२७ श्रावण २०७७ मंगलबार
अन्य

सावा महिनाको ‘पर्वमाला’

असोज आउदा आउदै ‘भदैया’ (वर्षे) धान घरमा भित्रिसकेको हुन्छ । अगहनी (मंसिरमा हुने) मुख्य बाली धानको रोपाइँदेखि ‘सोहनी’ (गोडलेम) सम्म सकिसकेको हुन्छ । सावादेखि डेढ महिनापछि मात्र फेरि कटाइको चटारो आउने वाला हुन्छ । यस बीचको समय जीवनमा उत्सव र उमंगका लागि, रमाइलो र खुसियाली साटासाटका लागि सदुपयोग गर्ने परम्परागत सामाजिक व्यवस्था छ, मधेस तराईमा ।

जसमा दसैंको घटस्थापनादेखि छठको उद्यापनसम्म भ्याउने गरिन्छ । ‘दशहरा, अर्थात् दसैं, ‘सोहरैया’ अर्थात दिपावली तिहार र अन्तमा मधेस तराईको मुख्य पर्व ‘छठ’ भित्र पर्ने विभिन्न विशेष तिथि मितिमा गरिने परम्परागत साँस्कृतिक उपक्रमहरुको सावा महिनाको ‘पर्वमाला’ हो यो ।  
दशहरा

नेपालको राष्ट्रिय पर्वको रुपमा रहेको दसैं यहाँ ‘दशहरा’ भनेर मनाइन्छ । आश्विन महिनाको शुक्ल प्रतिपदा तिथिदेखि दशमी तिथिसम्म ‘जगदम्बा’ अर्थात् जगत कि आमा मानिने देवीका ९ विभिन्न स्वरुपको दिनैपिच्छे आराधना गरिन्छ । लोकमान्यताअनुसार दशहरा असत्य माथि सत्यको विजयीको पर्व हो । दश दिनको युद्ध उपरान्त दशमीको दिन देवी दुर्गाले महिषासुर उपर विजय प्राप्त गरेकी थिइन् भन्ने पौराणिक कथा लोकमान्यतामा ‘दशहरा’को रुपमा सजीव छ ।

यस दसदिने पर्वमा प्रतिपदाका दिनदेखि नवमीसम्म नवरात्रको रुपमा मनाउँदै शक्तिको आराधना गरिन्छ । प्रतिपदाको दिनलाई ‘जई गिरावे के दिन’ अर्थात् जमरा हाल्ने दिनको रुपमा मनाइन्छ । यस दिन देवीको शैलपुत्री स्वरुपको आराधना गरिन्छ । त्यस्तै दोस्रो दिनदेखि नवौं दिनसम्म क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री स्वरुपको पूजा मान्ने परम्परा छ ।

यसका लागि गाउँघरको देवीका मन्दिरमा जौ हालेर पूजा गर्ने चलन परम्परागत हो । यसमा केही परिवर्तन पनि आएको छ । भारतको पश्चिम बंगाल प्रान्त कोलकातामा कामको सिलसिलामा मानिसहरु जाने गरेपछि त्यहाँबाट दुर्गामण्डप बनाउने चलन पनि भित्रिएको छ । अब मन्दिर बाहिर दुर्गामण्डप बनाएर भगवती र अरु देउताको मूर्ति, महिषासुर बद्धको दृश्य आदि स्थापना गरेर पूजा गर्ने चलन बढेको छ । खास गरी शहरी क्षेत्रमा बनाइने यस्ता मण्डपबाट ध्वनि प्रदूषण विकृतिको रुपमा बढेको भन्दै सुधानरको आवाज उठेको छ ।

दसैंको सप्तमी थितिदेखि पूर्णीमासम्म विभिन्न ठाउँमा मेला आयोजन हुने चलन भने परम्परागत हो । अहिले पनि विभिन्न तिथिमा विभिन्न ठाउँको दशहरा मेला मसहुर छ । अष्ठमी र नवमीका दिन खसी, राँगा र हाँस कुखुराको बलि दिने चलन पनि छ । सप्तमीसम्म मासाहार बर्जित हुन्छ भने अष्ठमीदेखि मांसाहार फुकुवा हुन्छ । यसरी दशहरा धार्मिक अनुष्ठान, साँस्कृतिक परम्परा र रमाइलो गर्ने मिठो मसिनो खाने खुवाउने तीनवटै उद्देश्यको संग्रह भएकोले यसलाई बृहत् पर्व मान्ने गरिन्छ ।

