरक हुने हो । ऋषिहरुले महालक्ष्मी, महासरस्वती र महाकाली भनी स्थपना गरे । क्रमैअनुसार यसको अर्थ धन, वैभव, ज्ञान र शक्तिका प्रतीक हुन् । दशैं पर्व यसैको प्रतीक हो । हामीले आफूलाई धनी बनाउन चाहान्छौँ– महालक्ष्मीको उपासना गर्ने । ज्ञानी बन्न चाहन्छौँ– महासरस्वतीको उपासना । शक्तिशाली बन्न चाहन्छौँ– महाकालीको उपासना गर्ने हो ।

धनी हुन नयाँ व्यवसाय के गर्ने ? कसो गर्ने ? भन्नेतर्फ साथीहरुसँग सल्लाह गर्न सकिन्छ । ज्ञानका लागि पुस्तक पढ्ने । त्योअनुसार आफ्नो स्वभावमा ध्यान दिन सकिन्छ भने शक्तिशाली बन्नका लागि ज्ञान धनमा बलियो बनिने उपाय अपनाउन सकिन्छ । कर्मकाण्डी हिसाबले मात्रै पर्व मान्ने तरिका उचित हैन ।

दशैं तिहार कसरी मनाउने ?
विजयादशमीको अर्थ विजयोत्सव मनाउने हो । कर्मकाण्ड मात्रै गरेर विजयादशमी मनाउनु उपयुक्त हुँदैन । कोजग्रात पूर्णिमाको अर्थ पनि आफू भित्रको उज्यालो खोज्ने हो । पूर्णिमाको रात जस्तै उज्यालो बन्नुपर्छ भन्ने प्रमुख शिक्षा हो।

तिहारको मूल प्रयोजन आफूभित्रको उज्यालो खोज्ने हो । पशुपक्षी, गाईगोरु, कुकुर सम्मको पूजा यो बेलामा गरिन्छ । यसको अर्थ पृथ्वीमा रहेका सबै जीवको अस्तित्व उस्तै छ, सबै उत्तिकै महत्वका छन् भन्ने सिकाएको हो ।  
व्यक्तिको स्वभावजस्तै व्यवहार पनि तीन प्रकारको हुने गर्छ । तामसी, राजसी र सात्विक ।
तामसीले क्षणिक सुख खोज्छ । स्वास्थ्यको ख्यालै नगरी खाने, सम्बन्धलाई प्रतिकूल पार्ने गरी बोल्ने, अध्ययनलाई ध्यान नदिने, मांसहार गर्ने, होसमा भन्दा बेहोसीमा बस्ने हुन्छन्, तामसीहरु ।

राजसीले आफू भित्रको क्रियाशीलता बढी खोजेका हुन्छन् । यिनीहरु हरकामका लागि बढी दौडधुप गर्छन् । खानेकुरा पनि बढी खान्छन् । पौष्टिक तत्व भएको  खान्छन् । साथीभाइलाई धेरै भेट्ने र बुद्धि पनि दौडाउने गर्छन् ।
सात्विक व्यक्ति शालिन हुन्छन् । स्वास्थ्य राम्रो र सन्तुलित राख्ने प्रयास गर्छन् । यिनीहरुमा शान्त विचारको प्रवलता हुन्छ । सुख र आनन्दको खोज यिनमा पाइन्छ ।

स्वभाव जस्तै साधना पनि तीनै प्रकारका हुन्छन् । तामसी व्यक्तिले बलि दिएर बेहोसीमा चाडपर्व मनाउने गर्छन् । राजसी होसमा रहेर आफूलाई फाइदा हुने मात्र काम गर्छन् भने सात्विक व्यक्ति धैर्यवान् हुन्छन् । तिनको बोलीचाली र हिँडाईले नै थाहा हुन्छ । यिनको विचार धैर्यवान् हुन्छ । तिनको हिँडाई–बोलाई–गराई पनि अन्यको भन्दा फरक हुन्छ ।

राजसी व्यक्तिले साधना गर्दा पनि देवी माताले फल दिन्छिन् भन्ने आशा राखेको हुन्छ । सात्विकले आशा राख्दैन । तटस्थ भाव राखेको हुन्छ ।

हामीले दशैं तिहार मान्दा आफ्नो स्वभाव कस्तो छ, त्यो पहिल्याउनु पर्छ । तामसी छ कि, राजसी या सात्विक के छ, सोहीअनुसार मनाउनु पर्छ । यहाँ बुझ्न पर्ने कुरा के हो भने अन्ततोगत्वा हामी सबैको लक्ष्य सात्विकता नै हो । त्यसकारण सबैले सात्विक तरिकाले मनाउनु उपयुक्त हुन्छ ।

तामसीको अनावश्यक खर्चले ऋण लाग्छ । राजसीले त मौका हेरेर व्यापार गरेको हुन्छ । सात्विकको त्यसो हुन्न । हरेक दिनको महत्व बुझेको हुन्छ उसले र उपासना गर्छ ।

उपासना कसरी गर्ने त ?
चाडपर्वमा परम्परागत तरिकाले पूजाआजा गर्ने, स्वास्थ्य र सम्बन्ध बनाउने, अध्ययन र ध्यान गर्ने तरिकाले मनाउने गर्नुपर्छ । उपासना गरेर पर्व मनाउँदा पर्वको महत्व झल्कन्छ । योगभ्यास आफूतिरको ध्यान शान्ति नै प्रमुख खोजी हुनुपर्छ ।

बिहान ब्रह्म मुहूर्त हुनुभन्दा अघि उठ्ने, नियमित योग ध्यानलाई कम्तीमा २ घण्टा छुट्ट्याउने । यति गरिसकेपछि परम्परागत रुपमा दिनैपिच्छे पूजा गर्ने । हलुका केही खानेकुरा खाने । रुचि अनुसारका पुस्तक पढ्ने । दिउँसोपख साथीभाइ भेट्ने, परिवारलाई प्रशस्त समय दिने, सम्बन्ध विस्तार, ज्ञान विस्तार, ध्यान बढाउने कला सिक्ने । यही विजया दशमीमा आफ्ना कमी–कमजोरीलाई हटाएर विजयी बन्ने । तिहारमा पनि लक्ष्मी पूजाको दिन घरबाहिर बत्ती बाली उज्यालो बनाएजस्तै आफ्नो मनको धुलोधुवाँ फ्याल्ने र आफैँतिर बत्ति बाल्ने । चाडपर्व यसरी नै मान्दा सार्थक हुने थियो ।

प्रकाशित: १७ आश्विन २०७६ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App