विजयादशमीको दिन भवानीले असुर शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा दशहरा (दसैं) मनाइन्छ । देशव्यापी दसैं बिदाको फलस्वरुप जिल्ला बाहिर राजधानी काठमाडौं वा अन्य ठाउँमा जागिर वा रोजगारको सिलसिलामा बाहिर रहेकाहरु ‘दशहरा’मा फर्किएका हुन्छन् । यसमध्ये केही भने छठ सकाएर मात्र फर्किन्छन् ।

दशहरा केही हदसम्म फेरिएको साहित्यकार गणेशप्रसाद लाठ बताउँछन् । ‘किशोर हुँदा हामी दसंैलाई कुरेर बसेका हुन्थ्यौं, पहाडी साथीहरुको घरमा गएर रमाइलो गर्न पाइन्छ भनी । छठसम्मको लामो बिदा हुन्थ्यो । दसंै चर्खबापत केही नगदनारायण पनि पाइन्थ्यो । क्या मज्जा लाग्थ्यो,’ पचास कटिसकेका लाठले भने, ‘अहिले त्यो हार्दिकता त्यति रहेन ।’ पहाडी समुदायमा पनि दसैंमा घर आउनै पर्ने ‘कमिटमेन्ट लेबल’ घटेको उनले महसुस गरेका छन् ।

सँगसँगै दसैंको मेलामा वीरगञ्जजस्तो सहरतिर मेला हेर्न पस्ने गाउँघरतिरका मान्छेहरुमा एक खाले विशेष रहर जुन हुने गरेको थियो त्यो घटेको उनको बुझाइ छ । साधनको विस्तार र स्रोतको पँहुचले किनमेलका लागि पर्व पर्खिने चलन स्वाभाविक रुपमा हराएको पाइन्छ । देवीको पूजा, मेलाको परम्परा र खानपिनको अवसर दशहरामा भने सजीव छ ।
सोहरैया

‘दशहरा’ लगत्तै सुरु हुन्छ सोहरैयाको तयारी । भनिन्छ नै ‘सरहे सोहरैया र छवे छठ’ अर्थात् विजयादशमीको १६ औं दिनदेखि ‘सोहरैया’को यमपञ्चक सुरु हुन्छ । र, त्यो सकिएको छ दिनमा छठ पर्छ । दशहरापछि पाँच दिन कोजाग्रत पूणर््ीिमासम्म मेलाको चटारो हुन्छ । मेला सकिँदा सकिँदै सोहरैया आउन अब ११ दिन मात्र बाँकी हुन्छ । यसबीच ११ दिनमा घर आँगनलाई चिटिक्क बनाउन, घरका ज्यावल र हातहतियारलाई सफाइ गर्न र पशुधनलाई सिंगार्नेसम्मको काम भ्याउनुपर्ने हुन्छ । खासमा फुस र खपडाको घर मर्मतमा समय लाग्छ । माटोको भित्ता बनाउन ‘पियरी माटी’ (पहेँलो माटो) को प्रबन्ध गर्नुपर्ने हुन्छ ।

घर अगाडि खाडल खनी माटोलाई रातभरि पानीमा हालेर छोडिन्छ । भोलिपल्ट त्यसलाई मलिलो पारी भुस हालेर तयार पारिन्छ । मर्मत गरिएको वा नयाँ हालिएको खरको ‘टाटी’ (भित्ता) उपर त्यो माटोको परत चढाइन्छ । आवश्यकताअनुसार भित्तामा दियो राख्ने साना ‘दियरख’ र अरु आकृति बनाउने चलन पनि अझ कहीँकहीँ बाँकी छ । त्यसपछि सुक्नका लागि दुई तीन दिन समय चाहिन्छ । अब गोबर माटोको लेप हालेर भित्तालाई बराबर गरिन्छ । र, अन्तमा भित्ता सुकिसकेपछि पहेँलो माटोले पोत्ने चलन छ । जुन सुकेपछि सुनौलो रंगमा टल्किने गर्दछ ।

माटोको ‘खपडा’ को छाना भएका घरका छाना पनि मर्मत गरिन्छ । पक्की भित्ताहरु रंगरोगन हुन्छन् । सबैले आफ्नो घर आँगन र वरपरको घाँसपात र फोहोर सफा गरेपछि गाउँ नै चिटिक्क भइसकेको हुन्छ । धनतेरसभन्दा एक दिन अगाडि घरको काठे ढोका, बाकसहरु, लाठी, भालाजस्ता परम्परागत हथियारहरु बयल गाडामा हालेर नदी पोखरीमा लगी धोइ पखाली सफा गर्ने चलन छ ।

पुरुषहरुले राति ‘भाजन’ भनिने लोक भाकाका गीत गाउँछन् । धनतेरसका दिन भने नयाँ झाडु, चाँदी, सुन र विभिन्न धातुका बर्तन किनेर घरमा ल्याउने गरिन्छ । धनतेरसदेखि पूर्णिमासम्म बजारमा किनबेच बढ्छ । माटोको दियरी र अन्य भाँडो, मिठाई, पूजा सामग्री र मैनबत्तीको बिक्री बजारमा बढ्छ । ‘सोफा, कार्पेट, तन्ना, पर्दाको बिक्री बढेको पाइन्छ । ‘लक्ष्मी पूजाको दिन कम से कम एक जोर नयाँ लुगा लगाउनु पर्छ’ भन्ने मान्यताले गर्दा लत्ता–कपडाको बिक्री पनि बढ्छ ।

धनतेरसको भोलि पल्ट गोबरले दैलो लिपेर दिपालवीको स्वागत गरिन्छ । स्वच्छतामा लक्ष्मी अर्थात् धन की देवीको बास हुन्छ भन्ने मान्यता भएको हुनाले लक्ष्मीपूजा अगाडि बृहत्तर सरसफाइ हुने गरेको छ । त्यो दिन साँझ यम भगवान्का लागि घर अगाडि एउटा दियो बाल्ने चलन छ । यस दिनलाई ‘जमदियरी’ भनिन्छ । नभन्दै आइपुग्छ दिवाली, दिपावली वा सोहरैया भनेर मनाइने मूल पर्व । पहिलेदेखि सफा पारिएका चौकठ, ढोका, काठका बाकस, गाडा, हलो र घरेलु हतियार तथा ज्यावलहरु उपर यो दिन चामलको पिठोको झोल र गेरुवा माटोको चिह्न हातको पञ्जाले बसालिन्छ ।

साँझ केराको बोट वा पात हालेर र रंगी बिरंगी फुल लगाएर दैलोलाई सजाइन्छ । कपडामा हातले सुई धागोको मद्दतले शुभदिपावली लेखेर महिलाले बनाएको ‘कुरुस’ले बुनाई गरिएको झालर हाल्ने चलन भने अब हराएको पाइन्छ । घर अगाडि रंग र फूलहरु हालेर रंगोली बनाउने चलन बढेको छ । माटोको दियो हाल्ने चलन बिस्तारै घट्दै जाने क्रम भने रोकिएको छ । मैनबत्ती र विद्युतीय बत्तीको साटो माटाकोे दियो बालेर मौलिक रुपमा दिपावली मनाउने चलन फेरि फर्किन थालेको छ । साँझ घरघरमा बालिन्छ दिपमाला । माता लक्ष्मीको पूजा गरिन्छ । यस दिन फलमूल, मिठाई र अन्य साकाहारी परिकार खाने खुवाउने चलन छ । व्यापारिक प्रतिष्ठानले आफ्ना कामदारलाई कपडा र मिठाइ दिन्छन् ।

लक्ष्मी पूजा गरेर वर्षाभरि आर्थिक अभाव नहोस् भनी प्रार्थना गरिन्छ । जीवनका अज्ञानरूपी अन्धकारलाई हटाएर प्रकाशको दिव्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्वमा निहित हुन्छ । अर्को दिन गोबद्र्धन पूजा हुन्छ । जसमा घर अगाडि गोबरले ‘गोधन’ बनाइन्छ । यो भनेको वास्तवमा गोबरले एउटा गाउँको नक्सा वा आकार बनाइएको हुन्छ ।

जसमा मानवसँगै गाई र गोरुलाई देखाइएको हुन्छ । यी पशु र मानवको अस्तित्व सँगसँगै जोडिएको सन्देश दिने महान् प्रतीकको रुपमा यसको निरन्तरता पाइन्छ । घरका महिलाले एउटा पुस्ताले अर्कोबाट सिकेर यसलाई बनाउँदै आएका छन् । यो दिन गाई गोरु र भैंसी समेतलाई सिृंगार्ने चलन छ । अर्को दिन आ–आफ्नो गाइ गोरु किसानहरु एउटा चउरमा लिएर पुग्ने र त्यहाँ ल्याइएको एउटा सुँगुरलाई ती पशुहरुले सिङले हिर्काउन दिने ‘डाढमार’ चलन छ ।

यो साँस्कृतिकभन्दा ऐतिहासिक पक्षसँग जोडिएको मानिन्छ । एउटा मतअनुसार भारतीय उपमहाद्वीपमा जब मुस्लिम शासकहरुको शासन सुरु भयो त्यस बेला यहाँका गृहस्त किसानका चौपाया सरकारी अधिकारी र सैनिकहरुले बलजफ्ती लगेर मारेर खाने गर्थे ।

सुँगुरबाट भने उनीहरु टाढा नै बस्थे । सुँगुरसँगै बथानमा चर्न जाने पसु पनि उनीहरु छुँदैन थिए । इश्लाममा सुँगुरलाई ‘नापाक’ (अपबित्र) मान्ने गरिन्छ । किसानहरुले आफ्नो पशुलाई वर्षभरिमा एक पटक सुँगुरलाई छुन लगाउने चलन आयो । जुन गाउँमा यो चलन हुन्थ्यो त्यहाँका पसु उनीहरुले छुँदैन थिए । यसरी ब्रज क्षेत्रबाट सुरु भएको ‘डाढमार’ टाढासम्म फैलिँदै यता आइपुगेको मत रहेको छ भने गाउँघरमा यो मनोरञ्जनात्मक खेल हो ।

यो चलन भने छिटफुट ठाउँमा मात्र रहेको छ । गोबद्र्धन पुजाको भोलिपल्ट ‘भैया दुज’ (भाइटीका) मनाइन्छ । अघिल्लो दिनको ‘गोधन’मा प्रयोग भएको गोबर एकै ठाउँमा थुपारेर बाँसको टुक्राले सामूहिक रुपमा त्यसलाई घोचीघोची महिलाहरु कुट्छन् । त्यसलाई ‘गोधन कुट्ने’ भन्छन् । यो भनेको टोलभरिको गोबद्र्धन एकैमा मिसाएर सामूहिक पूजा गर्ने चलन छ । अन्तमा त्यसमाथि सबैले आफ्नो दियो बाल्छन् ।

यस दियोमा सेकेर काजल (गाजल) बनाइन्छ । यस काजलमा गोबद्र्धन देवको आशीर्वाद समाहित रहेको मान्यता छ । गीत गाउँदै दाजुभाइलाई श्राप दिन्छन् दिदीबहिनीहरुले । त्यसपछि रेङ्गनीको काँडाले जिब्रोमा आफैँले घोँचेपछि उक्त श्राप आशीर्वादमा रुपान्तरण हुने लोकमान्यता छ । घर फर्केर दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर मुखमा केही दाना केराउ हालिदिने गर्छन् । मिठाई खुवाउँदै पिठ्युमा धाप दिएर आशीर्वाद दिन्छन् । दाजुभाइले भने दिदी बहिनीलाई दक्षिणा दिनुपर्छ । यसरी धनतेरसमा सुरु भएर पाँचौं दिन सोहरैया सकिन्छ ।

लोकपर्व छठ
‘काँच हे बाँस के बहँगिया
बहँगी लचकत जाए
पेन्ही ना रउरा पियरीया
दउरा घाटे पँहुचाए ।’

‘सोहरैया’ सकिनासाथ चोक र गल्लीहरुमा यस्ता गीत गुन्जिन थाल्छन् । ‘काँच बाँसले बनेका भार (खर्पन) हो, जुन लचकिँदै जान लागेको छ, तिमी पहेँलो धोती लगाऊ छठघाटमा पूजाका सामग्री लैजाने बेला भयो,’ भन्ने यस गीतको भाव छ । न पुजारी र शास्त्रीय विधिविधान । सिधै लोकमान्यता र परम्परामा आधारित सबै जातजाति, वर्ग र उमेर समूह तथा लिंगका मानिसहरु मनाउने छठ मधेस तराईको लोकपर्व हो । यसमा प्रसादको रुपमा चढाइने ठेकुवा घरेलु परिकार हो भने मुला, सुथरी, अरुई, निम्बु, भोगटे, उखु, फर्सी जस्ता आफ्नै बारीमा फल्ने कन्दमूल हुन् । भोजपुरी भाषी क्षेत्रमा यस पर्वको मूल थलो भए पनि अब यो बिस्तार हँुदै गएको छ । नेपालको कुरा गर्ने हो भने अब यो मैथिली क्षेत्रदेखि उपत्यकासम्म धुमधामका साथ मनाउने पर्वको रुपमा स्थापित भएको छ ।

तिहार लगत्तै आउने कात्तिक महिनाको शुक्ल पक्षको चौठ तिथिबाट छठ पूजाको व्रतारम्भ हुन्छ । पहिलो दिन ‘नहाए–खाए के’ चलन छ, जसमा ब्रतालुले विशेष विधिपूर्वक नुहाएर खाने गर्दछन् । संस्कृतिका जानकारहरुका अनुसार कठिन विधिसाथ मनाइने यस व्रतमा भोजनमा मांसाहार मात्र होइन लसुन प्याजसमेत वर्जित हुन्छ । ३६ घण्टा चल्ने उपबासमा व्रतालुले पानीसमेत खाँदैनन ।

दिउँसोभरि निराहार बसेका व्रर्तालु पञ्चमीको दिन बेलुकी माटाको नयाँ र चोखो चुल्होमा अगहनी चामलमा दूध र गुड (भेली) हालेर ‘रसियाव’ र चोखो पारिएको गहुँको पिठोको रोटी पकाएर पूजा गरी खाने र प्रसादस्वरुपमा अरुलाई समेत खुवाउने विधि गरेर उपबास सुरु गर्छन् । यसलाई पकाउनका लागि माटोको नयाँ चोखो चुल्हो बनाइएको हुन्छ जसमा आँपको दाउरा बालिन्छ । अर्को दिन षष्टी तिथिमा ‘सँझिया घाट’ मनाइन्छ ।

कवना खेत उपजल धान सुधान हो
कवना खेत डठगर पान हो
माइ, कवना कोखी लिहले जनम सुरुज देव
उठ सुरुज भइल बिहान हो ।

अर्थात् ‘कुन खेतमा यो राम्रो धान फलेको होला ?, कुन खेतमा डाँठ राम्रो भएको पान भएको होला ? र कसको कोखमा सूर्यदेव जन्मेका होलान् ?’ भनी प्रश्नसँगै सूर्यलाई भन्छन्, ‘उठ्नु अब बिहान हुन लाग्यो ।’ व्र्रतालुहरु सूर्यप्रतिको भक्ति मात्र प्रदर्शित गर्दैनन बरु अगाध ममता समेत प्रदर्शन गर्छन् । त्यसैले सूर्य कुन आमाको काँखमा जन्मेका होलान् भन्ने गीत गाउन सकेका हुन्छन् । ‘सझिया घाट’का दिन दुलहीजस्तै सिंगारिएका नदी तथा तलाउका घाटहरुमा बनाइएका साना स्तुपाकार प्रतिमाको पुजासँगै अस्ताउँदो सूर्यलाई अघ्र्यदान गरिन्छ । गाउँबस्तीका लागि एउटै पुजाथलोको रुपमा छठघाट हुन्छ ।

सबै जातजाति सँगै बसेर विधिहरु सम्पन्न गर्छन् । महिलाले व्रत गर्दा पुरुषले टाउकोमा पूजा सामग्रीको भारी आस्थासाथ छठघाटसम्म लैजाने र ल्याउने गर्छन् । सवा हात लामो एउटा डण्डा लिएर जमिनमा सुति त्यसबाट धर्को कोर्दै, पुनः त्यो धर्कोमा पुगी अर्को धर्को कोर्दै कतिपयले भाकलअनुसार घरदेखि छठघाटसम्म ‘भुँइपरी’ गर्छन् । षष्टीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्यदान गरी उपासना गरेका व्रतालु सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्र्रत उद्यापन गर्छन् ।

छठमा अटुट आस्था हेर्न पाइन्छ । भोजपुरी लोकसंस्कृतिका जानकार उमाशंकर द्विवेदीका अनुसार छठ पूजा उत्सवको रुपमा मात्र नभई कठिन व्रत र उपबास पूर्वक गरिने तपस्याको रुपमा देखा पर्दछ । चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यका साथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । उनका अनुसार ‘छठ’ विशुद्धरुपमा ‘प्रकृति र पुरुष’को पूजा हो । सन्तान उत्पादनका लागि दैवी कृपाको अपेक्षा यस व्र्रतले गर्दछ । झट्ट हेर्दा यो सूर्यको पूजाझैं देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती षष्ठी देवीको पूजा हो ।
 
उग हे सुरज देव
भइल–भिनसरवा
अरघ के रे बेरवा
पुजन के रे बेरवा

‘उदाउ हे सूर्यदेव, बिहान भयो । अघ्र्यको बेला भयो, पूजाको बेला भयो ।’ सोहरैया सकिए लगत्तैदेखि सप्तमीसम्म ठाउँठाउँमा र छठघाटहरुमा छठका विशेष गीतहरु बजिरहेका हुन्छन् । यसरी सावा महिना अगाडि सुरु भएको ‘पर्वमाला’ छठपछि सकिन्छ । कटाइ गर्नका लागि खेतमा ‘अगहनी’ धान लहलहाइ सकेको हुन्छ ।

प्रकाशित: १६ आश्विन २०७६ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App